Wikipedia

Search results

Monday, November 29, 2021

Internal Tourism Can Reduce Rural Poverty in Nepal-Article-353

 आन्तरिक पर्यटनद्वारा गरीबी कम पार्न सकिन्छ

केही अपवादबाहेक, हरेक देशसँग अनेक स्रोत र साधन हुन्छ। अति गरीब राष्ट्रसँग पनि अनेक किसिमका स्रोत र साधन हुन्छ। राष्ट्रहरू आफ्ना देशभित्र उपलब्ध स्रोत र साधनको उपयोग गर्न नसकेर गरीब भएका हुन्छन्। उदाहरणका लागि अफगानिस्तानलाई नै लिन सकिन्छ। अफगानिस्तान स्रोत र साधनले भरिपूर्ण देश हो। अफगानिस्तानले आफ्नो देशभित्र उपलब्ध स्रोत र साधनहरूको उपयोग गर्न सकेको त छैन नै, उल्टो यो मुलुक चार दशकदेखि गृह युद्धमा भासिएको छ। गृहयुद्धको यस दलदलबाट बाहिर आउन सकेको छैन।

अफगानिस्तान विभिन्न राष्ट्रहरूको शक्ति प्रदर्शन गर्ने स्थल बन्दै आएको छ। कुनै समय रूसले अफगानिस्तानमा एक किसिमले प्रत्यक्ष शासन गरेको थियो। त्यसपछि अमेरिका त्यस मुलुकभित्र प्रवेश गर्यो। युरोपका अन्य विभिन्न मुलुक पनि अफगानिस्तानमा आफ्नो शक्ति प्रयोग गर्न पसे। अहिले पछिल्लो समयमा अफगानिस्तानको शासनको बागडोर त्यहाँकै राजनीतिक शक्ति, अति कट्टर धार्मिक नेताहरूको हातमा परेको छ। अहिले अफगानिस्तानमा कट्टर धार्मिक सङ्गठनका सदस्य, तालिबानीहरू शासन गरिरहेका छन्। अहिले अफगानिस्तानमा चरम गरीबी छ। मानिससँग सामान्य औषधी खरीद गर्न सक्ने क्षमता छैन। लाखौं अफगानी बेरोजगारी छन्। धेरै परिवार कैयौं दिनदेखि आधा पेट छन्। स्थिति यस्तै रहने हो भने आउने वर्षहरूमा अफगानिस्तानमा भोखमरीले लाखौं व्यक्तिको ज्यान लिनेछ। तर अफगानिस्तानलाई चरम गरीबीमा पुर्याउने त्यहींका नागरिक हुन्। अफगानिस्तानका कट्टर धार्मिक सङ्गठनहरूले यो मुलुकलाई राजनीतिक रूपमा स्थिर हुन दिएका छैनन्। उनीहरू बीचको निरन्तरको द्वन्द्वले राजनीतिक स्थिरता प्राप्त हुन सकेको छैन, साथै देश आर्थिकरूपमा टाट पल्टिने स्थतिमा पुगेको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले तत्काल आर्थिक सहयोग नगर्ने हो भने अफगानिस्तानमा यो शताब्दीको नै ठूलो मानवीय सङ्कट देखा पर्न सक्छ। त्यो पनि तत्काल।

तर आर्थिक स्रोत र साधनले भने यो मुलुक सम्पन्न छ। कट्टर धार्मिक सङ्गठनहरूले एक आपसमा मेलमिलाप कायम गरेर यी साधनहरूको उपयोग गर्ने हो भने यो मुलुक दक्षिण एशियाका धनी राष्ट्रहरूमध्ये एक हुन सक्छ। कसरी? विश्व प्रसिद्ध बुद्धका मूर्तिहरू अफगानिस्तानमैं छन्। संसारभरिमा सबै भन्दा अग्ला बुद्धका मूर्तिहरू अफगानिस्तानमा छन्।

अफगानिस्तानको राजधानी काबुलको उत्तरपूर्वमा रहेको बामियान उपत्यकास्थित बुद्धका मूर्तिहरू संसारभरिका बुद्धका मूर्तिहरूमध्ये अग्ला मूर्ति मानिन्छन्, अति ऐतिहासिक मानिन्छन्। काबुलभन्दा १३० किलोमिटर पर रहेका बुद्धका मूर्तिहरू १२५ देखि १८० फिट अग्ला छन्। यी मूर्तिहरूको निर्माण ईशापूर्व ६१८ देखि ५७० मा भएको मानिन्छ। अग्ला पहाडहरूलाई खोपेर बनाइएका बुद्धका मूर्तिहरू संसारकै सम्पत्ति हो। यी मूर्तिहरू अवलोकन गर्न संसारभरिका मानिसले वर्षौंदेखि सपना पालेका हुन्छन्। 

अफगानिस्तानले बामियानस्थित बुद्धका मूर्तिहरूको व्यापक प्रचारप्रसार गरेर, पर्यटनबाट करोडौं डलर कमाउन सक्छ। देश र जनतालाई धनी पार्न सक्छ। तर भएको छ उल्टो। सन् २००१ मार्चमा तालिबानीहरूले बामियानस्थित बुद्धका मूर्तिहरूलाई बम पड्काएर ध्वस्त पारेका थिए। र त्यसरी ध्वस्त पार्ने आदेश तालिबानी नेता मुल्लाह मोहमद ओमारले दिएका थिए। त्यसरी ध्वस्त पार्ने कार्यको संसारभरिबाट विरोध भएपछि त्यसलाई सम्पूर्णरूपमा ध्वस्त पार्ने कार्य रोकिएको थियो। धार्मिक कट्टरपन्थी अफगानहरूले आफ्नो आर्थिक स्रोत आफैंले नष्ट पारेका थिए।

कुनै राष्ट्रले आफूसँग भएका स्रोत र साधन उपयोग नगरेर, अनावश्यक कलहमा संलग्न भएर कसरी आफैंलाई गरीब बनाउँछ र सहयोगका लागि दाताहरूको अगाडि हात पसार्छ भन्ने ज्वलन्त उदाहरणको रूपमा अफगानिस्तान र त्यहाँका शासक (कट्टर धार्मिक सङ्गठन र ती सङ्गठनको पछि लाग्ने नागरिक) हरूलाई लिन सकिन्छ।

नेपालको स्थिति पनि अफगानिस्तानझैं हुने अनुमान गर्न थालिएको छ। २०४६ सालदेखि नै नेपालमा राजनीतिक स्थिरता आउन सकेको छैन। दलहरूबीच विद्यमान अनवरत कलहले जनतालाई निराशा मात्र होइन, देशलाई गरीबीको अँध्यारो खाडलतिर धकेलिरहेको छ। देशमा महँगी चुलिएको छ। नेताहरू स्वार्थ केन्द्रित भएका छन् भने तीनै स्वार्थी नेताहरूलाई विजयी बनाउन मतदाताहरूबीच प्रतिस्पर्धा छ। कस्तो अचम्म!

