कवि भगवती पौडेलसङ्गको अन्तर्वाता
संयुक्त
राज्य अमेरिकाको डालस शहरलाई कर्मथलो बनाउनु भएको कवि भगवती पौडेलसँगको अन्तर्वाता
प्रस्तुत गरेको छु। यो अन्तर्वाता उहाँद्वारा हालै (२०७७ साल) लेखिएको कविता
सङ्ग्रह ‘अक्षरका बीउहरू’ लाई आधार बनाएर तयार पारिएको हो।
१. साहित्यका विभिन्न विधाहरू छन, जस्तै कविता, आख्यान, गजल आदि। यी मध्ये कुन लेख्न मन पराउनु हुन्छ?
- साहित्यका हरेक विधाहरु मलाई मन पर्छ । तत्काल आएका भावनाका झिल्काहरु कवितामा पोख्ने गरेकी छु । अचेल गजलमा पनि पोखिन्छु कहिलेकाहीं । आख्यान तर्फ पनि रुची छ ।
२. साहित्य लेखनतर्फ लाग्न के कुरा, घटना, परिस्थिति, मनोविज्ञान आदिले तपाइँलाई उत्प्रेरित गर्यो?
- सानै देखि पाठ्यक्रममा भएका कविताहरु वाचन गर्न मन पराउॅथें । मेरो
पिताजीले केही ज्ञानका कुराहरु सिकाउनु पर्यो भने हामी छोराछोरीहरु र अरुलाई पनि
कविताका हरफहरु वाचन गरेर व्याख्य गर्ने गर्नुहुन्छ । उहॅाले वाचन गर्ने कविताहरु
विशेष गरि धार्मिक ग्रन्थहरु, रामायण र सुखसागरबाट मुखाग्र गरिएका
हुन्छन् । मलाई यसैको प्रभव परेको हुनसक्छ ।
३. कविता वा साहित्य, रचनाकारले स्वयंको
सन्तुष्टिको लागि लेख्ने हो वा पाठक वा समाजको लागि?
- मेरो विचारमा साहित्य सिर्जनाको सुरुवात स्वयंमको सन्तुष्टीबाट हुन्छ । जब पाठक समक्ष पुग्छ तब मात्र सर्जकले थाहा पाउॅछ पाठक र समाजको लागि पनि रुची भयो भएन भन्ने कुरा । साहित्यलाई पेशा ठान्नेहरुले त पाठकको रुची र बजारतिर पनि ध्यान दिनु पर्यो । मैले लेख्ने गरेका कविताहरु समाजलाई हेरेर त्यसको प्रभावले म स्वयंको सन्तुष्टिको लागि लेखिएका हुन । मेरो जस्तै भावना जसको मनमा छ उसलाई मेरा कविता मन पर्न सक्छ । मैले मेरो जीवन यात्रामा भोगेको समाजबाट उद्वेलित मन पोखेकी हुन्छु । पाठकलाई ध्यान दिएर लेख्न थालेकी छैन ।
४. साहित्य स्वतन्त्र र स्वछन्द भएर लेखिनु पर्छ वा समाजिक
मूल्य र मान्यताभित्र रहेर लेखिनु पर्छ?
- दुबै हुन जरुरी छ । समाजका मनोगत भावनाहरु साहित्यमा उतार्न खोजिएको हो भने स्वतन्त्र र स्वछन्द भएर लेखिनु पर्छ । समाजलाई एकताबद्ध गर्नको लागि लेखिएको साहित्य हो भने मुल्य र मान्यताहरुको ख्याल गर्न जरुरी छ ।
५. सामाजिक मूल्य र मान्यभित्र रहेर साहित्य लेख्दा के नया
नया, अलिखित वा अकथित कुराहरू
बाहिर आउलान?
