Wikipedia

Search results

Friday, February 26, 2016

Is Oli's Visit to India Successful?-Article-102

ओलीको भारत-भ्रमण सफल भएको हो त?

गत शुक्रवारदेखि प्रारम्भ भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको छ दिवसीय राजकीय भ्रमण बुधवार (फाल्गुन १२, २०७२) समाप्त हुँदैछ। छ दिवसीय भ्रमणको क्रममा ओली भारतका विभिन्न स्थानहरूमा पुगे र भारतले नै पनि ओलीको सम्मानमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो। मौजुदा परिस्थितिमा ओलीको भ्रमणलाई नेपालमा मात्र होइन, भारतमा समेत पनि चाँसोका साथ हेरिएको छ।

मधेसी मोर्चाको आन्दोलनमा भारतको भूमिका सहयोगात्मक रहेको भारतबाट स्पष्ट रुपमा नभनिएता पनि नेपाल सरकार एवं यहाँको जनता समेतले सोही आन्दोलनलाई सघाउन भारतले नाकावन्दी गरेको विश्वास गर्दे आएको छ। मधेसी मोर्चाको माग पूरा गराउने अभिप्राय हेतु नै नेपाल सरकारमाथि दवाब दिन भारत सरकारले नाकावन्दी गरेको हो भनी नेपाली पक्षले बारम्बार भन्दै आएको छ पनि। हुनत नेपाल पक्षको यो आरोपलाई भरतीय पक्षले अस्वीकार गर्दै आएको छ। मदेसी मोर्चाको बन्द, विरोध, धर्ना आदिको कारणले गर्दा नाकावन्दीको स्थिति उत्पन्न भएको हो भनी भारतीय पक्षले विभिन्न औसरहरूमा भन्दै आएको छ पनि। तर मधेसी मोर्चाको धर्नाको कारण सृजित भएको  भनिएको सिमा नाकावन्दी नाटकीय किसिमले समाप्त भएको स्थितिलाई दृष्टिगत गर्दा उक्त नाकावन्दीमा भारतको भूमिका अदृश्य किसिमले तर अति बलियो गरी थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ भन्नेहरू धेरै छन्।

भारतको यस्तो सन्देहात्मक व्यवहारले गर्दा नै नेपाल- भारत बीचको सम्बन्धमा तिक्तता उपत्नन भएको थियो र त्यो तिक्तता केहि हदसम्म अहिले पनि कायम नै छ। नेपाल-भारत बीच यस्तो तिक्तता उत्पन्न भएको समयमा प्रधानमन्त्री आलीको भ्रमण हुनु र ओलीको पहिलो भ्रमण भारतमा नै हुनुले पनि ओलीको भ्रमणलाई दुबै देशका सरोकार पक्षहरूले चाँसोका साथ हेरेका हुन।

यता, ओलीको भारत भ्रमण जारि रहेकै समयमा, ओलीको भ्रमणलाई लिएर नेपाल र भारतले संयुक्त विज्ञप्ति जारि गर्नु पूर्व नै, ओलीको भ्रमण सफल वा असफल के रह्यो भनी टिका टिप्पणी गर्ने क्रम भने सुरु भइसकेको छ। ओलीको भारत भ्रमण सफल हुन सकेन भनी विश्वास गर्नेहरूको सङ्ख्या बाक्लो नै छ। ओलीको भारत भ्रमण सफल वा असफल कस्तो रह्यो त्यस बारे छोटो परिचर्चा गर्यौ।
भारतले ओलीलाई आफ्नो देशको भ्रमणको लागि पठाएको निमन्त्रणको प्रकृतिलाई हेर्दा एवं ओलीको सम्मानमा त्यहाँका नेता एवं सरकारी अधिकारीहरूले दिएका औपचारिक तथा अनौपचारिक अभिव्यक्तिहरूको विश्लेषण गर्दा ओलीको भ्रमण केवल एक सद्भाव भ्रमण रहेकोमा कुनै आशंका नै रहँदैन। यसैगरी ओलीको भ्रमणको क्रममा भारतले कुनै ठोस एजेन्डा नराखेको पनि प्रष्ट हुन आउँछ। भारतले कुनै ठोस एजेन्डा नराख्न चाहेकोले पनि त्यस्तो हुन सक्छ। यता, नेपालसँग पनि भारतसँग कुराकानी गर्ने कुनै ठोस वा महत्वपूर्ण एजेन्डा नरहेको सहजै अनुमान लगाउन सकिन्छ।

