Wikipedia

Search results

Friday, August 16, 2013

There Is No Alternative Of Capitalism-101 Birth, Development, and Usages of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२४. पूँजीवादको विकल्प पूँजीवाद नै हो

नेपाल गरिब हुनु र यहाँका गरिबहरुको आर्थिक जिवनमा अहिलेसम्म पनि उल्लेखनीय सुधार नआउनुका पछाडि धेरै कारणहरु छन्। ती कारणहरु मध्ये प्रमुख भने नेपालको राजनैतिक दलका नेताहरुको  दलगत  एवं व्यक्तिगत स्वार्थ हो, नेताहरुको अदूरदर्शी नीति हो। अझै, नेताहरुको व्यक्तिगत स्वार्थ त गरिबीको प्रमुख कारणको रुपमा प्रस्तुत भएको छ। नेताहरुले गरिबहरुको गरिबीलाई आफ्नो स्वार्थसिद्धिका लागि व्यापक उपयोग गरे। र यो कार्य सबै भन्दा बढी कम्युनिष्टहरुले गरे। कम्युनिष्टहरुले गरिबहरुलाई केवल सपनाहरु मात्र बाँडे। यसै गरी, गरिबीबाट छुटकारा पाउने सजिला (जुन दीर्घकालमा न त व्यवहारीक हुने न त गरिबहरुलाई स्वावलम्बी तुल्याउने) तरिकाहरु सिकाए। आफूहरुले ठोस प्रयास गर्नुको साटो ज्यादै सजिलो- धनीहरुको घर जग्गा खोसेर गरिबहरुलाई बाँड्ने, तरिका प्रयोगमा ल्याए। त्यस्ता तरिकाहरुले गरिबहरुको आर्थिक जिवनमा सुधार आउनुको सट्टा उल्टो धनी र गरिब बीचको वर्षौदेखिको स्थापित सुमधुर सम्बन्ध  अति खराब हुन पुग्यो। साथै मुलुकमा हिँसा, हत्याको संस्कृति विकास भयो। त्यो हिंसाको संस्कृतिले, हिंसालाई जायज मात्र पारेन, आफ्नो माग पूरा गराउन हिंसा प्रयोग गर्नु पर्छ भन्ने मान्यता समेत स्थापित गरी दियो। सानो सानो मतभेदमा पनि व्यक्तिहरु एक अर्काको ज्यान लिन उद्दत भएको देखियो। समाजमा हिंसा अभूतपूर्व किसिमले बढ्यो। जवकि कुनै पनि मुलुकमा आर्थिक विकास हुनका लागि शान्ति पूर्व सर्तको रुपमा रहेको हुन्छ। हिंसाको संस्कृतिमा कुनै पनि समाजले आर्थिक विकास गर्न सक्तैन र गरेको उदाहरण पनि छैन। सामाजिक विकास त कोषौं परको कुरा हो। विकास वा गरिबहरुको हित गर्ने निंहुमा कुनै समयमा हिंसा प्रयोग गर्ने राष्ट्रहरु- रुस र चीन, अहिले आएर, त्यसरी प्रयोग गरिएको हिंसा अर्थहीन थियो भन्ने निष्कर्ष झिक्दै छन, मुख्य गरी चीनले। हत्या, हिंसाद्वारा ल्याइएको, राजनैतिक वा आर्थिक, कुनै पनि किसिम परिवर्तन, समाजका लागि लाभदाय भएको देखिएको छैन्। त्यसले दीर्घ जिवन पाएको छैन। यो तथ्यलाई, चीनमा भएका  घटनाहरुको विश्लेषण गरेर थाहा पाउन सकिन्छ। चीनमा गरिबहरुको हित गर्न भनेर नै सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति भएको थियो। तत्कालिन चीनिया कम्युनिष्ट पार्टीका प्रमुख माओ त्से तुङ द्वारा थालिएको त्यो सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य पूँजीवादी एवं परम्परागत चीनिया सामाजिक संरचनालाई भत्काएर त्यसको साटो माओको सिद्धान्त (कम्युनिज्म) मा आधारित समाजिक व्यवस्था स्थापना गर्नु थियो। बलपूर्व ल्याइएको त्यो परिवर्तनले चीनिया समाजलाई यति नराम्रो असर पार्यो कि त्यसको असर पछि सम्म मुलुकको सामाजिक तथा आर्थिक व्यवस्थामा परिनै रह्यो। गरिबहरुको हित भन्दा पनि माओ त्से  तुङलाई सक्तिशाली तुल्याउन सफल भएको त्यो चीनिया सांकृतिक क्रान्तिमा करिब ३० लाख मानिस मारिएका थिए। तर त्यस बेला मारिनेहरुको संख्या सहि किसिमले प्रस्तुत नगरिएको वा पुलिस अथवा स्थानीय अधिकारीहरुद्वारा लुकाईएको हुनाले मारिनेहरुको संख्या यकिन साथ भन्न सकिने स्थिति छैन्। त्यो अति हिंसात्मक सांस्कृतिक क्रान्तिबाट प्रभावित हुनेहरुको संख्या पनि दस करोड जति थियो। सांस्कृति क्रान्तिमा भएका विभिन्न हिंसात्मक घटनाहरु डरलाग्दो र कहालीपूर्ण थिए।  धेरैलाई, केवल कसैको तजबिजमा, कुट्ने, जेल पठाउने, बलत्कार गर्ने, यातना दिने, बेइज्जति गर्ने, सामाजिक बहिष्कार गर्ने, स्वास्थ्य उपचार गर्न नदिने, सम्पत्ति खोस्ने जस्ता कार्यहरु भए। खान न दिएर, बढी काम गराएर, एवं हत्या गरेर लाखौंलाई मृत्युको मुखमा पुर्याइयो। तत्कालिन प्रशासनले त्यसरी मारिनेहरुमाथि सुराकी गरेको, क्रान्तिको विपक्षमा रहेको, बुर्जुवा भएको जस्ता आरोपहरु लगाएको थियो। धेरैले, केरकारको समयमा दिइने मानसिक र शारिरीक यातना खप्न नसकेर आत्महत्या समेत गरे। त्यसरी यातना सहन नसकेर आत्महत्या गर्नेहरुमा देंग जाओपेंगका छोरा देंग पुफांग पनि थिए। रेड गार्डको यातना सहन न सकेर उनले चार तल्ले घरबाट हाम फालेका थिए। उनी मर्न त मरेनन् तर अपांग भए। उनको शरीरको तल्लो भाग नचल्ने भयो। तर, देंग पुफांगलाई कसैले खसाली दिएको भन्नेहरु पनि छन्।  