नेपालसँग स्रोत र साधनको कमी भने छैन। के के स्रोत र साधन छन् ती सबैको चर्चा आगामी लेखहरूमा गरौंला। यहाँ केवल पर्यटन क्षेत्रको कुरा गरौं। नेपालले आफ्नो पर्यटन क्षेत्रको राम्रो उपयोग गर्ने हो भने हाम्रो मुलुक एशियामा नै प्रतिव्यक्ति बढी आय हुने देश बन्न सक्छ। जनसङ्ख्या कम तर स्रोत र साधन धेरै र अनेक भएकाले नेपाल एशियाको धनी राष्ट्रमध्ये एक हुन सक्छ। विश्वभरिका पर्यटकलाई आकर्षित गर्न सक्ने क्षमता भएका गन्तव्यहरू नेपालमा असङ्ख्य छन्। तीमध्ये केही यस प्रकार छन्–

१. पशुपतिनाथ मन्दिर एवं परिसर, २. सगरमाथा राष्ट्रिय पार्क, ३. नाम्चेबजार, ४. प्रचीन शहर पाटन, ५. भोटेकोशी क्षेत्र, ६. काठमाडौ दरबार, वसन्तपुर क्षेत्र, ७. फेवाताल, ८. भक्तपुर दरबार क्षेत्र, ९. चितवन राष्ट्रिय पार्क, १०. अन्नपूर्ण सेन्चुरी ट्रेक, ११. बुद्ध स्तूप, काठमाडौं, १२. सगरमाथा र सगरमाथा आधार शिविर, १३. लुम्बिनी, १४. जानकी मन्दिर, जनकपुर, १५. सिम्रौनगढ दरबार क्षेत्र, १६. देवघाट, १७. राराताल।

उपरोक्त पर्यटकीय गन्तव्यहरूको व्यवस्थित प्रयोग गरेर नेपालले करोडौं डलर आर्जन गर्न सक्छ। देशवासीलाई धनी बनाउन सक्छ। गरीबीको रेखामुनि रहेका नागरिकलाई त्यो रेखाबाट बाहिर ल्याउन सक्छ। तर देशमा मच्चिएको राजनीति अस्थिरताले नेपालको आर्थिक विकास तीव्र गतिमा हुन दिइरहेको छैन। हरेक समस्याको समाधान केवल बन्दूक र बारुदबाट देख्ने केही नेताहरूको करतुतले गर्दा आर्थिक प्रगतिको पथमा लम्केको नेपाल पश्चगमन गर्न बाध्य भएको छ। नेपालका केही नेताहरूलाई बारुद र बमको गन्ध मन पर्छ जस्तो छ। आफ्नो स्वार्थ सिद्धिका लागि ती नेताहरूले बारुद र बमको प्रयोग भरपूर गरेका छन्।

नेपालले उपयोग गर्न नसकेको अर्को आर्थिक स्रोत वा क्षेत्र आन्तरिक पर्यटन हो। आन्तरिक पर्यटनको, जुन भरपर्दो राष्ट्रिय आर्थिक स्रोत हो, प्रयोग गरेर नेपालले राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्न सक्छ। अर्थात् नेपालको आन्तरिक पर्यटनलाई राष्ट्रिय आय वितरण सन्तुलित पार्ने एक भरपर्दो माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ।

आन्तरिक पर्यटन के हो र कसरी यसले राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्छ?

उदाहरणका लागि, जनकपुरका व्यक्तिहरू पशुपतिनाथको दर्शन गर्न काठमाडौं पुग्नु र काठमाडौंका व्यक्तिहरू जानकी मन्दिरको दर्शन गर्न जनकपुर पुग्नु आन्तरिक पर्यटन हो। आन्तरिक पर्यटन केवल धार्मिक कारणले मात्र हुँदैन, विभिन्न कारणले हुने गर्छ। आन्तरिक पर्यटनलाई निम्न किसिमबाट विभाजन गर्न सकिन्छ। राजनीतिक पर्यटन, सामाजिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्य पर्यटन, ऐतिहासिक स्थल पर्यटन आदि, आदि।

नेपालमा प्रजातन्त्र बहाली गर्न गरिएको २००७ सालको आन्दोलनमा वीरगंजले ठूलो भूमिका निर्वाह गरेको थियो। प्रजातन्त्र सेनानी थीरबम मल्लको हत्या वीरगंजमा भएको थियो। प्रजातन्त्र सेनानी सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पर्सा जिल्लाका मतदाताहरूले चुनावमा विजयी गराएर सम्मान दिएका थिए। यी घटनाहरूको आधारमा वीरगंजलाई एउटा राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ। तर गर्न सकिएको छैन।

सिम्रौनगढलाई भव्य ऐतिहासिक पर्यटकीय स्थल बनाउन सकिन्छ। र यो पर्टकीय स्थलबाट लाखौ रुपैयाँ आर्जन गरेर स्थानीय गरीबी कम पार्न सकिन्छ।

नेपालका अनेक किसिमका, माथि उल्लेख गरिएका पर्यटकीय स्थलहरूको प्रयोग गरेर स्थानीय गरीबी कम पार्न सकिन्छ। रारा ताललाई अति लोकप्रिय प्राकृतिक पर्यटकीय स्थलको रूपमा विस्तार गरेर, प्रचारप्रसार गरेर, कर्णाली क्षेत्रमा व्याप्त गरीबी कम पार्न सकिन्छ। कर्णाली क्षेत्रमा गरीबी कहालिलाग्दो स्थितिमा छ।

आन्तरिक पर्यटनमा विस्तार हुँदा विभिन्न पर्यटकीय क्षेत्रका होटल, लज, पसल, सवारी साधन, तिनका चालकहरू आदि आदिले आय आर्जन गर्न सक्छन्। सडकमा व्यापार गर्ने व्यापारीहरूका लागि पनि आय आर्जन गर्ने अवसर सृजना हुन्छ। यसरी अति गरीबहरूले पनि, आन्तरिक पर्यटनको माध्यमबाट, आय आर्जन गर्ने मौका पाउने हुनाले आन्तरिक पर्यटनबाट राष्ट्रिय आय वितरण व्यवस्थालाई सन्तुलित पार्न सकिन्छ। 

