Wikipedia

Search results

Friday, December 19, 2014

Is Nepal Going To Be An Investment Friendly Country-Article-153

के नेपाल लगानी मैत्री देश हुन थालेको हो?

नेपाल लगानी मैत्री  मुलुक हुन थालेको केही समाचारहरु गत हप्ता प्रकाशमा आए। विभिन्न पत्र पत्रिकाहरुमा यस आशयका समाचर, विचार एवं  अन्तर्वाताहरु प्रकाशित भए पनि। विश्व बैंकले हालै सार्वजनिक गरेको संसारका विभिन्न मुलुकहरुमा व्यवसायिक वातावरण सम्बन्धी प्रतिवेदन (२०१५) मा ‘व्यापर गर्न सरल’ मुलुकहरुको श्रेणीमा नेपालको स्थानमा सुधार भइ, १०९ (सन् २०१४ मा) बाट १०८ मा उक्लेको भन्ने बारे पनि उल्लेख भयो। लगानीको हिसाबले दक्षिण एशियामा नै नेपाल, श्रीलंका पछि दोस्रो लगानी मैत्री मुलुक हुन पुगेको चर्चा पनि भयो। यसैगरी स्वदेशी एवं विदेशी लगानीकर्ताहरु देखि लिएर गैर आवशीय नेपालीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेका खबरहरु पनि आए। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं ख्यातिप्राप्त व्यापारी उपेद्र महतोले आफ्नो एक अन्तर्वाता (कान्तिपुर दैनिक, मंसिर २०७१) मा, “अहिले देशभित्र विकासको एजेन्डामा बहस हुनथालेको छ। विदेशी लगानीकर्तामा धेरै सकारात्मक प्रभाव परेको छ। लगानीकर्ताको मनोबल बढेको छ” भनी उल्लेख गरे। गएको चार महिनमा जल विद्युतको क्षेत्रमा १२ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइएको कुरा पनि प्रकाशमा आयो। एक वर्षमा २ सय २७ पर्यटक स्तरको होटल निर्माण भएको र २०७०/७१ मा नेपालमा पर्यटकहरुलाई उपयुक्त हुने किसिमका होटलहरुको संख्या करिब १ हजार ८ सय जति पुगेको, अनि गत वर्ष पर्यटन उद्योगमा लगभग चार अर्ब रुपैयाँ विदेशी लगानी भएको खबरले पनि चर्चा पायो। यसै गरी, विदेशमा काम गर्दा प्राप्त अनुभव, सीप र पैसा लिएर फर्केका नेपालीहरु आफ्नो मुलुकमा लगानी गर्न इच्छुक रहेको समाचारले पनि धेरै नेपालीहरुलाई प्रफुल्लित तुल्यायो।
माथिका समाचार, विचार एवं नेपालको मौजुदा स्थितिको मूल्यांकन एवंम विश्लेषण पछि एउटा प्रश्न सहज किसिमबाट उत्पन्न हुन्छ। त्यो के हो भने ‘के नेपाल साँच्चिकै लगानी मैत्री मुलुक हुन थालेको हो त?’
नेपालको मौजुदा स्थितिले नेपाल लगानी मैत्री हुन सक्ने थुप्रै आधारहरु प्रस्तुत गरि रहेको छ। भोलिको दिनमा कुनै ठूलो राजनैतिक उथल पुथल भएर राष्ट्रिय परिस्थिमा प्रतिकूल परिवर्तन आए के होला भन्न सकिंदैन। तर मौजुदा परिस्थिले भने नेपाल लगानी मंत्री हुन सक्ने अनके किसिमका आधारहरु प्रदर्शित गरि रहेको छ। र अर्को विचारणीय कुरा, नेपालमा कुनै ठूलो उथल पुथल भए पनि अहिले नेपालले अंगिकार गरेको अर्थ व्यवस्था कुनै किसिमको परिवर्तन हुन सम्भावना भने देखिंदैन।  
नेपालको राष्ट्रिय राजनीति क्रमिक रुपमा स्थिरता तर्फ अग्रसर भइ रहेको छ। नेताहरुमा केही मात्रामा नै भए पनि परिपक्वता देखिन थालेको छ। कांग्रेस र एमालेको संयुक्त सरकारले के देखायो भने यदि दुई ठूला दलहरुले सहकार्य गरेर अगाडि बढ्ने हो भने त्यो सहकार्यले राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न सक्ने रहेछ। र त्यो सहकार्यको कारणबाट स्थिरता प्राप्त गर्न सक्षम सरकारले देशको अर्थव्यवस्थालाई प्रगति तर्फ डोर्याउन सक्ने रहेछ। कांग्रेस र एमाले बीचको सहकार्यले लामो अवधिसम्म निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ। यो परम्परा अगाडि बढ्ने छ पनि। र यो परम्पराले अन्य दलहरुलाई पनि आर्थिक विकासका लागि सह कार्य गर्न नजिर पेश गर्नेछ। कांग्रेस र एमाले बीचको सहकार्यले नेपालको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेल्ने आशा गर्न सकिन्छ। यो सहकार्यले, यसै गरी निरन्तरता पाएमा, नेपालमा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सक्छ। र नेपाललाई लगानी मैत्री बनाउनमा योगदान पुर्याउन सक्छ।  