यसरी, न त नेपाल न त भारतसँग नै पनि, यी दुई देशहरू बीच छलफल गर्ने कुनै ठोस एजेन्डा नभएकोले ओलीको भ्रमण सफल वा असफल के रह्यो भनी टिका टिप्पणी गर्ने आधार देखिदैंदन। हुन त नेपाल र भारत बीच छलफल हुनु पर्ने एजेन्डाहरू थुप्रै छन् तर ती एजेन्डाहरू नेपाल र भारत दुबै देशहरूले स्पष्ट किसिमले, अडानका साथ, राखेका छैनन्। यसरी ओलीको भ्रमण केवल सदभाव- भ्रमण रहेको प्रष्ट हुन आउँछ र भारतको लागि भने नेपाल आफ्नो नजिक रहेको भनी देखाउन भारतलाई काम लाग्न सक्छ।

अर्कोतिर भने प्रधान मंत्री ओली स्वयंले भ्रमणको क्रममा ‘मेरो भ्रमणको उद्देश्य पूर्णत: सफल भएको छ” भनेका छन्। यसैगरी उप प्रधान एवं परराष्ट्रमन्त्री कमल थापा समेतले पनि प्र म ओलीको भ्रमणले दुई देशको सम्बन्ध पूर्ववत् अवस्थामा फर्काउन भूमिका निर्वाह गरेको छ भनेका छन। एक अर्को प्रसङ्गमा, ओलीले आफू यस भ्रमणबाट सन्तुष्ट रहेको तथा अब यी दुई देशहरू बीच कुनै पनि किसिमको भ्रम वा असमझदारी नरहेको उल्लेख गरेका छन्। 

तर आश्चर्य लाग्दो कुरा त के छ भने नेपाल र भारतको बीचमा के के विषयहरूमा मदभेत थियो र ती मदभेदहरू कसरी समाधान भए त्यस बारेमा ओलीले कहिँ कतै उल्लेख गरेका छैनन्। मन्त्री थापाले पनि कतै यसबारे चर्चा गरेका छैनन्। भारतले पनि नेपालसङ्ग के बारेमा मतभेत थियो र ती मतभेदहरू समाधान गर्न के कस्ता व्यवस्थाहरू गरिए त्यसबारेमा केही बोलेको छैन्। भारतले त नेपालसँग यी यी कुराहरूमा मतभेद छ भनेर औपचारिक रुपमा भनेको समेत छैन्। र भारतले भन्न पनि चाहँदैन। जबकि नेपालाई भन्नु पर्ने भारतसँग थुप्रै कुराहरू छन् जुन उसले औपचारिक रुपमा भन्न चाहँदैन्। भारतले भित्र भित्र मात्र भनेर त्यस्ता कुराहरु नेपालबाट गराउन चाहन्छ। त्यस्ता भित्री कुराहरुमा भारतका नेताहरू, मुख्यगरी भाजपाका नेताहरू भन्दा पनि भारतको कर्मचारीतन्त्रले बढी चाँसो राख्दछ।

भारतको परराष्ट्र नीति र खासगरी नेपालसम्बन्धी नीति भारतको राजनैतिक तहबाट नभएर कर्मचारीतन्त्र तहबाट निर्धारित हुन्छ भन्ने छोपिएको यथार्थ नेपालमा धेरैलाई थाहा नभएको हुन सक्छ। नेपालको सम्बन्धमा भारतको कर्मचारीतन्त्रले बनाएको नीति नै नेपालमा लागु हुन्छ र यो नीति जहिले पनि उही नै रहन्छ। भारतमा सरकार परिवर्तन भएता पनि नेपालसम्बन्धी नीति एउटै र स्थिर रहनुको मुख्य कारण पनि यो नै हो। भारतको कर्मचारीतन्त्रमा भाजपा वा अन्य राजनैतिक दलहरू भन्दा भारतीय कांग्रसको प्रभाव बढी छ। अर्कोतिर, भारतको कर्मचारीतन्त्रमा भारतीय कांग्रेसको अधिक प्रभाव पूर्व प्रधान मन्त्री इन्दिरा गाँधीको पालादेखि नै चलिआएको छ। भारतमा, सरकार बढी समयसम्म कांग्रेसले चलाएको हो पनि। 

भाजपाका नेताहरू, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज वा अन्यले नेपालसँग भारतको सम्बन्ध कस्तो बनाउन चाहन्छन् भन्ने दृष्टिकोण एकातिर हुन्छ भने दिल्ली वा कर्मचारीतन्त्रले कस्तो बनाउन चाहन्छ त्यो अर्कोतिर हुन्छ। नेपालको सम्बन्धमा, भारतीय कर्मचारीतन्त्रको नेपालप्रतिको दृष्टिकोण एकदमै परम्परागत छ, कुनै परिवर्तन हुन सकेको छैन्। यो कारणले गर्दा पनि नेपाल र भारत बीचको सम्बन्ध सुमधर हुन सकेको छैन्। भारतमा परिवर्तन हुने सरकारले पनि नेपालसँगको सम्बन्धलाई गुलियो बनाउन नसक्नुको प्रमुख कारण यो नै हो। विशेष गरी कांग्रेस बाहेकका सरकारहरूले।

