यो चुनावपछिको अर्थतन्त्र
हालै
सम्पन्न चुनावको सम्पूर्ण परिणाम आइसकेको छैन। सम्पूर्ण परिणाम आउन अझै केही दिन
लाग्नेछ। निर्वाचनको सम्पूर्ण परिणाम आएको भए अब नेपालको अर्थतन्त्रले कस्तो गति
लिने हो र यसको स्वरूप र प्रकृति कस्तो हुने हो भनी यकीन गर्न सजिलो हुने थियो। तर
पनि, प्रारम्भिक परिणामले जुन किसिमको
सङ्केत दिएको छ त्यसले चुनाव पछि नेपालको अर्थतन्त्र कस्तो हुने हो त्यो अनुमान
लगाउने आधारहरू प्रदान गरेको छ। यस लेखमा सङ्घीय चुनावको परिणामलाई आधार मानेर
विश्लेषण गर्ने प्रयास गरिने छ। वित्तीय, मौद्रिक, व्यापारिक, लगानीजस्ता क्षेत्रमा राष्ट्रिय नीति
बनाउनुपर्ने र राष्ट्रिय नीति प्रतिनिधि सभाले बनाउने हुनाले सङ्घीय चुनावको
नतीजाको विश्लेषण गरिएको हो।
अहिलेसम्मको
चुनावी परिमाण हेर्दा दुई परम्परागत राजनीतिक शक्तिहरू– नेपाली काङ्ग्रेस (नेका) र
नेपाल कम्युनिस्ट पार्टी एमाले (एमाले) नै नेपालको राजनीतिमा निर्णायक शक्ति हुने
र नेपालको राजनीतिलाई उनीहरूको क्रियाकलापले नियन्त्रित एवं निर्देशित गर्ने
देखिएको छ। एमालेले अन्य दलहरूसँग मिलेर सरकार निर्माण गरे तापनि वा नेकाले अन्य
दलहरूसँग मिलेर सरकार निर्माण गरे पनि, राष्ट्रिय अर्थ एवं राजनीतिमा यी दुई राजनीतिक दलहरूको नियन्त्रणकारी
भूमिका रहने छ। र यी दलहरूले विगतमा जे जस्ता आर्थिक नीति–नियम निर्माण गरे
त्यस्तै नीति, नियमले निरन्तरता पाउने निश्चित छ।
कुनै नयाँ किसिमको आर्थिक नीति–नियम, योजना आउने सम्भावना छैन। महँगी, बेरोजगारी, व्यापार
घाटाजस्ता समस्या यथावत् रहनेछन्।
यो चुनावमा विजयी भएर स्वतन्त्र उम्मेदवार र युवाहरूको संसद्मा ठूलो सङ्ख्यामा प्रवेश भएको भए नेपालको अर्थनीतिमा ठूलो सुधार वा परिवर्तनकारी नीति, नियम, योजना आदि आउने अपेक्षा गर्न सकिन्थ्यो। तर युवा र स्वतन्त्रहरूको विजय ठूलो परिमाणमा हुने सङ्केत देखिएको छैन। युवा र स्वतन्त्रहरूलाई पत्याएर आर्थिक विकासका सम्भावनाको खोजी गर्न मतदाताहरूले नचाहेको स्थिति छ। देखिएको पनि त्यस्तै छ। काठमाडौंमा परम्परागत राजनीतिक शक्तिका कर्ता (Actor) प्रकाशमान सिंहलाई जनताले पटकपटक पत्याएर विजयी बनाउनु र नयाँ राजनीतिक शक्तिका कर्ता रवीन्द्र मिश्रलाई एकपटकका लागि भएपनि नपत्याउनुले नेपाली जनताको रुझान परम्परागत राजनीतिक शक्तिप्रति अझै बलियो रहेको पुष्टि गर्दछ। नेकाका प्रकाशमान सिंह परम्परागत राजनीतिक शक्तिका पात्र त हुन् नै, देउवा नेतृत्वको त्यस्तो काङ्ग्रेस पार्टी, जसको गतिविधिले जनतामा अति नै वितृष्णा फैलिएको छ, का एक