मोदीको प्रधानमंत्रीको रुपमा उदय मात्र होइन, भारतको राष्ट्रिय राजनीतिमा उनको हुँदै गएको बलियो पकडले भारतमा नया नया किसिमका आर्थिक नीतिहरु निर्माण एवं तर्जुमा गर्न मोदीलाई सजिलो हुनेछ। अर्कोतिर मोदी दक्षिण एशियामा राजनैतिक मात्र होइन हिन्दुबादी धार्मिक प्रवाह बढाउन पनि उत्तिकै चाहन्छन्। दक्षिण एशियामा भारतको प्रभाव बढाउने मोदीको शैली भारतीय राष्ट्रिय कांग्रेस, जुन गाँधी परिवारले कोरेको रेखामा हिंड्थ्यो, भन्दा ज्यादै पृथक छ। कांग्रेसले निकट छिमेकी एवं दक्षिण एशियाली राष्ट्रहरुमा भारतको प्रभाव बढाउन शक्तिको प्रयोग गर्नु पर्छ भन्ने मान्यतामा विश्वास र अभ्यास गर्थ्यो भने मोदी, भारतको प्रभाव बढाउन धार्मिक  र आर्थिक कुटनीति जोड दिनु पर्ने कुरा विश्वास र अभ्यास गर्छन्। नेपालमा हिन्दु धर्मको विस्तार एवं भारतीय प्रभाव बढाउनका लागि मोदीले नेपाललाई थप आर्थिक सहुलियतहरु दिने घोषणा गर्ने छन। साथै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित समेत पनि गर्नेछन्। नेपालमा आर्थिक विकासको माध्यमद्वारा भारतीय प्रभाब, चीनको तुलनामा, बढाउन मोदीले नेपाललाई राजनैतिक स्थिरता प्राप्त गर्न सघाउने छन्। नेपालका दलहरुलाई मिलेर कार्य गर्न सल्लाह र दबाब समेत पनि दिनेछन्। कांग्रेसले भने ठीक बिपरित गर्थ्यो। नेपालका दलहरु बीच कलह श्रृजना गराउने काम बढी गर्थ्यो। मोदीको यस्तो नीतिले नेपाललाई लगानी मैत्री तुल्याउनमा सहयोग पुग्ने देखिन्छ।
माओवादीहरुले गरेको दसवर्षे रक्तपातपूर्ण एवं विध्वसांत्मक (भवन, सडक, सरकारी कार्यालय, विद्यालय आदि जस्ता भौतिक संरचनाहरु नष्ट गर्ने कार्य) संघर्षले आम नेपाली, खास गरी सीमान्तकृत परिवार हरुलाई के सिकायो भने महत्वाकांक्षी वा स्वार्थी नेताहरुको पछि लागेर वा उनीहरुले भनेका व्यक्तिहरुको हत्या गरेर वा राजनैतिक व्यवस्था परिवर्तन गरेर गरिबीबाट छुटकारा पाइने रहेनछ। न त केही व्यक्तिहरुलाई सरकारमा पठाएर नै गरिबीमा कमी आउने रहेछ। गरिबीमा कमी ल्याउनको लागि त स्थानीय जनताले आफ्नो स्थानको विकासमा जोड दिनु पर्ने रहेछ, आफू स्वयंले नै केही गर्नु पर्ने रहेछ।  आफ्नो स्थानको विकासमा एक जुट हुनु पर्ने रहेछ। सामान्य एवं गरिब नागरिकहरुमा आएको यो चेतको परिणामस्वरुप माओवादी ससस्त्र संघर्षमा ध्वस्त भएका आर्थिक विकासका संरचनाहरु जिल्ला सदरमुकाम एवं अन्य स्थानहरुमा अहिले धमाधम पुन: निर्माण भइरहेका छन्। सामान्य, गरिब, निमुखा जनतामा आएको यो चेतले नेताहरुको आवह्वानमा हुने बन्द, हडताल, तोडफोड जस्ता कार्यहरुमा एकातिर कमि आउने छ भने अर्कोतिर नेपालमा लगानी गर्न स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहित एवं विश्वस्त पनि पार्नेछ।  
नेपाल परिपक्व अर्थव्यस्था (Matured Economy) को स्थितिमा छैन। नेपालको अर्थव्यवस्थलाई हुर्किदो अर्थव्यवस्था (Growing Economy) को रुपमा लिने गरिन्छ। विदेशी लगानीकर्ताहरुले हुर्किदो अर्थव्यवस्थामा रहेका राष्ट्रहरुमा लगानी गर्न चाहन्छन्। हुर्किदो अर्थव्यवस्थामा लगानी गर्दा आकर्षक एवं बढी प्रतिफल (मुनाफ) आउने बलियो सम्भावना रहेको हुन्छ। त्यस्तो किन हुन्छ भने हुर्किदो अर्थव्यवस्थामा रहेका मुलुकहरुमा पूँजि र तरलताको को अत्यधिक माग हुन्छ। यसरी पूँजिको माग अधिक भएकोले लगानीकर्ताहरुले बढी भन्दा बढि लगानी गरेर अधिक मुनाफा खान पाउँछन्। हुर्किदो अर्थव्यवस्था भएको मुलुकका बजारहरुमा प्रतिस्पर्धा पनि कम हुन्छ। इण्डोनेसिया, फिलिपिन्स, थाइलैण्ड, मेलिसिया, चीन, भारत जस्ता हुर्किदो अर्थव्यवस्था भएका देशहरुले, आफ्नो त्यस किसिमको अवस्थाको भएको कारणले गर्दा नै विदेशी लगानी ठूलो मात्रामा भित्र्याउन सफल भएका हुन। नेपालमा पनि हुर्किदो अर्थव्यवस्था भएकोले यहाँ विदेशी लगानी प्रचुर मात्रामा आउन सक्ने प्रवल सम्भावना छ।