नेपाललाई भारतको कर्मचारीतन्त्रले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन नआएसम्म नेपाल- भारत बीच कटुता उत्पन्न हुने क्रम चलिनै रहन्छ, रोकिंदैन। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हालको सन्दर्मा नेपाललाई सान्भाइ र भारतलाई ठूल्दाइ भन्नुले पनि नेपालप्रति भारतको कर्मचारीतन्त्रले कस्तो सोंच राख्दछ भन्ने कुरा प्रष्ट हुन आउँछ। स्वराजको त्यो अभिव्यक्ति उनको सोंचको अभिव्यक्ति नभएर त्यो भारतीय कर्मचारीतन्त्रको अभिव्यक्ति हो जुन केवल स्वराजको मुखबाट निस्केको हो। सायद, भारतको कर्मचारीतन्त्रले बिर्से जस्तो छ कि दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको बीचको सम्बन्ध दाजु-भाइ जस्तो नभएर दुई मित्रहरू जस्तो हुन्छ भन्ने यथार्थ।

त्यसकारण नेपाललाई हेर्ने भारतको कर्मचारीतन्त्रको दृष्टिकोणमा सकारात्मक परिवर्तन नआएसम्म प्र म ओली मात्र होइन नेपालका अन्य उच्च स्तरका नेताहरूको भारत भ्रमण “आए, खाए और हात मिलाकर चले गए” भन्दा बढी हुन सक्तैन।


विश्वराज अधिकारी  
प्रतीक दैनिकमा प्रकाशित Friday, February 26, 2016

Friday, February 19, 2016

Does the Beti-Roti Relationship Exist?-Article-201

नेपाल-भारतबीच साँच्चीकै बेटीरटीको सम्बन्ध च?

    पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालभारत अनियन्त्रित खुला सिमानालाई नियन्त्रित गर्नुपर्दछ भन्ने प्रस्ताव गर्दा मधेसका नेताहरूले यो प्रस्तावको चर्को विरोध गर्छन्। यी दुई देशबीचको वर्षौं पुरानो खुला सिमाना नियन्त्रित हुने बित्तिकै मधेस (नेपाल) र भारतबीच रहेको बेटीरोटीको सम्बन्ध नराम्ररी प्रभावित हुने तर्क अगाडि सार्छन्। तर सर्वाधिक आश्चर्यजनक कुरा त के छ भने बेटीरोटीको सम्बन्धके हो र यो कसरी प्रभावित हुन्छ त्यसबारे प्रस्ट भन्न भने सकेका छैनन्।

   
बेटीरोटीको सम्बन्ध नराम्रो स्तरमा प्रभावित हुन्छ भनी नेताहरूले भन्नु केवल मधेसमा भ्रम फैलाउनु मात्र हो। किनभने यो भनाइमा पटक्कै सत्यता छैन। उल्टो, बेटीरोटीको सम्बन्धलाई कागजी बाघको रूपमा प्रयोग गरेर तराईका केही नेताहरूले सिंहदरबारलाई तर्साइरहेका छन्, केवल आफ्नो व्यक्तिगत फाइदाका लागि। अनि आफ्नो स्वार्थका लागि भारत सरकारसँग नजिक हुन बेटीरोटीको सम्बन्धलाई चर्चित तुल्याइरहेका छन्। तर झन्डै आधा वर्षसम्म मधेसी नेताहरूले मधेसमा चलाएको आन्दोलनमा भारतको केन्द्रीय सरकारको भूमिका मधेसी मोर्चाको आन्दोलनप्रति कस्तो रहयो त? यो प्रश्नको उत्तर मधेसी नेताहरूलाई नै राम्ररी थाहा होला। मधेसी नेताहरूलाई अब यो स्थितिमा पनि, भारत सरकार कसैको पनि होइन केवल आफ्नो हितको हो भन्ने तथ्य थाहा हुन नसके आगे राम जाने।

