उत्तर आधुनिकताको दुःखद आर्थिक पक्ष
अहिलेको
यो युगलाई उत्तर आधुनिक युग भन्ने गरिएको छ। यो युग कहिलेदेखि प्रारम्भ भयो, भन्न कठिन छ। तर अनुमान भने लगाउन
सकिन्छ। जबदेखि मानव जीवनलाई ‘इन्टरनेट’ ले अति प्रभाव पा¥यो, व्यक्तिहरू घरमा हुन् वा कार्यालयमा, बढी समय सोसल मेडियामा अति व्यस्त हुन थाले, त्यो समयदेखि उत्तर आधुनिक युग
प्रारम्भ भएको मान्न सकिन्छ। सन् २००० को हाराहारीदेखि उत्तर आधुनिक युग सतहमा
आएको भनी एक किसिमको धारणा निर्माण गर्न सकिन्छ। हुनत यो धारणा कहिलेदेखि प्रारम्भ
भयो भन्ने विषय वा प्रश्नले अझै धेरै बहस र प्रमाणहरू माग गर्दछ। भविष्यमा यसबारे
अझै गहन चिन्तन र मनन हुने नै छ।
उत्तर
आधुनिकताको प्रभाव जति सामाजिक जीवनमा परेको छ त्योभन्दा बढी आर्थिक जीवनमा परेको
छ। सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी परेको छ। उत्तर आधुनिकताले हाम्रो जीवनमा
अनेक परिवर्तन ल्यायो। र ल्याउने क्रम अझै जारी छ। तर चिन्ताको विषय के छ भने
उत्तर आधुनिकताले हाम्रो जीवनमा सकारात्मक भन्दा नकारात्मक परिवर्तनहरू बढी
ल्याइरहेको छ। सुखदभन्दा अति दुःखद परिवर्तनहरू ल्याइरहेको छ। अझै ठूलो चिन्ताको
विषय के छ भने ती दुःखद र नकारात्मक परिवर्तनलाई हामी सहर्ष स्वीकार गरिरहेका छौं।
अर्को किसिमले भन्ने हो भने हामी ती दुःखद एवं नकारात्मक परिवर्तनको पछाडि
दौडिरहेका छौं। अज्ञानताले होइन, पूर्ण ज्ञानका साथ।
यस
आलेखमा अहिले चलिरहेको उत्तर आधुनिकताले हाम्रो आर्थिक जीवनमा ल्याएको केवल केही
दुःखद पक्षको मात्र चर्चा गर्ने प्रयास गरिएको छ।
केही
दशक पहिलेसम्म पनि उत्पादकहरूले त्यही वस्तु वा सेवा उत्पादन गर्दथे जुन
उपभोक्ताहरूको माग अर्थात आवश्यकता अनुसारको हुन्थ्यो। उपभोक्ताले माग गरेका वस्तु
एवं सेवा मात्र उत्पादन हुन्थ्यो। तर अहिले बजारमा त्यस्ता वस्तुहरूको उत्पादन बढी
मात्रामा भइरहेको छ जुन उपभोक्ताहरूको माग अनुसारको छैन। त्यस्तो हो भने कस्ता
वस्तुहरू अहिले बजारमा बढी उत्पादन भइरहेका छन्?