नेपाल एक त हुर्किदो अर्थव्यवस्थाको अवस्थामा छ नै अर्को यहाँ लगानी गर्ने सकिने यति विसाल क्षेत्रहरु पनि छन कि ती क्षेत्रहरुमा ठूलो मात्रामा लगानी गर्न सकिन्छ। यी लगानीका क्षेत्रहरुले लगानीकर्ताहरुलाई थप आकर्षित गरि रहेका छन्। त्यस्तो किन गरि रहेका छन् भने ती लगानीका क्षेत्रहरुमा लगानी गरेर उत्पादन भएका वस्तु एवं सेवाहरुलाई ठूलो बजार क्षेत्र (चीन, भारत एवं नेपाल) मा सजिलै बढी मुनाफाका साथ बिक्री गर्न सकिन्छ। नेपालसँग सीमा जोडिएका मुलुकहरु- चीन र भारत तर्फ वस्तुहरु निर्यात गर्दा यातायात लागत कम पर्न जान्छ र अर्को तिर नेपालमा उत्पादित वस्तु एवं सेवाहरु खरिद गर्न छिमेकी मुलुकका ग्राहकहरुलाई सजिलो पर्नेछ छ पनि। विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न सक्ने अति लाभदायक क्षेत्रहरुमा जल विद्युत, पर्यटन र कृषि (जडिबुटी, विशेष किसिको तरकारी, फल, फूल आदि उत्पादन) लाई लिन सकिन्छ। यी क्षेत्रहरुमा ठूलो मात्रामा लगानी गर्न सकिन्छ र साथै यी क्षेत्रहरुबाट उत्पादित वस्तु एवं सेवाहरुले अन्तरार्ष्ट्रिय बजारमा चर्को प्रतिस्पर्धा गर्नु पर्दन पनि। नेपालको यो स्थितिले नेपाललाई लगानी गन्तव्यको रुपमा परिचित गराउन सक्रिय भूमिका खेल्ने देखिन्छ।  
दक्षिण एशियामा भारत र चीन दुबैले अहिले आफ्नो राजनैतिक शक्ति बढाउन खोजिरहेका छन। आफ्नो यो महत्वाकांक्षा पूरा गर्न यी राष्ट्रहरुले खास गरी  रण नीतिक महत्व रहेको नेपालमा आफ्नो ध्यान बढी नै केन्द्रित गरि रहेकाछन्। नेपालमा राजनैतिक शक्ति बढाउन यिनीहरु बीच प्रतिस्पर्धा नै छ। नेपालमा आ-आफ्नो राजनैतिक शक्ति बढाउन यी राष्ट्रहरुले नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्नु भन्दा लगानी गर्नमा जोड दिइ रहेका छन। आर्थिक कुटनीतिद्वारा राजनैति शक्ति बढाउन अग्रसर भएका छन्। उनीहरुको यस उद्देश्य सहितको, यस्तो प्रतिस्पर्धाले पनि नेपालमा विदेशी लगानी बढाउनमा केही योगदान पुर्याउन सक्छ। उनीहरु बीचको यस्तो प्रतिस्पर्धाले नेपाललाई लगानी मैत्री हुन प्रोत्साहित गर्ने आशा गर्न सकिन्छ।
वर्तमान विश्व वातावरणले पनि नेपाललाई लगानी मैत्री हुन थप दबाब दिनेछ। अहिलेको यो युग आर्थिक विकासको युग हो। यो युग शीतयुद्धको जस्तो अवस्थामा अहिले छैन। शीत युद्धको समयमा, देशहरु राजनीतिलाई बढी महत्व दिएर, दुई खेमा मध्ये कुनै एक खेमामा लाग्थ्ये। वर्तमान अवस्थामा भने मुलुकरुले राजनैतिक विचारधारा होइन, आर्थिक विकासलाई महत्व दिइ रहेका छन। राष्ट्रको आर्थिक विकासका लागि कुनै एक मुलुक अर्को जस्तो सुकै विचारधार भएको मुलुकसँग मिलेर, सहकार्य गरेर, अगाडि बढ्न तत्पर छ। यो स्थितिले पनि नेपाललाई लगानी मैत्री हुन दबाब दिने छ।
नेपालमा बढ्दो बेरोजगारी एवं ठूलो संख्यामा स्वदेसी जनशक्ति विदेश पलायनको स्थितिले नेपालका राजनैतिक दलहरुलाई देशको आर्थिक विकास गरी बेरोजागारी समस्या समाधान गर्न एक किसिमको मानसिक दबाब निरन्तर किसिमले दिइ रहेकोछ। राजनैतिक दलका नेताहरुले विभिन्न दलहरुसँग मिलेर, सहकार्य गरेर, नेपालको आर्थिक विकास गर्नुको अर्को विकल्प अब छैन पनि। नेपालका नेताहरु निरन्तर लडाई झगडामा लिप्त रही उनीहरुले आफ्नो स्थान र समग्र राष्ट्रको आर्थिक विकासमा चाँसो नदेखाएमा अब उनीहरुले अर्को चुनाव जित्नु असम्भव हुनेछ। अब, यो युगको जनतालाई निरन्तर झुक्याएर संधै चुनाव जित्न सकिंदैन पनि। र नेताहरुले संधै मतदाताहरुलाई यसरी नै झुक्याएमा उनीहरुको राजनैतिक भविष्य समाप्त हुनेछ। यसरी, नेपालको बढ्दो गरिबी र बेरोजगारीको स्थितिले पनि नेपाललाई लगान मैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।  