धनीहरूको हातमा रहेको पैसा गरीबहरूको हातमा पुर्याउनु चुनौतीपूर्ण कार्य हो। अनेक किसिमका योजना, नीति एवं आर्थिक निर्णय गरेर धनीहरूको हातमा रहेको पैसा गरीबहरूसम्म पुर्याउन सकिन्छ। अर्थात् धनीहरूले नेपालका विभिन्न स्थानको भ्रमण गरेमा ती स्थानका साना व्यापारीहरू (जसले केवल जीवन निर्वाहका लागि व्यापार गरेका हुन्छन्) ले आय आर्जनको मौका पाउँछन्। उनीहरूको हातमा पनि पैसा आउने वातावरण सृजना हुन्छ। यसरी आन्तरिक पर्यटन नेपालमा गरीबहरूको हातमा पनि पैसा पार्ने माध्यम बन्न सक्छ।

तर नेपालमा आन्तरिक पर्यटनलाई व्यवस्थित किसिमले अगाडि बढाउन सकिएको छैन। पर्यटकीय स्थलहरूको प्रचारप्रसार प्रभावकारी किसिमले गर्न सकिएको छैन। राम्रो आय हुने वा धनीहरूलाई आन्तरिक पर्यटनमा बढी पैसा खर्च गर्न उत्प्रेरित गर्न सकिएको छैन। आन्तरिक पर्यटनलाई अति निर्धनहरूको हितमा प्रयोग गर्न सकिएको छैन। सडक वा फूटपाथे व्यापारीहरूको हितमा आन्तरिक पर्यटनलाई प्रयोग गर्न सकिएको छैन। यद्यपि नेपालमा आन्तरिक पर्यटनको सम्भावना भरपूर छ।


रारा ताल, नेपाल

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, November 26, 2021

https://eprateekdaily.com/2021/11/25/26046/ 

Thursday, November 25, 2021

Importance of Green marketing and Lean Manufacturing-Article-352

 ग्रीन मार्केटिङ र लिन म्यानुफ्याक्चरिङ

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व पर्यावरणप्रति चासो र चिन्ताले गर्दा नै पश्चिमा राष्ट्रहरूको पहलमा स्कटल्यान्डको ग्लासगो शहरमा केही दिन पहिले (सन् २०२१, ३१ अक्टुबरदेखि नोभेम्बर १२ सम्म) ‘संयुक्त राष्ट्रसङ्घीय वातावरण (मौसम) परिवर्तन सम्मेलन’ भएको थियो। यो सम्मेलनले कोप २६ (cope 26) नाम पाएको थियो।

उक्त सम्मेलनमा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिहरूले आआफ्नो देशमा कार्बन विसर्जनको मात्रा क्रमिकरूपमा घटाउँदै लाने, पृथ्वीलाई थप तातो हुनबाट जोगाउन ठोस प्रयास गर्ने, सफा ऊर्जा उत्पादन र प्रयोगमा जोड दिनेसम्बन्धी वाचाहरू गरेका थिए। धनी राष्ट्रहरूले गरीब राष्ट्रहरूलाई सफा ऊर्जा उत्पादन गर्न सहयोग गर्नेबारे पनि धनी राष्ट्रहरू बीच सहमति भएको थियो।

स्मरण रहोस्–ऊर्जा उत्पादनका लागि अत्यधिक मात्रामा कोइला बाल्दा, उद्योग र यातायातका साधनहरू सञ्चालन गर्न ठूलो मात्रामा पेट्रोलियम पदार्थ प्रयोग हुँदा र ऊर्जा उत्पादनका लागि पनि पेट्रोलियम पदार्थ प्रयोग गर्दा ठूलो मात्रामा कार्बन उत्पादन हुन्छ र उत्पादित त्यो कार्बनले पृथ्वीलाई थप तातो पार्ने गर्दछ। पृथ्वीको तापक्रम बढ्दै जाँदा बाढी, पहिरो, समुद्री आँधी, वन–डढेलोजस्ता समस्या विस्तार हुन्छ। र त्यसले ठूलो मात्रामा जन–धनको क्षति गर्छ।

विज्ञहरूको भनाइ अनुसार पृथ्वीलाई थप तातो हुनबाट न जोगाउने हो भने आउने ३० वर्षमा संसारका विभिन्न देशहरूबाट करीब १२ करोड मानिस स्थानान्तरित हुनेछन्। स्थानान्तरित हुनेहरू मध्ये कसैको देश त कसैको शहरको अस्तिŒव रहने छैन। अर्थात् केही देश र शहर समुद्रको गर्भमा पस्नेछन्। तिनको अस्तित्व सदाका लागि समाप्त हुनेछ।

विश्व वातावरणमा आउने यो परिर्वतनले धनी र गरीब दुवै राष्ट्रलाई सताउने छ तर जनधनको क्षति भने गरीब राष्ट्रहरूले बढी बेहोर्नुपर्नेछ। गरीब राष्ट्रहरूले कतिसम्म दुःख पाउने छन् भन्ने कुराको उदाहरणको रूपमा भारतलाई लिन सकिन्छ। अहिले भारतको नयाँ दिल्ली, त्यो स्तरमा प्रदूषित भएको छ, दिल्लीको आकाश कालो धूवाँले यति भरिएको छ कि दिल्लीको बासिन्दाले त्यहाँको वायुमण्डलमा दिनभरि सास फेर्दा २० वटा चुरोट खाए सरह हुन पुगेको छ। दिल्लीको आकाश कालो धूवाँले भरिएर सास फेर्न घातक भएकोले गएको मङ्गलवार (November 16, 2021) देखि दिल्लीका स्कूल एवं कलेज कक्षाहरू अनिश्चितकालका लागि स्थगित गरिएका छन् भने सबै किसिमका निर्माण नोभेम्बर २१ सम्म बन्द राख्न आदेश जारी गरिएको छ। 