शक्तिशाली नेता पनि हुन्। नेपाली काङ्ग्रेसले गरेको गठबन्धनलाई धेरैले ‘ठगबन्धन’ भनेका थिए। तर त्यही ठगबन्धनलाई बलियोगरी पत्याए पनि। यस्तो स्थितिमा परिवर्तनको एक विम्बको रूपमा आएका रवीन्द्र मिश्र पराजित हुनु अनौठो घटनाको रूपमा देखिएको छ। रवीन्द्र मिश्रको राजनीतिक अडान र उद्देश्यमा परिवर्तन आए पनि, उनी नेपाली राजनीतिका लागि दिशा परिवर्तनको सम्भावनाको रूपमा उदाएका थिए।
नेकाको
क्रियाकलापबाट जनता अति रुष्ट देखिएको थियो। त्यस हिसाबले नेकाका धेरै उम्देवार
हार्नुपर्ने थियो,
तर
उल्टो उनीहरूले धेरै स्थानमा विजय हासिल गरेका छन्। अर्थात् गठबन्धन (ठगबन्धन) ले
जनताबाट अनुमोदन पाएको छ। नेपाली राजनीतिको यस विचित्र स्थितिले के देखाउँछ भने
नेपाली जनताले नौलो परिवर्तन चाहेको छैन। पत्रपत्रिका, रेडियो, टिभी एवं सामाजिक सञ्जालहरूमा नेका, माओवादी, एकीकृत
समाजवादी र एमालेका नेताहरूको जतिसुकै आलोचना गरिए पनि। एमालेका धेरै नेताले
चुनावमा आशा गरिएभन्दा निकै स्थानमा विजय हासिल गर्नुले पनि यसै कुराको पुष्टि
गरेको छ। एमालेको यो विजयले थप के पुष्टि भएको छ भने नेपालीहरूले यी पुराना
नेताहरूको जति नै आलोचना गरे तापनि अन्तमा यी नेताहरूलाई नै संसद्मा हेर्न
चाहन्छन्। केपी ओलीको जनस्तरमा जतिसुकै आलोचना भए पनि, मतदान केन्द्रले उनी अति नै लोकप्रिय
रहेको प्रदर्शित र पुष्टि भएको छ। उनलाई बार्दलीबा, प्रतिगामी, अधिनायकवादी, उखान–टुक्का बाजे आदि जे भने पनि।
डडेलधुरामा
सागर ढकालको र गोरखामा अब्दुस मियाँको पराजय भएमा अनोठो मान्नुपर्नेछैन, किनभने उनीहरूलाई परम्परागत शक्ति
सत्तामा रहोस् भनी चाहना राख्ने जनताले पराजित गराएको मान्नुपर्छ। शेरबहादुर देउवा
र पुष्पकमल दाहालको जतिसुकै आलोचना भए तापनि त्यो केवल ओठे आलोचना रहेछ, यथार्थमा नेपाली जनता उनीहरूलाई सदा
शक्ति र सत्तामा देख्न चाहन्छ भनी मान्नुपर्छ। नेपाली जनता परम्परागत राजनीतिक
शक्तिलाई सत्तामा देख्न चाहन्छ। यो शक्तिले देशमा बेरोजगारी, महँगी बढाए तापनि।
हाम्रो
राष्ट्रिय राजनीतिको चरित्र यस्तो किसिमको छ कि भित्र एउटा, बाहिर अर्को रहेको अवस्थामा यो चुनावले
नेपालको अर्थतन्त्रमा कुनै सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गर्न सकिंदैन। तर
यस चुनावले एउटा विशेष परिस्थिति भने निर्माण गरेको छ। र त्यो विशेष परिस्थिति
नौलो र केही हदसम्म परिवर्तनकारी हुन सक्ने विश्वास गर्न सकिन्छ। त्यो विशेष
परिस्थिति सङ्घीय संसद्मा केही स्वतन्त्र र स्वच्छ छवि भएका र चुनावपूर्व आफूलाई
