पूँजीवादको जन्म, विकास र प्रयोग
६. सार्भौम क्रेताहरु
पूँजीवादको
महत्वपूर्ण विषेशता के हो भने पूँजीवाद अन्तरगत क्रेता एवं उपभोक्ताहरुलाई बजारमा
आफूलाई मन लागेको वस्तु खरिद गर्न पूर्ण रुपमा स्वतन्त्रता दिइएको हुन्छ। क्रेताहरु
सार्भौम हुन्छन। साम्यवादमा जस्तो केन्द्र वा सरकारले उपभोक्तालाई यो वस्तु खरिद
गर्न पाइने, त्यो खरिद गर्न नपाइने भनी निर्दैशित गरिएको हुँदैन। र यो विशेषताले गर्दा नै बजारका सम्पूर्ण
क्रियाकलापहरु बजारको कार्य (क्रेताहरुको माग) द्वारा निर्देशित एवं नियन्त्रित हुन
पुग्दछन्। बजारमा ती सामाग्रीहरुको मात्र उत्पादन, आपूर्ति एवं बिक्री हुन्छ जुन क्रेताहरुको
माग (चाहना) अनुरुपको हुन्छ। क्रेताहरुले नचाहेका वस्तुहरुको न त उत्पादन नै हुन्छ
न त आपूर्ति नै। सरकारले त्यस किसिमको वस्तु उत्पादन वा बिक्री गर्न उत्पादक वा
बिक्रेताहरुलाई कुनै पनि किसिमको करकापमा पार्ने काम गर्दैन र गर्न पाउँदैन पनि।
पूँजीवादी अर्थ
व्यवस्थामा, क्रेताहरुको चाहनामा जुन किसिमले परिवर्तन हुन्छ मौजुदा वस्तुहरुको
स्वरुप, गुण, विशेषता आदिमा पनि सोही किसिमले परिवर्तन हुँदै जान्छ। यस कारणले
गर्दा पूँजीवाद अँगालेका मुलुकका बजारहरु अति नै गतिशील हुन्छन। गतिशील यस अर्थमा
कि क्रेताहरुको मागमा निरन्तर परिवर्तन भइ रहन्छ र सोही अनुरुप उत्पादकहरुले पनि
नया नया वस्तु बजारमा ल्याउँछन, मौजुदा वस्तु एवं सेवाहरुमा सुधार गर्दै लग्छन्। र
यसरी नया नया वस्तुहरु विकास गरी, ती वस्तुहरु बजारमा ल्याउने र भएकै वस्तुहरुमा
सुधार गर्ने क्रम अनवरत रुपमा चलि रहन्छ। पूँजीवादी मुलुकका बजारहरु देखिने यो
सर्वाधिक ठूलो विशेषता (गतिशीलता) हो।
पूँजीवादी मुलुकका
बजारहरु ज्यादै गतिशील भएको हुनाले नै सर्वाधिक नया नया वस्तुहरुको खोज एवं विकास हुने
गर्दछ। अर्थात नया नया वस्तुहरुको श्रृजना र भएकै (वर्तमान) वस्तुहरुमा
क्रेताहरुको चाहना अनुरुपको सुधार, बजार (उत्पादकहरु) को अनिवार्य कार्य हुन
पुग्दछ। डायल गर्ने (नम्बर घुमाउने), डिजिटल, सेलफोन हुँदै ब्ल्युटुथ डिभाइस आदि
जे जति विकासहरु टेलिफोनको क्षेत्रमा भए, ती सबै क्रेताहरुको माग अनुरुप
उत्पादकहरुले उत्पादन गर्ने, पूँजीवादको बजार-सिद्धान्त अन्तरगत भए। यसै गरी,
सामान्य परम्परागत कम्युटर, डेक्सटप, लैबटप हुँदै टेबलेट आदि, जे जति विकासहरु
कम्युटरको क्षेत्रमा भए, ती विकासहरु पूँजीवादको बजार- सिद्धान्त अन्तरगत भए। पूँजीवादी
अर्थ व्यवस्थाले गर्दा नै फेसबुक, युटुब, गुगल, याहु जस्ता अति नै प्रभावकारी
संचारका व्यवस्था एवं सामाजिक संजालहरुको जन्म एवं प्रयोग सम्भव भयो। यी सामाजिक