विश्व मौसममा आएको परिवर्तनले धनी राष्ट्रहरूलाई पनि उत्तिकै सताएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा हालै भएको ‘डिक्सी फायर’ नामकरण गरिएको वन डढेलोले ठूलो क्षति पु¥याएको थियो। जुलाई १३, २०२१ मा यो जङ्गल–आगलागी आरम्भ भएको थियो। बट, प्लमस, लासेन, सस्टा र तेहामा गरी पाँच काउन्टीमा फैलिएको आगो क्यालिफोर्निया राज्यको इतिहासमा नै दोस्रो ठूलो वन–डढेलो बन्न पुग्यो। विज्ञहरूले यो आगलागीलाई पनि विश्व मौसमा आएको परिवर्तन ( पृथ्वी अधिक तात्नु) सँग जोडेका छन्। यो आगलागीले करीब ९ लाख ६३ हजार ३०९ एकड जङ्गल ध्वस्त पारेको थियो।

विश्व वातावरण थप प्रदूषित हुन बाट जोगाउन अनेक प्रयास धेरै पहिलेदेखि भएका छन्। तर ती प्रयासहरू चर्चामा आएका छैनन्। धनी राष्ट्रहरूले गरेका त्यस्ता प्रयास धेरै वर्ष भयो।

विश्वलाई थप तात्नबाट जोगाउन धनी राष्ट्रहरूले धेरै पहिलेदेखि गरेका दुर्ई प्रयास हुन्:

१ ग्रीन मार्केटिङ (Green marketing)

२ लिन म्यानुफेक्चरिङ (Lean manufacturing)

ग्रीन मार्केटिङ

बजार व्यवस्थापनका प्रत्येक कार्यलाई विश्व पर्यावरणसँग जोडेर हेर्ने र सोही अनुसार बजार व्यवस्थापनका कार्यहरू गर्नुलाई ग्रीन मार्केटिङ भन्ने गरिन्छ। औद्योगिक विसर्जनको राम्रो व्यवस्थापन गर्नु, उत्पादन प्रक्रियाद्वारा वातावरण विनाश हुन नदिनु, प्लास्टिकको कम प्रयोग गर्नु वा पटक्कै नगर्नु, रिसाइक्लिङ प्रणालीलाई वातावरण–मैत्री तुल्याउनु, सवारीका साधनहरूको प्रयोग कम पारेर वातावरण स्वच्छ राख्ने प्रयास गर्नु, सफा इन्धन (बिजुल, बैट्री, सौर्य ऊर्जा, वायु ऊर्जा आदि) प्रयोग गर्नुजस्ता कार्य गर्नु भनेको ग्रीन मार्केटिङ प्रवद्र्धन गर्नु हो। धनी राष्ट्रहरूले अहिले ग्रीन मार्केटिङमा जोड दिइरहेका छन्। यातायात र औद्योगिक क्षेत्रलाई वातावरण–मैत्री बनाउने प्रयास गरिरहेका छन्। मुनाफाका लागि प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन गरेर विश्व वातावरण विषाक्त पार्ने कार्यको ग्रीन मार्केटिङ अभियानले घोर विरोध गर्दछ।

लिन म्यानुफेक्चरिङ

विभिन्न वस्तुहरू उत्पादन गर्दा अनेक औद्योगिक प्रक्रिया सम्पन्न हुन्छ। ती प्रक्रियाहरूले ठूलो मात्रामा फोहर (ध्बकतभ) पनि ठूलो परिमाणमा उत्पादन गर्दछ। यसरी उत्पादन प्रक्रिया सम्पन्न हुँदा निस्कने फोहर कम गर्नु, ज्यादै कम स्तरमा लग्ने लक्ष्य राख्नुलाई लिन म्यानुफेक्चरिङ भन्ने गरिन्छ। जापानमा लिन म्यानुफेक्चरिङ्ग अभ्यास निकै गरिएको पाइन्छ।

लिन म्यानुफेक्चरिङले फोहर व्यवस्थापनमा जोड मात्र दिंदैन, विश्व वातारण संरक्षण गर्न विशेष योगदान पनि पुर्याउँछ। विश्व वातावरण स्वस्थकर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। 

गरीब राष्ट्रहरूमा औद्योगिक फोहर व्यवस्थापन अहिले टाउको दुःखाइ भएको छ। यस्तो किन भयो भने गरीब राष्ट्रका उद्योगहरूले औद्योगिक फोहर प्रायः नदी वा खोलामा विसर्जन गर्ने गरेका छन्। नदीहरूलाई यति दूषित पारेका छन् कि तिनको पानी विषाक्त हुन पुगेको छ। अर्कातिर गरीब राष्ट्रहरूमा वातावरण स्वच्छ राख्न कोषको पनि अभाव छ।

धनी राष्ट्रहरूले लिन म्यानुफेक्चरिङ र ग्रीन मार्केटिङ अभ्यासमा ल्याएको धेरै भए पनि गरीब राष्ट्रहरूले यी दुर्ई महŒवपूर्ण कार्य अभ्यासमा ल्याएको पाइँदैन। यी राष्ट्रका व्यवसायीहरूले केवल नाफामा जोड दिएर पर्यावरण संरक्षणलाई बेवास्ता गरेको पाइएको छ। साथै सामान्य जनतामा पनि विश्व वातावरण जोगाउनुपर्छ भन्ने चेतनाको अभाव छ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateek Daily on Friday, November 19

https://eprateekdaily.com/2021/11/18/25554/

Friday, November 5, 2021

COP 26 and Reducing Bad Impacts of Industrialization-Artilc-351

 कप २६ र आर्थिक समृद्धिले ल्याएको मानवीय सङ्कट

धनी देशहरूले आर्थिक प्रगति गर्छन तर त्यो आर्थिक प्रगतिको मूल्य गरिब देशहरूले भूक्तान गर्नु पर्छ।  तर अहिले स्थित त्यस्तो छैन। यो स्थितिमा केही परिवर्तन देखिएको छ। अहिले गरिब वा विकासशील राष्ट्रहरूले गरेको आर्थिक प्रगतिको मूल्य पनि गरिब मुलुकहरूले नै भुक्तान गर्नु परेको छ।

आर्थिक प्रगतिको कुअसर धनी राष्ट्रहरूलाई पनि नपर्ने होइन, तर धनी राष्ट्रहरूले आर्थिक प्रगतिको कुअसरलाई व्यवस्थापन गर्न सक्छन वा त्यसलाई न्यून पार्न सक्छन किनभने उनीहरूसँग पर्याप्त स्रोत र साधनहरू हुन्छ। जस्तै अमेरिका, जापान, जर्मनी, क्यानाडा आदि धनी मुलुकहरुले आर्थिक प्रगति गर्दा हुने कुअसरलाई आफ्नो देशभित्र व्यवस्थापन गर्न सकेका छन। तर गरिब देशहरूले पनि सकेका छैनन।