   
भारतको मधेसी मोर्चाको आन्दोलनप्रति यस्तो व्यवहार देखिएपछि अनि त के रहयो बेटीरोटीको अर्थ?
नेपालभारतबीच अनियन्त्रित सिमाना नियन्त्रित गरेमा तराईको जनतालाई त्यस्तो कुनै नकारात्मक असर पर्दैन। रोजगारका लागि होस् वा वैवाहिक सम्बन्धका लागि, खुला सिमाना नियन्त्रित हुनासाथ तराईलाई केही असर पर्दैन। आर्थिकरूपमा त झन् तराईका जनतालाई उल्टो निकै फाइदा हुन्छ। तर अर्थशास्त्रको यो पेंचिलो यथार्थ तराईका सामान्य बासिन्दाले पटक्कै बुझेका छैनन्। तराईका सर्वसाधारण अहिले पनि यहाँका नेताहरूले छरेको भ्रम हाम्रो बेटीरोटीको सम्बन्धबाट उत्पन्न अँध्यारोमा रुमलिएका छन्।

   
नेपालभारतबीचको खुला सिमाना नियन्त्रित हुनेबित्तिकै तराईमा हुने बिहेबारीमा कसरी प्रभाव पर्दैन, त्यसबारे चर्चा गरौं। खासगरी दिल्ली, युपी र बिहारसँग भनिएको नेपालको तराईको बेटीरोटी सम्बन्धकसरी प्रभावित हुँदैन त्यसबारे चर्चा गरौं। पश्चिम ब·ङ्गालसँग नेपालको तराई क्षेत्रको विवाह सम्पन्न हुने गरी ठ्याक्यै संस्कृति मिल्दैन, जसरी युपी र बिहारसँग मिल्दछ। दक्षिण भारतसँग त संस्कृति मात्र होइन, खानपान पनि मिल्दैन। त्यसकारण ती क्षेत्रहरूमा तराईवासीहरूको बिहेबारी त्यो स्तरमा हुनै सक्तैन।
   
नेपालमा भएका मधेसीहरूको बिहार, युपी र दिल्लीसँग बिहेबारी हुनेगरी संस्कृति मिल्छ। तर एक सामान्य तराईको नेपाली, जो गरीब छ, उसले नेपालमा नै बिहेबारी गर्न रुचाउँछ। उसको कमजोर आर्थिक स्थितिले धेरै खर्च गरेर, धेरै पर पुगेर विवाह गर्न अनुमति दिंदैन। अब रहयो कुरा नेपालका तराईका मध्यम र उच्च वर्गीयहरूको भारतमा हुने बिहेबारी। यो पनि अब पहिलेजस्तो प्रचलित छैन। नेपालका तराईवासीहरू भारतको युपी, बिहारका बासिन्दाभन्दा आमरूपमा धेरै अगाडि छन्। तराईवासी शिक्षित छन्। राजनैतिक र सांस्कृतिकरूपमा निकै सचेत छन्। नेपालका कतिपय मधेसीहरू अहिले छोराछोरीको विवाहमा तिलकन लिन चाहन्छन् न दिन नै चाहन्छन्। उनीहरूलाई परिस्थितिले त्यस्तो गर्न बाध्य पारिदिनु बेग्लै कुरा हो। तिलक लिनु र दिनुलाई सामाजिक अपराध ठान्छन्, भित्रभित्र सानो मात्रामा लिनेदिने गरे तापनि। तर भारतको बिहार, युपीलगायत दिल्ली जहाँ राजधानी छ, खुलारूपमा तिलकको लेनदेन हुन्छ। त्यो पनि ठूलो रकममा हुन्छ। तिलकलाई सामाजिक मर्यादाको श्रेणीमा राख्ने गरिन्छ। तिलक लिनेदिने कार्य गरेर समाजमा आफ्नो हैसियत प्रदर्शन गरिन्छ। त्यहाँ शिक्षित र सम्भ्रान्त कहलिएकाहरू पनि तिलक पाउनुलाई र दिनुलाई प्रतिष्ठाको विषय ठान्छन्। र तिलकलाई सामाजिक प्रतिष्ठा प्राप्त गर्ने एक बलियो औजार ठान्दछन्। यो कारणले वा तिलकको आर्थिक बोझले गर्दा तराईवासीले नेपालमा नै बिहेबारी गर्न रुचाउन थालेका छन्। बरु स्थिति यस्तो हुन थालेको छ कि एक मधेसी परिवारले धैरे तिलक दिएर भारतको धनी घरमा बिहे गर्नुभन्दा काठमाडौतिरका सामान्य परिवारमा, सके बिनातिलक बिहे गर्न थालेका छन् । यसरी तराईका राम्रो आर्थिक हैसियत हुने परिवार पनि छोराछोरीको बिहे गर्दा नेपालमा नै बिहे गर्न खोजिरहेका छन्।

