Wikipedia

Search results

Friday, June 3, 2016

Our Development Concept is Wrong-Article-116

विकासप्रतिको हाम्रो अवधारणा नै गलत

युरोपेली वा पश्चिमाहरूले विकासको उच्च शिखर आरोहण गरे तापनि, उनीहरूको जीवनस्तर अति माथि पुगे तापनि दक्षिण एसियालीहरूको आर्थिक एव सामाजिक विकास हुन नसक्नुको मुख्य कारण यस क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूको विकासप्रति गलत अवधारणा हुनु हो। यस क्षेत्रका नागरिकको विकासप्रति धारणा गलत रहेकोले नै यहाँको विकासको गति कछुआ चाल हुन पुगेको हो। भएका विकासका पूर्वाधारहरूको पनि राम्रो संरक्षण हुन नसकेको हो।
    पश्चिमाहरू चन्द्रमामा धेरै वर्ष पहिले नै पुगेर हाल अन्य ग्रहमा मानवबस्ती बसाल्ने तरखरमा रहे तापनि दक्षिण एसियाली नागरिकहरूसँग न वर्षभरि दुई छाक खान पुग्ने अन्न छ, न शुद्ध खाने पानी छ, न घरमा सुरक्षित शौचालय नै छ। स्वास्थ्य सुविधाहरू कति उपलब्ध छन्, सबैले थाहा पाएको कुरा हो। नेपालका कतिपय क्षेत्रहरूमा, यो आधुनिक युगमा पनि, महिनावारी भएको र सुत्केरी महिलाहरूलाई गोठमा राख्ने चलन छ। बिरामी परे भने अस्पताल होइन, धामी झाँक्री कहाँ पुर्‍याउने चलन छ। दिसा पिसाब गर्नका लागि सुरक्षित शौचालयको प्रयोग होइन, सडक वा जङ्गलमा जाने चलन छ। यो स्थितिले हामी विकासको कुन चरणमा छौं भन्ने स्पष्ट तस्वीर देखिंदैन?
    दक्षिण एसियालीहरूको विकासप्रति अवधारणा कसरी गलत छ? आउनुहोस्, यस प्रश्नको उत्तर खोजौं।

    दक्षिण एसियाका नागरिक अहिले पनि राज्यको सामाजिक एवं आर्थिक विकासका लागि जिम्मेवार वा उत्तरदायी सरकारलाई मान्दछन् र आफू पूर्णरूपेण गैरजिम्मेवार भएर बस्छन्। आफ्नो मालिक सरकार हो र सरकारले नै विकास एवं निर्माणको कार्य गरिदिने वा गर्नुपर्ने ठान्छन्। तर पश्चिमा मुलुकका नागरिकहरू आफ्नो क्षेत्रको समग्र विकासका लागि सरकार होइन, स्थानीय 
बासिन्दा जिम्मेवार रहेको 
ठान्छन्। सरकारलाई विकासकर्ताको भूमिकामा होइन, सहजकर्ताको रूपमा हेर्छन्।
    विकासको लागि प्रमुख जिम्मेवार सरकार भन्ने विश्वास दक्षिण एसियाका नागरिकमा कसरी उत्पन्न भयो? यसबारे पनि छोटो चर्चा गरौं।

    दक्षिण एसियाका नागरिक लामो कालसम्म महाराजा, राजा, नायक वा सरदारहरूद्वारा शासित भएर बसे। कुनै खास व्यक्ति वा निकायद्वारा शासित भएकोले नागरिकले आफ्नो स्वामी अथवा विकासको सूत्रधार वा जिम्मेवार राजा, रजौटाहरूलाई माने। राज्यको सम्पूर्ण विकासका लागि पूर्ण जिम्मा राजा वा सरकारमा रहेको विश्वास गरे। नागरिकले गर्ने सम्पूर्ण कार्य राजा वा सरकारको लागि गरिएको भावना जनताको मनमा भित्रसम्म गाडियो। यसै हुनाले नेपाली समाजमा, यो आधुनिक युगमा पनि राजाको काम कहिले जाला घामभन्ने भनाइ प्रचलित छ।

    दक्षिण एसियाका नागरिक अहिले पनि विकासको लागि प्रमुख जिम्मेवार सरकारलाई मान्दछन् र आफूलाई मात्र विकासको प्रतिफलको भोक्ता। सरकारलाई मालिक मान्छन्। नेताहरूलाई विकासको निर्णय र कार्यान्वयनकर्ताको रूपमा मान्छन्। विकासको लागि प्रमुख जिम्मेवार निकाय सरकार र नेता हो भन्ने जनविश्वासले गर्दा नै सरकारी संयन्त्र एवं नेताहरूले आफूलाई मालिक र जनतालाई दास ठान्छन्। यसै कारणले उच्च पदका सरकारी कर्मचारी एवं नेताहरूले सामान्य जनतालाई  आफ्नो दास मान्दै जनतालाई आदेश दिन्छन्। आफू मालिक हुँ भन्ने गर्व प्रदर्शित गर्छन्। उच्च पदका सरकारी कर्मचारी एवं नेताहरूले आफूलाई सामान्य जनताभन्दा माथि देख्नु र सामान्य नागरिकलाई नमस्कार गर्नु आफ्नो इज्जत जानु हो भन्ने विश्वास गर्छन्। यस किसिमको परम्परा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, ङ्गलादेश, श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकहरूमा विद्यमान छ। भारतमा त झनै बढी छ। बडेबाबू र छोटोबाबूको चक्करमा परेर एक सामान्य भारतीय नागरिकले एउटा सानो सरकारी कार्य सम्पादन गराउन महिनौं धाउनुपर्छ। अनेक ठाउँमा घूस टक्रयाउनु पर्छ।

    युरोपेली राष्ट्रहरूमा भने राजा वा नायकहरूको शासन व्यवस्था धेरै पहिले नै समाप्त भइसकेको थियो। जे जति राष्ट्रमा थियो, तिनले पनि विकासको लागि प्रमुख जिम्मेवार स्थानीय नागरिक हुन् भन्ने यथार्थ व्यवहारमा उतारिसकेका थिए। संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, इटली जस्ता राष्ट्रहरूमा राजाको शासनकालमा नै विकासको संवाहक जनता हो भन्ने भावनाको पर्याप्त विकास भइसकेको थियो। संयुक्त अधिराज्यमा त राजसंस्था भए पनि विकासको कार्यमा ठूलो मात्रामा जनसहभागिता छ।

