अति समस्याग्रस्त अर्थतन्त्र: दोषी को?
नेपालको अर्थतन्त्रको गति सुस्त पार्ने मात्र
होइन, नेपालको अर्थतन्त्रलाई विपरीत दिशामा गमन
गराउनेहरू को को हुन् भनी उनीहरूतिर औंला तेस्र्याउन र उनीहरूको कारणले गर्दा नै
नेपालको अर्थतन्त्र अति समस्याग्रस्त भएको हो भनी बुझ्न, सुनिश्चित हुन् अब हामीले ढिलो गर्नुहुँदैन। यी व्यक्ति र
यी राजनीतिक दलहरूको कारणले गर्दा नेपालको अर्थतन्त्र दिन प्रतिदिन धराशायी हुँदै
गएको हो भन्ने तथ्य हामीले आउने पीढीलाई पनि सुनाउनुपर्छ। ती व्यक्ति तथा राजनीतिक
दलहरूको सत्तालोलुप प्रवृत्ति र स्वार्थी सोचबाट उत्पन्न विकृतिहरूको अब हामीले
अभिलेखीकरण पनि गर्नुपर्छ। यस्तो भयो भने आउने पीढी सजग हुनेछ। आउने पीढी सत्ता र
शक्ति केन्द्रित होइन, विकास केन्द्रित
हुनेछ।
भो! अब अति नै भो! अब त खप्न पनि कठिन भयो।
नेपाली जनता थाकिसक्यो। केही व्यक्ति र
राजनीतिक दलहरूको कारणले गर्दा नेपालको अर्थतन्त्र सुस्त त भएको नै छ, सत्ता र स्वार्थको
लगि कहिले यो पार्टीसँग मिलेर सरकार बनाउने तथा कहिले त्यो पार्टीसँग मिलेर सरकार
बनाउने, सत्ता र शक्तिमा रहन जस्तो पनि कुकर्म गर्ने जस्ता कार्य
देखेर नेपाली युवामा चरम निराशा उत्पन्न भएको छ। यी व्यक्ति र राजनीतिक दलका
कुकृत्यबाट उत्पन्न भएको चरम निराशाले गर्दा युवाहरू अहिले ठूलो सङ्ख्यामा
विदेशतिर रोजगारको लागि पलायन भइरहेका छन्। यस किसिमबाट हेर्दा यी राजनीतिक दल र
यिनका नेताहरूले देशको अर्थतन्त्र मात्र बर्बाद पारेका छैनन्, युवाहरूको
मनोविज्ञान पनि बर्बाद पारेका छन्। यिनीहरूले युवाहरूको मनोविज्ञान बर्बाद
पारिदिएकोले र बर्बाद भएको आफ्नो मनोविज्ञानको आँखाले हेर्दा, युवाहरूले नेपालमा
भविष्य सुरक्षित देखिरहेका छैनन्। विदेश जानुपर्छ भन्ने उद्देश्य मात्र अहिले
नेपाली युवाहरूको मष्तिष्कमा घुमिरहेको छ। सम्पूर्ण युवाहरू विदेश गए नेपालको
विकास कसले गर्ने?