तर यो नया परिस्थितिमा भने विश्वका अनेक राष्ट्रहरूले गर्ने आर्थिक प्रगतिको कुअसर अब धनी राष्ट्रहरूले पनि भुक्तान गर्नु पर्ने स्थिति उत्पन्न भएको छ। राष्ट्रको रुपमा अलग भएता पनि, विश्वका सबै राष्ट्रहरूले एउटै आकासमुनी बस्नु पर्ने र एउटै धरती उपयोग गर्नु पर्ने अनिवार्यता छ। यो अनिवार्यताको कुनै विकल्प पनि छैन। हाम्रो आकास साझ छ, पृथ्वी साझा छ। यो कारणले बिग्रिंदै गएको विश्व वातावरण प्रति अहिले धनी राष्ट्रहरू पनि चिंतित हुन पुगेका छन। तिब्र गतिमा बिग्रिंदै गएको विश्व वातावरणले धनी राष्ट्रहरूलाई पनि सताएको छ। बिग्रिंदै गएको विश्व वातावरणलाई नसुधार्ने हो र विश्वको तापक्रम यसरी नै बृद्धि हुने हो भने अमेरिका जस्तो अति धनी देशका विभिन्न शहरहरू समेत पनि केही दशक भित्र समुन्द्रको गर्भ भित्र पस्ने अनुमान गर्न थालिएको छ। मायामी, न्यु ओर्लिन्स जस्ता अमेरिकी शहरलाई सतर्कतामा राखिएको छ। धेरै पटक आएको समुन्द्री आँधी (hurricane) ले न्यु ओर्लिन्सलाई पटक पटक नराम्रो गरी मानवीय एवं आर्थिक क्षति पुर्याएको छ। 

समुन्द्री तटमा रहेको तथा अनेक टापुहरू मिलेर बनेको सानो राष्ट्र माल्दिभ्सका ८० प्रतिशत टापुहरू समुन्द्री सतह भन्दा केवल एक मिटर मात्र माथि छन। यदि विश्वका नेताहरूले पृथ्वी तातो भएर बिग्रिदै गएको विश्व वातावरण सुधारमा सामुहिक रुपमा ध्यान नदिने हो, पृथ्वी तातो भएर हिंउ पग्लिने क्रम जारिनै रहने हो, समन्द्रमा पानीको मात्र बढ्ने क्रम नरोकिने हो भने सन् २१०० सम्ममा माल्दिभ्स समुन्द्र भित्र विलीन भएर यो देशको अस्तित्व समाप्त हुने छ। यस्तो अनुमान गरिएको छ।  

कुनै बेला गरिब मानिएका राष्ट्रहरू चीन, भारत र ब्राजिल अहिले क्रमश: दोस्रो, सातै र नबौं विश्वका आर्थिक महाशक्ति राष्ट्र हुन पुगेका छन्। औधोगिकरण र आर्थिक प्रगतिको क्षेत्रमा, केही दसक भित्रमानै, चीनले जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स आदिलाई पछाडि पारिसकेको छ। र चीनको बाटो पछ्याउने क्रममा भारत पनि छ।

चीन र भारतले यति ठूलो आर्थिक प्रगति सजिलै प्राप्त गरेका भने होइनन। यी राष्ट्रहरूले आफ्नो आन्तरिक वातावरण सहित विश्वको वातावरण बिगार्नमा योगदान पुर्याएर धनी भएका हुन। तिब्र रुपमा आर्थिक प्रगति गरेर के गर्नु, चीन अहिले वातावरणमा कार्वन बिसर्जन गर्ने विश्वको पहिले राष्ट्र हुन पुगेको छ। भारत तेस्रो हुन पुगेको छ। अमेरिकाको स्थान भने दोस्रो रहेको छ। चीन, अमेरिका र भारतले वर्षेनी वातावरणमा क्रमश: १०.५, ५. ०० र २.  अर्ब टन कार्बन विसर्जन गर्छन। संसारमा हुने सम्पूर्ण कार्बन बिर्जन मध्ये एक्लो चीनले मात्र एक तिहाइ कार्बन बिसर्जन गर्छ। विश्वका दस अति प्रदुषित शहरहरू मध्ये नौ अति प्रदुषित शहर (गाजियाबाद, बुलन्दशहर, बिस्रख जलालपुर, भिवाडी, नोइडा, ग्रेटर नोइडा, कानपुर, लखनऊ, दिल्ली) भारतमा मात्र पर्दछन। आर्थिक विकासको मूल्य भारतले कति र कसरी चुकाइ रहेको छ भन्ने कुरा माथिको तथ्यबाट प्रष्ट हुन्छ।

ऊर्जाका लागि कोइला विश्वमा नै सर्वाधिक चीनले प्रयोग गर्छ। भारतको स्थान भने दोस्रो रहेको छ। कोइला सस्तो ऊर्जाको स्रोत भएकोले विकासशील राष्ट्रहरूले यसको व्यापक प्रयोग गर्छन। चीन र भारतको लागि कोइला त ऊर्जाको मूख्य सस्तो श्रोत हुन पुगेको छ। अर्कोतिर उपलब्ध ऊर्जाका स्रोतहरू मध्ये कोइलाले सर्वाधिक वातावरणलाई प्रदुषित पार्छ। ऊर्जाको रुपमा कोइला प्रयोग हुँदा वा कोइला बल्दा त्यसबाट निस्केको कार्बनले बातावरण कालो पार्ने मात्र होइन, पृथ्वीको तामक्रम बढाउने कार्य पनि गर्दछ। पृथ्वीको बढेको तापक्रमले हिंउ बढी पग्लिने, अति वर्षा हुने, बाढी आउने, पैरो जाने, समुद्री आँधी आउने, कोइला बल्ने स्थानमा स्वांस फेर्न कठिन हुने, फोस्को कालो हुने जस्ता समस्याहरू देखा पर्दछन।

चीनका केही यस्ता शहरहरू पनि छन वातावरण अति प्रदुषित भएकोले ती शहरका आकासहरू सदा कालो हुने गर्दछन। त्यहाँका बसिन्दाहरूको फोक्सो सामन्य व्यक्तिहरूको भन्दा बढी कालो रहेको पाइएको छ।

