लुगा
भएर पनि किन हामी नाङ्गो?
अर्थशास्त्रीहरूले
अनुकूल मौसमलाई पनि राष्ट्रको आर्थिक विकासका लागि एउटा महत्वपूर्ण सम्पत्तिको
रूपमा मान्ने गरेका छन्। जलवायु, माटो, घाम, आकाश आदिले पनि आर्थिक विकासमा
महत्वपूर्ण योगदान पु-याएका हुन्छन्।
कुनै देशलाई आर्थिकरूपमा बलियो पार्न त्यहाँ
उपलब्ध अनुकूल मौसमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। दक्षिण एशियालाई मौसम
अनुकूल भएको क्षेत्र मान्ने गरिन्छ। राजनीतिक अस्थिरता, जनतामा चेतनाको कमी र सुशासनको अभावले
गर्दा यो क्षेत्रको समुचित आर्थिक विकास हुन सकेन, त्यो बेग्लै कुरा हो। तर संयुक्त राज्य अमेरिका, क्यानडा जस्ता राष्ट्रहरूले मौसमको
प्रतिकूलताबीच पनि चमत्कारी आर्थिक प्रगति गरेका छन्। कृषिको क्षेत्रमा, मौसमको प्रतिकूलताबीच पनि अमेरिकाले
विश्वका अन्य राष्ट्रहरूलाई पछाडि पार्नेगरी आर्थिक प्रगति ग-यो। अन्न उत्पादनमा
विश्वमा नै अमेरिकाको स्थान अग्रणी छ। विश्वमा नै भटमासको उत्पादन सर्वाधिक
अमेरिकामा हुन्छ।
तर अमेरिका र युरोपेली राष्ट्रहरूमा जे जति
आर्थिक प्रगति भयो, त्यसको
पछाडि त्यहाँको जनतामा रहेको सकारात्मक मनोविज्ञानको भूमिका ज्यादै महत्वपूर्ण देखिएको छ। जनतामा भएको
सकारात्मक मनोविज्ञान एवं आर्थिक विकासको लागि बलियो इच्छाशक्तिले गर्दा नै
अमेरिका एवं खासगरी, पश्चिम
युरोपका देशहरू आर्थिक विकासको मार्गमा फडको मार्न सकेका हुन्। र त्यसैको
परिणामस्वरूप आज अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली विश्वको ‘इकोनोमिक पावरहाउस’ बन्न पुगेका छन्। आर्थिक विकासको
इतिहासले कुनै पनि राष्ट्रको आर्थिक विकास हुनका लागि त्यस राष्ट्रको जनताको
मनोविज्ञान सकारात्मक हुनुपर्ने कुराको पुष्टि गर्दछ। हुन पनि अमेरिकी र
युरोपेलीहरूको बौद्धिकस्तर एशियालीहरूभन्दा परापूर्वकालदेखि उच्च रहँदै आएको छ।
सकारात्मक सोच, चेतना र बौद्धिक विकासको क्षेत्रमा
हामी अगाडि छौं भनेर एशियालीहरूको घमण्ड फुस्रो मात्र हो।
मानव
सभ्यता विकासका लागि आवश्यक ज्ञान, सीप,
प्रविधि, विज्ञान वा औषधिजस्ता लगभग सम्पूर्ण
कुरा अमेरिकी र युरोपेलीहरूले आविष्कार गरे। चन्द्रमामा सर्वप्रथम पदार्पण गर्ने
मुलुक पनि अमेरिका नै हो। भौगोलिकरूपमा सानो भए तापनि आफ्नो बौद्धिक क्षमताले
गर्दा नै ग्रेट ब्रिटेन, फ्रान्स, स्पेनजस्ता राष्ट्रले उपनिवेश खडा गरेर
विश्वका अनेक राष्ट्रमा शासन गरे। ती देशका प्राकृतिक सम्पत्तिको भरपूर उपयोग गरेर
धनी भए। अहिले पनि ग्रेट ब्रिटेन, जर्मनी, फ्रान्स
आदिले विश्वको अर्थ र राजनीतिलाई बलियोगरी प्रभावित गर्ने क्षमता राख्छन्।
भौगोलिकरूपमा एशिया र अफ्रिकामा ठूला–ठूला राष्ट्रहरू भए तापनि आर्थिकरूपमा तिनको
हैसियत सानै छ। चाहे त्यो अफगानिस्तान, बर्मा, मङ्गोलिया, लिबिया, सुडान, कङ्गो, अल्जेरिया नै किन नहोस्!