भत्केको अर्थतन्त्रको मरम्मत गर्न सकिन्छ, त्यसलाई राम्रो पनि
पार्न सकिन्छ, तर भत्केको मनोविज्ञानको मरम्मत ज्यादै कठिन हुन्छ। मरम्मत
नहुन पनि सक्छ। यो गम्भीर विषयलाई हामीले गम्भीर भएर बुझ्न आवश्यक छ। हाम्रा
युवाको मनोविज्ञान अहिले भत्केको छ।
नेपालको अर्थतन्त्रलाई खाल्टोमा पु-याउने र
युवामा चरम निराशा उत्पन्न गराउने कार्य अहिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र
माओवादी केन्द्रजस्ता सत्ता र शक्तिलोलुप राजनीतिक दलहरूले गरिरहेका छन्। र यो पङ्तिमा अब रास्वपा पनि जोडिन पुगेको छ। यी दलहरूले
गर्दा नेपाली राजनीतिले स्थिर सरकार पाउन सकिरहेको छैन। देशमा अनिश्चितता व्याप्त
छ। जसरी पनि सरकारमा हुनुपर्छ भन्ने यी राजनीतिक दलहरूको मनोविज्ञानले गर्दा देशले
दरिद्रताबाट मुक्ति पाउन सकिरहेको छैन।
सरकार स्थिर हुन नसकेको र छिटो छिटो (सानो
अवधिमा) सरकार परिवर्तन हुने स्थितिले गर्दा देशमा असल योजना निर्माण हुन सकिरहेको
छैन। भएका योजनाहरूको कार्यान्वयन समयमा र प्रभावी किसिमले हुन सकिरहेको छैन।
कर्मचारीतन्त्रमा अभूतपूर्व किसिमले जवाफदेहीपनको अभाव देखिएको छ। राजनीतिक
अस्थिरताको फाइदा कर्मचारीतन्त्रले उठाइरहेको छ। भ्रष्टाचार बढेको छ।
कुनै पनि योजना, छोटोभन्दा छोटो अवधिको भए पनि, सम्पन्न हुन एक
वर्ष लाग्छ। जसले योजना निमार्ण गरेको हुन्छ उसले त्यो योजना सम्पन्न गर्न एक
वर्षको अवधि खोज्छ। उसले त्यो योजना सम्पन्नताको जिम्मेवारी लिन्छ। साथै त्यो
योजना सफल भएमा त्यसको यश पाउने इच्छा पनि राख्छ।
छोटो अवधिको योजना सम्पन्न हुन त एक वर्ष लाग्छ
भने मध्यम र लामो अवधिको योजना सम्पन्न हुन क्रमशः पाँचदेखि दस वर्षसम्म लाग्न
सक्छ। नेपालमा कतिपय सरकार एक वर्षसम्म पनि टिक्न सकेको छैन। नेपाली क्राङ्ग्रेसको
समर्थनमा बनेको वर्तमान पुष्पकमल दहाल नेतृत्वको सरकार नेपाली काङ्ग्रेसले सो
समर्थन फिर्ता लिएपछि, पुष्पकमल दहाल नेतृत्वको सरकार भङ्ग भए सरहको
स्थितिमा पुगेको छ। प्रवाधिकरूपमा पुष्पकमल दहाल नेतृत्वको सरकार भए तापनि अब
निमार्ण हुने सरकार एमाले समर्थित सरकार हुनेछ। हालै विकसित यो राजनीति
परिस्थितिको मूल्याङ्कन गर्दा पुष्पकमल दहाल नेतृत्वको सरकार विघटन भएको हो।
काङ्ग्रेसको समर्थनमा बनेको दहाल नेतृत्वको सरकारले दुई वर्षे अवधि पनि पूरा गर्न
सकेन। एमालेको समर्थनाम अब बन्ने दहाल नेतृत्वको सरकार पनि एक वर्ष सम्म टिक्न
सक्ने छैन। यसरी छिटोछिटो सरकार परिवर्तन भएपछि कसरी हुन्छ योजनाहरूको कार्यान्वयन? कसरी हुन्छ देशको
आर्थिक विकास?