अति विकासको मूल्य चीनले आफ्ना नागरिकहरूको ज्यान दिएर चुकाएको छ। त्येही स्थिति भारतमा पनि आउने क्रममा छ। चीन र भारतको यो स्थितिले विकसित राष्ट्रहरुलाई झसंग पारेको छ। यो कारणल गर्दा पनि विश्व वातावरणलाई स्वथ्यकर राख्न एवं कोइलाको उपयोगमा कमी ल्याउन विश्वका नेताहरू तयार भएका छन्। कार्बन बिसर्जन कसरी कम पार्ने, कोइला उपयोग कसरी बन्द गर्ने, पृथ्वीलाई थप तातो हुन बाट कसरी जोगाउने, सफा ऊर्जाको प्रयोगमा कसरी वृद्धि गर्ने, गरिब राष्ट्रहरूलाई सफा ऊर्जा उत्पादन गर्न कसरी सहयोग गर्न जस्ता विषयहरूमा चर्चा गर्न अहिले विश्वभरिका नेताहरू स्कटलैण्डको ग्लास्गो शहरमा भेला भएका छन्।  

संयुक्त अधिराज्यको स्कटलैण्ड राज्यको ग्लासगो शहरमा विश्व वातावरण सुधारका लागि अहिले सम्मलेन भइरहेको छ। सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घले वातावरण परिवर्तन ( विश्व वातावरण सुधार) बारे आयोजना गरेको यो सम्मेलनलाई ‘कप २६’ (COP 26 – Conference of the Parties ले सम्बोधन गरिएको छ। वातावरण परिवर्तनबारे छलफल गर्न राष्ट्रसङ्घबाट भएका सम्मेलनहरू मध्ये यो २६ औ सम्मेलन भएकोले यसलाई कप २६ भनिएको हो। गत अक्टुबर (सन् २०२१) को ३१ मा आरम्भ भएको यो सम्मेलन नोभेम्बर १२ (सन् २०२१) सम्म चल्ने छ।

विश्वका अनेक राष्ट्रका उच्च प्रशासक (राष्ट्रपति, प्रधान मन्त्री आदि) हरू ग्लासगोमा हुने यो सम्मेलनमा भाग लिन पुगेका हुनाले यो सम्मेलन कति महत्वपूर्ण रहेको छ भन्ने कुराको अनुमान गर्न सकिन्छ। भेला भएका विश्वका नेताहरूले मुख्य रुपमा विश्वमा सर्वाधिक कोइला प्रयोग गर्ने तिन राष्ट्रहरू पहिलो, दोस्रो र तेस्रो क्रमश: चीन, भारत र अमेरकालाई कोइलाको प्रयोग बन्द गर्न सल्लाह, सुझाव एवं दबाब समेत दिनेछन भनी अनुमान गरिएको छ। माथि उल्लेख गरिएका राष्ट्रहरू विश्वमा सर्वाधिक कार्बन बिसर्जन गर्ने राष्ट्रहरू पनि हुन। कोइलाको प्रयोग समाप्त पारेर सफा ऊर्जा प्रयोग गर्ने तर्फ अमेरिका लागि सकेको छ भने यो कार्य भारत र चीनको लागि सहज छैन। यो कारणले पनि चीन र भारतले कोइलाको प्रयोग बन्द गर्नेबारे बढी दबाब खप्नु परेको छ। भारत  चीन दुबै अहिले नै कोइला उपयोगमा कट्टौति गर्न अनिच्छुक छन्। कोइला यी दुई राष्ट्रहरूका लागि ऊर्जाको सस्तो श्रोत हुन्।  

पृथ्वी तात्ने क्रम तिब्र गतिमा बढ्नुको कारण चीन र भारतमा अति तिब्र गतिमा औधयोगिकरण हुनु र ती राष्ट्रहरुले कोइला बढी प्रयो गर्नु हो। यस्तो विश्वास गर्नेहरु धेरै छन्। यो सम्मेलनले पृथ्वीको तापक्रम वृद्धि हुने दर १ दशमलब ५ सी मा स्थिर राख्ने तर्फ जोड दिनेछ। साथै “अमेजन फरेस्ट” को संरक्षणबारे अनेक योजनाहरू पनि तयार पार्नेछ।

देशहरू अति धनी हुन पनि एक किसिमले तिब्र गतिमा विश्व वातावरण विनास हुनु हो। विश्व वातावरण झनै विषाक्त भएर जानु हो। ऊर्जाको परम्परागत श्रोत कोइलाले मात्र यो पृथ्वीलाई तताउने काम गरेको छैन, पेट्रोलियम पदार्थको अत्यधिक उपयोग, प्लास्टिक बिसर्जन आदिले पनि यो पृथ्वीलाई तताउने काम गरेका छन्। वातावणरलाई अति प्रदुषित पारेका छन्। अति विषायक्त पारेका छन्।

इलेक्ट्रोनिक्स वस्तु (कम्युटर- लैपटप, डेकस्टप, मोबाइल फोन, आइपैड आदि) हरूले पनि विश्व वातावरणलाई विषाक्त पार्नमा महत्वपूर्ण भूमिका खेलेका छन। उपभोक्ताहरूले छिटो छिटो कम्युटरको मोडेल परिवर्तन गर्ने, नया नया सेलफोन वा मोवाइल खरिद गर्ने कार्यले प्रयोग भएका पुराना इलेक्ट्रोनिक्स सामानहरू कहाँ र कसरी बिसर्जन गर्ने समस्या बिकराल हुन पुगेको छ। यी सामानहरू निर्माण गर्न प्लास्टिको प्रयोग व्यापक मात्रामा हुने भएकोले प्लास्टिक बिसर्जन, खास गरी गरिब मुलुकहरूको लागि विशाल समस्या हुन पुगेको छ।

हवाइ सेवाको अति विकासले गर्दा विश्वको एउटा कुनाबाट अर्को कुनामा एक वा दुई दिनमा सजिलै पुग्न सकिन्छ। हवाइ सेवाकको तिब्र विकासको कारणले गर्दा एकै दिनमा संसारभरि लाखौ बिमानहरू आकासमा उड्छन र वातावरणलाई विषाक्त पार्नमा थप योगदान पुर्याउँछन।

यो अति आधुनिक औद्योगिक एवं व्यापारिक युगले अनेक किसिमका सुविधाका वस्तु एवं सेवाहरू हामीलाई उपलब्ध गराएर हाम्रो जीवन सरल पारिदिएको त छ तर ती सेवा र सुविधाहरूको उपयोग गर्दा हामीले तिनको मूल्य पनि भुक्तान गर्नु परेको छ। अहिले हामी विषाक्त वातावरणमा बाँच्न बाध्य छौ। कारण के  होला? कारण हामी सबैलाई भलिभाँति थाहा छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Thursday, November 4, 2021  