    आफ्नो क्षेत्रको विकास आफूले नै अर्थात् स्थानीयले नै गर्नुपर्दछ भन्ने भावना सबै क्षेत्रमा प्रचुर मात्रामा रहेको उत्कृष्ट उदाहरण संयुक्त राज्य अमेरिकामा देख्न सकिन्छ। यहाँको समाजमा राज्य वा केन्द्र सरकारलाई केवल सहजकर्ताको रूपमा लिनुपर्छ, आफ्नो क्षेत्रको विकास आफैंले गर्नुपर्छ भन्ने भावना धेरै गहिरो छ। हरेक नागरिकले यस तथ्यलाई गम्भीरतापूर्वक लिएको छ। यसै कारणले अमेरिकाको धेरै ठूलो र सानो शहरबीच जनसङ्ख्या र भवनबाहेक अन्य सुविधा र सेवामा ठूलो अन्तर हुँदैन। जे जस्तो सुविधा  ठूला शहरहरूमा हुन्छ, साना शहरहरूमा पनि हुन्छ। सडक, बिजुली, खानेपानी, शिक्षा (स्कूलकलेज), प्रशासन, स्वास्थ्य, सुरक्षा आदि सुविधा सानासाना शहरहरूमा पनि उपलब्ध देख्न सकिन्छ। ठूलो सङ्ख्यामा मानिसको बसोवास रहेको र बढी मात्रामा व्यापारिक कार्यहरू सम्पादन हुने स्थानलाई ठूलो शहरको नाम दिने गरिएको छ।

    अमेरिकामा आफ्नो क्षेत्रको विकास आफैं गर्नुपर्छ, विकासका कार्यहरूका लागि सरकारको मुख ताक्नुहुँदैन भन्ने सोच कसरी आयो? यस प्रश्नको उत्तर पनि रोचक छ।

    प्रारम्भमा जब विभिन्न व्यक्ति हालको संयुक्त अधिराज्यबाट बसाइँ सरेर अमेरिकी भूमिमा आए, उनीहरूको मुख्य उद्देश्य नयाँनयाँ सम्भावनाको खोजी गर्नु थियो। सरल किसिमले सुविधायुक्त जीवन यापन गर्न सकिने भूभाग पत्ता लगाउनु थियो। सरल जीवनयापन गर्न सकिने स्थानको पत्ता लगाउने तथा त्यस स्थानको विकास पनि स्वयंले गर्ने दृढ उद्देश्यका साथ कोलिनिस्ट (बसाइँ सर्ने वा उपनिवेश खडा गर्नेहरू) हालको अमेरिकी भूमिमा प्रवेश गरेका थिए। समुद्री यात्रामा हुने दुर्घटना एवं नयाँ स्थान (अमेरिका) मा भोग्नुपर्ने वातावरणीय तथा पर्यावरणीय परिवर्तनको जोखिम उठाएका थिए। यसरी बसाइँ सरेर आउनेहरूमा यो नयाँ स्थानको विकास हामी सबैले मिलीजुली गर्नुपर्दछ भन्ने जाँगर, सदाशयता र अठोट थियो। आफ्नो नयाँ स्थानको विकास स्वयं गर्नुपर्छ भन्ने भावना कोलिनिस्टहरूमा भएकोले नै अमेरिकाको आश्चर्यजनक आर्थिक र वैज्ञानिक विकास भएको हो। सानो अवधिमा नै परम्परागत महाशक्तिहरू बेलायत, जर्मनी, फ्रान्सलाई उछिन्दै विश्वको पहिलो महाशक्ति हुन सफल भएको हो।

    हरेक सामान्य नागरिकमा पनि आफ्नो स्थानको विकास स्वयंले गर्नुपर्दछ भन्ने भावना रहेकोले प्रतिकूल मौसम र भौगोलिक समस्याको बावजुद अमेरिकाले यतिको आर्थिक, वैज्ञानिक र सामाजिक विकास गर्न सकेको हो। अमेरिकाले यस किसिमको चमत्कारी आर्थिक प्रगति गरेको हुनाले नै विश्वभरिका नागरिक अहिले पनि आफ्नो लक्ष्य पूरा गर्न अमेरिका अर्थात सपना र सम्भावनाको भूमिमा प्रवेश गर्छन् । तर अमेरिकालाई सपना र सम्भावनाको भूमि तुल्याउन अमेरिकीहरूको अठोठआफ्नो स्थानको विकास हामी आफैंले गर्नुपर्छभन्ने भावनाको ठूलो भूमिका छ। 

अमेरिकामा राजतन्त्र र जमिन्दारी प्रथा कहिल्यै नभएकोले पनि अमेरिकी नागरिकमा आफ्नो स्थानको 
विकास आफैं गर्नुपर्छ भन्ने भावना बलियोगर्र जागृत भएको हुन सक्छ।
    हामी दक्षिण एसियालीहरूमा आफ्नो स्थानको विकास आफैंले नै गर्नुपर्छ भन्ने भावना त छैन नै, राष्ट्रिय विकास एवं निर्माणको कार्यमा एकजुट हुनुपर्छ भन्ने सोच पनि छैन। घरको फोहर अगाडिको सडकमा फालेपछि आफ्नो घर सफा भयो भन्ने मानसिकताले हामीलाई अहिले पनि छाडेको छैन। राजनैतिक दल र नेताहरूले एक अर्काको खुट्टा तान्ने  बानी राजनैतिक संस्कृतिजस्तो भएको छ। ताजा उदाहरण: आर्थिक वर्ष २०७३७४ को बजेट सदनमा पेश पनि भएको छैन, त्यसको चर्का विरोध शुरु भइसक्यो। अचम्म! पेश हुने बजेटको सत्तासाझेदार दलका नेताहरूले पनि विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त विरोध गरिरहेको छ नै। विकास र निर्माणको कामको पनि विरोध गर्ने? यो कस्तो संस्कृति हो? के हामी विरोध नगरी बस्नै सक्दैनौं?  के सकारात्मक कुराको समर्थन गरेर विकासका कुराहरूलाई अगाडि बढाउन सकिंदैन? 
हामी किन महाभारतको मानसिकताबाट बाहिर आउन सकिरहेका छैनौं? किन शकुनी हाम्रो आदर्श हुन पुगेको छ?
    एमालेको नेतृत्वमा निर्माण भएको बजेटमा केही त्रुटि होला। त्यसलाई सच्याउन पनि सकिन्छ। सदनमा पेश भएका बजेटहरूको लेखाजोखा गर्ने हो भने एमालेले लोकप्रिय बजेट ल्याएको इतिहास ताजा छ। नौ स’, ‘आफ्नो गाउँ आफैं बनाउँजस्ता उत्कृष्ट अवधारण एमालेले बजेटमार्फत् विगतमा ल्याएको थियो। तर बजेटलाई प्रभावकारी तुल्याउँदै देशलाई खुला एवं उदार अर्थ व्यवस्थाको युगमा प्रवेशगराउने अनि मुलुकको आर्थिक विकासको गतिलाई तीव्र तुल्याउने कार्य गर्ने श्रेय भने नेपाली काङ्ग्रेसलाई जान्छ। बरु एमाले अहिलेसम्म पनि बजार अर्थ व्यवस्थातथा खुला र उदार अर्थ व्यवस्थाबारे हुन सकेको छैन।  ढुलमुलको स्थितिमा छ।
    मुलुकको आर्थिक विकास गर्नका लागि हामीले मिलेर कार्य गर्नुपर्छ। आफ्नो स्थानको विकास स्थानीय नागरिक स्वयंले नै गर्नुपर्छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, June 03, 2016