आश्चर्य लाग्दो त के छ, भने गरिब वा श्रमिक वर्गको लागि भनेर त्यसरी बलपूर्वक ल्याइएको सामाजिक तथा राजनैतिक परिवर्तनको आयु लामो हुन सकेन। मुस्किल मुस्किले दस वर्षसम्म मात्र कायम रहन सके ती परिवर्तनका असरहरु। सन् १९७६ मा माओ त्से तुङको मृत्यु भयो। उनको मृत्यु पश्चात उनले ल्याएका सामाजिक एवं राजनैतिक परिवर्तनहरु अगाडि बढ्न गार्यो हुन थाल्यो। अर्कोतिर भने, देंग जाओपेंगले ल्याएका सुधारका कार्यक्रमहरुले गति मात्र लिएनन् साथै समाजमा लोकप्रिय पनि हुन थाले। सन् १९७८ सम्ममा, सांस्कृतिक क्रान्तिका बेला माओ त्से तुङको नेतृत्वमा लागु गरिएका धेरै व्यवस्थाहरु चीनले परित्याग गरि सकेको थियो। गरिबहरुको हितका लागि भनी गरिएको सांस्कृतिक क्रान्तिले गरिबहरुको हितमा उल्लेखनीय कार्य गर्ने सकेन, न त राष्ट्र नै समृद्धिको दिशा तर्फ बढ्यो।
देंग जाओपेंगका आर्थिक सुधारका कार्यक्रमहरुले चीनिया अर्थ व्यवस्थामा सकारात्मक असर पर्न थाल्यो। उनले अर्थ व्यवस्थामा ल्याएको खुलापन वा बजार अर्थ व्यवस्था (Market Economy)  ले करोडौ चीनियाहरुको जिवनमा आर्थिक खुसहाली त ल्यायो नै समग्र राष्ट्र नै आर्थिक समृद्धिको दिशा तर्फ तिब्र गतिमा अगाडि बढ्यो। सन् १९८० देखि सुस्त किसिमले आर्थिक प्रगति भएता पनि सन् १९९० पछि भने चीनको आर्थिक विकास तिब्र गतिमा हुन थाल्यो। अहिले (सन् २०१३) चीन सं रा अमेरिका पछि, कुल गार्यहस्थ उत्पादन (GDP) को आधारमा, विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन सफल भएको छ। हुन त चीन सन् २०१० देखि नै विश्वको दोस्रो ठूलो अर्थ तन्त्र रहँदै आएको छ। जबकी सन् २००१ देखि सन् २००९ सम्म जापान निरन्तर रुपमा विश्वको दोस्रो ठूलो अर्थ तन्त्र रहँदै आएको थियो। सन् २००१ देखिको स्थितिलाई हेर्न हो भने चीन, २००१ देखि २००४ सम्म छैठौ, २००५ मा पाँचौ, २००६ मा चौथो, २००७ देखि २००९ सम्म (विश्वको) तेस्रो ठूलो अर्थ व्यवस्था हुन सफल भएको थियो। चीनले यसरी चमत्कारी किसिमले गरेको आर्थिक प्रगतिको आधारस्तम्भ खुला अर्थ व्यवस्था वा पूँजीवादी अर्थ व्यवस्था हो, देंग जाओपेंगको सुधारवादी (बजार) अर्थ व्यवस्था हो। माओ त्से तुङको साम्यवादी अर्थ व्यवस्थाले निरन्तरता पाएको भए चीनले यति ठूलो आर्थिक उपलब्धि कदापि हासिल गर्ने सक्ने थिएन। चीन गरिबीको स्थितिमा नै हुन्थ्यो। निर्धन चीनियाहरुको जिवनमा यस किसिमको सुधार आउने थिएन।
चीनलाई अहिले त्यहाँ रहेका चार वटा व्यवस्थाहरुले आर्थिक प्रगतिको दिशा  तर्फ तिब्र गतिमा दौडिन सहयोग पुर्याइ रहेका छन्। ती चार वटा व्यवस्थाहरु हुन – १. विदेशी लगानीकर्ताहरुको सुरक्षाको सुनिश्चितता २. निजी सम्पत्तिमाथि व्यक्तिको अधिकारको सुनिश्चितता ३.  बजार प्रणाली पुन: स्थापना ४. आर्जित नाफा बिना कुनै रोकटोक आफ्नो मुलुक फिर्ता लग्न पाउने व्यवस्था। समग्रमा भन्ने हो भने चीनको उदार अर्थ नीतिले चीनलाई आर्थिक उपलब्धि हासिल गर्न सघाइ रहेका छ। चीनको आर्थिक विकासको गतिलाई तिब्रता दिनमा साम्यवादी अर्थ व्यवस्थाको कुनै योगदान छैन। सन १९७६ सम्म, जबसम्म साम्यवादी व्यवस्थाका प्रावधानहरु सक्रिय रुपमा क्रियाशील थिए, चीनिया अर्थ तन्त्रले प्रगति गर्न सकेको थिएन।  
नेपालका विभिन्न राजनैतिक पार्टीका नेताहरु र मुख्य गरी कम्युनिष्ट पार्टीका नेताहरुले चीनमा भएको राजनैतिक परिवर्तन र आर्थिक प्रगतिबाट दुई वटा पाठ सिक्न आवश्यक देखिन्छ, ती हुन- १. हिंसा, हत्या र बलपूर्व ल्याइएको परिवर्तनले जनताको भलाई गर्न सक्तैन र त्यस्तो परिवर्तनको आयु लामो पनि हुँदैन। २. मुलुकको आर्थिक प्रगति द्रुततर गतिमा गर्न र गरिबहरुको जिवनमा आर्थिक खुसहाली ल्याउन मुलुकको  अर्थ व्यवस्था साम्यवादी होइन, पूँजीवादी हुन आवश्यक छ। पूँजीवादी अर्थ व्यवस्थामा जति सुकै विकृति भएता पनि पूँजीवादी अर्थ व्यवस्थाको विकल्प साम्यवादी वा समाजवादी अर्थ व्यवस्था होइन। पूँजीवादी अर्थ व्यवस्थाको विकल्प  पूँजीवादी अर्थ व्यवस्था नै हो। खराब पूँजीवादी अर्थ व्यवस्थाको विकल्प लोक कल्याणकारी एव गरिबमूखि पूँजीवादी अर्थ व्यवस्था हुन सक्छ। साम्यबादी अर्थ व्यवस्था भित्र सुधारको कुनै व्यवस्था हुँदैन। साम्यवादी अर्थ व्यवस्था निर्धारित लिकमा रेल हिंडे झै हिंड्ने गर्दछ । तर पूँजीवादी अर्थ व्यवस्थामा सुधारका असंख्य व्यवस्थाहरु हुन्छन किनभने पूँजीवाद प्रजान्त्रको जगमा उभिएको हुन्छ। व्यक्तिको वाक स्वतन्त्रता र व्यक्तिगत सम्पत्तिको सुरक्षा गरेको हुन्छ पूँजीवादले। व्यक्तिको भौतिक र बौद्धिक सम्पत्तिको प्रयोगमा स्वतन्त्रता र तिनको वास्तविक सुरक्षा भए पछि मात्र नया नया सृजनाहरुले प्रष्फुटित हुने अवसर पाउँछन। देश समृद्ध हुन्छ।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Wednesday, August 16, 2013