संजालहरुले गर्दा विश्वभरि नै संचार व्यवस्था प्रभावकारी हुन पुगेको छ र साथै मानव
जिवनमा सुगमता पनि उत्तिकै आएको छ। यस अर्थमा पूँजीवादले मानव जिवनलाई सरल
तुल्याउनमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
पूँजीवादले बजारलाई
गतिशील मात्र पार्दैन साथै उत्पादकहरुले अत्यधिक मुनाफा एवं क्रेता वा
उपभोक्ताहरुले अत्यधिक सन्तुष्टि पाउने औसरहरुको श्रृजना समेत गरि दिन्छ। विश्वका
लगभग सम्पूर्ण राष्ट्रहरुले पूँजीवाद अँगाल्नुको प्रमुख कारण यो नै हो।
पूँजीवादमा दुई
तत्वहरुले महत्वपूर्ण भूमिका खेल्ने गर्दछन। पहिलो हो क्रेताको चाहना, दोस्रो
वस्तु वा सेवको मुल्य (मुनाफा)।
माथि नै उल्लेख गरि
सकियो कि पूँजीवादमा, बजारमा ती वस्तु एवं सेवाहरुको उत्पादन हुन्छ जुन
क्रेताहरुद्वारा माग गरिएको हुन्छ। यसै गरी बजारमा, कुन वस्तु, कसले, कुन
परिमाणमा, कहाँ, कसका लागि उत्पादन गर्न भन्ने कुराको निर्धारण गर्ने अर्को तत्व
हो, वस्तु वा सेवाको मूल्य वा वस्तु एवं सेवाको बिक्रीबाट प्राप्त हुने मुनाफा।
उत्पादकहरुले केवल त्यस किसिमका वस्तुहरु मात्र उत्पादन गर्छन, विक्रेताहरुले पनि
केवल त्यस किसिमका वस्तुहरु मात्र विक्री गर्छन जुन वस्तुको उत्पादन एवं बिक्रीबाट
उनीहरुलाई मुनाफा प्राप्त होस। यसरी बजारमा, मुनाफा प्राप्त हुने वस्तु एवं
सेवाहरुको मात्र उत्पादन हुन्छ, मुनाफा न हुनेको हुँदैन। मुनाफाले नै, उत्पादक एवं
बिक्रेताहरुलाई, कुन वस्तु उत्पादन एवं बिक्री गर्ने भनी निर्दैशित गर्दछ, सरकारले
उनीहरुलाई निर्दैशन नै गर्नु पर्दैन। सरकारले बजारलाई सामान्य अवस्थामा, पूर्ण
रुपमा स्वतन्त्र छाडि दिएको हुन्छ, कार्य गर्नका लागि।
यस प्रकार, जसरी
प्रजातान्त्रिक शासन व्यवस्था भएको मुलुकमा, कस्तो किसिमको संविधान निर्माण गर्ने,
ऐन कानूनहरुलाई कस्तो पार्ने एवं कस्ता व्यक्तिहरु समाविष्ट भएको सरकार बनाउने
भन्ने निर्णय गर्न जनता सार्भौम हुन्छन, स्वतन्त्र हुन्छन त्यसरी नै पूँजीवादी
अर्थ व्यवस्था अँगालेका मुलुकहरुको बजारमा पनि क्रेताहरु, कस्तो वस्तु एवं
सेवाहरु, कुन मूल्यमा, कहाँ, कुन परिणाममा, कोसँग कहिले खरिद गर्ने भन्ने बारे निर्णय
लिन स्वतन्त्र हुन्छन। खरिद कार्य सम्पन्न गर्नक लागि क्रेताहरु सार्भौम हुनु
पूँजीवादी अर्थ व्यवस्ताको एक अति नै महत्वपूर्ण विशेषता हो। बजारको स्वामित्व
क्रेताहरुमा निहित पार्नु पूँजीवादको उपलब्धि हो।
उत्पादक एवं
बिक्रेताहरुले केवल त्यस किसिमका वस्तु एवं सेवाहरुको उत्पादन एवं बिक्री गर्दछन,
जसको बिक्रीबाट उनीहरुलाई मुनाफा प्राप्त होस, मुनाफमा भारि वृद्धि होस। यो कुरा