आर्थिक विकासको लागि देशको भूगोल ठूलो
हुनुपर्छ भन्ने होइन, त्यस
देशमा बस्ने जनताको चेतनाको स्तर उच्च र मनोविज्ञान सकारात्मक हुनुपर्ने रहेछ। यो
तथ्य सर्वकालीन सत्य रहेछ।
हामीकहाँ त्यही कुराको कमी छ। नेपालमा
जनताबीच सकारात्मक मनोविज्ञानको नितान्त खाँचो छ। हामी कुनै पनि समस्याको समाधान
युक्ति वा विचार अथवा सहमतिद्वारा होइन, बलद्वारा गर्छौं। हामीलाई हरेक समस्याको समाधान गर्न सङ्घर्ष तथा
हिंसा प्रयोग गर्न मन लाग्छ। हाम्रो मनोविज्ञानले त्यस किसिमबाट हामीलाई प्रेरित
गर्छ। हिंसा र सङ्घर्षबाहेक समाधानका हामी अन्य वैकल्पिक उपायहरू देख्दैनौं।
प्रयोग गर्नु त परको कुरा हो, यो हाम्रो सामाजिक चरित्रको यथार्थ चित्र हो।
हाम्रो ध्यान सकारात्मक विचारतिर ढिलो तर
विरोधी विचारतिर तत्काल पुग्छ। नकारात्मक सोच, विचार, समाचार
हामी खोजी–खोजी पढ्छौं। त्यस उपर घण्टौं चर्चा गर्छौं तर सकारात्मक सोच, विचार, समाचार हामीलाई मन पर्दैन र तिनलाई महत्व पनि दिंदैनौं। कुनै
पत्रिकामा गलत समाचार प्रकाशित भएको छ भने छोटो समयमा नै त्यो गलत समाचार लाखौं पाठकसमक्ष
पुग्छ तर सही समाचार छ भने त्यो समाचार ज्यादै सीमित पाठकको आँखामा पुग्छ। कतिपयले
त हेर्दैनन् पनि।
यस्तै स्थिति रचनात्मक कार्य गर्ने सन्दर्भमा
पनि देख्न सकिन्छ। कुनै रचनात्मक कार्य गर्नका लागि सहमति जुटाउन हामीलाई वर्षौं
लाग्छ। तर तोडफोड गर्न, विध्वंस
मचाउन, आगजनी गर्न, लूटपाट गर्न हामीबीच तत्काल सहमति
जुट्छ। यस्ता कार्यमा छिट्टै सहमति जुट्छ, हामी तत्काल गर्छौं पनि। सडकमा टायर बाल्न होस्, लूटपाट गर्न होस्, गाडी जलाउन होस्, तोडफोड गर्न होस्, यस्ता कार्य गर्न हामीलाई धेरै समय
लाग्दैन। दमकल, एम्बुलेन्स जलाउन पनि हामी रत्ति
हच्किंदैनौं। यस्तो मनोविज्ञानले पनि आर्थिक विकास हुन्छ? हो, यस्तो नकारात्मक मनोविज्ञान भएर नै हामी लुगा भएर पनि नाङ्गो भएका
हौं। अन्न भएर पनि भोको भएका हौं। जलस्रोतका लागि हामी संसारमैं, पहिलो ब्रजीलपछि धनी राष्ट्र हौं।
हाम्रा नदीको उद्गमस्थल हिमाल भएकोले यी नदीहरूमा बा-है महीना पानी हुन्छ। तर
अफसोस, सिंचाइ कुरा त पर, पिउनका लागि पनि हामीलाई पानीको अभाव छ।
हामीमा सृजनात्मक सोचको अभाव तर ध्वंसात्मक
विचारको बाहुल्य छ। यो भएर नै हामी विगतमा आफ्नै दिदीबहिनी र दाजुभाइको हत्या गरेर
रमाएका थियौं। आफ्ना प्रियजनको हत्यालाई विजयको पर्यायवाची मानेर हर्षित भएका
थियौं। माओवादी अति रक्तपातपूर्ण सङ्घर्षमा हामीले हाम्रा आर्थिक विकासका
पूर्वाधारहरू ठूलो सङ्ख्यामा नाश मात्र पारेनौं, औद्योगिक विकासको गतिलाई दशकौंपछाडि धेकेल्यौं। विपरीत दिशामा
हिंड्ने पा-यौं। नेपाललाई झनै गरीब बनाउने कार्य ग-यौं। हामी कतिसम्म हृदयहीन भयौं
भने सार्वजनिक यातायातमा यात्रा गरिरहेका सर्वसाधारणलाई, जो न सुरक्षाकर्मी थिए, न त्यो बस प्रहरी वा सेनाको थियो, सडकमा ओछ्याइएको बारुदको चपेटामा पारेर
मा-यौं। यो घटना २०६२ जेठ २४ गतेको हो। यो घटनामा तत्कालीन माओवादी लडाकूहरूले
चितवनको मुढेखोलामा एउटा बसलाई ‘ल्यान्डमाइन’ मा पारेर विस्फोट गराएका थिए। त्यस
विस्फोटमा परेर ४० जना जति सर्वसाधारणको ज्यान गएको थियो। त्यसरी ज्यान जानेहरू, न सुरक्षाकर्मी थिए, न माओवादीका विरोधी नै।
हामीले अहिले पनि विगतका कलह, विग्रह र अनुत्पादक सङ्घर्षबाट सिक्न
सकेका छैनौं। हामीमा रहेका नकारात्मक भावनाबाट हामी अहिले पनि ग्रसित छौं।
कसैको मानमर्दन, आलोचना सुनेर हामीलाई अति आनन्द आउँछ
तर कसैले राम्रो काम गरेको छ भने उसको प्रशंसा गर्न छुच्चो बन्छौं। सत्याग्रही डा
गोविन्द केसीको प्रशंसा गर्छौं तर आफू गोविन्द केसी बन्न चाहँदैनौं। भ्रष्टाचारमा
लीन हुन रमाउँछौं। यस्तो नकारात्मक चिन्तनले हामीमा दोहोरो मापदण्ड विकसित पारेको
छ। यस्तो व्यवहारले पनि आर्थिक विकास हुन्छ?