Friday, August 9, 2013

Capitalism Favors Also to the Poor People-100 Birth, Development, and Usages of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२३. पूँजीवादले गरिबहरुको हितको पनि रक्षा गर्दछ

पूँजीवादले केवल धनीहरुको पक्ष पोषण गर्दछ। गरिबहरुको भने यसले शोषण गर्दछ। यो भनाइमा विश्वास गर्नेहरु धेरै छन। यो भनाइमा विश्वास गर्नेहरुको संख्या धेरै मात्र होइन, त्यसरी विश्वास गर्नेहरु मध्ये केहीले आफ्नो व्यो विश्वास सर्वकालिक सत्य हो भनी त्यसमा कुनै किसिमको परिवर्तन नै नगर्ने अडान समेत व्यक्त गर्छन। उदेक लाग्दो त के छ भने पूँजीवादले केवल धनीहरुको हित गर्दछ भन्ने मान्यता समय सँग सँगै, व्यवहारद्वारा असत्य प्रमाणित हुँदै जाँदा पनि उनीहरु आफ्नो त्यो अडानमा कुनै किसिमको परिवर्तन ल्याउन तयार रहेको देखिएका छैनन्। पूँजीवादी राष्ट्रहरुले गरेको अति आर्थिक प्रगतिलाई मिथ्या मान्दछन। इश्वर बाहेक यो संसारमा सर्वकालिक सत्य कुनै कुरा छैन भन्ने यथार्थ थाहा हुँदाहुँदै पनि। बाग्मतिमा धेरै पानी बगि सक्यो। समयले कोल्टो फेरि सक्यो। कुनै समयमा कम्युनिष्ट रहि सकेका धेरै राष्ट्रहरुले  राजनैतिक व्यवस्था (कम्युनिज्म) नै परित्याग गरेर पूँजीवादी अर्थ व्यवस्था अंगाली सके। यी सवै घटनाहरु आफ्नै आँखाले देख्दा देख्दै पनि पूँजीवादले गरिबहरुको शोषण गर्छ भनी विश्वास गर्नेहरुको त्यस्तो सोंचाईमा भने कुनै किसिमको परिवर्तन आउन सकेको छैन। नेपालमा, आफूलाई कट्टर कम्युनिष्ट भन्नेहरु त पूँजीवादको पू सम्म पनि सुन्न चाहँदैनन।
पूँजीवादले धनीहरुको मात्र हित गर्दछ, गरिबहरुको चरम शोषण गर्दछ भन्ने पूँजीवाद बिरोधीहरुको धारणा केवल एक भ्रम हो। जसले पूँजीवादको बिरोध गर्दछ, तर यथार्थमा गरिबहरुको हित चाहेका छ, उनीहरुको यस्तो भ्रमले गरिबी न्यूनीकरण कार्यलाई झनै प्रतिकूल असर परेको छ। गरिबी न्यूनीकरणको कार्य निकै सुस्त र कठिन हुन पुगेको छ। गरिबहरु दयनीय गरिबी कै अवस्थामा अझै पनि रहि रहन बाध्य भएका छन्।
पूँजीवादको बिरोध गर्नेहरु अर्को थरि पनि छन्। यो अर्को थरिलाई पूँजीवादले गरिबहरुको शोषण गर्दैन बरु राज्य संचालन गर्ने जिम्मेवारी पाएका अदूरदर्शी एवं भ्रष्ट राजनीतिक नेता तथा प्रशासकहरुले गरिबहरुका लागि प्रतिकूल नीति बनाएर एवं आफ्नो स्वार्थी व्यवहार द्वारा गरिबहरुको शोषण गर्दछन भन्ने यथार्थ थाहा हुन्छ तैपनि गरिबहरुको सहानभूति पाउन उनीहरुले पूँजीवादको बिरोध गर्छन। पूँजीवादप्रतिको आफ्नो बिरोधलाई गरिबहरुको सहानभूति पाउने वा चुनाव जित्ने हतियारको रुपमा प्रयोग गर्छन। गरिबहरुलाई जहिले पनि पूँजीवादको भय देखाउँछन। धनीहरुलाई गरिबको वर्गीय सत्रु देखाएर चुनावमा गरिबबाट सहानभूति लिने दाउपेंच खेल्छन।
धनीहरु जति सबै गरिबका वर्गीय सत्रु हुन भनी प्रचार एवं भाषण गरेर राजनीति गर्न एवं चुनावमा जित्न सजिलो छ पनि। तर धनीहरु गरिबका वर्गीय सत्रु हुन भनी देखाउन जति सजिलो छ, गरिबहरुका लागि वास्तविक किसिमले आर्थिक रुपमा सहयोग पुग्ने तरिकाहरु सोंच्न र ती तरिकाहरुलाई व्यवहारमा लागु गर्न त्यो भन्दा गार्हो छ। त्यसकारण अधिकांस नेताहरु गार्हो कार्य गर्न अग्रसर हुँदैनन् र सजिलो कार्य गर्न पट्टि लाग्छन्। गरिब जनताको हितलाई वेवास्त गर्छन। केवल आफ्नो स्वार्थ मात्र पूर्ति मात्र ध्यान केन्द्रित गर्छन।    
पूँजीवादले गरिबहरुको शोषण गर्दैन बरु भ्रष्ट एवं स्वार्थी नेता, प्रशासक अनि यिनीहरुद्वारा बनाइएका नीति नियमहरुले गरिबहरुको शोषण गर्दछ, पूँजीवादी अर्थ व्यवस्थाका उदार एवं खुला नीतिहरुको दुरुपयोग गरेर। यो यथार्थ पूँजीवादको बिरोध गर्नेहरु भन्दा गरिबहरुले बढी बुझ्न अति आवश्यक छ। पूँजीवादी कहलिएका राष्ट्रहरुमा गरिबहरुको स्थिति अन्य राष्ट्र (जसले आफूलाई पूँजीवादी भन्न रुचाउँदैन र केही समाजवादी नियमहरु व्यवहारमा लागू गरेका पनि हुन्छ) हरुको तुलनामा निकै राम्रो देखिएको छ। पूँजीवादी अर्थ नीति अंगिकार गरेका राष्ट्रहरु- सं रा अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य, आदिमा गरिबहरुको आर्थिक स्थिति तुलनात्मक रुपमा असल रहेको देखिएको छ। यो व्यवहारिक जिवनमा देखिएको यथार्थ हो। कल्पनाको आधारमा प्रस्तुत गरिएको उदाहरण होइन। संयुक्त राज्य अमेरिकामा न्युनत्म ज्याला पाउने व्यक्तिले पनि सजिलैसंग जिवन निर्वाह गर्न सक्छ। दुई छाक कसरी टार्ने भन्ने समस्या हुँदैन, उसलाई। उसको त्यो आम्दानीले विलासी वा अर्ध विलासी सामाग्रीहरु खरिद गर्न गार्हो हुन सक्छ, त्यो बेग्लै कुरा हो तर पेट कसरी भर्ने भन्ने समस्या हुँदैन।
कुनै राज्य लोक कल्याणकारी छ। लोक कल्याणलाई राज्य निर्देशक सिद्धान्त मानेको छ। र त्यो राज्यले पूँजीवादी अर्थ नीति अंगिकार गरेको छ भने, त्यो स्थितिमा, पूँजीवादले गरिबहरुको शोषण गर्न सक्तैन किनभने लोक कल्याणकारी नीतिले गरिबहरुको हितको रक्षा गर्दछ। लोक कल्याणकारी राज्यले सरकारलाई गरिबहरुको हितमा ऐन, नियम निर्माण गर्न निर्देशित गर्दछ। सरकारले विभिन्न किसिमका कानूनहरु बनाएर गरिबहरुको हितको संरक्षण गर्दछ वा गर्न सक्छ। धनीहरुले प्राप्त गरेको उच्च मुनाफा (आय) लाई गरिबहरु समक्ष पुर्याउने चाँजोपाँजो मिलाउन सक्छ। लोक कल्याणकारी राज्यमा सरकारले गरिबहरुको हितमा निर्माण गर्ने विभिन्न नियम कानूनहरु मध्ये एक हो- कम आय भएका करदाताहरुबाट लिएको कर फेरि उनीहरुलाई फिर्ता गर्नु।
गरिबहरुको आर्थिक जिवनलाई सरल पार्न वा उनीहरुको क्रय शक्ति वृद्धि गर्न केही राष्ट्रहरुले आफ्ना कम आय भएका नागरिकहरुलाई कर छुट दिने गर्दछन्। कम आय भएका नागरिकहरुले, करका माध्यमद्वारा वर्ष भरिमा भुक्तान गरेका रकमलाई सरकारले फिर्ता दिने गर्दछ। यसरी कम आय भएका व्यक्तिहरुले वर्षमा एक पटक, त्यो वर्ष आफूले भुक्तान गरेको करको  रकम एक मुष्ट फिर्ता पाउने गर्दछन। लोक कल्याणकारी सरकारले यसरी पनि कमजोर आय भएका आफ्ना जनताको आर्थिक हितको रक्षा गर्दछ वा गर्न सक्छ।
लोक कल्याणकारी राज्यले आफ्नो कमजोर आय भएका जनताको आर्थिक हितका लागि गर्ने अर्को तरिका हो- सामाजिक सुरक्षा व्यवस्था गर्नु। सामाजिक सुरक्षा व्यवस्था अन्तरगत सरकारले आफ्नो नागरिकहरुलाई एक तोकिएको अवधि (उमेर) पछि मासिक रुपमा एक तोकिएको रकम  आजिवन प्रदान गर्दछ। तर यो तोकिएको रकम पाउनका लागि व्यक्तिले एउटा तोकिएको अवधिसम्म कार्य गरेको हुनु पर्दछ अथवा जागिर अवधिभरमा एक तोकिएको रकम पारिश्रमिक वा तलबका रुपमा आर्जन गरेको हुनु पर्दछ। सरकारी वा गैर सरकारी, स्थाई वा अस्थाई, पूर्णकालिक वा आंशिक, मासिक तलब वा घंटा अनुसार ज्याला, जस्तो सुकै किसिमको कार्य गरेता पनि व्यक्तिले सामाजिक सुरक्षा व्यवस्था अन्तरगत सेवा निवृत भए पछि एक तोकिएको रकम प्रत्येक महिना आजिवन पाउने गर्दछ, सामाजिक सुरक्षा व्यवस्था अन्तरगत।
लोक कल्याणकारी राज्यले कमजोर आय भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने अन्य थुप्रै तरिकारु छन। माथिका केही प्रतिनिधि उदाहरण मात्र हुन।