अहिले
त्यस्ता वस्तु एवं सेवाहरूको उत्पादन अत्यधिक भइरहेको छ, जुन उत्पादन गर्दा उत्पादक एवं
बिक्रेताहरूलाई बढी फाइदा भइरहेको छ। अर्को शब्दमा भन्ने हो भने अहिले
उत्पादकहरूलाई जुन वस्तु उत्पादन गर्दा बढी मुनाफा हुन्छ त्यस्ता वस्तुको उत्पादन
भइरहेको छ, ती वस्तुहरू उपभोक्तालाई आवश्यक नभए
पनि। अहिलेको बजारलाई पूर्णरूपले मुनाफाले निर्देशित गरिरहेको छ।
एकातिर बजारबाट नैतिकता र मानवता हराउँदै गएको छ भने अर्कोतिर मुनाफाको वर्चस्व बढ्दै गएको छ। हाम्रो समाज अहिले मानवता केन्द्रित होइन, मुनाफा केन्द्रित भएको छ। मुनाफाको वरिपरि सम्पूर्ण सामाजिक गतिविधि घुमिरहेको छ।
दिनभरिमा
उपलब्ध समय (बिहान ओछ्यानबाट उठेदेखि राति ओछ्यानमा नजाँदासम्म) को ठूलो भाग अहिले
हामी मोबाइल (सेलफोन) मा खर्च गरिरहेका छौं। हाम्रो जीवन अहिले मोबाइल आश्रित हुन
पुगेको छ। अहिले प्रायः सबैको हातमा मोबाइल छ, सबैको छातीमा फोक्सो भएजस्तो । जसरी फोक्सो नभए हामी बाँच्न सक्तैनौं
त्यसैगरी मोबाइल नभए बाँच्न नसक्ने स्थितिमा पुगेका छौं। तर सोंचौं! के मोबाइल
हाम्रो आवश्यकताको वस्तु हो? यो आवश्कताको वस्तु होइन। यसको अनुपस्थितिमा पनि मानव जीवन चलेको
थियो। मानव जीवन रोकिएको थिएन।
क्यामराको
उत्पादन बन्द गराउने, क्यालेन्डरको
उत्पादन बन्द वा कम गराउने, रेडियोको उत्पाउन बन्द गराउने, घडीको उत्पादन बन्द गराउने, पत्रपत्रिकाहरूको प्रकाशन कम वा बन्द गराउने, किताबहरूको प्रकाशन कम गराउने, मानव सम्बन्ध साँघुरो बनाउने यस्ता
अनेक (कु)कार्य गर्ने मोबाइल के हाम्रो आवश्यकताको वस्तु हो? यो हाम्रो आवश्यकताको वस्तुभन्दा
उत्पादक र बिक्रेताहरूको लागि अति मुनाफा दिलाउने वस्तु हो। उत्पादकहरूले मुनाफाका
लागि मोबाइल बजारमा ल्याएका हुन्।
सामान्य
वस्तुको उत्पादन र बिक्री भन्दा मोबाइलको बिक्री र उत्पादनबाट उत्पादक र बिक्रेता
दुवैले अत्यधिक मुनाफा आर्जन गरिरहेका छन्। उत्पादक र बिक्रेता, मोबाइलको उत्पादनले गर्दा, ठूलो मुनाफा हात पार्ने, अत्यधिक धन आर्जन गर्ने स्थितिमा
पुगेका छन्। साथै मोबाइलको अत्यधिक उत्पादनले केही सीमित व्यक्ति (उत्पादक) हरू
ज्यादै धनी हुने स्थिति सृजना भएको छ। अर्थात् राष्ट्रिय आय वितरण कार्य असन्तुलित
हुन सघाउ पुगेको छ।
घडी, रेडियो आदिका उत्पादक, बिक्रेता, मरम्मतकर्ता सबैको रोजगार हरण गर्ने
मोबाइलले मानव सभ्यतालाई लाभभन्दा बढी हानि पु¥याइरहेको छ। अहिले बालबलिकाहरू पनि आफ्ना दौंतरीहरूसँग खेल्नुका साटो
मोबाइलमा अनेक भिडियो हेर्न रुचाउँछन्। उनीहरूको ‘भौतिक खेल’ स्थल अहिले मोबाइल
हुन पुगेको छ। उनीहरूको उपलब्ध समयको ठूलो भाग मोबाइलमा अनेक भिडियो हेर्न खर्च