   
जब सबै किसिमले बिहेबारी नेपालमा नै हुने स्थिति छ भने तराइको भारतसँग कसरी बेटीरोटीको सम्बन्ध रहयो त? जब स्थिति त्यस्तो छैन भने बेटीरोटीको सम्बन्धको चर्चा भ्रम छर्ने कार्य मात्र होइन र? नेपालका तराईका तथाकथित अछूत वा तल्लो जातिका मानिस भारतको बिहार, युपी र दिल्लीभन्दा राजनैतिक रूपमा निकै नै अगाडि छन्। राजनीतिमा सक्रियरूपमा लागेका छन्। राज्यको उच्च पदहरूमा पुगेका छन्। उनीहरू पनि नेपालमा नै बिहेबारी गर्न रुचाउँछन्।

   
नेपाल भारतबीच खुला सीमा नियन्त्रित भएमा तराईमा नकारातत्मक होइन, अति सकारात्मक प्रभाव कसरी पर्छ अब त्यसबारे कुरा गरौं। सर्वप्रथम तराईका कृषकहरूलाई अनुदानको रूपमा मलखाद वितरण गर्दाको कुरा गरौं। नेपाल सरकारले नेपाली कृषकहरूलाई सस्तोमा मलखाद वितरण गर्दा पहाडतिर वितरण गरिएका मलखाद कृषकहरूले प्रयोग गर्छन् किनभने भौगोलिक दूरीले गर्दा उनीहरूले सजिलै भारत पुर्‍याएर महँगोमा बिक्री गर्न सक्तैनन् तर तराईका कृषकहरू भने अनियन्त्रित खुला सिमाना भएको कारण सजिलै सस्तोमा पाएको मलखाद भारत पुर्‍याएर महँगोमा बिक्री गर्न सक्छन्, गरेका छन्। यो कार्यले तराईको अर्थ व्यवस्थामा नराम्रो असर पार्दछ। अब अन्य कार्यहरूले नेपाल र विशेषगरी तराईको अर्थव्यवस्थामा कसरी ठूलो नकारात्मक असर पार्दछ त्यसबारे कुरा गरौं।

   
नेपालको तराईमा एक त पहिलेदेखि नै रोजगारदातामजदुरबीच सम्बन्ध राम्रो नरहेकोले यहाँका उद्योग धराशायी अवस्थामा छन्, झन् तराईवासीले सीमानापारि भारतको बजारबाट सामान खरिद गरिदिनाले तराईका उद्योगहरू रुग्ण हुन पुगेका छन्। भारतीय बजारका वस्तुहरूसँग नेपालका वस्तुहरूले मूल्यमा प्रतिस्पर्धा गर्न सम्भव नै छैन। यस्तो अवस्थामा तराईका बजारहरूले नेपाल सरकारबाट संरक्षण पाउनुपर्ने हो। तर तराईमा भइरहेको छ ठीक उल्टो। भंसार तिरेर र भंसार नतिरेर (तस्करीको माध्यमबाट) भारतीय बजारबाट नेपाल भित्रिने सामानहरूले मुख्यगरी तराईका उद्योगलाई धराशायी तुल्याउन सक्रिय भूमिका खेलिरहेका छन्। कस्तो विडम्बना! जुन कुरा (अनियन्त्रित खुला सिमाना) ले तराईलाई गरिब पारिरहेको छ त्यसैलाई यसले (नियन्त्रित गरिएमा) हाम्रो बेटीरोटीको सम्बन्ध खराब हुन्छ भनी केही मधेसी नेताहरू वकालत गरिरहेका छन्। जुन कुराले तराईको अहित हुने हो त्यही गर्नुलाई उचित मानिरहेका छन्। यी नेताहरूको यो अदूरदर्शी नीतिले गर्दा नै तराई झन्झन् अनिश्चितता र गरिबीको खाडलमा भास्सिंदै गइरहेको छ। आफूलाई तराईको हितमा समर्पित भन्नेहरूको ध्यान यतापट्टि कहिले पुग्ने हो कुन्नि ? तराईलाई लगभग छ महिना जति बन्द पारेर, यो क्षेत्रमा अर्बौं रुपियाँ घाटा गराएर, यो क्षेत्रमा गरिबी झन् बढाएर मधेसी नेताहरूले कसरी तराईको हित गरिरहेका छन्? तराईको जनताको यो प्रश्नको उत्तर यी नेताहरूले उचित किसिमले दिन के आवश्यक छैन? 