पूँजीवादले पूँजीको उत्पादन क्षमतामा व्यापक वृद्धि गर्दछ। धन अथवा आय आर्जनका नया नया तरिकहरुको खोजि गर्ने कार्यमा व्यापारीहरुलाई सहयोग पुर्याएर राष्ट्र एवं नागरिकलाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेल्दछ। राज्यको नियम कानूनलाई उदार एवं खुकुलो पारेर उद्यमी तथा व्यापारीहरुलाई उद्योग तथा व्यापार गर्न सजिलो वातावरण श्रृजना गरि दिन्छ। व्यक्तिगत सम्पत्तिको ग्यारंटी मात्रै गर्दैन जति सुकै ठूलो परिमाणमा पनि सम्पत्ति राख्न पाउने अधिकार समेत प्रदान गर्दछ। साथै व्यक्तिले आफ्नो धनको प्रयोग आफूले चाहेको क्षेत्रमा खर्च वा लगानी गर्न पाउने स्वतन्त्रता पनि प्रदान गरेको गर्दछ। यस्ता व्यवस्थाहरुले गर्दा पूँजीपतिहरु आफ्नो व्यापारको विस्तार गर्न प्रोत्साहित हुन्छन। अर्कोतिर लोक कल्याणकारी राज्य नीतिले विभिन्न किसिमका नीति नियमहरुको निर्माण गरेर धनीहरु संग थुप्रिएर रहेको वा रहन सक्ने आयलाई गरिबहरु सम्म पुर्याउने वातावरण श्रृजना गर्दछ। त्यसकारण पूँजीवादी राष्ट्रहरुले लोक कल्याण कारी नीति पनि अवलम्वन गरेका हुन्छन। यस प्रकार पूँजीवादले गरिबहरुको शोषण गर्दछ भनी विभिन्न पक्षहरुबाट व्यक्त गरिएको विचार एवं अडान केवल उनीहरुको भ्रम मात्र हो, वर्तमान विश्व अर्थ व्यवस्थालाई हेर्दा। पूँजीवादले गरिबहरुको शोषण गर्ने होइन, गरिबहरुको शोषण, पँजीवादलाई अगाडि बढाउने, कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तर जनउत्तरदायी नरहेको भ्रष्ट शासन व्यवस्था (सरकार) ले गर्छ वा गर्न सक्छ। देश हांक्ने अभिभार पाएको स्वार्थी नेताहरुको समूहले गर्छ वा गर्न सक्छ। 

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, August 09, 2013


Friday, August 2, 2013

Causes of Poverty in Nepal-Article-99 Birth, Development, and Uses of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२२. किन भइरहेको छैन नेपालमा गरिबी न्यूनिकरण