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 19, 2014

Sunday, December 14, 2014

Geeta Chapter-1

श्रीमद्भगवद्गीता




अध्याय १


धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:।
मामका: पाण्डवाश्चैव किमकुर्वत सञ्जय।। १।।

(धृतराष्टले भने: हे सञ्जय युद्धका इच्छाद्वारा धर्मभूमि कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डु पुत्रहरुले के गरे?)

दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत।। २।।

(सञ्जयले भने: महाराज, त्यस समयमा पाण्डवका व्युहाकारमा तयार सेना देखेर द्रोणाचार्यको नजिक पुग्दै दुर्योधनले यी शव्दहरु भने।)

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता।। ३।।

(हे आचार्य, हजूरको बुद्धिमान शिष्य द्रुपदपुत्र धृष्टद्युम्नले रचना गरेका व्यूह सहितको पाण्डुपुत्रको महान सेनालाई हेर्नुहोस।)

अत्र शूरामहेष्वासा भीमार्जुनसमा युधि।
युयुधानो विराटश्च द्रुपदश्च महारथ: ।।४।।

(यस सेना समूहहरुमा युद्ध गर्नमा भीम र अर्जुन समान महान धनुधारीहरु युयुधान, विराट, द्रुपद छन्।)

धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान्।
पुरुजित् कुन्तिभोजश्च शैब्यश्च नरूपंगव:।।५।।

(अनि धृष्टकेतु, चेकितान, अति पराक्रमी काशीराज, पुरुजीत, कुन्तिभोज, मनुष्यमा उत्तम शैव्य पनि छन्।

युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा:।।६।।

(पराक्रमी युद्धामन्यु, बलशाली उत्तमौजा, सुभद्राका पुत्र, द्रोपदीका पुत्रहरु छन्। यी महान् महान् महारथीहरु छन्।)

अस्माकं तु विशिष्टा ये तान्निबोध व्दिजोत्तम।
नायका मम सैन्यस्य संज्ञार्थ तान् ब्रवीमि ते।।७।।

(हे ब्राह्मणणमा उत्तम, मेरो सैन्यसक्तिलाई नेतृत्व गर्न हामी बीच जो जो विशेषयोग्य छन, म तिनको नाम भन्छु, कृपया अवगत गर्नु होला।)

भवान् भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जय:।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च।।८।।