इमानदार प्रदर्शित गर्दै भ्रष्टाचार गर्दिनँ भनी बाचा गर्नेहरूको प्रवेश हुनु हो।
यो निवार्चनले राजेन्द्र लिङ्देन, रवि लामिछाने, डा तोसिमा कार्की, सोविता गौतमजस्ता स्वच्छ छवि भएका व्यक्तिहरूलाई संसद्मा प्रवेश
गर्ने अवसर दिएको छ। आफ्नो छवि सदा स्वच्छ राख्छौं र भ्रष्टाचार गर्दैनौं भनी यी
व्यक्तिहरूले सार्वजनिकरूपमा भन्दै आएका छन्। राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार
गर्नु आमाको रगत खानु’ सार्वजनिकरूपमा भन्दै आएको र उनले आफ्नो यो भनाइलाई चुनावी
वाचा (नारा) समेत बनाएको हुनाले अबका दिनमा नेपालमा आर्थिक भ्रष्टाचार, केही मात्रामा भए पनि, नियन्त्रण हुने आशा गर्न सकिन्छ। यो
चुनावले अबका दिन भ्रष्टाचार गर्न गार्हो पार्ने र मुख्यगरी कर्मचारीतन्त्रमा हुने
भ्रष्टाचार रोक्न सघाउ पुर्याउने देखिन्छ।
परम्परागत
राजनीतिक शक्तिहरू नेका, एमाले, माओवादी आदि आफ्नो फाइदाका लागि
एकअर्कासँग मिल्ने तर फाइदा नहुने स्थितिमा देशको अर्थतन्त्र नै सुस्त पार्नेगरी
काटाकाट गर्ने स्थितिलाई, संसद्मा भएको नयाँ व्यक्तिहरूको प्रवेशले नियन्त्रण गर्न सघाउ पुर्याउनेछ।
यसैगरी दलहरूलाई फाइदा हुने तर देशलाई आर्थिकरूपमा फाइदा नहुने नीति, नियम, योजना आदि कार्यान्वयन गर्न अब परम्परागत राजनीतिक शक्ति (नेका, एमाले, माओवादी) हरूलाई अब पहिलेजस्तो सजिलो हुनेछैन।
अहिलेसम्मको
स्थिति हेर्दा राजनीतिक दलहरूले सर्वप्रथम आफ्नो दल र नेताको हितलाई उच्च स्थानमा
तथा देश र जनताको हितलाई दोस्रो स्थानमा राखेको देखिएको छ। र यो स्थितिमा
नियन्त्रण हुन गार्हो थियो किनभने दलहरूले आफूलाई फाइदा हुने
नीति नियम बनाउँथे। त्यसमा कुनै मतभेद हुन्थेन। तर अब यो स्थितिमा पनि परिवर्तन
हुनेछ, किनभने यो निर्वाचनले दल र नेतालाई
भन्दा देश र जनतालाई प्राथमिकता दिनेहरूलाई संसद्मा पुर्याएको छ, त्यस्ताहरूको सङ्ख्या थोरै भए पनि।
गएका
चुनावहरूभन्दा यो चुनाव केही मात्रामा भए पनि पृथक देखिएको छ। थोरै मात्रामा भए
पनि नेपाली मतदाताको चेतनाको स्तरमा वृद्धि भएको सङ्केत यस चुनावले दिएको छ।
पुष्पकमल दाहाल जस्ता नेपाली राजनीतिका खलनायकलाई गोर्खातिर धकेलेर स्वच्छ छवि
भएका (अहिलेसम्मका लागि) रवि लामिछानेलाई चितवनका मतदाताहरूले रोज्नुलाई नेपाली
राजनीतिले नयाँ दिशा लिन थालेको सङ्केत गरेको छ। र यो सङ्केतले भोलिका दिनहरूमा
नेपालको अर्थतन्त्र राम्रो हुने आशा दिएको छ। हेर्दै जाऔं। सम्भावनाहरू धेरै छन्।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित Friday, November 25,
2022
No comments:
Post a Comment