गएको बीस पच्चिस वर्षमा नेपालका निकट छिमेकी लगायत एशियाका अन्य मुलुकहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गरे। यी राष्ट्रहरुले मुलुकलाई धनी मात्र पारेनन् साथै गरिबी न्यूनीकरणमा समेत महत्वपूर्ण उपलब्धि हासिल गरे। दक्षिण कोरिया, थाइलैण्ड, इण्डोनेशिया, मलेशिया, भारत, चीन, कतार आदिले गरेको आर्थिक प्रगतिले त जनता र सरकारले चाहने हो भने छोटो समयमा पनि मुलुकले चमत्कारी किसिमले आर्थिक प्रगति गर्न सक्छ भन्ने उदाहरण नै स्थापित गर्यो। तर नेपालमा भने आर्थिक विकास हुन सकि रहेको छैन, छिमेकीहरुले छोटो समयमा यति बढी आर्थिक उपलब्धि हासिल गरेता पनि। उल्टो नेपालमा आर्थिक विकासको गति सुस्त  हुँदै गइ रहेको छ, बेरोजगारीले नेपाली समाजलाई अजिंगरले झै निल्न खोजि रहेको छ। नेपाली युवा युवतीहरु अभूतपूर्व किसिमले विदेश पलायन भइ रहेका छन्, स्वदेशमा रोजगारी नपाएर। विगतको कुनै कालखण्डमा पनि, यसरी, राष्ट्रको प्रतिभा र श्रम पलायन भएको थिएन। राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने युवा जनशक्ति परदेश पलायनको कथा सरल भने छैन। कथा आफैमा दयनीय छ, अनि डर लाग्दो पनि उत्तिकै छ। वैदेशिक रोजगारीले परिवारहरुमा हालका लागि केही आर्थिक खुसहाली ल्याएको त छ तर त्यसले ल्याएको सामाजिक विकृति तथा रेमिटेन्सप्रतिको बढ्दो निर्भरताको लेखाजोखा गर्दा रेमिटेन्स मुलुकको दीर्घकालिन हितमा देखिंदैन। रेमिटान्सले स्वदेशी उद्योग एव कृषि क्षेत्रलाई ज्यादै नै नराम्रो गरी प्रभाव पार्न थालेको अनुभव गर्न थालिएको छ।   
नेपाली युवा युवतीहरुको अहिले विश्वका विभिन्न देशमा सामान जस्तो तस्करी भइ रहेको छ। तस्करीको माध्यमद्वारा महँगोमा बिक्री गर्न पाइने प्रलोभनमा स्वदेशी दलालहरुको सहयोगमा विदेशी दलालहरुले नेपाल युवा युवतीहरुलाई यूरोप, अफ्रिका, द अमेरिकाका मुलुकहरुसम्ममा सामान झै गरेर बिक्री गरि रहेका छन। कतिपय नेपाली युवा युवतीहरु, उनीहरुले आफ्नो जिवन कालमा कहिले नाम नै नसुनेको देशमा समेत पुगेका छन। ती बिरान भूमिमा पुगेर कतिपयले ज्यादै कष्टर जिवन बिताउनु परेको छ भने केहीले मानसिक तनाव र यतना सहन गर्न नसेर आत्म हत्या समेत गरेको सुनिएको छ। पलायन हुने युवा युवतीहरुले स्वदेशमा रोजगारी पाउने स्थिति भइ दिएको भए पक्कै पनि तिनीहरु विदेशी भूमिमा जोखिमपूर्ण र अनिश्चित जिवन बाँच्न बाध्य हुनु पर्ने थिएनन् होला।  अरबका जेलहरुमा कष्टकर जिवन भोग्नु पर्ने थिएन होला। नेपाली युवा युवतीहरु त्यसरी विदेश पलायन हुनु पर्ने स्थितिले नेपालमा रोजगारीको अवस्था दयनीय हुँदै गएको सप्रमाण पुष्टि गर्दछ।
मुलुकमा रोजगारीको स्थिति यस्तो नाजुक स्थितिमा पुगेको देख्दा देख्दै पनि नेपालका राजनैतिक दलहरु त्यो नाजुक स्थितिमा सुधार ल्याउन उत्सुक देखिएका छैनन्। उल्टो मुलुकमा रोजगारीको क्षेत्र झन झन संकुचित हुने, गरिबी बढ्ने कार्य गरि रहेका छन्। त्यस्तो कार्य गर्नेहरुको पंक्तिमा नेपालका कम्युनिष्ट पार्टीहरु अग्र स्थानमा छन। जुन  किसिमको अर्थ तन्त्रले मुलुकको आर्थिक विकास हुने हो त्यसलाई प्रयोगमा ल्याउनुको साटो बिपरित किसिमको अर्थ तन्त्रको प्रयोगमा जोड दिइ रहेका छन। संसारको कुनै पनि मुलुकमा सफल नभएको अर्थ तन्त्रको प्रयोगमा जोड दिइ रहेका छन। कुनै समयमा कम्युनिष्ट रही सकेका मुलुकहरुले यस किसिमको अर्थ तन्त्रले मुलुकको आर्थिक विकास हुँदैन भनी व्यवहारिक प्रयोगद्वारा थाहा पाएर त्यस किसिमको अर्थ तन्त्र परित्याग गरि सक्ता पनि नेपाली कम्युनिष्टहरु डेट एक्सपाएर भएको त्यो अर्थ तन्त्रले मुलुकको आर्थिक विकास हुन्छ भन्ने भ्रम पालेर बसेका छन। उत्तरबाट दक्षिण दिशातिर बग्ने नदिलाई दक्षिणबाट उत्तर तिर बग्ने पार्छु भन्दै समय खेर फालि रहेका छन्। अर्थात कम्युनिष्ट वा समाजवादी अर्थ तन्त्रद्वारा देशको आर्थिक विकास हुन्छ, गरिब जनताको जिवनमा सुधार आउँछ भन्ने भ्रम वा दिवा स्वप्नमा अल्मलिएका छन। उनीहरुको यस्तो भ्रम वा दिवा स्वप्नले नेपाल झन झन गरिब हुँदै जानेछ। र त्यो भन्दा पनि ठूलो कुरा, खास गरि गरिबहरुको जिवन झन झन कष्टकर हुने छ, गरिबहरु झन झन गरिब हुने छन्, ज्यादै निर्धनहरुका लागि दुई छाकको जोहो गर्न पनि गार्हो पर्ने छ। घरबारवीहिनहरुको संख्यामा  व्यापक वृद्धि हुनेछ। नेपालीहरु रोजगारीका लागि अझै ठूलो संख्यामा अरब पुगेर त्यहाँको तातो हावा अनि प्रतिकूल वातावरणमा कष्टकर जिवन भोग्न बाध्य हुने छन्। त्यति मात्र होइन, नेपालीहरु रोजगारीका लागि संसारका अनेक मुलुकहरुमा गैर कानूनी तरिकाबाट पुगेर जिवनलाई कष्टकर मात्र होइन थप जोखिममा पार्ने छन्। तर अझ दुखद कुरो त के छ भने ज्यादै निर्धनहरु त आफ्नो निर्धनताको कारणले वैदेशिक रोजगारीमा जान पाउने छैनन् र कष्टकर गरिबीमा बाँच्न विवश हुने छन। ज्यादै निर्धनहरुले रोजगारीका लागि विदेश जाने खर्च जुटाउन सक्तैनन् भन्ने कटु सत्य सबैलाई थाहा नै छ।