माथि उल्लेख गरि सकियो। तर यहाँ, यो कुरा दोहर्याएर, के प्रष्ट पार्न खोजिएको हो
भने मुनाफा गर्ने उद्देश्यले उनीहरुलाई बढी मुनाफा लिन निर्देशित गरेता पनि
उनीहरुले मिलोमतो गरि, बजारमा एकाधिकार (Monopoly), द्वयधिकार (Duopoly), अल्पाधिकार (Oligopoly) वा क्रेताधिकार (Monopsony) कायम गर्न सक्तैनन्। यस्तो किन गर्न सक्तैनन्
भने बजारमा ठूलो संख्यामा उत्पादक एवं बिक्रेताहरुको उपस्थिति हुन्छ र उनीहरु बीच
वस्तु एवं सेवाहरुको उत्पादन एवं बिक्री गर्न तिब्र प्रतिस्पर्धा हुन्छ। बजारमा
तिब्र प्रतिस्पार्धा भएको कारणले गर्दा, बजारले निर्धारण गरेको (क्रेताले माग
गरेको) मूल्यमा विक्री गर्न (मूल्य
निर्धारण गर्न) उत्पादक एवं बिक्रेताहरु बाध्य हुन पुग्दछन। यसरी प्रतिस्पर्धाले
नै उत्पादक एवं बिक्रेताहरुलाई बढी मूल्य निर्धारण गरेर, बढी मुनाफा आर्जन गर्न
सकिने स्थितिमा पुग्न दिँदैन। यदि कुनै किसिमले, बढी मुनाफा गर्ने उद्देश्यले,
उत्पादक वा बिक्रेताहरु बीच मिलोमतो हुन गएमा, उनीहरुले द्वयधिकार वा अल्पाधिकार
कायम गर्न खोजेमा, त्यस किसिमको अवस्थामा सरकारले बजारमा हस्तक्षेप गरी, बजारमा
हुन थालेको बिक्रेताहरु बीचको मिलोमतोलाई तोड्दछ र त्यस किसिमले हस्तक्षेप गर्ने
भनी कानूनी व्यवस्था समेत गरिएको हुन्छ।
पूँजीवादी अर्थ
व्यवस्थामा क्रेताहरुलाई सार्भौम पारिएको हुनाले उनीहरुले आफूले खोजेको वस्तु खरिद
गर्ने स्वतन्त्रता पाएका हुन्छन र यो स्वतन्त्रताको उपयोग गरेर उनीहरुले सस्तोमा
स्तरीय वस्तु प्राप्त गर्ने प्रयास गर्दछन। सरकारले, देशमा भएका उत्पादकहरुले
सस्तोमा वस्तुहरु आपूर्ति गर्न नसक्ने भएमा, विदेशवाट सस्तोमा आयात गर्ने उद्देश्य
समेत राखेको हुन्छ। स्वदेशी उत्पादकहरुले मँहगोमा नै भए पनि बिक्री गरुन भन्ने
किसिमबाट सरकारले स्वदेशी उत्पादकहरुलाई संरक्षण प्रदान भने गर्दैन, आयात शुल्क
बढाउँदैन। उल्टो, स्वदेशी उत्पादकहरुमा प्रतिस्पर्धात्मक क्षमताको विकास होस र
आफ्नो देशका जनताले सस्तोमा वस्तु खरिद गर्न सकुन भन्ने अभिप्रायले सरकारले उदार
आयत नीति अवलम्वन गरेको हुन्छ। व्यापारबाधा ( Trade barriers) हरु कम पार्दै लगेको हुन्छ।
त्यति मात्र होइन, सरकारले क्षेत्रीय बजारको विकासमा जोड दिएको हुन्छ, जनताले
सस्तोमा वस्तु खरिद गर्न पाउन भन्ने उद्देश्यले। यसरी पूँजीवादले क्रेतालाई
सार्भौम पारेर, उनीहरुलाई तुलनात्मक रुपमा सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउने
प्रयास गरेको हुन्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 29, 2013