अब नेताहरूको सत्तालोलुप प्रवृत्ति, स्वार्थी व्यवहार र
उनीहरूको अहम्ले गर्दा नेपाल आर्थिक विकासको पथमा दौडिन सकिरहेको छैन भन्नेबारे
केही चर्चा गरौं।
पुष्पकमल दहाल, नारायणकाजी श्रेष्ठ, शेरवहादुर देउवा, माधव नेपाल, केपी ओली, उपेन्द्र यादव, महन्थ ठाकुर, झलनाथ खनालजस्ता
नेताहरूको व्यवहारले गर्दा नेपालमा आर्थिक विकास हुन सकिरहेको छैन। कसरी? यो प्रश्नको उत्तर
सजिलो छ। यी नेताहरू आफ्नो स्वार्थको लागि तुरन्त मिल्छन् तर देशको आर्थिक विकासका
लागि मिल्दैनन्। नेपालको आर्थिक विकासको लागि यिनीहरूबीच सहमति आवश्यक छ भने पनि
यिनीहरू मिल्दैनन्। कलह गर्छन्।
माथि भनिएका तथ्यहरूको उदाहरण हेरौं– एमालेबाट
रुष्ट भएर बाहिर गएका र एकीकृत समाजवादी नामक राजनीतिक दल निर्माण गरी त्यसको
अध्यक्षसमेत बनेका माधवकुमार नेपाल, अहिले यो नयाँ परिस्थितिमा, एमालेको समर्थन र
पुष्पकमल दहालको नेतृत्वमा निर्माण हुने सरकारमा जान तयार भएका छन्। समचारहरूले
त्यस्तै भनिरहेको छ। केपी ओलीसँग कुरा नमिलेर शेरबहादुर देउवाको शिविरमा पुगेर
प्रधानमन्त्री पद कायम राख्न सफल दहाल अहिले शेरबहादुर–शिविर परित्याग गरी
ओली–शिविरमा पुगेका छन्। आफ्नो शिविरबाट पुष्पकमल दहाललाई निकाल बहार गर्ने केपी
ओली अहिले उनै दहाललाई फूलमालासहित आफ्नो शिविरमा स्वागत गर्न आतुर भएका छन्। कुनै
बेला पुष्पकमललाई आफ्नो अति प्रिय भन्ने, पुष्पकमलले गरेको हत्या, हिंसा समेत
बिर्सिदिने शेरबहादुर अहिले पुष्पकमललाई धोकेबाज भन्दै हिंडेका छन्। सत्ता र शक्ति
केन्द्रित रहेर देशको आर्थिक विकासलाई बेवास्ता गर्ने यी नेताहरूको स्वार्थी एवं
पदलोलुप प्रवृत्तिले गर्दा नेपालमा आर्थिक विकास एका देशको कथाजस्तै हुन पुगेको छ।
छिमेकी राष्ट्र चीन र भारतले ठूलो आर्थिक प्रगति गरे पनि हामीले केही गर्न सकेका
छैनौं।
अब व्यक्तिविशेषतिर हेरौं। नेपालको राजनीतिलाई
सदा अस्थिर पार्ने र देशको आर्थिक विकास हुन नदिने नेताको रूपमा अब हामीले
पुष्पकमल दहाललाई बुझ्न र पहिचान गर्न ढिलो गर्नुहुँदैन। सत्ता र शक्तिमा
सदासर्वदा रहने, रहन खोज्ने, यिनको प्रवृत्तिले गर्दा नेपालको राजनीति स्थिर
हुन सकिरहेको छैन। नेपालको राजनीति स्थिर हुन नसकेकोले नेपालको आर्थिक विकास हुन
सकिरहेको छैन। व्यक्तिविशेषको हिसाबले नेपालको अर्थतन्त्र बर्बाद पार्नमा पुष्पकमल
प्रमुख दोषी हुन्।
पुष्पकमल दहालले २०५२ सालदेखि नै नेपालको
राजनीतिलाई अस्थिर पार्दै आएका छन्। दहालको नेतृत्वमा भएको माओवादी जन (धन)
युद्धमा नेपालको अर्थतन्त्र विपरीत दिशामा हिंडेको थियो। २०५२ सालपछि नयाँ कल
खारखानाहरू स्थापना भएका थिएनन्। भएका कलकारखाना पनि बन्द गर्नुपर्ने स्थिति भएको
थियो। बैंकहरू लुटिएका थिए। विकासका आवश्यक संरचनाहरू ध्वस्त पारिएका थिए।