कम्युनिष्ट वा समाजवादी अर्थ तन्त्रले गरिब नेपालीलाई झनै गरिब पार्नु भन्दा बढी केही पनि गर्न सक्ने स्थिति छैन्, राष्ट्रको आर्थिक विकासका लागि खुला र उदार अर्थ तन्त्र अंगिकार गर्नु पर्ने वर्तमान अवस्थामा, कुनै एक राष्ट्र विश्व अर्थ व्यवस्थामा आवद्ध नभएर बस्न नसक्ने अवस्थामा। तर आश्चर्य लाग्दो कुरा त  के छ भने, नेपालमा कम्युनिष्टहरुले गरिबहरुको हितको वकालत गर्छन, गरिबहरुको सर्वाधिक हित गर्नु नै आफ्नो पार्टीको मुल उद्देश्य रहेको भनि गरिब जनता समक्ष वाचा गर्छन तर अर्कोतिर गरिबहरुलाई झनै गरिब पार्ने कार्य गर्छन। गरिबहरुको हित हुने कार्य गर्न छाडेर उनीहरुको अहित हुने कार्यमा आफ्ना सम्पूर्ण क्रियाकलापलाई केन्द्रित गर्छन, गलत किसिमको वा समयसंग मेल नखाने किसिमको अर्थ व्यवस्थामा विश्वास गरेर, त्यसलाई लागु गर्न तयार भएर। कम्युनिष्टहरुले यस्तो डेट एकस्पाएर अर्थ व्यवस्था (कम्युनिष्ट वा समाजवादी अर्थ व्यवस्था) मा विश्वास गर्ने स्थिति कसरी आयो? यो स्थिति अज्ञानता वा विश्व परिस्थितिको अध्ययन नगरेको कारणले उनीहरुमा आएको हो कि? वा जाना जानी जनतालाई केवल आफ्नो पक्षमा उपयोग गर्न अथवा आफूलाई नेपाली राजनीतिमा शक्तिशाली तुल्याउन नेताहरुले जनतालाई सपना बाँड्ने क्रममा आएको हो? अथवा हामी कांग्रेस वा अन्य दलहरु भन्दा पृथक छौ भनी देखाउने क्रममा आएको हो? बुझ्न गार्हो छ, यी पेंचिला कुराहरु। तर कटु सत्य के हो भने, आउँदा दिनहरुमा नेपालका कम्युनिष्टहरुले कम्युनिष्ट वा समाजवादी अर्थ तन्त्रप्रतिको आफ्नो मोह भंग नगर्ने हो भने, पूँजीवादी अर्थ तन्त्रको अध्ययन एवं प्रयोगमा जोड न दिने हो भने, अनि मुलुकका अन्य राजनैतिक दलहरु, जसले पूँजीवादी अर्थ तन्त्रमा विश्वास गर्छन र त्यसको प्रयोगमा जोड दिन्छन्, लाई त्यस किसिमको अर्थ तन्त्रको कार्यान्वयनमा सहयोग नपुर्याउने हो भने आउँदो दशक त के आउँदो पचास वर्षसम्ममा पनि गरिब नेपालीहरुको जिवनमा आर्थिक खुसहाली आउने छैन। यदि नेपालका कम्युनिष्टहरुले साँच्चिकै गरिब नेपालीहरुको हितमा काम गर्न चाहेका हुन भने, गरिबहरुको जिवन सरल र अभावरहित पारि दिन खोजेका हुन भने उनीहरुले पूँजीवादी अर्थ तन्त्रलाई स्वीकार गर्नुको अर्को विकल्प छैन। संसारका लगभग सम्पूर्ण राष्ट्रहरु, र खास गरी विकासशील राष्ट्रहरुले पूँजीवादी अर्थ तन्त्र अंगिकार गरेर मुलुकको आर्थिक विकास गरि रहेको विश्व परिस्थितिमा, गरिबहरुको जिवनमा ठूलो सुधार ल्याइ उनीहरुको जिवन सरल पारि दिइ रहेको परिप्रेक्ष्यमा, नेपालका कम्युनिष्टहरुले साम्यवादी वा समाजवादी अर्थ तन्त्रद्वारा मुलुकमा व्याप्त गरिबी निर्मुल पार्छु भन्नु उल्टो गंगा बगाउनु हो। आकाशमा पुग्न भर्यांग हाल्छु भन्नु हो। उनीहरुको यस्तो कार्यले गरिब नेपालीहरुलाई गरिबीको दलदलमा अझै लामो समयसम्म भास्सि रहन बाध्य पार्नु हो बाहेक अन्य केही गर्न सक्तैन। विश्व परिस्थितिले त्यही भन्छ। यो कसैको व्यक्तिगत विचार होइन। नेपालको राजनीतिमा कम्युनिष्टहरुको ठूलो प्रभाव रहेको हुनाले कम्युनिष्ट नेताहरुले यस प्रति गंभिरतापूर्व सोच्न आवश्य छ, यदि आफ्नो स्वार्थलाई बिर्सेर निर्धन जनताको हित गर्न खोजेको हो भने। ज्यादै निर्धन नेपालीले दुई छाक ढुक्कसंग खान पाउन भनी चाहेको हो भने।
केन्द्रिकृत वा साम्यवादी अर्थ तन्त्र द्वारा मुलुकको आर्थिक विकास हुँदैन, गरिबहरुको जिवनमा सुधार ल्याउन सकिंदैन भन्ने यथार्थ बल्ल आएर बर्मा र क्युवाले पनि बुझ्न थालेको संकेत दिएका छन्। देशको अर्थ तन्त्रलाई बजारमूखि तुल्याउने तत्परता देखाएको छ अहिले, बर्माले। जनतालाई राजनैतिक र आर्थिक स्वतन्त्रता दिएर, मुलुकमा प्रजातन्त्र सबल पारेर मात्र राष्ट्रको आर्थिक विकास हुन सक्छ भन्ने यथार्थमा विश्वास गर्न थालेको छ। उदार अर्थ व्यवस्थातिर ढल्केको छ, बर्मा। यसै गरी क्युवाले पनि विस्तारै देशको राजनीतिमा र अर्थ व्यवस्थामा रहेको केन्द्रिय नियन्त्रणलाई खुकुलो पार्न थालेको छ। कुनै समयमा विश्व अर्थ व्यवस्थाबाट निकै टाढा बसेर बर्मा एक्लिएको थियो। राष्ट्रको आर्थिक विकासमा निजी क्षेत्रको अहंम भूमिका हुन्छ भन्ने यथार्थलाई महत्व दिएको थिएन। क्युबा त झनै कठोर किसिमको कम्युनिष्ट अर्थ व्यवस्थाको प्रयोगमा तल्लिन थियो। अव्यवहारीक अर्थ व्यवस्थाको प्रयोगले गर्दा यी मुलुकहरुमा गरिबहरुको आर्थिक स्थिति झनै खस्केको थियो। क्युवाले त गरिबहरुको हितको लागि भनेर नै मुलुकमा कम्युनिष्ट अर्थ व्यवस्था लागु गरेको थियो। तर अहिले आएर यी मुलुकहरुले उदार अर्थ तन्त्र वा पूँजीवादको महत्वलाई बुझ्ने प्रयास गर्दैछन। यी मुलुकका नेताहरुले त पूँजीवादको महत्वलाई बुझ्ने कोशिस गरे, पूँजीवादको प्रयोग गर्ने तत्परता देखाए। नेपालका कम्युनिष्ट र खास गरी आफूलाई कट्टर कम्युनिष्ट भन्नेहरुले पूँजीवादको महत्वलाई कहिले स्वीकार गर्ने हुन कुन्नि? गरिबहरुको हितका लागि सही अर्थ व्यवस्थाको छनौटमा कहिले ध्यान दिने हुन कुन्नि?
 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, August 01, 2013