- बाहिर आउॅछन तर यसको लागि सबै तहका समुदायमा सर्जकहरुको खॅाचो छ । हाम्रो नेपाली समाजमा रहेका अव्यवहारिक मूल्य र मान्यताहरुलाई व्यवहारिक बनाउन र गलत ब्याख्या गरिएका मुल्य र मान्यताहरुलाई सहि ब्याख्या गर्न साहित्य लेख्न जरुरी छ । अलिखित र अकथित कुराहरु बाहिर ल्याउन धेरैले कलम समाउनु पर्छ ।
६. केवल महिलाहरूले मात्र अनुभूत गर्न सक्ने र महिलाहरूले
मात्र भोग्ने कुराहरू पनि पुरुषहरूद्वारा लेखिएको पाइन्छ। जस्तै प्रशवपीडामा
महिलाको मनोविज्ञान कस्तो हुन्छ भनेर पुरुषद्वार लेखिएको हुन्छ। यस्तै स्थिति
पुरुषतर्फ पनि भएको पाइन्छ। यसरी लेखिनुबाट व्यक्ति वा पात्र (रचनामा) को सही
मनोदसा प्रकाशमा आउन सक्छ?
- हजुरले हरदम मेरो मनमा आईरहने प्रश्न सोध्नु भयो । अचेल स-साना आलेख,
कथा,
निबन्ध
आदिको कुनै लिंकमा मेरो अनुभूत बोकेको सिर्शक देखें भने सकेसम्म तुरुन्तै पढ्छु ।
नभ्याए पछि पढ्नु पर्छ भन्ने सोंच राख्छु । सुरुमा लेखक तिर ध्यान जॅादैन ।
कहिलेकाही पढ्दै जॅादा भावनामा अतिरन्जित भएको पाउॅछु पुन: “लेखक को रहेछ त?”
फर्केर
हेर्छु । अक्सर गरेर पुरुष लेखक हुनुहुन्छ । पुरुषले महिलाको महिलाले पुरुषको
मनोदसा अनुमान मात्र गर्न सक्छ अनुभव फरक हुन्छ ।
७. नेपाली साहित्यमा महिलाहरुको उपस्थिति किन कम भएको होला?
- छोरीहरुलाई पढाउने चलन पछि आयो त्यसैले हो । मेरो आमा निराक्षर हुनुहुन्थ्यो उहॅाले आफ्नो श्रीमानलाई पत्र लेख्न अरुलाई लगाउनु पर्थ्यो । निराक्षर आमाको पढेलेखेको छोरी भएर मैले बल्ल कलम चलाउन थालेकी छु । साहित्यमा लेखेर बाहिर ल्याउन हौसला चाहिन्छ । बल्ल छोरी पढाउन थालेका छन । साहित्य लेख्नु पर्छ भन्ने हौसला सबैलै पाएका छैनन् त्यसैले साहित्यमा महिलाहरुको उपस्थिति कम छ।
८. नेपाली साहित्यमा महिलाहरूको उपस्थिति बाक्लो पार्न के
गर्नु पर्ला?
- पक्कै पनि मनमा लागेका कुरा लेख्नु
पर्छ भन्ने शिक्षा अभिभावकहरुबाट सुरु हुनु पर्छ । समाजमा हजुरहरु जस्तै स्थापित
साहित्यकारहरुले सुझाव सहित हौसला दिनु पर्छ ।
९. नेपालमा साहित्यिक कृतिहरू अन्य पुस्तक (पाठ्यपुस्तक)
झै बिक्री नहुनुको कारण के होला?
- पाठ्यपुस्तक परीक्षा पास गर्नु पर्ने हॅुदा अनिवार्य पढ्नु पर्ने भयो त्यसैले किन्छन् बिक्री हुन्छ । पाठ्यक्रममा राखिएका साहित्यिक किताव पनि किनिन्छन् । त्यो भन्दा बाहिरका कितावहरुको चर्चा कम हुन्छ त्यसैलै बिक्री हुदैनन् । नेपालमा साहित्यिक कृतिहरु प्रकासित भएका छन भनेर पाठक सामु सुचना दिने भरपर्दो माध्यम पनि छैन ।
१०. ‘एउटा साहित्यकारले नै अर्को साहित्यकारको पुस्तक
पढिदिंदैन’, यो भनाइसँग तपाइँ सहमत हुनु हुन्छ?