Friday, October 29, 2021

Economic Power: Superpower-Article-350

 आर्थिक शक्ति नै महाशक्ति

शैन्यशक्ति र हतियारको बलमा राष्ट्रहरू शक्तिसाली हुने समय अब रहेन। केही दसक पूर्वसम्म भने त्यो स्थिति थियो। त्यो समयमा तत्कालीन सोभियत रुसले विश्वका अनेक राष्ट्रहरूमा शैन्य बलको प्रयोग गरेर आफ्नो प्रभुत्व कायम गरेको थियो। अमेरिकाले पनि शैन्य बल प्रयोग गरेर अनेक राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्र भित्र राख्ने प्रयास गर्यो। तर अहिले भने शैन्य बल – रणनीतिमा परिवर्तन आएको छ। अहिले शक्तिसाली राष्ट्रहरूले शैन्य शक्तिले होइन आर्थिक शक्तिले विभिन्न राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्ने प्रयास गरिरहेका छन्। अमेरिका, चीन, युरोपियन युनियन आदिले आर्थिक शक्ति प्रयोग गरेर अनेक राष्ट्रहरूलाई आफ्नो अनुकूल हिंड्न बाध्य पारेको हामीले देख्दै आइरहेका छ। यहाँसम्म कि कतार जस्तो अति सानो मुलुकले पनि केवल आफ्नो आर्थिक शक्ति प्रयोग गरेर विभिन्न मुलुको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको छ। खाडी क्षेत्रमा एक शक्तिसाली राषट्रको रुपमा उदाएको छ। केही दसक पहिले सम्म विश्व मानचित्रमा कतार भन्ने राष्ट्र कहाँ छ भन्ने कुरा धेरैलाई थाहा थिएन।

यो लेख आरम्भ भने सुडानको ताजा राजनीतिक घटनाबाट गरौ। सुडानको बर्तमान सरकारलाई सेनाले केही दिन पहिले मात्र विस्थापित गरेको छ। समाचारहरूले सुडानको सेनाले शैनिक शासन लागू गरेको उल्लेख गरि रहेका छन्। सुडानी सेनाका केही अधिकारीहरूले भने सेनाको यो कदमलाई नागरिक सरकार स्थापना गर्नका लागि चालिएको प्रारम्भिक कदम भन्दै छन। यो शैनिक सत्ता पलट (military coup) होइन भन्दै छन्। यथार्थमा भने सेनाले सुडानामा सत्ता पलट गरेको नै हो। सत्ता आफ्नो हातमा लिएको हो।

 सुडानी सेनाको यो कदमलाई अमेरिकी प्रशासन र युरोपियन युनियनले पटक्कै मन पराएको छैन। अमेरिकाले सुडानी सेनाका अधिकारीहरूलाई चेताबनी स्वरुप तत्काल सुडानी नेताहरूको रिहाइ गर्न एवं अपदस्त गरिएको सक्रमणकालीन सरकारको बहाली गर्न भनेको छ। साथै सुडानी शेनालाई त्यहाँ भइरहेको रक्पातबाट अलग रहन भनेको छ। त्येति मात्र होइन, अमेरिकाले सुडानलाई सहयोग स्वरुप दिने भनेको ७०० मिलियन डरल पनि अहिलेलाई रोक्का गरेको छ। अमेरिकाले सुडानी सेनालाई रोक्न आर्थिक जंजिर तानेको छ।

लामो समयसम्म अनेक द्वन्दको चपेटमा परेर सुडानको आर्थिक स्थिति दयनीय हुन पुगेको छ। विदेश जान सक्ने स्थितिमा रहेका अनेक पढेलेखेका युवाहरूले सुडान छाड्ने क्रम जारि छ। सुडानमा अहिले गरिब र हाहाकार छ। यस्तो अवस्थमा अमरिकाले सुडानलाई दिने आर्थिक सहयोग रोक्का गर्नु सुडानको हाल वा आउने सरकारलाई थप समस्या हुनेछ। अर्को शब्दमा भन्ने हो भने, यदि सेनाले नै सुडानको प्रशासन हातमा लिएमा उसलाई देश भित्र आइपर्ने अनेक आर्थिक संकट समाधान गर्न गाह्रो पर्नेछ। सेनाले सुडानमा शासन गर्ने कठिन हुनेछ। अन्तत्वगत्व, सुडानको सेनाले अमेरिका निर्देशन मान्न बाध्य हुनु पर्नेछ। सुडानी सेनालाई अमेरिकाको प्रभावमा आउन अमेरिकाको आर्थिक शक्तिले बाध्य पार्ने छ।

अमेरिकाले कुनै पनि किसिमको शैन्य बल प्रयोग नगरेर पनि अनेक राष्ट्रहरूमा आफ्नो राजनीतिक प्रभाव कायम गर्न सक्छ। आर्थिक शक्ति कति बलियो हुने गर्दछ भन्ने यथार्थ उल्लेख गर्नका लागि सुडानको स्थिति प्रस्तुत गरिएको हो। अमेरिकाले शैन्यशक्ति होइन आर्थिक शक्ति प्रयोग गरेर सुडानको राजनीतिलाई प्रभावित पार्ने क्रम जारि नै रहने छ।

अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध (Economic sanctions) ले गर्दा इरानको आर्थिक स्थिति अहिले संकटग्रस्त हुन पुगेको छ। यदि इरानसङ्ग तेल (petroleum products) नभएको भए र इरानलाई चीन र रुसको समर्थन नरहेको भए गरिबकीको कारणले अनेक किसिमक विद्धंसहरू भएर इरानको इश्लामिक सरकारको उहिले पतन भइसकेको हुन्थ्यो। आर्थिक समस्या धान्न कुनै पनि राष्ट्रलाई अति नै कठिन हुन्छ।

यो आलेखमा कुनै पनि देश आर्थिक स्थितिले बलियो भएमा उक्त राष्ट्रले आफ्नो राजनीतिक प्रभावको कतिसम्म र कसरी प्रयोग गर्न सक्छ भन्न कुरा तर्क र प्रमाण सहित प्रस्तुत गर्न खोजिएको हो।