Friday, July 26, 2013

Human Nature and Capitalism-Article-98 Birth, Development, and Use of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२१. मानवीय प्रवृति र पूँजीवाद

पूँजीवादलाई सहि किसिमले बुझ्न सर्व प्रथम मानवीय  प्रवृति बुझ्नु आवश्यक हुन्छ किनभने मानवीय प्रवृतिसँग पूँजीवादको गहिरो सम्बन्ध छ। मानवीय प्रवृति बुझे पछि पूँजीवादको महत्व एवं प्रयोग अझै बढी स्पष्ट हुन आउँछ।
जोगी, बैरागीलाई छाडेर कुरा गर्ने हो भने संसार भरिका सम्पूर्ण मान्छेहरु आर्थिक प्राणीहरु हुन। मान्छेहरु अर्थ वा मुद्राद्वारा संचालित, नियन्त्रित र उत्प्रेरित हुन्छन। केही अपवाद बाहेक मान्छेका सम्पूर्ण क्रियाकलापहरु  केवल आर्थिक उद्देश्य प्राप्ति तर्फ लक्षित रहेको हुन्छ। हरेक समय मानिसको चिन्तन आर्थिक क्रियाकालापमा नै केन्द्रित रहेको हुन्छ, यहाँसम्म की जिवनको अन्तिम साँस लिंदासम्म पनि। र त्यस्तो गर्न आवश्य छ पनि किनभने मानिसले बाँच्नका लागि विभिन्न कुराहरु अनिवार्य रुपमा उपभोग गर्नु पर्दछ। ती वस्तुहरु उपभोग नगरी मानिस बाँच्न सक्तैन। उपभोग गर्नु पर्ने ती अत्यावश्वक सामाग्रीहरु मध्ये केही मात्र निशुल्क उपलब्ध हुन छन्, बाँकी सबैका लागि मानिसले अनिवार्य रुपमा पैसा भुक्तान गर्नु पर्दछ, अर्थात खरिद गर्नु पर्दछ। हावा, सूर्यको प्रकास, आकाश आदि आदि उपभोग गर्न कुनै किसिमको भुक्तानी गर्नु पर्दैन तर आवास, भोजन, कपडा, सडक, सबारी, यात्रा, मनोरंजन जस्ता वस्तुहरु निशुल्क प्राप्त हुँदैनन्। जस्तो सुकै आर्थिक हैसियत भएको मान्छेले पनि यी वस्तुहरु प्राप्त गर्न भुक्तानी गर्नु नै पर्दछ, यहाँसम्म कि भिखारले पनि। मानिस पशु पक्षी जस्तो होइन, प्रकृतिले दिएको निशुल्क वश्तुहरु  (Free goods)  उपभोग गेरर जिवन निर्वाह गर्न सकोस, आय आर्जन गर्न नपरोस, मुद्रा प्रयोग गर्न नपरोस। मानिसले जिवन निर्वाह गर्नका लागि विभिन्न सामाग्रीहरु खरिद गर्नु पर्दछ, ती सामाग्रीहरु प्राप्त गर्नका लागि उसले मुद्रा भुक्तान गर्नु पर्दछ।  आय आर्जन गर्नु पर्दछ। मुद्राको प्रयोग गर्नु पर्दछ। भुक्तानीको अर्को कुनै विकल्प नै छैन, मानिस सँग।
मानिसले जिवन निर्वाह गर्नका लागि आवश्यक पर्ने वस्तुहरु दुई तरीकाले प्राप्त गर्न सक्छ, ती हुन – १) आफैले उत्पादन गरेर २) खरिद गरेर। अहिलेको यो अति आधुनिक युगमा मानिसले जिवन यापन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण वस्तुहरु उत्पादन गर्न कठिन मात्र होइन, असम्भव नै छ। कुनै पनि व्यक्तिले लाख कोशिस गरे पनि, जिवन निर्वाहका लागि आवश्यक पर्ने, सियो देखि हवाइ जहाजसम्म उत्पादन गर्न सक्तैन। यो उत्पादन स्वावलम्बनको युग होइन पनि। मानिस जंगलमा बस्दा एक व्यक्ति वा परिवारले आफूलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरु आफैले श्रृजना वा उत्पादन गर्नु सम्भव थियो होला। तर अहिलेको यो उत्पादन परावल्बनको युगमा सम्भव छैन। अहिले मान्छेका आवश्यकताहरु अन्गिन्ति छन। उपभोग गर्ने वस्तुहरु पनि अन्गिन्ति छन। 
जिवन यापनका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तुहरु मानिसले खरिद गर्नु पर्दछ। खाना पकाउने इन्धनदेखि यात्रका लागि आवश्यक पर्ने सवारी सेवा अनि मनोरंजनदेखि मृत्युमा प्रयोग गरिन कात्रोसम्म। यसरी, आवश्यक पर्ने यी सम्पूर्ण सामाग्रीहरु खरिद गर्नु पर्ने अनिवार्यता भएको हुनाले कुनै पनि व्यक्तिसँग अनिवार्य रुपमा भुक्तानी समार्थ्य हुन आवश्यक छ, अर्थात पैसा हुन आवश्यक छ, ती वस्तुहरु खरिद गर्नका लागि। विना पैसा वा विना आम्दानी बाँच्न ज्यादै कठिन भएकोले नै मानव जिवनमा पैसाले ठूलो महत्व राख्दछ।
पैसा मानव जिवनमा अत्यन्त महत्वपूर्ण तत्व रहेको र यसले जिवन मरण संग सम्बन्ध राख्ने भएकोले नै पैसाले मानिसलाई हरेक अवस्था र समयमा आकर्षित गर्दछ। यो कारणले गर्दा नै कुनै पनि व्यक्ति पैसाद्वारा सजिलै उत्प्रेरित (Motivate)  हुन सक्छ। पैसाले मानवीय जिवनलाई सरल एवं सुरक्षित मात्र होइन सुनिश्चित समेत पार्दछ।
मानिस एक आर्थिक प्राणी मात्र होइन, अति नै स्वार्थी जिव पनि हो। सामान्य अवस्थामा मानिसले, सर्व प्रथम, केवल आफ्नो अनि परिवारको मात्र वास्ता गर्दछ, अनि पछि मात्र बाँकी संसारको बारेमा सोंच्दछ। मानव सभ्यताको विकास नै शोषणबाट भएको हो। उदाहरणका लागि, यातायात एवं कृषिका लागि मानिसले पशु (गोरु, घोडा, हात्ति आदि) हरुको शोषण वा प्रयोग गर्यो। भोजनका लागि अन्य पशु, पंक्षीहरुको प्रयोग गर्यो। अहिलेसम्म पनि मानिसले बाँच्न वा अर्थोपार्जनका लागि पशुहरुको शोषण गरि रहेको देख्न सकिन्छ। एउटा दुब्लो वा कमजोर घोडाले, उसको मालिकका लागि सकि न सकि आठ दस जनालाई बोकेर (टाँगामा) दौडिन परेको सबैले देखेको, सुनेको कुरा हो। भाडा सस्तो हुँदैमा मर्न आँटेको, दुब्लो घोडामा समेत चढ्न नहिचकिचाउनु आम मानवीय प्रवति पनि कसैबाट नलुकेको तथ्य हो। पैसा प्रति मानिस कति  आशक्त हुन्छ भन्ने कुराको  एक सानो उदाहरण हो यो। 