Friday, May 27, 2016

Why South Asians Are Poorer?-Article 115

कुरा ठूलो काम थोरै

साँचो कुरा भन्ने हो भने दक्षिण एसियाका नागरिकहरूलाई सरल किसिमले बाँच्न नै आउँदैन। अझै खरो किसिमले भन्ने हो भने बाँच्ने तरिकाहरू नै गलत छन्। कतिपय दक्षिण एसियाली मुलुकका नागरिकहरू आधुनिकता (सरलता) लत्याएर अहिले पनि शिकारी जीवन वा जङ्गली (कष्टकर) जीवन बाँचिरहेका छन्। र त्यसरी बाँचेकोमा औधी खुशी छन्।
    जुन क्षेत्रका नागरिकले पोलियो थोपा ख्वाउन जाने स्वास्थकर्मीहरूको हत्या गर्छन्, जुन क्षेत्रका नागरिकहरूले स्कूल जाने बालिकाहरूको ज्यान लिन्छन् त्यस क्षेत्रका नागरिकहरूले जङ्गली जीवन नत्यागेको कसरी मान्ने?
    धर्मको नाममा नागरिकहरूको बाँच्ने अधिकार समाप्त पार्नेलाई यो आधुनिक युगको नागरिक कसरी मान्न सकिन्छ? यी प्रसङ्गहरूको उदाहरण खोज्न धेरै पर जानुपर्दैन। पाकिस्तानअफगानिस्तानका विभिन्न ग्रामीण इलाकाहरूमा भएका घटनाको विश्लेषण गरे पुग्छ। निर्वासनमा रहन बाध्य पारिएकी पाकिस्तानी नागरिक मलाला युसुफजईलाई तालिबानीहरूले सन् २०१२ मा उनको ज्यान लिने गरी उनीमाथि निर्ममतापूर्वक गोली बर्साएका थिए। मलालाको कसुर थियोपाकिस्तानको स्वात्त उपत्यकाका बालिकाहरूलाई स्कूल जान प्रेरित गर्नु। स्थानीय जनतामा शिक्षाको प्रसार गर्नु। मलालालाई गोली लाग्दा उनको उमेर केवल १५ वर्ष थियो।

    अहिलेको युगमा शिक्षालाई जीवनको अत्यावश्यक वस्तु मानिन्छ। किनभने शिक्षाले नै मानिसलाई बाँच्ने ज्ञान दिन्छ। र यो ज्ञानको युगमा बिनाज्ञान बाँच्न कष्टकर हुन्छ। शिक्षालाई गलत देख्नेहरूको चेतनाको स्तर कुन बिन्दुमा रहेको छ भनी मान्ने?
    हामी दक्षिण एसियालीहरूको अर्को ठूलो विशेषता के छ भने हामी स्वयंले नै सरल जीवनलाई कष्टकर बनाउँछौं। बाँच्नका लागि सरल कुराहरूको खोजी गर्ने होइन, उल्टो बाँच्नका लागि गार्‍हो हुने कुरा खोजीखोजी लागू गर्छौ। अनि जीवन कष्टकर भयो भन्दै त्यसबाट छुटकारा पाउने कोशिश गर्छौ, कराउँछौं। उदाहरणका लागि बिहे गर्न एकजना स्त्रीलाई एकजना पुरुषको जति आवश्कयता पर्दछ, त्यति नै आवश्यकता पुरुषलाई पनि स्त्रीको पर्दछ। प्रकृतिले दुवैलाई समान किसिमले एक अर्काका लागि आवश्यक हुनेगरी सृजना गरेको छ। तर स्त्रीका लागि पति खरिद गर्नुपर्ने सामाजिक व्यवस्था हाम्रो यो समाज आफैंले बनाएको छ। एउटी स्त्रीको विवाह गर्नका लागि उनको परिवारले लाखौं रुपियाँ दहेज वा तिलकको रूपमा हुनेवाला पतिको परिवारलाई अनिवार्य दिनुपर्छ। दहेज नदिने हो भने युवतीहरूको विवाह नहुने स्थिति उत्पन्न हुन्छ। अहिलेको यो आधुनिक युगमा पनि के पति खरिद गर्नुपर्ने मूल्यवान वस्तु हो र युवती काम नलाग्ने चीज?
    पतिको घरमा राम्रो दहेज नल्याएको कारण भारत, पाकिस्तान, ·लादेशमा बर्सेनि हजारौं युवतीको मृत्यु हुन्छ। यस्ता केही घटना नेपालमा पनि सुनिएको छ। पतिका परिवारले हजारौं नवविवाहिता युवतीलाई प्रत्येक वर्ष जलाउँछन्, जलाउने कारण हुन्छ, दहेजमा कुरा नमिल्नु। पतिको घर पुगेका युवतीहरूलाई आत्महत्या गर्न बाध्य पार्छन्, त्यहाँ पनि कारण हुन्छ वधूको माइतिबाट भेनजति दहेज नपाउनु।

