लोकतान्त्रिक निरङ्कुशतावाद र आर्थिक विकास
समय परिवर्तनसँगै अनेक किसिमका पद्धति, सिद्धान्त र वादहरूको विकास भयो। तिनको प्रयोग
पनि भयो। तीमध्ये केहीले मात्र दीर्घ जीवन पाए। धेरैको मृत्यु भयो।
केही वाद र सिद्धान्त लोकहितका लागि निर्माण
भएका थिए। तर तिनको प्रयोगकर्ताले ती वाद र सिद्धान्त केवल आफ्नो हितको लागि उपयोग
गरे। केही वाद र सिद्धान्त निर्माण केही व्यक्तिले केवल आफ्नो हितका लागि गरे।
आफ्नो स्वार्थ पूर्तिका लागि तिनको प्रयोग गरे। ती वाद र सिद्धान्तको प्रयोग गरेर
जनतालाई झुक्याए, ठगे।
कुनै समय राजा, महाराजा र बादशाहहरूले निर्माण गरेका राष्ट्रवाद पनि निकै
प्रचलनमा रह्यो। लोपप्रिय पनि रह्यो। राष्ट्रवादको नाममा करोडौं व्यक्तिले एकआपसमा
युद्ध गरे। आफ्नो ज्यान दिए। राष्ट्रवादको नाममा, राज्य विस्तारको नाममा करोडौं व्यक्तिले युद्ध गरे। राजा,
महाराजा र बादशाहहरूलाई फाइदा पु-याए। खासमा
राष्ट्रवादको निर्माण राजा, महाराजहरूले आफ्नो
फाइदाको लागि गरेका थिए। राजगद्दी वा सिंहासनको रक्षाका लागि गरेका थिए।
राष्ट्रवादबाट जनताले के फाइदा पायो, के फाइदा पाइरहेको छ?
संसारभरिकै गरीबहरूको कुरा गर्ने हो भने
उनीहरूको जन्म एउटा देशमा हुन्छ, आजीवन अर्को देशमा
बस्छन्। खोइ त गरीब व्यक्तिको राष्ट्रवाद? शान्ति, सुरक्षा, रोजगारजस्ता कारणले गर्दा अहिले पनि विश्वको लगभग एक चौथाई
जनसङ्ख्या आफू जन्मे, हुर्केको देशमा
होइन, अर्को देशमा बसेको पाइन्छ। यथार्थमा उच्च
महत्वाकाङ्क्षा र पेटभित्रको भोकले मानिसभित्र रहेको राष्ट्रवादलाई अर्थहीन
तुल्याइदिएको हुन्छ। तर पनि राष्ट्रवादको प्रयोग अझै व्यापक भइरहेको छ। राष्ट्रवाद,
नेताहरूको लागि सुन दिने कुखुरा भएको छ।
साम्यवाद र समाजवादको निर्माण कुनै समयमा केही
व्यक्तिले लोकहितको लागि गरे। कार्लमाक्र्स तिनै केही व्यक्तिमध्येका थिए। तर पछि,
समाजवाद र साम्यवाद, दुवै वादको प्रयोग बहुसङ्ख्यक स्वार्थी नेताहरूले आफ्नो
फाइदाका लागि गरे। प्रयोग मात्र गरेरनन्, आफनो देशको जनताको चरम शोषण गरे। चीनका माओत्से तुङ, रूसका स्टालिन र लेनिन, उत्तर कोरियाका किम इल सुङ, भेनेजुएलाका ह्युगे चाभेज, क्युबाका फिडेल कास्ट्रोजस्ता व्यक्तिले साम्यवादको भरपूर
प्रयोग केवल आफ्नो फाइदाका लागि गरे। सतह बाहिर हेर्दा र यी नेताहरूको भनाइ अनुसार
साम्यवादको प्रयोग देश र जनताको लागि गरेको भने तापनि यथार्थमा यी नेताहरूले
साम्यवादको प्रयोग आफ्नो हितका लागि गरे।
संसारभरिमा सर्वाधिक दुरुपयोग भएको वाद, साम्यवाद वा समाजवाद हो। दक्षिण एशियामा, मुख्यगरी भारतमा इन्दिरा गाँधीले पनि समाजवादको निकै दुरुपयोग गरिन्। भारत होइन, आफूलाई बलियो बनाउन इन्दिरा गाँधीले समाजवादको चरम दुरुपयोग गरिन्। भारतलाई अति गरीब पारिन्। भारतीय कम्युनिस्टहरूले पनि साम्यवाद (नक्स्लाइट आन्दोलन) को चरम दुरुपयोग गरे। पश्चिम बङ्गाललाई त गरीब नै बनाए।
साम्यवादको अत्यधिक दुरुपयोग हुने
राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। नेपालमा कम्युनिस्ट नेताहरूले साम्यवादको चरम
दुरुपयोग गरेका छन्। गरीब जनतालाई साम्यवाद नामको लड्डु देखाएर नेपालका नेताहरूले
अति नै ठगेका छन्। भोलिका दिनमा तपाईंहरूको दुःख समाप्त हुन्छ भन्दै नेपालका
कम्युनिस्ट नेताहरूले जनतालाई बन्दूक बोकाएका छन्। आफ्नै दिदीबहिनी दाजुभाइको
हत्या गर्न लगाएका छन्। साम्यवादको पासो थापेर जनतालाई त्यस पासोमा पारेर नेपालका
धेरै साम्यवादी नेताहरू शक्तिमा पुगेका छन्। सांसद, मन्त्री र प्रधानमन्त्री भएका छन्। कुन कुन कम्युनिस्ट
नेताहरूले नेपालीहरूलाई कसरी ठगे भन्ने कुरा घामझैं छर्लङ्ग छ। ती नेताहरूको नाम
लिनुपर्दैन। अहिले भने संसारभरि नै एउटा वादको निकै प्रयोग हुन थालेको छ। र त्यो
हो लोकतान्त्रिक निरङ्कुशतावाद।
सर्वप्रथम लोकतान्त्रिक निरङ्कुशतावाद के हो
त्यो बुझौं। लोकतान्त्रिक निरङ्कुशतावाद भनेको नाम लोकतन्त्र तर व्यवहार निरङ्कुश।
लोकतान्त्रिक निरङ्कुशतावादमा व्यवस्था तथा देशभित्र न्यायालय हुन्छ, संसद् हुन्छ, सरकार पनि हुन्छ। तर यी तीनै अङ्ग केवल एक वा केही नेताको
नियन्त्रणमा हुन्छ। स्वतन्त्र हुँदैन। कार्यपालिका, न्यायपालिका र विधायिका, एक वा केही नेताहरूको कठपुतली मात्र हुन्छन्। यो वादमा
प्रजातान्त्रिक किसिमले चुनाव हुन्छ, चुनाव निष्पक्ष भएको अति प्रचार प्रसार पनि गरिन्छ। तर चुनावमा जीत भने त्यही
एक व्यक्ति वा केही व्यक्तिको हुन्छ। अन्य प्रतिस्पर्धी पाखा लाग्छन्। उनीहरूलाई
पाखा लगाइन्छ।
रूसमा अहिले लोकतान्त्रिक निरङ्कुशतावादको
प्रयोग चरम किसिमले भइरहेको छ। भ्लादमिर पुटिन यही वाद प्रयोग गरेर पटकपटक चुनावमा
विजयी भइरहेका छन्। रूसको कार्यपालिका, न्यायपालिका र विधायिका, राष्ट्रका तीनै
अङ्ग, अहिले पुटिनको नियन्त्रणमा छ। रूसमा लोकतन्त्र
त छ, तर पुटिन मोडेलको छ। रूसको लोकतन्त्र निरङ्कुश
लोकतन्त्र हो। पाकिस्तानको लोकतन्त्र पनि निरङ्कुश लोकतन्त्र हो।
भारत पनि अहिले निरङ्कुश लोकतन्त्रको मार्गमा
दौडिन तयार अवस्थामा छ। केही दिनपछि नै भारतमा लोकसभा चुनाव हुँदैछ। र यो चुनावमा
भाजपाले विजय प्राप्त गर्ने पक्का छ। नरेन्द्र मोदीले विजय प्राप्त गर्ने पक्का छ।
मोदीले पनि पुटिनको मोडेल प्रयोग गरेका छन्, तर अलि फरक किसिमले। मोदीले धर्मलाई चुनावी रणनीति बनाएका
छन् भने पुटिनले राष्ट्रवादलाई।
लोकतान्त्रिक व्यवहार देखाएर के भ्लादमिर पुटिन र नरेन्द्र मोदी आफ्नो उत्तराधिकारीलाई सत्ता हस्तातन्तरण गर्न सक्तैनन्? आफ्नो दलका अन्य योग्य व्यक्तिहरूलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सक्तैनन्? लोकतन्त्रमा एउटै व्यक्ति पटकपटक एउटै पदमा बस्न पाउँदैन। एउटै व्यक्ति सदा पद र शक्तिमा रहँदा निरङ्कुश हुन्छ भनेर नै लोकतन्त्रमा निर्वाचन गराइन्छ। पुटिन र मोदी आआफ्नो देशभित्र लोकप्रिय भए भन्दैमा के ती देशको जनताले यी दुईलाई नै जहिले पनि सरकार प्रमुख बनाउने?