मानिस अति नै स्वार्थी प्रणी हो भन्ने यथार्थको अर्को उदाहरणको रुपमा यसलाई पनि लिन सकिन्छ। गाउँमा बाढी आए पछि मान्छेले सर्व प्रथम आफ्नो गाउँ जोगाउने प्रयास गर्दछ। बाढी गाउँमा पसे पछि आफ्नो टोल जोगाउने प्रयास गर्दछ। टोलमा पानी पसे पछि आफ्नो घर जोगाउने प्रयास गर्दछ। अनि घरमा पनि पानी पसे पछि केवल आफूलाई जोगाउने प्रयास गर्दछ, परिवारका अन्य सदस्यहरुलाई छाडेर। अर्थात मानिसको विवेकको दायरा साँघुरो हुँदै जान्छ, परिस्थिति अनुसार। यो आम मानवीय प्रवृति हो। दुइ चार जना अपवादमा पर्न सक्छन, यस धारणाको। मानिस स्वार्थी भएको हुनाले नै उसलाई नियन्त्रित गर्नका लागि सेना, प्रहरी, प्रशासन, अदालत आदिको व्यवस्था गर्नु परेको हो। ऐन, कानून, नीति, नियमहरुको तर्जुमा गर्नु परेको हो। मानिस निस्वार्थी र सर्वकालिक विवेकी भएको भए यी कुराहरुको व्यवस्था नै गर्नु पर्दैन्थ्ययो। पशु पक्षीहरुका लागि यी कुराहरुको आवश्यकता पर्दैन, किनभने यिनीहरु स्वार्थी हुँदैन। यिनीहरुले गर्ने क्रियाकलापहरु केवल  तत्कालिक भोक मेटाउनका लागि मात्र हुन्छ। धन आर्जन वा संचयका लागि हुँदैन। शक्तिसाली हुनका लागि हुँदैन।
साम्यवाद (communism)  वा समाजवाद (socialism) ले मानिसलाई एक आर्थिक प्राणीको रुपमा हेर्दैन। मानिसलाई मुद्रा द्वारा होइन सिद्धान्तद्वारा संचालित, नियन्त्रित एवं उत्प्रेरित गर्न सकिनछ भन्ने आफूले बनाएको मान्यतामाथि अटुट रुपमा विश्वास गर्दछ। यसै गरी साम्यवादले, व्यक्ति सर्वकालिक रुपमा विवेकी हुन्छ, व्यक्तिले व्यक्तिगत स्वार्थ होइन सामुहिक हितलाई महत्व दिन्छ,  व्यक्तिगत जिवन भन्दा सामुहिक जिवन बाँच्न रमाउँछ जस्ता धारणाहरु बलियो गरि निर्माण गरेको हुन्छ। साम्यवाद वा समाजवादका यी विश्वास एवं धारणाहरुको खण्डन गर्ने सन्दर्भमा मानवीय प्रवृतिको चर्चा गर्न खोजिएको हो। माथि उल्लेख गरिएका तथ्यहरुबाट के प्रष्ट हुन आउँछ भने मान्छेका सम्पूर्ण क्रियाकलापहरु आय वा धन आर्जन तर्फ निर्देशित हुन्छन। पैसाले मानिसको जिवनमा ठूलो महत्व राख्ने हुनाले मान्छे पैसा द्वारा नै बढी उत्प्रेरित हुन्छ। मानिस सिद्धान्त द्वारा सर्वकालिक रुपमा उत्प्रेरित हुन सक्तैन। मान्छे एक अति नै स्वार्थी जिव हो।  
मानिस पैसा द्वारा होइन, सिद्धान्त द्वारा, सर्वकालिक रुपमा समूहका लागि कार्य गर्न उत्प्रेरित हुन सक्छ भनी साम्यवादले निर्माण गरेको धारणा उसको केवल भ्रम हो। यसले यथार्थसँग कुनै किसिमको सम्बन्ध राख्दैन। सामान्य स्थितिमा मानिस पैसाद्वारा नै बढी मात्रामा उत्प्रेरित हुन्छ।  
साम्यवादी वा समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु – भूमि, श्रम, पूँजी र संगठनमाथि केन्द्र वा राज्यको नियन्त्रण हुन्छ। उत्पादनमा संलग्न श्रमिकहरुले केवल तोकिएको पारिश्रमिक, जुन सरकारले निर्धारण गरेको हुन्छ, पाउने हुनाले उनीहरु आफ्नो क्षमताको अधिक भन्दा अधिक उपयोग गर्न चाहँदैनन् किनभने कम वा बढी जति काम गरे पनि तोकिएको पारिश्रमिक पाइने कुरा उनीहरुलाई भलिभाँति थाहा हुन्छ। श्रमिकले बढी काम गरे पारिश्रमिक पनि बढी पाउने वा आफ्नो कुशलता वा उत्पादन क्षमता अनुसार पारिश्रमिक पाउने व्यवस्था नभएकोले साम्यवादी व्यवस्थामा श्रमिकले आफ्नो कुशलता वा क्षमताको उच्चत्तम प्रयोग गर्न चाँहदैन। परिणामस्वरुप उत्पादन तथा उत्पादकत्वमा दुबैमा वृद्धि हुन सक्तैन।  यही कारण हो, साम्यवादी अर्थ व्यवस्थामा राष्ट्रिय अर्थतन्त्र क्रमिक रुपमा कमजोर हुँदै जान्छ।
पूँजीवादी अर्थ व्यवस्थामा श्रमिकले आफ्नो कार्य कुशलता एवं क्षमता अनुसार पारिश्रमिक पाउने, श्रमिकहरुलाई पारिश्रमिक फरक फरक किसिमले उनीहरुको कार्य क्षमताको आधारमा दिइने हुनाले उनीहरु आफ्नो क्षमताको बढी भन्दा बढी उपयोग गरेर ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित हुन्छन। थप पारिश्रमिक वा पैसाले उनीहरुलाई आफ्नो क्षमताको बढी भन्द बढी उपयोग गर्न प्रेरित गर्दछ। यो व्यवस्थाले गर्दा एकातिर ठूलो परिमाणमा उत्पादन हुन्छ भने अर्को तिर श्रमिकहरुले जति बढी आफ्नो क्षमता वा कुशलताको उपयोग गर्यो त्यतिनै बढी पारिश्रमिक पाउने अवस्था श्रृजना हुन्छ। हामीले माथि नै उल्लेख गरि सक्यौ, मानिसलाई सर्वाधिक किसिमले पैसाले मात्र उत्प्रेरित गर्दछ। मानिस विशुद्ध रुपमा एक आर्थिक एवं स्वार्थी जिव हो। मानिसलाई केवल कोरा सिद्धान्त सुनाएर निस्वार्थी तुल्याउन सकिंदैन। कुनै किसिमको सामुहिक हितको कार्य गर्न उसलाई उत्प्रेरित गर्न सकिंदैन।  

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 26, 2013