    सन् २०१० मा दाइजो नल्याइएको कारण भारतमा ८ हजार ३२१ महिलाको हत्या भएको थियो। सन् २०११ मा यो सङ्ख्या बढेर ८ हजार ३३१ पुगेको थियो। सन् २०१२ मा भने १८ हजार २३३ पुगेको थियो। भारतमा हरेक ९० मिनेटमा एक महिलाको हत्या भनिए अनुसारको दाइजो नल्याएको कारण हुने गर्दछ। भारतमा दहेजको कारण महिलाहरूको हत्या हुने घटना दक्षिण एसिया मात्र होइन, विश्वमा नै उच्च छ। स्मरण रहोस्, दहेज प्रथाले भारतलाई सर्वाधिक सताएको छ। भारतीय समाजमा दहेज एउटा त्यस्तो गम्भीर बिमारी हुन पुगेको छ, जसले समाजलाई निरन्तर कमजोर बनाइरहेको छ। तर अचम्म! नागरिकहरू यस किसिमको नियम बनाउने सामाजिक व्यवस्थाप्रति गर्व गर्छन् र हाम्रो संस्कृति भन्दै त्यसको पालनामा जोड दिन्छन्।

    पूर्वीय समाज र खासगरी दक्षिण एसियाली समाज विभिन्न जातजाति र समुदायमा बाँडिएको छ। तल्लो र माथिल्लो जाति छ, यो समाजमा। तथाकथित तल्लो जातिलाई तथाकथित मथिल्लो जातिले आफू सरह मान्दैन र उसले छोएको खाँदैन। एउटा तल्लो जातिले पनि अर्को तल्लो जातिले छोएको खाँदैन। माथिल्लो जातिले तल्लो जातिको आर्थिक, बौद्धिक, सामाजिक र धार्मिक शोषण गर्दछ। कस्तो अचम्म! समाजलाई विभिन्न जातजातिमा विभक्त पारेर, जीवनलाई कष्टकर तुल्याउने जातीयविभाजन प्रथाप्रति हामी गर्व गर्छौ। गर्व गर्ने मात्र होइन, फलानो जातीय समाज, चिलानो जातीय समाजको स्थापना गरेर सामाजिक विकासमा संलग्न छौं भनी अति हर्षितसमेत हुन्छौं। जातीय आधारमा अनेक कार्यक्रमहरूको आयोजना गर्छौं। तर यो सोच्दैनौं कि पश्चिमी समाजले जाति-विहीन समाजको निर्माण गरेर जीवनलाई सरल तुल्यायो, उच्च आर्थिक प्रगति हासिल गर्‍यो। आर्थिक र सामाजिक विकास गर्ने के हामी पूर्वीयहरूले पनि जाति-विहीन समाज निर्माण गर्न सक्तैनौं? हामी कति निर्दयी  छौ, हेरौं त! डुम जातीहरूलाई भोज भतेरमा आफूले खाएर छाडेको जूठो खान बाध्य पार्छौ।  
    सन्दर्भ जोडौं पश्चिमी समाजमा प्रचलित नियमहरूको। पश्चिमी समाजसँगै बसिरहेको क्रममा एकपटक मैले आफ्ना एकजना मित्र डेभिडलाई सडकमा देखें। उनीहरू बाबु र छोरा अलगअलग मोटर गुड्ने सडकमा साइकल चलाइरहेका थिए। छोराको उमेर केवल पाँचसात वर्षको थियो। मैले डेभिडलाई प्रश्न गरेंबाबु र छोरा एउटै साइकलमा चढेको भए हुन्थ्यो नि? सानो बालकलाई त्यसरी सडकमा साइकल चलाउन दिंदा दुर्घटना हुन सक्छ। डेभिडले भनेमैले छोरालाई आफूसँग साइकलमा राख्दा साइकल चलाउँदा सावधान रहनुपर्दछ र सडकमा साइकल चलाउनु  जोखिमपूर्ण हुन्छ भन्ने कुरा उसले सिक्न पाउँदैन। ऊ परावलम्बी भएर जान्छ। तर उसले यो जीवन स्वावलम्बी भएर बाँच्नुछ। जीवन जोखिम र सङ्घर्षपूर्ण छ भन्ने कुरा उसले बालककालदेखि नै सिक्नु पर्छ। उसमा यस किसिमको बानीको विकास भएमा मात्र ठूलो भएर उसले स्वतन्त्र किसिमले निर्णय लिन सक्छ।

    अब पूर्वीय समाजलाई हेरौं, पूर्वीय समाजमा हामी बालबलिकाहरूलाई सानैदेखि स्वतन्त्र किसिमले बाँच्न सिकाउँदैनौं। हरेक कुरामा नियन्त्रण गर्छौ। यहाँसम्म कि ऊ वयस्क भएर बिहे गर्ने उमेरमा पुगे पछि पनि बाबुआमा आफैं उसका लागि वर वा वधू खोज्न थाल्छौ। आफूले भने अनुसारको वर वा वधू स्वीकार गर्न आफ्ना सन्तानलाई बाध्य पार्छौं। वयस्क सन्तानलाई समेत उनीहरूको इच्छा अनुसार वर वा वधू रोज्न दिंदैनौ। यति मात्र होइन, बाबु आमाले आर्जन गरेको धनसम्पत्ति र सामाजिक हैसियतमा बालबालिकहरूलाई गर्व गर्न सिकाउँछौं। स्वतन्त्र किसिमले धनसम्पत्ति र सामाजिक प्रतिष्ठा आर्जन गर्न बालबालिकाहरूलाई सानैदेखि  उत्प्रेरित गर्दैनौं। बरु यस्तो गर्ने पश्चिमी समाजको खिसी, उपहास र आलोचना गर्छौं। तर अर्को अचम्म! हामी पूर्वीयहरू पूर्वमा जीवन दुष्कर भयो भन्दै सरल जीवनयापनका लागि विभिन्न पश्चिमी मुलुक पुग्छौं। पश्चिमी मुलुकहरूमा ठूलो सङ्ख्यामा दक्षिण एसियालीहरूको बसोवास  छ। यस्तो किन भयो होला? उत्तर सजिलो छ। हामी पूर्वीयहरू कुरा भने ठूल्ठूला गर्छौ, तर हाम्रो काम त्यस अनुरूप हुँदैन, सानो हुन्छ। हामी कुरा ठूलो, काम सानो गर्छौं वा काम थोरै गर्छौं।    
    हामी पूर्वीयहरू जीवनलाई सरल बनाउनेतिर पटक्कै ध्यान दिंदैनौं। जीवन यापन गर्न कठिन पार्ने सामाजिक नियम पालना गर्दै त्यसलाई निरन्तरता दिन्छौं।

    हामी पूर्वीयहरूको सामाजिक, सांस्कृतिक र धार्मिक प्रचलनहरूमा अनेक र धेरै समस्या छन्। यी समस्याहरूले गर्दा नै पूर्वीय र खासगरी दक्षिण एसियाका राष्ट्रहरूले आर्थिक प्रगति गर्न सकिरहेका छैनन्। केहीले प्रगति गरे तापनि त्यो प्रगति गरिबहरूसम्म पुग्न सकिरहेको छैन, उदाहरण हो भारत।