   
तराईको हित गर्न, मधेसको आर्थिक विकास गर्न, नेपाल र भारतबीच रहेको खुला सिमाना नियन्त्रण गर्न अति नै आवश्यक छ। यो कार्यले भारतको पनि हित हुन्छ। उसको सुरक्षा चिन्ता कम हुन्छ, नेपाललाई त लाभ हुन्छ नै। त्यस कारण प्रधानमन्त्री खड्गप्रसाद ओलीले शुक्रवार (७ फागुन २०७२) देखि शुरु गर्ने भारत भ्रमणको समयमा नेपालभारतबीचको रहेको खुला सिमाना नियन्त्रण गर्नेबारे भारत समक्ष ठोस प्रस्ताव राख्न आवश्यक छ र साथै यो कार्यले भारतलाई पनि निकै फाइदा हुने भनी भारतीय पक्षलाई आश्वस्त पार्न पनि उत्तिकै आवश्यक छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, February 19, 2016

Friday, February 12, 2016

Should Nepal Learn From China?-Article-200

नेपालले चीनबाट सिक्ने हो कि?

चीनको आर्थिक विकासले सम्पूर्ण विश्वको ध्यान तानेको त छ नै साथै चीनले कुन किसिमको आर्थिक नीति अबलम्वन गरेको छ जसले गर्दा यति सानो समयमा चीनले यति धेरै आर्थिक प्रगति गर्यो भन्ने जिज्ञासा पनि विज्ञहरूमा अभूतपूर्व किसिमले जगाइ दिएको छ। अहिले सारा संसार चीनको आर्थिक प्रगतिको रहस्य जान्न उत्सुक छ। यथार्थमा, के हो त चीनको आर्थिक विकासको रहस्य?
अमेरिका विश्वको आर्थिक महाशक्ति हुन लामो समय लागेको थियो। दोस्रो विश्वयुद्ध पछि मात्र अमेरिकाले अति द्रुततर गतिमा आर्थिक प्रगति गर्न आरम्भ गरेको हो। र अमेरिका आजको यो स्थितिमा आउन साठ्ठी सत्तरी वर्ष लागेको छ। तर चीनले भने अहिले जे जति आर्थिक प्रगति गरेको छ त्यो केवल बिस पच्चिस वर्षको उपलब्धि हो। त्यो पनि चीनिया नेता तोँग सिआओ पिँगको आर्थिक नीतिले काम गर्न थालेपछि हो। माओ त्से तुङ्ग, स्वयं आफै र उनको नीतिले चीनमा “साशन” गर्दा चीनको अर्थ व्यवस्था टाउको तल र खुट्टा माथिको स्थितिमा थियो। खुट्टा तल र टाउको माथि ल्याउने कार्य तोँग सिआओ पिँगले गरेका हुन। चीनमा आर्थिक विकासको सम्पूर्ण श्रेयता तोँग सिआओ पिँगमा जान्छ। तर यो भनाई पूर्णरूपेण सत्य भने होइन। अनि सत्य के हो त? यदि पूर्णरुपेण सत्य भइ दिएको भए तोँग सिआओ पिँगको मृत्युपछि चीनको आर्थिक विकासमा गिरावट आउनु पर्ने हो। होइन र? तर तोँग सिआओ पिँगको समयपछि पनि चीनको आर्थिक प्रगतिको गति तिब्र नै छ। तिब्रताको क्रम रोकिएको छैन्। किन होला त्यस्तो? 
अमेरिकामा भएको आर्थिक प्रगतिका लागि विज्ञहरू यस मुलुकले अङ्गीकार गरेको पूँजीवादी अर्थ व्यवस्था र त्यसको पृष्ठपोषण गर्ने राजनैतिक व्यवस्था-प्रजातन्त्रलाई मुख्य कारण मान्दछन्। अमेरिकाले लिएको पूँजीवादी अर्थ नीति जसले स्वतन्त्र बजार व्यवस्थालाई नै राष्ट्रिय अर्थतन्त्रको विकासको साँचो मान्दछ त्येही स्वतन्त्र बजार व्यवस्थाले अमेरिकालाई चौतर्फी रुपमा आर्थिक विकास गर्न सघाउ पुर्याएको हो भनी विश्वास गर्ने अर्थशास्त्रीहरूको सङ्ख्या सानो छैन्। हुन पनि अमेरिकाले कृषि, उद्योग र व्यापारमा चौतर्फी किसिमले तिब्र गतिमा तर अति सन्तुलित रुपमा विकास गरेको छ। कृषिमा अमेरिका आत्मनिर्भर मात्र छैन् ठूलो परिमाणमा निर्यात गर्न पनि सक्षम छ। यति मात्र