भइरहेको छ। तर बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि मोबाइलको भिडियो
भन्दा भौतिक क्रीडा आवश्यक हुन्छ।
मानव
सभ्यतालाई प्रतिकूल प्रभाव पार्ने भए तापनि मोबाइलको उत्पादन र बिक्रीमा कमी आएको
छैन। किन होला? उत्तर अति सरल छ। मोबाइल उत्पादन गर्दा
बिक्रेता र उत्पादकलाई बढी मुनाफा भइरहेको छ। अन्य वस्तुको स्वीकार्यता भन्दा
मोबाइलको स्वीकार्यता अत्यधिक छ। चश्मा लगाउन कसैलाई मन नपर्न सक्छ तर मोबाइल
राख्नु वा हुनु सबैलाई मन पर्ने स्थिति छ।
मोबाइलको मात्र एउटा उदाहरणले यो चलिरहेको उत्तर आधुनिक युगमा त्यस्ता वस्तुहरूमात्र ठूलो सङ्ख्यामा बजारमा आउँछन् जुन उत्पादन गर्दा उत्पादक र बिक्रेतालाई ठूलो मुनाफा हात परोस् भन्ने तथ्यलाई टडकारोरूपमा पुष्टि गर्दछ।
उत्तर
आधुनिक युगमा हाम्रो जीवनलाई मानवताभन्दा बढी मुनाफाले निर्देशित गरिरहेको छ। यो
विषयमाथि नै चर्चा गरिसकिएको छ। यो विषयलाई पुनः एक अर्को तथ्यसँग जोडेर हेरौं।
अहिले
बजारमा त्यस्ता तरकारीमात्र देखा पर्दछन् जुन उत्पादन गर्दा उत्पादकलाई बढी मुनाफा
होस्। त्यो तरकारी खाएर उपभोक्ताको स्वास्थ्यलाई फाइदा हुन्छ कि हुँदैन भन्ने
विषयले महत्व पाउँदैन। त्यो तरकारी बिक्री गरेर उत्पादक तथा बिक्रेतालाई कति
आर्थिक फाइदा हुन्छ वा हुनेछ भन्ने विषयले महत्व पाइरहेको छ। परिणाम, अहिले उपभोक्ताको स्वास्थ्यलाई हितकर हुने
भन्दा पनि उत्पादक र बिक्रेतालाई हितकर (मुनाफा) हुने तरकारीहरूको उत्पादन एवं
बिक्री भइरहेको छ।
यो
उत्तर आधुनिक युगले धेरै जग्गा लिएर थोरै फल्ने (उत्पादकलाई कम नाफा हुने), तर उपभोक्ताको स्वास्थ्यको लागि हितकर
हुने तरकारी उत्पादन गरिरहेको छैन। बरु थोरै जग्गा लिएर धेरै फल्ने (उत्पादकलाई
अति नाफा हुने) तर उपभोक्ताको स्वास्थ्यको लागि अहितकर हुने तरकारी उत्पादन
भइरहेको छ। स्मरण होस्, अहिले
तरकारीका उत्पादकहरूले तरकारीको परिमाण, रंग,
स्वाद, स्वरूप आफूले खोजे अनुसारको परिवर्तन
ल्याउन ठूलो मात्रामा विषादि, प्रविधि आदि प्रयोग गरिरहेका छन्। अर्थात् कम लगानी गरेर ठूलो मुनाफा
हात पार्न कृषकहरूबाट ठूलो मात्रामा विषादि प्रयोग भइरहेको छ।
तरकारी
उत्पादनमा प्रयोग हुने विषादि आज खायो भोलि नै स्वास्थ्यमा कुअसर नदेखिने तर
वर्षौंपछि देखिने भएकोले त्यस बेला उपभोक्ताको स्वास्थ्य स्थिति कस्तो हुने हो, सोचनीय विषय हुन पुगेको छ।
यो
उत्तर आधुनिक युगमा हामी मानव सभ्यता विकासतर्फ अग्रसर छौं कि विनाशतर्फ? यो विषयमा बहस गर्न अब ढिलो
गर्नुहुँदैन।
विश्वराज
अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, August 18, 2023
No comments:
Post a Comment