    दक्षिण एसियाली राष्ट्रहरूको सामाजिक व्यवस्था अनेकौं समस्याले ग्रस्त भएको हुनाले नै यहाँको राजनैतिक व्यवस्था पनि बिरामी परेको हो। अनि अचम्म! बिरामी राजनैतिक व्यवस्थाबाट स्वस्थ नेताहरू जन्मिने अपेक्षा राख्छौं। बिरामी राजनैतिक व्यवस्थाबाट बिरामी नेताहरूको नै जन्म हुन्छ। स्वस्थ नेता जन्मन सक्तैन। अनि बिरामी नेताहरूले शक्तिको दुरुपयोग गरेमा, भ्रष्ट्राचार गरेमा, स्वार्थी भएमा किन अचम्म मान्नु, किन रुनुकराउनु? माटोजस्तो हुन्छ बाली पनि त्यस्तै लाग्छ। होइन र?
    हामी दक्षिण एसियालीहरूसँग ज्ञान नभएको होइन। प्रशस्त ज्ञान छ, तर त्यसलाई व्यवहारमा लागू गर्दैनौं। श्रीमद् भागवत् गीतालाई केवल धार्मिक पुस्तक मानेर पूजा मात्र गर्‍यौं, त्यसमा भएका ज्ञानहरूलाई व्यवहारमा लागू गरेनौं। गङ्गा नदीलाई माताभन्दै पूजा गर्‍यौं तर गङ्गा माताले बिजुली दिन सक्ने कुरा कहिले सोचेनौं। पश्चिमकाहरूले नदीको पानीबाट बिजुली निकालेपछि मात्र पानीबाट बिजुली निस्कन्छ भन्ने हामीलाई थाहा भयो । यस्तो किन?