२०५२ सालदेखि २०८० सम्म, अर्थात् २८
वर्षदेखि नेपालको राजनीतिलाई दहालले अस्थिर पार्दै आएका छन्। उनको सत्ता र शक्ति
केन्द्रित प्रवृत्तिले गर्दा देशमा राजनीतिक स्थिरता कामय हुन सकिरहेको छैन। देशमा
राजनीतिक स्थिरता नभएकोले आर्थिक विकास पनि भइरहेको छैन। उल्टो नेपालमा अहिले चरम
निराशा व्याप्त छ। नेपालीहरूको मनोविज्ञान अहिले फिलिस्तिनीहरूको मनोविज्ञानजस्तो
अस्थिर भएको छ। येमनका जनतामा देखिएको बेचैनी अहिले नेपाली जनतामा पनि देखिएको छ।
२८ वर्षदेखि नेपालको राजनीतिलाई केवल आफ्नो
वरिपरि घुमाउने, कहिले माधव नेपाल, त कहिले शेरवहादुर देउवा, त कहिले केपी
ओलीलाई ‘उपयोग’ गर्ने दहालको ‘प्रयोग गर र फाल’ नीतिले नेपालको राजनीतिलाई स्थिर
हुन दिइरहेको छैन। नेपालको अर्थतन्त्र ध्वस्त पारेको छ।
नेपाली राजनीतिमा जहिलेसम्म दहालको उपस्थिति
रहने छ नेपालको आर्थिक विकास अवरुद्ध भइरहने छ। आर्थिक विकास हुने छैन।
नेपालको आर्थिक विकासको लागि राष्ट्रिय
राजनीतिबाट पुष्पकमल दहालको बहिर्गमन आवश्यक छ। थोरै सिटमा विजय हासिल गरे तापनिे
राजनीतिक चतु-याइँ प्रयोग गरेर प्रधानमन्त्री हुन सक्ने दहालको कुटिल नीतिको अगाडि
कसैको केही जोर चल्न सक्तैन। ठूल्ठूला नेताहरू पनि दहालको चतु-याइँको शिकार हुन
पुग्छन्। शिकार भइरहेका छन्।
दहाल यथार्थमा विकास नेता (Developmental Leader) होइनन् । यीनी केवल अवसर नेता (Situational Leader) हुन्। अवसर नेता त्यस्ता नेता हुन्, जो कुनै खास अवसरको
लगि उपयुक्त हुन्छन्। माओवादीहरूले तत्कालीन व्यवस्थाविरुद्ध गरेको सङ्घर्ष, वा त्यो खास
किसिमको सङ्घर्ष वा खास अवस्थाको लागि दहाल उपयुक्त नेता थिए। तर अहिले स्थिति
बदलिएको छ। अहिले देशलाई विकास चाहिएको छ। विकास अभियानलाई नेतृत्व दिने क्षमता र
कुशलता दहालमा छैन। दहाल विध्वंसका नेता हुन्, विकास–नेता होइनन्।
रूकुम, रोल्पा, जाजरकोटको कुनै विपन्न गाउँमा, गरीबहरूको
सहयोगार्थ कुनै संस्था सञ्चालन गरेर, उनीहरूको आर्थिक विकासमा पुष्पकमल दाहालले
जीवनको बाँकी समय बिताए भने नेपाली जनताले उनलाई रत्नाकर होइन, वाल्मीकि देख्नेछ।
होइन भने रत्नाकरले जीवनभर उनलाई पछ्याइ नै रहनेछ।
गरीबहरूको सेवा गर्नका लागि सत्ता वा शक्तिमा
पुग्नैपर्दैन। शक्ति र सत्तामा पुग्न खोजे अर्थशास्त्रका ‘नोबेल प्राइज’ पाउने
बङ्गलादेशका ख्यातिप्राप्त अर्थशास्त्री मोहम्मद युनुसको हविगत हुनेछ। उच्च पदमा
पुग्ने, प्रधानमन्त्री हुने, युनुसको इच्छाले उनलाई उनी पुगेको सम्मानको
धरहराबाट तल झार्दैछ।
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, March 8, 2024
https://eprateekdaily.com/2024/03/07/64397/
No comments:
Post a Comment