(विभिन्न व्यक्तिहरु हुनुन्छ जस्तै तपाइँ, भिष्म, कर्ण, युद्धमा सँधै विजयी कृपाचार्य, अश्वत्थामा, विकर्ण, सोमदत्तका छोरा भूरिश्रवा।)

अन्ये च बहव: शूरा मदर्थे त्यक्तजीविता: ।
नानाशस्त्रप्रहरणा: सर्वे युद्धविशारदा: ।।९।।

(मेरो लागि जीवन त्याग्न अरु पनि शूरवीरहरु तत्पर छन्। ती सबै विभिन्न किसिमका  अश्त्रहरुद्वारा सज्जित भएका छन्। र युद्वकलामा अनुभव प्राप्त गरेका छन्।)

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।।१०।।

(पितामह भिष्मको शक्तिद्वारा रक्षित हाम्रो सेनाको शक्ति असीमित छ तर भीमद्वारा रक्षित पाण्डवको शक्ति सीमित छ।)

अयनेषु च सर्वेषु यथाभागमवस्थिता:
भीष्ममेवाभिरक्षन्तु भवन्त: सर्व एव हि ।।११।।

(अब तपाइँहरु सबैले आफ्नो आफ्नो रणस्थानमा रहेर चारैतिरबाट भिष्म पितामहलाई सम्पूर्ण सुरक्षा प्रदान गर्नु पर्नेछ।)

तस्य संजनयन्हर्ष कुरुवृध्द पितामह:।
सिंहनादं विनद्धच्चै: शङ्खंदध्यौ प्रतापवान्।।१२।।

(तब कौरवहरुमा वृद्ध प्रतापी पितामह, भिष्मले दुर्योधनको उत्साहमा अभिवृद्धि गर्न सिंहको जस्तै ठूलो गर्जन गर्दै शंख बजाए।) 

तत: शङ्खाश्र्च भेर्यश्र्च पाणवानकगोमुखा:।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोSभवत् ।। १३।।

(ततपश्चात शंख, सहनाइ, पणव, आनक गोमुखहरु अचानक एकैपटक बजे र यिनको सामुहिक धव्नि डलरलाग्दो सुनियो)

तत: श्र्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ।
माधव: पाण्डवश्र्वैव दिव्यौ शङ्खौ प्रदध्मतु:।।१४।।

(त्यसपछि स्वेत अस्व जोतिएको भव्य रथमा बसेका भगवान श्री कृष्ण र अर्जुनले दिव्य शंख बजाउनु भयो)

पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनंजय:।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर:।।१५।।

(भगवान श्री कृष्णले आफ्नो पाञ्चजन्य, अर्जुनले आफ्नो देवदत्त, धेरै खाने र अतिशक्तिसाली भीमसेनले आफ्नो पौण्ड्रक नामक शंख बजाउनु भयो

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिर:।
नकुल: सहदेवश्र्च सुघोषमणिपुष्पकौ।। १६।।

(कुन्तीका पुत्र राजा युधिष्ठिरले अनन्त-विजय, नकुलले सुघोष र सहदेवले मणिपुष्प नामक शंख बजाउनु भयो)

काश्यश्र्च परमेष्वास: शिखण्डि च महारथ:।
धृष्टधुम्नो विराटश्र्च सात्यकिश्र्वापराजित:।। १७।।

(महाधनुर्धारी काशीराज, महारथी शिखण्डि, धृष्टद्युम्न, विराज, अजेय-)

द्रुपदो द्रौपदेयाश्र्च सर्वश: पृथिवीपते
सौभद्रश्र्च महाबाहु: शङ्खान्दध्मु: पृथक्पृथक्।। १८।।

(पराजित गर्न नसकिने सात्यकि, द्रुपद, द्रौपदीका छोरा, महाबाहु अभिमन्यु, सबैले, हे राजन! आ-आफ्नो शंख बजाए।)

स घोष धार्तराष्ट्राणां हृदयानि व्यदारयत्।
नभश्र्च पुथिवीं चैव तुमुलो व्यनुनादयन्।।१९।।

(शंख बजाउँदा उत्पन्न आकाश र पृथ्वीबाट प्रतिध्वनीत अति चर्को आबाजले कौरवहरुको छाती चर्किन थाल्यो।)

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज:।
प्रवृत्ते शस्त्रसंपाते धनुरुध्यम्य पाण्डव:।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते।।२०

(महाराज, त्यसपछि अर्जुन, जो हनुमानको चित्र अंकित ध्वजतल रहेका थिए, ले जब युद्धका लागि तयार भइ हतियार प्रहार गर्न तयार रहेका धृतराष्ट्रका पुत्रहरुलाई हेरे आफ्नो धनुष उठाउँदै भगवान श्री कृष्णलाई यी शब्दहरु भने।)

अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेSच्युत।।२१।।

(अर्जुनले भने, हे अच्युत, मेरो यो रथलाई दुबै तर्फका शैन्यका बीचमा लगि खडा गरिदिनु होस)

यावदेतान्निरीक्षेSहं योद्धुकामानवस्थितान
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुध्यमे।।२२।।

(म यो हेर्न सकौं कि युद्ध गर्ने उद्देश्यका साथ यस रणभूमिमा उपस्थितहरु मध्ये मैले को को सँग युग्द्ध गर्नु पर्नेछ।)

तोत्स्यमानानवेक्षेSहं य एतेSत्र समागता:।
धार्तराष्ट्रस्य दुर्बुध्देर्युध्दे प्रियचिकीषर्व:।।२३।।

(दुर्बुद्धि दुर्योधनको अशल चिताएर यस संग्राममा युद्ध गर्न आएका योद्धाहरु मलाई हेर्न दिनुहोस।)

सञ्जय उवाज
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्।।२४

(सञ्जयले भने, हे धृतराष्ट्र महोदय, अर्जुनको अनुरोध अनुसार भगवान श्री कृष्णले सर्वोत्तम रथ दुई सेना समूहरुको मध्यमा लग्नु भयो।)

भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्।
उवाच पार्थ पश्यैतान्समवेतान्कुरुनिति।।२५।।

(भीष्म, द्रोण एवं विश्वका अन्य नायकहरुको सामुन्ने भगवान श्री कृष्णले भन्नु भयो यो रणभूमि उपस्थित भएका यी कुरुवंशीहरुलाई हेर।)

तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्।
आचार्यान्मातुलान् भ्रातृन् पुत्रान् पौत्रान् सखींस्तथा।
श्वशुरान् सुहृदश्र्चैव सेनयोरुभयोरपि।।२६।।

(तत् पश्चात त्यहाँ रहेका अर्जुनले दुबै सैन्य पक्षमा सम्मिलित पितासरहका अग्रजहरु, पितामहसरहका अग्रजहरु, गुरु, आमा पट्टिका काकाहरु, भाइहरु, छोराहरु, नातीहरु, मित्रहरु, ससुराहरु एवं सुभ चिन्तकहरुलाई देख्न सके।)

तान्समीक्ष्य स कौन्तेय: सर्वान्बन्धूनवस्थितान्।
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत्।।२७।।

(त्यहाँ उपस्थित सबै आफ्नै नातेदार एवं बन्धुहरु भएको कुन्तीपुत्र अर्जुनले जब देखे दया गर्दै आत्तिएर दु:खी भइ यो भने।)

अर्जनु उवाच
दृष्ट्वेमं स्वजनं कृष्णा युयुत्सुं समुपस्थितम्।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति।।२८।।

(अर्जुनले भने, हे कृष्ण, युद्ध गर्ने उद्देश्यले तयार भइ जम्म भएका मेरा आफ्ना यी नातेदारहरु देखेर मेरा शरीरका अंगहरु कमजोर हुँदैछन्, र मेरो मुख पनि सुखिरहेको छ।)

वेपथुश्र्च शरीरे मे रोमहर्षश्र्च जायते।
गाण्डीवं स्त्रंसते हस्तात्त्वक्चैव परिदह्यते।।२९।।

(मेरो सम्पूर्ण शरीरमा कंपन हुँदैछ। रोमांचकताको अनुभव गर्दैछु। हातबाट गाण्डिव खस्दै छ, अनि छाला पनि पोल्दै छ।)

न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन:।
निमित्तानि च पश्यामि विपरीतानि केशव।।३०।।

(म अब उभिएर रहन सक्ने स्थितिमा छैन। म भ्रमित भएर आफूलाई नै बिर्सने स्थितिमा पुगेको छु। केसी राक्षशको संघारकर्ता, हे केशव, म केवल दुर्भाग्यका लक्षणहरु मात्र देखिरहेको छु।

न च श्रेयोSनुपश्यामि हत्वा स्वजनमाहवे।
न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च।।३१।।

(हे कृष्ण, यस युद्धमा आफ्नै नातेदारहरुको हत्या गरेर म केही फाइदा देखिरहेको छैन्, न त म विजयको चाहना नै छ, न त मलाई राज्य नै चाहिएको छ अथवा खुसी चाहिएको छ।)

किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन व।
येषामर्थे काङ्क्षितं नो राज्यं भोगा: सुखानि च।।३२।।

त इमेSवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च।
आचार्या: पितर: पुत्रास्तथैव च पितामहा:।।३३।।

मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा।
एतान्न हन्तुमिच्छामि ध्नतोSपि मधुसूदन।।३४।।

अपि त्रैलोक्यराज्यास्य हेतो: किं नु महीकृते।
निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन।।३५।।