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 27, 2016

Friday, May 20, 2016

Is Capitalism Really Bad?-Article-114

 पूँजीवाद: अभिशाप कि वरदान? 
 बजारमा वस्तु वा सेवा बिक्री गर्नका लागि उत्पादक वा बिक्रेताबीच अति प्रतिस्पर्धा भएमा क्रेताहरूलाई आकर्षित गर्न उनीहरूले आफ्नो वस्तु वा सेवाको बिक्री मूल्य कम पार्छन् जसले गर्दा क्रेता वा उपभोक्ताहरूले सस्तोमा वस्तु वा सेवा खरिद गर्न पाउँछन्। अर्को शब्दमा, वस्तु वा सेवाको मूल्य कति निर्धारण गर्ने भन्ने कार्य गर्न सरकार होइन, बजारलाई नै दिनुपर्दछ। माग र आपूर्तिको अवस्था हेरी बजारले नै वस्तु वा सेवाको मूल्य निर्धारण गर्दछ। र यसरी बजारलाई स्वतन्त्र छाडिदिने हो भने उसले नै वस्तु वा सेवाको मूल्य निर्धारण गर्दछ। उपभोक्ताले प्रतिस्पर्धात्मक बजारको फाइदा उठाउँछ। उपभोक्ताले सस्तोमा वस्तु वा सेवा प्राप्त गर्न सक्छ। तसर्थ माग र आपूर्तिको अन्तक्र्रियाद्वारा वस्तु एवं सेवाको मूल्य निर्धारण हुनुपर्दछ। यो कार्यले उपभोक्ताको हित हुन्छ, मात्र पूँजीवादको पक्षपोषण हुँदैन। बजारमा ठूलो सङ्ख्यामा उत्पादक एवं बिक्रेताहरूको उपस्थिति भएमा बजार प्रतिस्पर्धात्मक हुन पुग्दछ।
    बजार अति नै प्रतिस्पर्धात्मक भएकोले बिक्रेता एवं उत्पादकबीच मूल्य वृद्धिका लागि गोप्य साठगाँठ हुन पाउँदैन, उनीहरूको उपस्थिति बजारमा ठूलो सङ्ख्यामा भएकोले त्यस्तो गर्नु सम्भव हुँदैन, जसले गर्दा उनीहरू बाध्यात्मक रूपमा प्रतिस्पर्धामा उत्रिनपर्ने हुन्छ। र बजारले निर्धारित गरेको मूल्यमा नै बिक्री गर्नुपर्ने हुन्छ। यस्तो नगरेमा उनीहरू बजारबाट बहिष्कृत हुनुपर्ने स्थिति उत्पन्न हुन्छ।
    माथि बयान गरिएका स्थितिहरू विकासशील राष्ट्रहरूमा व्यवहारमा भन्दा पुस्तकहरूमा बढी देखिए तापनि अमेरिकामा भने यथार्थरूपमा बजारमा यी स्थिति देख्न सकिन्छ। विकासशील राष्ट्रहरूमा राष्ट्रिय राजनीति एवं सरकारको अति हस्तक्षेपले गर्दा बजारले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैन। विकासशील राष्ट्रका बजारहरू माग र आपूर्तिको स्थितिले होइन राजनीतिले अति प्रभावित रहेका हुन्छन्।
    संयुक्त राज्य अमेरिकामा भने अत्यावश्यक अवस्थाबाहेक सरकारले बजारमा हस्तक्षेप गर्दैन। बजारलाई स्वतन्त्र छाडिदिने गर्दछ। बजारलाई स्वतन्त्र छाडिदिएको कारण उत्पादक एवं बिक्रेताबीच वस्तु एवं सेवा बिक्री गर्न तीव्र प्रतिस्पर्धा हुन्छ र त्यसले क्रेताहरूलाई आकर्षित गर्न उत्पादक एवं बिक्रेताहरू वस्तु वा सेवाको मूल्यमा कमी ल्याउन बाध्य हुन्छन्, किनभने उनीहरूलाई थाहा हुन्छ मूल्यमा कमी नल्याउने हो भने क्रेतालाई आफूतिर तान्न सकिंदैन र क्रेताको अभावमा उत्पादक वा बिक्रेता बजारबाट बहिष्कृत हुनुपर्दछ।
    पूँजीवादमा बजारलाई स्वतन्त्र छाडिदिने गरिन्छ र मूल्य निर्धारण गर्न बजार स्वतन्त्र भएकोले नै ग्राहकले सस्तोमा खरिद गर्न पाउँछ। अमेरिकाले पूँजीवादी अर्थ व्यवस्था व्यवहारमा लागू गरेको हुनाले नै यसको अर्थ व्यवस्था बलियो हुन पाएको हो। विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था भएको हो। आर्थिक महाशक्तिको रूपमा वर्षौदेखि स्थापित हुँदै आएको हो। अमेरिकाले आफ्ना नागरिकलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन सफलता हासिल गरेको हो। यहाँका बजार अति प्रतिस्पर्धात्मक हुनाले नै उपभोक्ताले सस्तोमा खरिद गर्ने पाउँछ। आम्दानीसँग तुलना गर्दा, अमेरिकी उपभोक्ताहरूको क्रय शक्ति निकै बलियो देखिन्छ।
    पूँजीवादकै कारण विश्वका अन्य विभिन्न बजारको तुलनामा अमेरिकामा वस्तु एवं सेवा सस्तो मूल्यमा पाइएको हो। हुन पनि अमेरिकी बजारमा अहिले पनि यहाँको मुद्रा (डलर) को स्थिति अति बलियो छ। डलरको क्रयशक्ति बलियो  छ।
    अमेरिकी डलर अमेरिकामा मात्र होइन, संसारभरि नै बलियो छ। अमेरिकी मुद्रा संसारभरि नै स्वीकार गरिन्छ। त्यति मात्र होइन, अमेरिका बाहिर, अन्य कुनै दुई देशबीच व्यापार हुँदा वस्तुको मूल्य डलरमा भुक्तान हुन्छ। यसरी डलरको प्रचलन संसारभरि नै भएर यसले वाहनमुद्रा (Vehicle currency) को रूप लिएको छ। चीनले आर्थिक समृद्धि हासिल गरे तापनि उसको मुद्रा (युयान) अहिले पनि विश्वभरि स्वीकार्य हुन सकेको छैन, वाहनमुद्रा बन्न सकेको छैन। अमेरिकी डलरले वाहनमुद्राको रूप अमेरिकीपूँजीवादले गर्दा नै प्राप्त गरेको हो।
    अमेरिकाको मुद्राको एक एकाइ (US$ 1) को एक चौथाइ भाग ( US$ 00.25 ), पचीस सेन्टले पनि वस्तुहरू खरिद गर्ने क्षमता राख्छ। अर्थात् मुद्राको अति सानो एकाइले पनि विनिमय गर्ने क्षमता राख्छ। यो आफैमा, अमेरिकी अर्थ व्यवस्थाको एउटा ठूलो उपलब्धि हो। र यो उपलब्धिको श्रेय पनि अमेरिकाले अवलम्वन गरेको पूँजीवादलाई नै जान्छ।
    अमेरिकी बजारहरूमा जहिले पनि बिक्रीका लागि तीव्र प्रतिस्पर्धा हुन्छ। र यो प्रतिस्पर्धाले गर्दा नै उत्पादक एवं बिक्रेताहरू वस्तु एवं सेवाको मूल्य कम पार्न बाध्य हुन्छन। हुन पनि अमेरिकी बजारमा कहिलेकाहीं दस डलर पर्ने कुनै सामान केवल तीन डलरमा पाउन सकिन्छ वा कुनै एक वस्तु कुनै एक पसलमा दस डलरमा पाइन्छ भने ठीक त्यही वस्तु अर्को पसलमा तीन डलरमा पाउन सकिन्छ। यो प्रतिनिधि उदाहरण मात्र हो। मूल्य अन्तरको यस्ता धेरै उदाहरण अमेरिकी बजारमा सजिलै देख्न सकिन्छ। अमेरिकाका उत्पादक एवं बिक्रेताहरूको प्रमुख उद्देश्य नै सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराएर बजारमा आफ्नो उपस्थिति सुनिश्चित पार्नु हो। आफ्नो अस्तित्वलाई दिगो तुल्याउनु हो। निरन्तर र राम्रो मुनाफा आर्जन गर्ने स्थितिमा रहनु हो। अमेरिकी बिक्रेताहरूको प्रमुख उद्देश्य छोटो समयमा धेरै मुनाफा आर्जन गरेर बजारबाट पलायन हुने नभएर थोरै मुनाफा प्राप्त गरेर आफ्नो व्यापारलाई दीर्घ जीवन प्रदान गर्नुरहेको हुन्छ। यहाँ कतिपय खुद्रा भण्डारहरूको उद्देश्य नै अन्यभन्दा सस्तोमा वस्तु बिक्री गर्नुरहेको हुन्छ। जस्तै वालमार्ट’, ‘अल्डी’, ‘होमल्यान्ड’, ‘लोजजस्ता खुद्रा भण्डारहरूको उद्देश्य नै सस्तोमा वस्तु उपलब्ध गराउनुरहेको छ। वालमार्टले त सस्तोमा वस्तु उपलब्ध गराउन ख्याति नै आर्जन गरेको छ। यसैगरी म्याकडोनाल्डले शीघ्र तयार हुने खाना (फास्ट फुड) बिक्री गर्न अमेरिकामा मात्र होइन, संसारभरि ख्याति आर्जन गरेको छ, कम समय र सस्तोमा खाना र खाजा उपलब्ध गराउने उद्देश्य राखेको छ। यो एउटा यस्तो फास्ट फूड रेस्टुरा हो जहाँ जहिले पनि ग्राहकको भीड लागेको हुन्छ।
    बजारमा प्रतिस्पर्धा नहुनु भनेको केही सीमित उत्पादक एवं बिक्रेताहरूको मनोमानी हुनु हो। ती सीमित बिक्रेता एवं उत्पादकद्वारा वस्तु वा सेवाको मूल्य निर्धारण हुनु हो। उपभोक्ताहरू मारमा पर्नु हो। पूँजीवादले यस्तो स्थिति अन्त गर्ने प्रयास गर्दछ। बजारमा ठूलो सङ्ख्यामा आपूर्तिकर्ताहरूको उपस्थिति गराएर बजारलाई प्रतिस्पर्धात्मक बनाउँछ । तर आश्चर्य! पूँजीवादको व्यापक विरोध भयो। र अहिले पनि भइरहेको छ। अहिले पनि पूँजीवादका धेरै विरोधीहरू छन्। कम्युनिस्टहरूले त पूँजीवादलाई जनताको शत्रु नै मान्ने गर्दछन्। पूँजीवादलाई शत्रु मान्ने उनीहरूको विचार के पूर्णतया त्रुटिपूर्ण छैन त?
    तर एउटा उल्लेखनीय कुरा के छ भने पूँजीवादको प्रयोग गरिब जनताको हितमा गर्न सकिन्छ। पूँजीवादलाई जनताको हितमा उपयोग भएको प्रत्यक्ष उदाहरण हो अमेरिकी अर्थ व्यवस्था। अमेरिकाले पूँजीवादको प्रयोग गरेर देश र जनता दुवैको हित गरेको छ। सामान्य जनताको समेत क्रयशक्ति बलियो तुल्याएको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 20, 2016


