Wikipedia

Search results

Thursday, April 24, 2025

Free Trade: Loosing Its Momentum!-Article-596

 स्वतन्त्र व्यापारको महत्व कम भएको हो!

उपभोक्तावाद अति चुलिएको यो वर्तमान वैष्य युगमा कुनै पनि राष्ट्रले आफ्नो देशका नागरिकहरूले उपभोग गर्न सम्पूर्ण वस्तुहरू आफ्नै राष्ट्र भित्र उत्पादन गर्न सक्नु असम्भव छ। लागत र प्रवधिको दृष्टिकोणले असम्भव छ। प्रकृतिक स्रोतको दृष्टिकोणले पनि असम्भव छ। आफ्नो देश भित्र उपभोक्ताहरूले उपभोग गर्नका लागि माग गर्ने सम्पूर्ण वस्तुहरू उत्पादन गर्न नसकिने स्थिति भएकोले प्राय: हरेक राष्ट्रले अनेक वस्तुहरू विभिन्न राष्ट्रहरूबाट आयात गर्नु पर्ने हुन्छ।  

अर्कोतिर, कुनै वस्तु आफ्नो देश भित्र सस्तोमा उत्पादन गर्न सकिने भएकोले त्यस्तो वस्तु आफ्नो देश भित्र उत्पादन गर्ने र त्यो वस्तु महँगोमा अन्य राष्ट्रहरूलाई बिक्री गर्ने तथा कुनै वस्तु आफ्नो देश भित्र उत्पादन गर्दा महँगो हुने भएकोले त्यस्तो वस्तु अन्य राष्ट्रहरूबाट सस्तोमा आयात गर्नु पर्ने स्थिति हुन सक्छ। यस्तो स्थितिले पनि कुनै पनि राष्ट्रलाई विश्व व्यापारमा आवद्ध हुन बाध्य पारेको छ। यस्तो भनिएको छ।

गरिब राष्ट्रहरूले आफ्ना उत्पादन धनी राष्ट्रहरूलाई बिक्री गरेर आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन सकुन र गरिब देशका नागरिकहरू स्वास्थ्य, शिक्षा, आवास जस्ता सुविधाहरुबाट बञ्चित नहोऊन। गरिब राष्ट्रहरूमा गरिबीका कारण अशान्ति भएमा त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर धनी राष्ट्रहरूमा पनि पर्ने भएकोले धनी राष्ट्रहरूले त्यस्तो सोचेंको हुन सक्छ। विश्व व्यापार संगठनले महत्व पाउनुका कारणहरू मध्ये एक यो पनि एक कारण हुन सक्छ। 

माथि भनिएका कारणहरू र विश्वासले गर्दा र खास गरिब देशहरूलाई सहयोग पुगोस र भन्ने उद्देश्यका साथ सन् जनबरी १, १९९५ मा विश्व व्यापार संगठनको स्थापना गरिएको थियो। विभिन्न राष्ट्रहरू बिच निर्वाध रुपमा, स्वतन्त्र किसिमले वस्तुहरू आयात निर्यात होस्। हरेक राष्ट्रले व्यापार बाधा फुकाउन सक्रियता देखाउन्। व्यापार विषयलाई लिएर दुई वा विभिन्न राष्ट्रहरू बिच विवाद भएमा विश्व व्यापार सङ्गठनले सहजीकरण गरेर विवाद अन्त्य गरोस्। स्वतन्त्र व्यापारले महत्व पाओस। स्थापना पश्चात विश्व व्यापार संगठनलाई उपरोक्त उद्देश्यहरू कार्यान्वयन गर्ने जिम्मेवारी पनि तोकिएको थियो। हाल १६६ देश सदस्य रहेको विश्व व्यापार संगठन विश्वभरि नै वस्तुहरू निर्वाध रुपमा एक देशबाट अर्को देशमा प्रवेश गरुन भन्ने लक्ष्य लिएर अहिले कार्यरत छ।

विश्व भरि नै वस्तुहरू एक देशबाट अर्को देशमा बिनाकुनै झंझट र बिना कुनै व्यापार-व्यवधान प्रवेश गर्न पाउने अन्य देशबाट आयात हुने वस्तुहरूमा भंसार दर उच्च कायम गर्न नापउने विश्व व्यापार संगठनको यो प्रावधानबाट गरिब राष्ट्रहरूले के साँच्चिकै विश्व व्यापारबाट सोंचे जति, चाहे जति, लाभ प्राप्त गर्न सकेका छन् त? वा विश्व व्यापारबाट केवल धनी राष्ट्रहरूले मात्र फाइदा उठाइ रहेका छन्? अहिले, अब यी दुई प्रश्नहरूमाथि गम्भीरतापूर्वक विचार गर्न थालिएको छ। केही धनी राष्ट्रहरूले त विश्व-व्यापारबाट आफूलाई उल्लेखनीय आर्थिक फाइदा नभएकोले अब स्वाबलम्बी अर्थतन्त्रको विकासमा जोड दिने भनी घोषणा नगरेता पनि आफ्नो व्यवहारद्वारा विश्व-व्यापारबाट विमुख हुन खोजेको संकेत समेत पनि दिएका छन्।