- यसमा म सहमत छैन । पुस्तक हातमा छ भने अवस्य पढ्छन् । फरक यो हुन सक्छ , कसैले महत्वका साथ पढ्छन भने कसैलै सतहमा पढ्छन् । कसैले सकारात्मक सोंचका साथ उत्शुकता जगाएर पढ्छन भने कसैले कहॅा खोंट लगाउन पाइने ठाउॅ छ भनेर खोज्दै हिड्छन् ।
११. ‘नेपाली साहित्यको विकासको लागि साहित्यकारहरूले एक अर्कालाई सहयोग गर्नु पर्ने हो तर उल्टो छ, र एकले अर्कोको खुट्टा तानेको पाइन्छ’ यो भनाइसँग तपाइँ सहमत हुनु हुन्छ?
- यो त प्रवृतिको कुरा हो । समाजमा नै खुट्टा तान्ने प्रवृति हावी छ भने साहित्य अक्षुतो रहन सक्दैन । यो मनोगत रोगको परिणाम कम गर्न सकारात्मक साहित्यिक बहस हुनु पर्छ ।
१२ ‘महिला साहित्यकारहरूले यौन मनोविज्ञान तर्फ कमै लेखेको
पाइन्छ। थोरै लेख्नेले पनि एक किसिमको भयको घरभित्र रहेर लेखे जस्तो लाग्छ?’ यो भनाइ सत्य हो?
- भनाइ सत्य हो या होइन भन्नको लागि
बलियो प्रमाण चाहिन्छ । त्यो मसॅग छैन । मनोविज्ञान, समाज विज्ञान , वाद र सिद्धान्तमा टेकेर साहित्य सिर्जना गर्न अध्ययन चाहिन्छ ।
हाम्रो समाजमा महिलाहरुको विस्तारै कलम चलेको हुनाले यौन मनोविज्ञान तर्फ कम
लेखिनु स्वभाविक हो । हामीकहॅा यौन शिक्षा सम्बन्धी खुलेर बहस पनि कमै भएका छन् ।
र अन्त्यमा,
१३. हालै प्रकाशित (सन् २०२०) ‘अक्षरका बीउहरू’ (कविता
सङ्ग्रह) लेख्न के कुराले तपाइँलाई उत्प्रेरित गर्यो?
- कविता मैले सानै देखि लेख्ने गर्थें । लेख्नको लागि प्रेरणाको श्रेय मेरा परिवार र स्कुलका गुरुहरुदेखि नै सुरु हुन्छ । लेखिसकेका कुराहरु छपाउने बाहिर ल्याउने भन्ने कुराहरुको प्रेरणा सुरुवातमा नभएकोले कतिपय सिर्जना त हराए पनि । जब म अमेरिका आएं सन २०१२ देखि यहॅाको नेपाली समाजमा नेपाली साहित्यमा रुची राख्ने समूहहरुसॅग भेट भयो । कविता सुन्ने र सुनाउने सन्दर्भमा परिचित अग्रजहरुको उत्प्रेरणा नै “अक्षरका बीउहरु” को संग्रह हो । संस्थागत रुपमा अन्तराष्ट्रिय साहित्य समाज - डालस च्यापटर र स्रष्टा सॅाझ अमेरिका प्रेरक छन् । यो संग्रहको प्रकाशक स्रष्टा सॅाझ अमेरिका हो । उहॅाहरु सबै प्रति म आभारी छु । अन्तयमा हजुरले मेरो कुरा राख्ने मौका दिनु भयो हार्दिक धन्यवाद भन्न चाहन्छु ।
अन्तर्वाताकार:
विश्वदर्पण ब्लगका लागि विश्वराज अधिकारी
No comments:
Post a Comment