Friday, May 13, 2016

Liberal System:Prerequisite for Economic Development-Article-113

उदार राजनीति र लन्दनमेयरको चुनाव

युरोपको राजधानी मानिने लन्दन शहरको मेयरमा एकजना पाकिस्तानी आप्रवासीका छोरा सदिक खान निवार्चित हुनु राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रमा अहिले सर्वाधिक चाासो र चर्चाको विषय भएको छ। राजनीतिमा रुचि राख्ने विश्वभरिका मानिसले यसलाई ठूलो र महत्त्वपूर्ण घटनाको रूपमा लिएका छन् र साथै यस स्थितिलाई एउटा सुखद राजनीतिक विकासको रूपमा पनि मानेका छन्। कतिपय व्यक्तिले सदिक खान मेयरमा निर्वाचित हुनुलाई पश्चिमको राजनीतिक व्यवस्था उदार छ भन्ने कुराको प्रमाणसहितको उदाहरण पनि भनेका छन्।
   
खान इतिहास रच्दै, पश्चिमी राष्ट्रहरूको समेत राजधानी मानिने लन्दनको पहिलो मुस्लिम मेयर निर्वाचित भएका छन्। मानव अधिकारको क्षेत्रमा काम गर्ने ४५ वर्षीय खानका पिता भने पेशाले बसड्राइभर हुन्। हालै लन्दन शहरको मेयरको लागि भएको निर्वाचन (मे २०१६) मा खानले अत्यधिक मत (१३ लाखभन्दा बढी) प्राप्त गरेका थिए। उनले प्राप्त गरेको मत सङ्ख्यालाई दृष्टिगत गर्दा युके (ग्लष्तभम प्ष्लनमयm) को इतिहासमा कुनै पनि नेताले अहिलेसम्म पाएको जनादेशभन्दा ठूलो हो।
   
खानले केही दिन पहिले (मे ७, २०१६ मा) लन्दनको मेयरको रूपमा साउथवार्क स्थित, साउथवार्क केथेड्रल (चर्च) मा पदको शपथ लिएका थिए। इस्लाम धर्म मान्ने कुनै व्यक्तिले क्रिश्चियनहरूको पवित्र धर्मस्थल, चर्चमा आयोजित समारोहमा पदको शपथ लिनु सामाजिक सद्भावको उत्कृष्ट उदाहरण त थियो नै, राजनीतिकवृत्तमा विश्वसामु अति उदारताको एउटा सबल सन्देश पनि थियो। विश्वभरिका कट्टर जातिवादी, साम्प्रदायिक समूहका लागि, जो जातजाति, रंग, सम्प्रदाय, क्षेत्र, धर्म आदिको आधारमा राजनीति गर्छन्, एउटा खास सद्भावसन्देश पनि थियो।
   
हुन पनि खानको सम्बन्ध एक अल्पसङ्ख्यक जातीय समूह (मुस्लिम) सँग भए तापनि उनले ठूलो सङ्ख्यामा अन्य जातीय समूहहरूबाट पनि मत पाएका थिए। करिब ८५ प्रतिशत गोरा र १५ प्रतिशत अन्य (साउथ एसियन, काला, मिश्रित, चाइनिज र अन्य) जातीय समूहको बसोवास रहेको स्थान (लन्डन) बाट गैरगोरा (दक्षिण एसियाली मूलका) व्यक्तिले त्यति ठूलो सङ्ख्यामा मत पाउनु एउटा ऐतिहासिक घटना हो। यो असाधारण घटना हो। लन्डनवासीले देखाएको ऐतिहासिक, मीठो सामाजिक एवं धार्मिक सद्भाव हो। बलियो, इमानदर एवं व्यावहारिक प्रजातन्त्रमा मात्र यस किसिमको चुनावी परिणाम आउन सक्छ। तथाकथित जातीयता र साम्प्रदायिकताको अदृश्य पर्खालभित्र घेरिएको प्रजातान्त्रिक व्यवस्थामा यस किसिमको चुनावी परिणाम आउन सक्तैन। उदारणको लागि धेरै पर जानु पर्दैन, छिमेकी भारतको स्थिति हेरे पुग्छ। लगभग सारा जिन्दगी भारतको राजनीतिमा बिताएकी सोनिया गाँधीले इटलीमा जन्मेको कारण भारतको प्रधानमन्त्री हुनबाट वञ्चित हुनुपरेको छ। भारतको अनुदार प्रजातन्त्रले सोनिया गाँधीलाई प्रधानमन्त्री हुन दिएको छैन। तर अर्कोतिर भारतले नेपाललाई निर्देशित गर्दै भन्छसंविधानलाई समावेशी र सबैलाई समेट्ने किसिमको बनाऊ।
   
खानको विजयले एकजना आप्रवासीको सन्तानले पश्चिमी राष्ट्रमा पुगेर यति ठूलो उपलब्धि हासिल गर्न सक्छ भन्ने कुराको पुष्टि गर्छ साथै राजनैतिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा पश्चिमी राष्ट्रका नागरिक पूर्वी राष्ट्रका नागरिकभन्दा धेरै उदार र अगाडि छन् भन्ने कुरा पनि पुष्टि गर्छ। पश्चिमी मुलुकका नागरिकहरू आर्थिक, सामाजिक मात्र होइन, राजनैतिक क्षेत्रमा पनि निकै उदार छन्। यहाँ जाति, धर्म, समुदायको आधारमा होइन, व्यक्तिको प्रतिभा र इमानदारी, उसले समाजको हितमा पुर्‍याउन सक्ने योगदानको आधारमा कदर हुन्छ। र यो मान्यता, यो कदर गर्ने तरिकाको परिणाम हो, सदिक खानको विजय।
   
पश्चिमी राष्ट्रहरूले राजनीतिक व्यवस्थालाई उदार पारेको कारण नै द्रुततर गतिमा चौतर्फी विकास गर्न सकेका हुन्। विश्वभरिका प्रतिभा भित्र्याउन पश्चिमी राष्ट्रहरू कन्जुस्याइँ गर्दैनन्। यस तथ्यको अर्को बलियो प्रमाण हो अमेरिका। विश्वभरिका प्रतिभा जम्मा हुने र तिनीहरूले आफ्नो प्रतिभा प्रयोग गर्न पाउने मुलुक हो, अमेरिका। केन्याली बाबुबाट जन्मेका बराक ओबामा अमेरिकाको राष्ट्रपति निर्वाचित हुँदा कुनै ठूलो विवाद भएन। अमेरिकीहरूले उनलाई राष्ट्रपतिको रूपमा सहर्ष स्वीकार गरे। सोनिया गाँधीको सम्बन्धमा भारतले किन यस्तो उदारता देखाउन सकेन?
   