३२-३५ ((हे गोविन्द, राज्य, सुख र जीवनको नै के महत्व रह्यो यदि जसका लागि ती कुराहरुको हामीले कामना गरेका छ तिनीहरु नै रणभूमिमा उपस्थित भएका छन् भने। हे मधुसुधन, गुरुहरु, पिताहरु, पुत्रहरु, पितामहहरु, मामाहरु, ससुराहरु, नातिहरु, सालाहरु र अन्य नातेदारहरु जब आफ्नो जीवन र सम्मत्तिको मोहत्यागेर मेरो अगाडि पक्तिवक्ध भएका भने म कसरी तिनहरुको ज्यान लिने कामना गरौ यदि तिनीहरुले मेरो ज्यान लिन सक्ने भएता पनि। हे सम्पूर्ण जीवनहरुका रक्षक, तिनीहरुसँग युद्ध गर्दा बदलामा मैले तिनै लोक पाएता पनि म युद्ध गर्न तयार हुन सक्तिन। धृतराष्ट्रका पुत्रहरुको हत्या गरेर हामीले के आनन्द पाउने छौ?)  

पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिन:।
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान् सबान्धवान्।
स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव।।३६।।

(हे माधव, यी आक्रमणकारीहरुको हत्या गरेर हामी निश्चय पनि पापको भागेदार हुनेछौ। त्यसकारण धृतराष्ट्रका पुत्रहरुका साथै हाम्रा परिवारका सदस्यहरुको हत्या गर्नु हाम्रो लागि उचित होइन। तसर्थ आफ्नै नातेदारहरुको हत्या गरेर हामी कसरी सुखी हुन सक्ने छौ?)

यद्धप्येते न पश्यन्ति लोभोपहतचेतस:।
कुलक्षयकृतं दोष मित्रद्रोहे च पातकम्।।३७।।

कथं न ज्ञेयमस्माभि: पापादस्मान्निवर्तितुम्।
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन।।३८।।

३७-३८ (हे कृष्ण, लोभले हृद्य भरिएका यी व्यक्तिहरुले आफ्नै परिवारको बध गर्नु र मित्रहरुसँग कलह गर्नुलाई दोष नदेखे तापनि हामी जसले परिवारको हत्या गर्नुलाई अपराध देख्छले यो पाप कर्म किन गर्ने?

कुलक्षये प्रणश्यन्ति कुलधर्मा: सनातना:।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोSभिभवत्युत।।३९।।

(कुलको विनासबाट परिवारको आध्यात्मिक परम्परा सदको लागि नष्ट हुन्छ। जब आध्यात्मिक मुल्यहरु समाप्त हुन्छन् तब सम्पुर्ण समाजलाई पापले छोप्छ।)

अधर्माभिभवात् कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय:।
सत्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसंकर:।।४०।।

(हे कृष्ण, जब पाप व्याप्त हुन्छ तब वंशका स्त्रीहरुहरुमा सदाचार नाश हुन्छ। हे वार्ष्णेय, सदाचार नभएका स्त्रीत्वबाट वर्णसंकरको जन्म हुन्छ।)

संकरो नरकायैव कुलघ्नानां कुलस्य च।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रिया:।।४१।।

(वर्णसंकर कुलघातकहरुलाई र अन्य कुललाई नरकमा लग्छन। पिण्ड दान आदि कार्य लुप्त भएका यिनक पितृहरु पनि खराब हुन्छन्।)

दोषैरेतै: कुलघ्नानां वर्णसंकरकारकै:।
उत्साद्धन्ते जातिधर्मा: कुलधर्माश्र्च शाश्र्वता:।।४२।।

(वंश नाश गर्ने उनीहरु सबैका ती पापी कार्यहरुले गर्दा वर्ण संकर उत्पत्तिमा वृद्धि हुन्छ जसले गर्दा समय मर्यादित वंश परम्पराको नष्ट हुन्छ।

उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन।
नरके नियतं वासो भवतीत्यनुशुश्रुम।।४३।।

(हे जनार्दन, पालनकर्ता, जो व्यक्तिहरुको आध्यात्मिक वंश परम्परा नष्ट भएर जान्छ ती निर्वाध रुपमा नर्कमा पुग्दछन् भन्ने कुरा मैले विद्वानहरुले भनेको सुनेको छु।)

अहो बत महत् पापं कर्तुं व्यवसिता वयम्।
यद् राज्यसुखलोभेन हन्तुं स्वजनमुद्धता:।।४४।।

(ओहो! यो कति अनौठो छ कि हामीले महान पाप गर्ने विचार गरेका छौ। केवल राजकीय सुख भोग गर्नका लागि हामी आफ्नै नातेदारहरुको वध गर्न तयार भएका छौ।

यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणय:।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत्।।४५।।