अरू कुराले होइन, हामीलाई हाम्रै सोच र व्यवहारले दरिद्र
बनाउने हो, अफगानिस्तानका तालिबानहरूले आफ्नै सोच
र व्यवहारले आफूलाई दरिद्र बनाएझैं। आफ्नो देशको अमूल्य निधि ‘बामियानको
बौद्धकला’लाई तालिबानहरू बारुदद्वारा विस्फोट गराई अति हर्षित भएका थिए। अग्लो र
फराकिलो पहाडमा ढुङ्गा कुँदेर, लामो समय (सन् ५०७ देखि ५५४ सम्म) खर्चेर बनाएको त्यो विश्वको
उत्कृष्ट कला नष्ट पार्न तालिबानहरूले ठूलो यत्न गरेका थिए। तर त्यो कला नष्ट
गर्दा, पर्यटकहरू संसारका अनेक मुलुकहरूबाट
बामियानमा ‘बौद्धकला’ हेर्न आउने र अफगानिस्तानलाई ठूलो आर्थिक फाइदा हुने र त्यो
आम्दानीले अफगानिस्तानको गरीबी कम गर्न मदत गर्ने तथ्य तालिबानहरूले बिर्सेका थिए।
आफूहरूले नै आफूलाई गरीब पार्ने वातावरण तयार पारेका थिए।
गरीबीको प्रत्यक्ष सम्बन्ध सकारात्मक
मनोविज्ञानसँग छ। अयोध्याको बाबरी मस्जिद भत्काएर एकथरीले सन्तुष्टिको सास लेलान्
वा लिएका होलान्,
तर
त्यो सन्तुष्टिको सासले आर्थिक प्रगतिको बाटो फराकिलो पार्दैन, हुँदैन। उल्टो कलह र द्वेष सृजना हुन्छ।
समाज विभाजित हुन्छ। समाज, सोच र विश्वासको आधारमा अति विभाजित हुनु, आर्थिक विकासका लागि एकजुट नहुनु, जनतामा नकारात्मक विचारले घर गर्नु
जस्ता कुराले दक्षिण एशियालाई साधन र स्रोतका बावजूद समृद्ध हुन दिइरहेको छैन।
नेपालमा आर्थिक विकास गर्नका लागि हामीमा
सकारात्मक धारणा विकसित हुनुको विकल्प छैन। सरकार गठन भएको भोलिदेखि नै त्यसको
विरोध गर्ने, केवल नेताहरूको मात्र आलोचना गर्ने तर
आफूले सिन्को नभाँच्ने चिन्तनबाट हामी बाहिर आउनै पर्छ, आर्थिक विकासको गतिलाई दोब्बर पार्ने
हो भने।
हामीले बुझ्नुपर्ने कुरा के हो भने आर्थिक
विकासका वाहक हामी स्वयं हौं। हाम्रो सकारात्मक सोच र आर्थिक विकासप्रतिको अडिग र
बलियो इच्छाशक्तिले नै हामीलाई गरीबी र बेरोजगारीबाट मुक्ति दिन्छ। हामी एकजुट
हुनैपर्छ। आर्थिक विकासका लागि हामीले साझा धारण बनाउनै पर्छ। यो नयाँ कुरा होइन।
अब यो पुरानो कुरालाई नयाँ किसिमले सोच्न आवश्यक छ।
Bishwa Raj Adhikari
Published in http://www.prateekdaily.com/2020/10/blog-post_164.html On Friday, October 16, 2020
No comments:
Post a Comment