अब कुरा गरौ नेपालको। नेपालका यी नेताहरू– केपी
ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दहाल,
शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपेन्द्र यादव, महन्थ ठाकुर आदि
लोकतान्त्रिक निरङ्कुशतावादमा विश्वास र सोही अनुसार व्यवहार गर्ने नेता हुन्।
जतिपटक चुनाव भए पनि, घुमाउरो पाराले
(समानुपातिक, मनोनीत) भए पनि, यिनै नेता पटकपटक सत्तामा पुग्छन्। शक्तिशली बन्छन्।
मन्त्री, प्रधानमन्त्री राष्ट्रपति बन्छन्। २०४७ सालदेखि
यी नेताहरू जहिले पनि शक्ति र सत्तामा छन्। यिनीहरूलाई न चुनावले, न व्यवस्थाले विस्थापित गर्न सक्छ।
नेपालमा अहिले लोकतान्त्रिक निरङ्कुशतावाद छ।
अहिले यो वादले केही नेताहरूलाई निकै फाइदा पुर्याएको छ। यो वादको प्रयोग गरेर नै
केही नेता शक्तिशाली भएका छन्। पटकपटक उनीहरू नै सत्ता र सरकारमा पुगेका छन्।
दुईपटक, तीनपटक, पाँचपटक प्रधानमन्त्री भएका छन्।
लोकतान्त्रिक निरङ्कुशतावाद र अर्थ व्यवस्थाबीच
कस्तो सम्बन्ध हुन्छ तथा लोकतान्त्रिक निरङ्कुशतावादले राष्ट्रलाई कसरी गरीब पार्छ
अब त्यसबारे चर्चा गरौं।
रूसका राष्ट्रपति भ्लादमिर पुटिनले
लोकतान्त्रिक निरङ्कुशतावाद प्रयोग गरिरहेका छन्, यो कुरा जगजाहेर छ। राष्ट्रवादको नारा दिएर उनी चुनावमा
विजयी हुन सदा सफल भएका छन्। त्यति मात्र होइन, आफू राष्ट्रवादी हुँ भनी प्रदर्शन र प्रमाणित गर्न उनले
युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेना खटाएका पनि छन्। अर्थात् आफूलाई राष्ट्रवादी
देखाउन उनले युक्रेनमाथि अनावश्यक आक्रमण गरेका छन्। रूसलाई निरन्तर युद्धरत पारेर
रूस र रूसी जनतालाई गरीब पार्ने कार्य गरेका छन्। यदि रूस युद्धमा नलागेको भए,
रूसमा शान्ति रहेको भए, रुसले तीव्र गतिमा आर्थिक विकास गर्ने थियो। तर
पुटिनलाई राष्ट्रवादी देखाउन, जहिले पनि सत्तामा
रहिरहन रूस गरीब हुनुपरेको छ। युद्धमा अनावश्यक किसिमले लाग्नु परेको छ। युक्रेन
सही छ वा गलत, त्यो चर्चाको अर्को
पाटो हो। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की अन्य राष्ट्रद्वारा उचालिएर,
अन्य राष्ट्रहरूका लगि रूससँग युद्ध गरिरहेका
छन्। यो विश्लेषणको अर्को पाटो हो। यहाँ मुख्यरूपमा लोकतान्त्रिक निरङ्कुशतावादले
कसरी देशलाई गरीब बनाउँछ, भन्नु हो।
निरङ्कुशतावाद प्रयोग गरेर पुटिनले जसरी रूसलाई गरीब बनाइरहेका छन् त्यसैगरी
विश्वका अन्य केही नेताले निरङ्कुशतावाद प्रयोग गरेर आफ्नो देशलाई गरीब बनाइरहेका
छन्। निरङ्कुशतावादमा, शक्ति र सत्तामा
रहिरहन, नेताहरू देशको स्रोत एवं साधनको, आफ्नो हितमा चरम दुरुपयोग गर्छन्।
नेपाललाई पनि लोकतान्त्रिक निरङ्कुशतावादी
नेताहरूले गरीब तुल्याइरहेका छन्। जहिले पनि, आफूहरू नै, शक्ति र सत्तामा
रहने यिनीहरूको स्वभावले गर्दा, वा यिनीहरूको
निरङ्कुश चरित्रले गर्दा आर्थिक विकासका ठूला ठूला विषयले महत्व पाएका छैनन्।
यिनीहरूको अर्जुन–दृष्टि केवल कुर्सीमा रहेकोले विकासका कार्यहरू अवरुद्ध भएका छन्।
यी नेताहरूको सत्तालोलुप स्वभाव देखेर अहिले नेपालीहरूमा चरम निराशा व्याप्त भएको
छ। विशेषगरी युवाहरू नेपालमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छैनन् र प्रत्येक
दिन चराजस्तो झुन्ड बनाएर, विदेशी आकाशतर्फ
उडिरहेका छन्।A
नेपालका यी नेताहरूको लोकतान्त्रिक
निरङ्कुशतावादले देशलाई झन्झन् गरीब पार्दै लगेको छ। यस गम्भीर विषयप्रति अति
गम्भीर भएर एकजना नेताले मात्र पनि, शेरबहादुर देउवाले नै मात्र पनि, ‘मैले राजनीतिबाट सन्न्यास लिएँ’ भन्ने घोषणा गरिदिए नेपाली राजनीतिमा केही
तरङ्ग आउने थियो। र त्यो तरङ्ग सकारात्मक हुने थियो। नेपालको आर्थिक विकासको लागि अनुकूल
हुने थियो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित:Friday, April 19, 2024
No comments:
Post a Comment