अब हामी आफ्नै सन्दर्भमा कुरा गरौ। नेपालको सन्दर्भमा विश्व-व्यापार संगठनको उद्देश्य र कार्यबाट नेपालले के कति फाइदा उठाउन सक्यो त्यस तर्फ ध्यान केन्द्रित गरौ। व्यापारका लागि चीन र भारतप्रतिको हाम्रो अति निर्भरताले स्वतन्त्र व्यापार पद्धतिबाट नेपालले कुनै पनि किसिमको आर्थिक फाइदा हात पार्न सकेको देखिदैन। उल्टो स्वतन्त्र व्यापारको कारण नेपाल, भारतको एक एक लाभदायक बजार हुन पुगेको देखिन्छ। हुन पनि अहिले नेपालले भारतबाट ठूलो परिमाणमा अनेक वस्तुहरू आयात गर्दछ। नेपाल-भारत व्यापारमा नेपालले ठूलो व्यापार घाटा बेहोर्दै आएको छ। हामी भारतबाट पेट्रोलियम पदार्थ, फलाम, स्टिल, चामल ज्यादै ठूलो परिमाणमा आयात गर्छौ। अन्य झिना मसिना उपभोग्य वस्तहरुको कुरा छोडौं। हाम्रो भारतसङ्गको व्यापार अनुपात लगभग ८९/११ रहेको छ। अर्थात हामी भारत तर्फ ११ प्रतिशत निर्यात गर्छौ भने भारतबाट ८९ प्रतिशत आयात गर्छौ। अन्तरार्ष्ट्रिय व्यापारमा देखिने यो एक ज्यादै दु:खद एवं दुर्लभ स्थिति हो। जुन हामी कहाँ देखिएको छ।

भारत लगायत अन्य राष्ट्रहरूसङ्गको हाम्रो व्यापारिक सम्बन्धले हामीले स्वतन्त्र व्यापारबाट उल्लेखनीय फाइदा उठाउन सकेको देखिंदैन। यस्तो स्थितिमा हामीले अब के गर्ने? यस वारे गम्भीरतापूर्वक सोंच्न आवश्यक भइसकेको छ।

हामीले अब स्वतन्त्र किसिमको आर्थिक नीति वा स्वावलम्बी अर्थ तन्त्रको विकासमा ध्यान दिन र सोही अनुसारको ऐन, नियम, कानूनहरूको निर्माण एवं कार्यान्वयन गर्न आवश्यक हुन पुगेको छ। हाम्रो क्षमत र हाम्रो भौगोलिक विविधताले हामीलाई स्वतन्त्र ब्यापारबाट ज्यादै न्यून आर्थिक फाइदा प्राप्त हुने स्थिति सृजना गरिदिएको छ।   

नेपाल पनि स्वतन्त्र व्यापारको पक्षधर विश्व व्यापार संगठनको सदस्य हो। नेपालले सन् २००४ देखि विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरेको हो। नेपालले यो संगठनको सदस्यता प्राप्त गरेको २० वर्ष भयो। विगत २० वर्षमा नेपालले स्वतन्त्र व्यापारबाट के कति आर्थिक फाइदा प्राप्त गर्यो त? अब यो प्रश्नको पनि उत्तर खोज्नु पर्ने भएको छ। विश्लेषण गर्न गर्नु पर्ने भएको छ।

भोलिका दिनमा नेपालको राजनीतिक व्यवस्थामाथि गणतन्त्रवादीहरूको नै नियन्त्रण रहन सक्ला। वा संविधानिक राजतन्त्र पक्षधरहरूको नेपालको राजनीतिक व्यवस्थाम प्रवेश हुन सक्ला। यो जनताले निर्धारण गर्ने कुरा हो। तर एउटा यथार्थ कुरा के हो भने नेपाल अब स्वतन्त्र व्यापार अवधारणाको पछि लागेर हुँदैन। अहिलेको यो स्थितिमा, केही दशकको लागि मात्र भएता पनि, नेपालले स्वाबलम्बी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक छ। राजा वा पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिमा एक गहिरो प्रभाव पार्ने व्यक्तिको रुपमा भनेको हो वा एक सर्व साधारण नागरिकको रुपमा भनेको, तर उनले भनको कुरा भने निकै मननीय छ। केही दिन पूर्व उनले भनेका थिए, ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला रु सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो।’ पृथ्वीपथको नाम दिएर होस, वा स्वाबलम्बी अर्थ तन्त्रको नाम दिएर होस, हामीले आफ्नो स्थिति सुहाँउदो वा अनुकूल अर्थन्त्रको विकास र अभ्यास गर्न आवश्यक छ। राजा ज्ञानेन्द्रको पृथ्वीपथ अवधारणा अगाडि बढाउनमा हामीले थप सोच्नु पर्ने वा ससंकित हुने ठाउँ देखिंदैन।

नेपालमा गणतन्त्रले निरन्तरता पाएता पनि वा संवैधानिक राजतन्त्र पुन: स्थापना भएता पनि देशको प्रशासन संचालन गर्ने राजनीतिक दलहरुले नै हो। राजनीतिक दलका नेताहरूले नै हो। ठूला दलका रुपमा भन्ने हो भने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मधेस केन्द्रित दलका नेताहरूले नै देशको शासन व्यवस्था संचालन गर्ने हो।

नेपालका राजनीतिक दलका नेताहरू स्वतन्त्र अर्थ तन्त्र द्वारा देशको आर्थिक विकास गर्ने भनी एकमत हुन आवश्यक छ। सहमत हुन आवश्यक छ। यस्तो गर्न सकिएमा मात्र राष्ट्रको आर्थिक विकास तिब्र गतिमा गर्न सकिन्छ। वर्तमानामा युवाहरूमा देखिएको चरम निराशा कम पार्न सकिन्छ। देशमा रोजगारी सृजना गर्न सकिन्छ। मत मतान्तर त्यागेर अब हामीले अगाडि बढ्नु पर्ने समय आएको छ।


     विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 18, 2025    

No comments:

Post a Comment