होइन, विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा पनि अमेरिका संसारका विभिन्न विकसित राष्ट्रहरू भन्दा धेरै अगाडि छ। ऊर्जा उत्पादन र उपयोगको क्षेत्रमा अमेरिका अगाडि छ नै। यातायातमा पनि यसले उल्लेखनीय प्रगति गरेको छ। सामुन्द्रिक खाना उत्पादनमा पनि अमेरिकाले राम्रो स्थान ओगटेको छ। कार (विभिन्न मोटरहरू) विक्री सर्वाधिक ठूलो सङ्ख्यामा हुने बजारको रुपमा अमेरिका विश्वमा नै चीन पछि दोस्रो हो। चीनको र अमेरिकाको यो स्थितिमा केही भिन्नता भने छ। चीनमा केवल धनीहरूले मात्र कार राख्न सक्छन् भने अमेरिकामा गरिबहरूले पनि कार राख्न सक्छन्। चीनको जनसङ्ख्या अमेरिकाको तुलनाम धेरै नै बढी छ। यसैगरी ठूलो परिमाणमा सामुन्द्री खाना उत्पादन गर्ने (सन् २०१२) विश्वका दस राष्ट्रहरूमा अमेरिकाको स्थान पाँचौमा रहेको थियो। अमेरिकामा मोटर गुड्ने यति धेरै सडकहरू छन् कि भनिन्छ अमेरिकामा भएभरका सडकहरूलाई जोड्ने हो भने यसको लम्बाइले संसारलाई एको चोटी बेर्न पुग्छ। अमेरिकाले जे जति अभूतपूर्व किसिमले आर्थिक प्रगति गरेको छ त्यसको  मूल कारण पूँजीवादको जगमाथि उभिएको खुला र उदार अर्थव्यवस्था हो। प्रजातान्त्रिक राजनैतिक प्रणाली हो। स्वतन्त्र व्यापार प्रणाली (Free Enterprise system) हो। तर आश्चर्य! चीनको राजनैति प्रणाली प्रजातान्त्रिक पनि छैन्। चीनको राजनीतिले औपचारिक रुपमा पूँजीवादलाई स्वीकार गर्दैन पनि। चीनको आर्थिक क्षेत्रमा पूँजीवाद हावी भएता पनि त्यो अनौपचारिक रुपमा छ र त्यहाँ राजनैतिक व्यवस्था दृश्य किसिमले एक तन्त्रिय वा तानाशाही छ। किनभने चीनको राजनितिमा चीनिया कम्युनिष्टपार्टीको पूर्ण नियन्त्रण छ। तर यस्तो हुँदा हुँदै पनि चीनले कसरी यस्तो किसिमले आर्थिक प्रगति गर्न सक्यो त? चीनको आर्थिक विकासले के कुनै पनि मुलुकको आर्थिक विकास गर्न प्रजातन्त्र आवश्यक छैन भन्ने कुरा प्रमाणित गर्दैन? गहिरिएर सोँचौ।
चीनको आर्थिक विकासको मुल कारण केही अर्थ शास्त्रीहरूले यस मुलुकको विशाल जनसंख्यालाई मान्दछन्। विशाल जनसङ्याले गर्दा चीनले उत्पादन लागत कम पार्न सकेको हो, भन्दछन्। र त्यस्तो लागत कम भएको हुनाले मात्र संसारभरि सस्तोमा सामान बिक्री गर्न चीनले सकेको हो, ठोकुआ गर्दछन्। तर यदि जनसंख्या नै आर्थिक विकासको मुल कारण हुँदो हो त विश्वका अति जनआवादी भएका मुलुकहरू भारत, इण्डोनेसिया, ब्राजिल, पाकिस्तान, नाइजेरिया, बङ्गलादेश आदिले पनि चीन जस्तै द्रुदतर गतिमा विकास गर्नु पर्ने हो। तर किन त्यस्तो हुन सकेन त? विश्वका अति जनआवादी भएका मुलुकहरू चीनको हाराहारीमा पनि धनी हुन नसक्नुले आर्थिक विकासका लागि ठूलो जनसङ्ख्या हुनु आवश्यक हुन्छ भन्ने तथ्यको खण्डन गर्दैन न त? गहिरिए सोंचौ।