(मानौ यदि हातमा अश्त्र भएका धृतराष्ट्रका छोराहरुले म रणभूमिमा अश्त्रहीन र प्रतिरोध गर्न नसक्ने अवस्थामामा रहेको बेला  मेरो हत्या गरेता पनि  त्यसलाई राम्रो नै मानिने छ।)

सञ्जय उवाज
एवमुक्त्वार्जुन: संख्ये रथोपस्थ उपाविशत्।
विसृज्य सशरं चापं शोकसंविग्नमानस:।।४६

(सञ्जयले भेन,  यसरी यो भनेर अर्जुनले आफ्नो रणभूमिमा धनु र वाण एकतिर पन्छ्याए अनि आत्तिंदै मनाम गहिर दु:खका साथ रथमा बसे।)



प्रथम अध्यायको व्याख्या
गीताको यो प्रथम अध्याय, जसमा जम्मा ४६ स्लोकहरु छन्, मा मुख्य गरी तीन विषयहरु वर्णनन् गरिएका छन। तयारी सहित युद्धको प्रारम्भको अवस्था पहिलो विषयको रुपमा देखिएको छ। युद्धमा के कस्ता तयारीहरु गरिएको छन्, को र कति सक्षम योद्धाहरु रणभूमि युद्ध गर्ने दृढताका साथ उपस्थित भएका छन् दोस्रो विषयको रुपमा देखिएको छ। आफ्नो पक्षसित युद्ध गर्न आफ्नै नातेदार, मित्र एवं परिचितहरु तत्पर भएको तेस्रो विषयको रुपमा देखिएको छ।
आफ्नै नातेदारहरुसँग युद्ध नगर्ने अर्जुनको मनसायको वर्णनन् यसै अध्यायबाट आरम्भ हुन्छ। युद्धका लागि आवश्यक सामाग्री सहित भारि अश्त्र र शस्त्र बोकेर रणभूमि उपस्थित आफ्नै नातेदार देखेर अर्जुन एकातिर आश्चर्यमा पर्छन भने अर्कोतिर त्यस्तो स्थिति देखेर अर्जुनमा वैराग्य पनि उत्पन्न हुन्छ। अर्जुन धनु र वाण परित्याग गरेर, तिनलाई एकतिर फालेर रथमा चिन्तामग्न भएर बस्छन। युद्ध नगर्ने विचारमा पुग्छन्। युध्दबाट आफ्नो वंश एवं मानव समुदायलाई कुनै फाइदा न हुने देख्छन्।
यस अध्यायमा अर्जुनको चिंता एक अर्को पक्षमा पनि देखिएको छ। यस महायुद्धमा आफ्नो वंशको सम्पूर्ण पुरुषहरुको मृत्यु भएमा आफ्ना वंशका स्त्रीहरुमा अपचलन पैदा हुने र त्यसबाट आध्यात्मिक वंश परम्परामा घात पुग्ने र सम्पूर्ण समाज नै भ्रष्ट हुनेमा अर्जुन चिंतित देखिएका छन्।
गीता मुल रुपमा भवगान श्री कृष्ण र अर्जुको वार्तालापमा आधारित रहेको छ। सम्पूर्ण गीतमा नै अर्जुनले आफ्ना चिंता, जिज्ञासा, नैराश्यता, वैराग्य आदिलाई भगवना श्री कृष्ण समक्ष राख्छन। भगवानले उनका प्रत्येक प्रश्नको जवाफ मात्र दिनु हुन्न साथै असल उद्देश्य रहेको कर्म गर्नका लागि ज्ञान दिनु हुन्छ र त्यो कर्म गर्न अर्जुनलाई भौतिक र मानसिक रुपमा तयार समेत पार्नु हुन्छ।
भगवान श्री कृष्णले अर्जुनलाई माध्यमको रुपमा लिएर सम्पूर्ण मानव समुदायलाई नै सन्देश दिनु भएको छ। यस भौतिक संसारमा बाँच्ने मार्ग दर्शन गराउनु भएको छ। सत्य र न्यायको पक्षमा रहन मानव समुदायलाई प्रेरण दिनु भएको छ। सत्य र न्यायको अभावमा मानव जीवनले निरन्तरता पाउन नसक्नेमा भगवानले प्रष्ट पार्नु भएको छ।
प्रथम अध्यायमा, मुख्य रुपमा भने, अर्जुन आफ्नै वन्धु बान्धवको हत्या गर्ने तयार नरहेको भन्ने वारे व्याख्या छ। यस अध्यायमा कौरवहरुले विवेक गुमाएर अर्थहीन कार्य गर्न खोजेको भए तापनि आफू विवेकी भएर त्यस्तो युद्ध नगर्न अर्जुनले बढी जोड दिइएको कुरालाई उल्लेख गरिएको छ।  



(समाप्त)