जर्मनी, डेनमार्क, नर्वे, स्वीडेन, इटली, युके, ग्रीस, अस्ट्रियाजस्ता मुलुकहरूले अहिले ठूलो सङ्ख्यामा द्वन्द्वग्रस्त मुलकहरूअफगानिस्तान, सोमालिया, सिरियाका नागरिकलाई शरण दिइरहेका छन्। तर भारत, चीन जस्ता आर्थिक समृद्धि हासिल गर्न अग्रसर मुलुकहरू ती शरणार्थीहरूलाई सहयोग गर्न हात अगाडि बढाउन सकेका छैनन्। पूर्वी राष्ट्रहरू अनुदार छन् भन्ने कुराको पुष्टि यसबाट हुँदैन?
   
पूर्वमा र खासगरी दक्षिण एसियामा आर्थिक विकासको गति कछुवाको चालहुनुमा यस क्षेत्रको राजनैतिक व्यवस्था उदार नहुनु हो। राजनैतिक व्यवस्था उदार हुन नसकेकोले यस क्षेत्रका मुलुकहरूमा प्रजातन्त्र भए तापनि त्यो प्रजातन्त्रको फाइदा केही सीमित व्यक्तिहरूले उठाइरहेका छन्, सामान्य नागरिकले उठाउन पाएका छैनन्। मुलुकको प्रजातन्त्रलाई लठ्ठी, पैसा, ताकतले निर्देशित गरेको छ। पाकिस्तान, नेपाल, भारत, ·लादेश, अफगानिस्तान सबैमा यही स्थिति  छ। अफगानिस्तानमा त झन् धर्मको नाममा सामान्य नागरिकको बाँच्ने अधिकारसमेत हनन भएको छ। अफगानीस्तानको राजनैतिक व्यवस्थालाई उदार मान्न सकिन्छ?
   
पूर्वेली राष्ट्रहरूको राजनीतिमा आर्थिक विकासको कुरा कमस जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताको कुरा बढी हुन्छ। हालै लन्डनमा भएको मेयरको निर्वाचन परिणामलाई अर्को किसिमले हेरौ र त्यो घटनालाई उल्टो पारेर विश्लेषण गरौं। यदि पाकिस्तानमा जन्मेको कुनै बेलायती मूलको गोराले पाकिस्तानको कुनै शहरको मेयर पदमा उम्मेदवारी दिएको भए के त्यो गोराले त्यो चुनाव जित्न सक्थ्यो? त्यस शहरका नागरिकले त्यो गोरालाई अत्यधिक मत दिएर सदिक खानलाईजस्तो विजयी गराउँथे? हामी पूर्वेली राष्ट्रहरू उदारताको खोलभित्र अनुदार मन राख्नेहरू हौ। हामी जातीयता, क्षेत्रीयतामा विश्वास गर्छौं। पश्चिमी राष्ट्रहरूजस्तो जातिहीन समाजको निर्माण हाम्रो रुचिको विषय नै होइन। हामीलाई समाजभित्र अनेक जातजाति चाहिन्छ। 
   
हामी पूर्वीयहरू राजनीतिमा निकै अनुदार छौं। अरबका कतिपय मुलुकहरूले उनीहरूको मुलुकमा बर्सौसम्म बसे पनि त्यसरी बस्नेहरूलाई आफ्नो देशको नागरिकता दिंदैनन्। बरु बर्सौसम्म बस्न दिन्छन्, तर नागरिकता भने दिंदैनन्। अर्कोतिर आफूहरू पश्चिमका मुलुकहरूमा पुग्छन, त्यहाँ बस्छन् र त्यसरी बसेको केही अवधिपछि आफू बसेको देशको नागरिकता लिन्छन्। फ्रान्स, इटली, जर्मनीलगायत युरोपका अन्य विभिन्न मुलुकहरूमा अरबहरू ठूलो सङ्ख्यामा स्थायी बसोवास गर्छन्।
   
पूर्वका राष्ट्रहरूको गरिबी यस क्षेत्रका बासिन्दाहरूको अनुदार मनोविज्ञानसँग जोडिएको छ। अनुदार राजनैतिक व्यवस्थासँग जोडिएको छ। यसै सन्दर्भमा एकजना मित्र बुद्धि बस्यालले आफ्नो फेसबूकस्टाटसमा लेखेको कुरा जुन देश जब समृद्धशाली बन्छ, तब मात्र त्यो देशको जनता राष्ट्रवादी जनता मानिन्छउल्लेख गर्न चाहन्छु। हुन पनि हो, राष्ट्रवाद मुलुकको आर्थिक र सामजिक समृद्धिसँग गाँसिएको हुनुपर्दछ, जातीयता, साम्प्रदायिकता, क्षेत्रीयतासँग होइन।
   
नेपालको राजनीतिलाई पनि अनुदार मनोविज्ञानले छोडेको छैन, बरु गाँजेको छ। यहाँका नेताहरू अहिले पनि जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताको आधारमा राजनीति गर्छन्। नागरिकहरू पनि जातीय, क्षेत्रीय, साम्प्रदायिक स·ठन खोल्न पाएकोमा द· हुन्छन्। न नेताहरून सामान्य नागरिक जातिहीन समाजको निर्माणमा अभिरुचि राख्छन्। नेताहरूले किन रुचि राखून्? उनीहरू त झन् जातीयता र साम्प्रदायिकताको आधारमा राजनीति गर्न पाएका छन्। आफूलाई प्रगतिशील भन्ने माओवादीले त अझै द्वन्द्वकाल (२०५२२०६२) मा नेपालभरि जातीय कलहको बींउ नै छर्‍यो।
   
तर मनन गर्ने कुरा के छ भने प्रजातन्त्रमा जबसम्म इमानदार र प्रतिभावानलाई मौका दिइँदैन र चुनावमा जातीयता र साम्प्रदायिकताको आधारमा नेताहरू चयन भइरहन्छन्, नेपालको गरिबी जहाँ छ त्यहीं रहिरहने छ। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशसित Friday, May 13, 2016