चीनको चमत्कारी किसिमको आर्थिक विकासले तिन किसिमका तथ्यहरूतर्फ ध्यान आकर्षित गर्दछ। पहिलो: नेपाल, भारत, चीन, पाकिस्तान, बङ्गलादेश जस्ता जनतामा राजनैतिक चेतना कम भएका मुलुकहरूमा आर्थिक विकास गर्न राजनैतिक व्यवस्थामा प्रजातन्त्र होइन, एक दलीय तन्त्र वा अर्को किसमले भन्ने हो निरङ्कुश तन्त्र चाहिने रहेछ। चीनमा मात्र एउटा कम्युनिष्ट पार्टी छ र त्यसले नै राष्ट्रिय राजनीतिलाई पूर्ण रुपमा नियनत्रित र निर्देशित गर्दछ। उद्योग, व्यापार निर्वाध रुपमा सञ्चालन गर्न निरन्तर शान्ति आवश्यक हुन्छ र त्यस किसिमको निरन्तर शान्ति विकासशील मुलुकहरूमा केवल एक दलीय सरकारले मात्र कायम गर्न सक्छ जुन स्थिति चीनमा छ। विकासशील मुलुकहरू राजनैतिक अशान्ति धेरै नै हुन्छ।
दोस्रो: विकासशील राष्ट्रहरूमा आर्थिक प्रगति गर्न राष्ट्रिय अर्थतन्त्रमा प्रजातन्त्र तर राष्ट्रिय राजनीतिमा निस्वार्थी निरङ्कुश तन्त्र चाहिने रहेछ। विकासशील मुलुकहरूमा आर्थिक विकासका लागि प्रजातन्त्र सहायक होइन बाधक भएर प्रस्तुत भएको देखिएको छ। विकासशील राष्ट्रहरूमा राष्ट्रिय राजनीतिका कर्ता (actor) का रुपमा रहेका नेताहरू जहिले पनि सत्ता-सङ्घर्षमा लीन रहने गर्दछन् र आर्थिक विकासलाई महत्व दिने गर्दैनन्। सक्ति र सत्ताका लागि भ्रष्टाचारमा रमाउने हुन्छन्।नेपालको स्थिति ठ्याक्कै यस्तै छ। र अर्को उदाहरणमा, प्रजातान्त्रिक व्यवस्था रहेको जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगावे लगभग तिस वर्ष (३१ डिसेम्बर १९८७) देखि सत्तामा छन्। ९२ वर्षीय मुगावेले सत्ता छोड्ने छांटकांट देखाएका छैनन्। अर्कोतिर जिम्बाब्वेको अर्थतन्त्र रूग्ण हुन पुगेको छ। सन् २००६/२००७ तिर जिम्बाब्वे संसारभरिमा नै सर्वाधिक मुद्रा स्फिर्ति हुने देश हुन पुगेको थियो।
तेस्रो: निष्पक्ष न्याय प्रणाली। विकसित राष्ट्रहरूलाई धनी तुल्याउनमा ती मुलुकहरूमा मौजुद निष्पक्ष न्याय प्रणालीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तर विकासशील राष्ट्रहरूमा भने न्याय प्रणाली निष्पक्ष हुन सकेको हुँदैन। नेताहरू निर्वाचित भएता पनि यिनीहरूमा सामाजिक उत्तरदायित्व कम हुन्छ र अर्कोतिर न्याय प्रणालीलाई यिनीहरुले आफ्नो पक्षमा पारेक छुन्छन्। अर्कोतिर उद्योग, व्यापारको विकासका लागि न्याय प्रणाली निष्पक्ष नभइ हुँदैन। उत्पादक, वितरक, बिक्रेता र उपभोक्ता, यी सबै पक्षहरूको अधिकारको रक्षा गर्न न्याय प्रणाली निष्पक्ष हुन आवश्यक हुन्छ। विकसित वा विकासशील राष्ट्रहरूमा निष्पक्ष एक दलीय तन्त्रले आर्थिक विकास गरेको देखिएको छ। उदारहरणका लागि सिंगापुर (लि क्वान यु), मलेशिया (महाथीर मोहम्द) मा भएको आर्थिक प्रगति।
यी विभिन्न तथ्यहरूको प्रकाशमा र चीनको आर्थिक विकासको रहस्यलाई मध्य नजर गर्दै एउटा के निष्कर्ष अगाडि देखा पर्दछ भने नेपाल जस्तो विकासशील मुलुकको आर्थिक विकास गर्नका लागि प्रजातन्त्र सहायक होइन बाधक भएर प्रस्तुत हुँदोरहेछ। भन्न नखोजेर पनि, यो भन्नु पर्ने स्थिति देखिएको छ। २०४७ साल देखि अहिलेसम्म सङ्गालिएको अनुभवले त्येही भन्छ। र यस तथ्यको पुष्टि चीनको आर्थिक विकासले पनि गर्छ। नेपालको आर्थिक विकास गर्न नेपालमा पनि अर्थ व्यवस्थामा प्रजातन्त्र तर राष्ट्रिय राजनीतिमा राष्ट्रवादी एवं निष्पक्ष एक दलीय तर गैर कम्युनिष्ट तन्त्र आवश्यक भएको हो कि?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 12, 2016