एक अर्को प्रशंगमा, चीनले पनि अहिले यही रणनीति (आर्थिक रुपमा बलियो हुने) अबलम्बन गरेको उसको व्यवहारदावारा प्रस्ट हुँदै गएको छ। चीनले तिब्बत भित्र सुषुप्त रुपमा चलेको ‘स्वतन्त्र-तिब्बत आन्दोलन’ मथ्थर पारेर कालान्तरमा समाप्त पार्न तिब्बत भित्र शैन्य शक्ति प्रयो गरेको छैन, अपितु तिब्बतमा आर्थिक खुसहाली ल्याउने तर्फ जुटेको छ। तिब्बतको आर्थिक स्थिति माथि उकास्न अहोरात्र लागेको छ। चीनको केन्द्रिय प्रशासनले तिब्बतलाई चीनको प्रमुख बजारहरूसँग प्रत्यक्ष रुपमा जोडन लागि परेको छ। तिब्बतमा आर्थिक समृद्धि आएपछि तिब्बतीहरूले ‘स्वतन्त्र तिब्बत’ को आफ्नो आन्दोलन र नारा बिर्सेर जाने छन् भन्ने कुरामा चीनिया उच्च प्रशासकहरूलाई बलियो गरी विश्वास छ।

चीन अहिले अफ्रिकाका अनेक राष्ट्रहरूमा व्यापार गर्न पुगेको छ। चीनले यति सम्म चलाखी गरेको छ कि उसले अहिले भारतसङ्गको आफ्नो परम्परागत शत्रुतालाई बिर्से जस्तो गरेको छ। बरू भारतसँगको व्यापारमा उसले जोड दिएको छ। भारतसँग राम्रो सम्बन्ध कायमा गरेमा भारताबाट निकै आर्थिक फाइदा उठाउन सकिन्छ भन्ने कुरामा चीनलाइ जति बढी विश्वास छ त्यो भन्दा बढी आर्थिक रुपमा अत्यधिक बलियो भएमा भारतलाई पनि आफ्नो कठपुतली बनाउन सकिन्छ भन्ने कुरा चीनलाई विश्वास छ। चीन सर्व प्रथम आर्थिक रुपमा बलियो हुन चाहन्छ। आर्थिक रुपमा बलियो भए पछि अमरिका जस्तै शक्तिसाली हुन सकिन्छ भन्ने कुरा चीनलाई राम्रो गरी थाहा छ। चीन अहिले आर्थिक रुपमा अति बलियो हुन दत्त चित्तले लागेको छ। कुनै बेला जापानको उपनिवेस रहेको चीनले अहिले जापानलाई धम्क्याउने गरेको छ। चीनबाट त्रसित भएर जापान अमेरिकाको शरणमा पुग्नु परेको छ।   

आर्थिक रुपमा बलियो हुने दौडमा अहिले चीन मात्र होइन, भारत, ब्राजिल, रुस, दक्षिण अफ्रिका जस्ता राष्ट्रहरू पनि लागेका छन्। आर्थिक रुपमा बलियो भएमा अन्य राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्न सकिन्छ भन्ने सबैलाई बलियो गरि बोध भएको छ। स्मरण रहोस, चीन र भारत एशिया आर्थिक शक्ति हुन भने रुस युरोपको। त्यसै गरी ब्राजिल दक्षिण अमेरिकाको आर्थिक शक्ति हो भने दक्षिण अफ्रिका अफ्रिकाको आर्थिक शक्ति हो। रुसले युरोका केही देशहरूलाई ऊर्जा निर्यात नगर्दा युरोपका ती देशहरूमा हाहाकार मच्चिएको थियो। यो घटना केही हप्ता पहिले मात्रको हो।

यो युग आर्थिक शक्तिको युग हो। शैन्य शक्तिको युग होइन। त्येति मात्र होइन, आर्थिक रुपमा कमजोर हुनासाथ ठूला राष्ट्रहरूले साना राष्ट्रहरूमाथि थिचोमिचो गर्ने युग हो, भारतले नेपालमाथि थिचिमिचो गरेझै। आर्थिक कारणले गर्दानै पनि भारतलाई नेपालमाथि सँधै थिचिमिचो गर्न सजिलो भएको छ। हुन पनि भारतले एक महिना मात्र पनि आफ्ना नाकाहरू बन्द गर्न हो भने नेपालमा आर्थिक संकट उत्पन्न हुन सक्छ। भोखमरी आउन सक्छ।

आर्थिक रुपमा बलियो हुने सपना हामी नेपालीहरूले कहिले पनि देखेनौ। देखौ के त केलव राजनीतिक लडाइ, झगडा, सत्ता परिवर्तनका लागि खेलिने अनेक सपनाहरू। हाम्रो समय केलव राजनीतिक दाउपेंचमा बितेको छ। हामी सँधैभरी अनेक राजनीतिक दाउपेंच संचालन र सत्ता परिवर्तनमा लागिरहने हो, राष्ट्रिय राजनीतिलाई यसरी नै हामीले सँधै अस्थिर पारिनैरहने हो भने हामी अझै एकसय वर्षसम्म भारतको प्रभाव क्षेत्रभित्र रहिनै रहने छौ। भारतले हामीलाई थिचोमिचो गरिनै रहने छ। हाम्रो राजनीतिमा भारतले प्रत्यक्ष रुपमा प्रभाव पारिनै रहने छ।

भारतको राजनीतिक प्रभाबबाट हामी बाहिर हुन हामीले आर्थिक प्रगति गर्न आश्वक छ। हामी आर्थिक रुपमा बलियो भयौ भने मात्र भारत, चीन आदिको आर्थिक प्रभाबबाट बाहिर आउन सक्छौ। हामीले स्वतन्त्र किसिमले राष्ट्रिय आवश्वकताका विषयहरूमा निर्णय लिन सक्छौ। जति जति हामी आर्थिक रुपमा कमजोर हुँदै जाने छौ त्येति नै हामी भारत, चीनको नियन्त्रण भित्र पर्दै जाने छौ। आर्थिक रुपमा हामी अति कमजोर भएमा भोलि भारत र चीन मात्र होइन, भुटान जस्तो सानो राष्ट्रले पनि नेपालमाथि नियन्त्रण गर्ने सपना देख्ने छ।

हामी आर्थिक रुपमा बलियो हुनु पर्छ भन्ने यथार्थ हाम्रा राजनीतिक नेताहरूलाई बोध हुन आवश्यक छ। नेताहरू भन्दा नेपाली जनतालाई बोध हुन आवश्यक छ। नेताहरूको छनौट जनताले नै गर्ने हो। जनता जस्तो हुन्छ राष्ट्रिय राजनीति पनि त्यस्तै हुन्छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Wednesday, October 27, 2021 

https://eprateekdaily.com/2021/10/28/24500/