पूँजीवादको जन्म, विकास र प्रयोग
५. प्रतिस्पर्धा
प्रतिस्पर्धा पूँजीवादको मुटु हो, र यो प्रतिस्पर्धाले गर्दा नै अर्थ व्यवस्थालाई उत्पादनमूखि
तुल्याउने गर्दछ। प्रतिस्पर्धा भन्नाले यहाँ उत्पादक, आपूर्तिकर्ता एवं
बिक्रेताहरु बीच वस्तु वा सेवा बिक्री गर्नका लागि हुने प्रतिस्पर्धा भन्न खोजिएको
हो। पूँजीवादमा, उत्पादक, आपूर्तिकर्ता एवं बिक्रेताहरुको क्रियाकलापमा सरकारले,
सामान्य अवस्थामा, कुनै पनि किसिमको नियन्त्रण नगर्ने हुनाले उनीहरु कति परिणाममा
उत्पादन गर्ने, कुन बजारमा, कहिले लगेर, क-कसलाई
बिक्री गर्ने भन्ने बारे निर्णय लिन पूर्ण रुपमा स्वतन्त्र हुन्छन। यसै गरी,
उनीहरु आफ्नो वस्तु वा सेवाको मूल्य निर्धारण गर्न र त्यसको गुण स्तरलाई खास
किसिमको (उपभोक्ताहरुको माग अनुरुपको) पार्न पनि स्वतन्त्र हुन्छन। यसरी उत्पादक, आपूर्तिकर्ता एवं बिक्रेताहरु
आफ्नो वस्तु वा सेवाको मूल्य एवं गुण निर्धारण गर्न स्वतनत्र भएकोले उनीहरुले
बजारको प्रकृति अनुसार आफ्नो वस्तु वा सेवाको मूल्य बिना कुनै हस्तक्षेप स्वतन्त्र
रुपमा निर्धारण गर्छन। वस्तु वा सेवाको मूल्य निर्धारण गर्दा आफ्नो वस्तु वा सेवा
धेरै ग्राहकहरुले खरिद गर्न सक्ने पार्न तिनको मूल्य प्रतिस्पर्धीको भन्दा कम
पार्ने प्रयास गर्छन। अर्को शब्दमा, पूँजीवादी अर्थ व्यवस्थामा, बिक्रेताहरु बीच
आ-आफ्नो सामान सस्तो पारेर बिक्री गर्न चर्को प्रतिस्पर्धा हुन्छ। र यो अवस्था,
बजारमा सरकारद्वारा हस्तक्षेप नगरिने नीतिले गर्दा श्रृजना हुन्छ। यसरी बजारले नै
प्रतिस्पर्धात्मक स्थिति श्रृजना गरि दिने हुनाले बिक्रेताहरु प्रतिस्पर्धीहरुको
भन्दा कम मूल्य निर्धारण गर्न बाध्य हुन्छन। प्रतिस्पर्धीको बराबर वा सो भन्दा कम
मूल्य निर्धारण नगरेमा आफ्नो वस्तु बिक्री हुने सम्भावन क्षिण हुने भएकोले
बिक्रेताहरु वस्तुको मूल्य कम पार्न बाध्य हुन पुग्दछन।
बजारका क्रियाकलापहरुमा सरकारले नियन्त्रण नगर्ने हुनाले
बजारमा बिक्रेताहरुको उपस्थिति ठूलो संख्यामा हुन्छ र उनीहरु बीच वस्तु वा सेवा
बिक्री गर्नका लागि तिब्र प्रतिस्पर्धा आरम्भ हुन्छ। उनीहरु बीच हुने त्यस किसिमको
प्रतिस्पर्धाले गर्दा बजारमा (सामान्य अवस्थामा) केही बिक्रेताहरुले मिलोमतो गरी मूल्य वृद्धि
गर्ने स्थिति आउन पाउँदैन। बरु उल्टो विक्रेताहरु बीच सामानहरु बिक्री गर्न तिब्र
प्रतिस्पर्धा हुने भएकोले ( मूल्यमा कमी नल्याएमा बिक्री हुने सम्भावना कम हुने
भएकोले) उनीहरु आफ्नो वस्तुको मूल्य कम पार्न बाध्य हुन्छन। यसरी मूल्यमा कमी आउँछ
र क्रेताहरुले सस्तोमा वस्तुहरु खरिद गर्न पाउने अवस्था श्रृजना हुन्छ। अर्को
शब्दमा भन्ने हो भने, पूँजीवादले गर्दा क्रेताहरु (धनी वा गरिब सबै) ले सस्तोमा
वस्तु खरिद गर्न पाउने अवस्था श्रृजना हुन्छ। यसरी व्यवस्थित वा लोक कल्याणकारी
पूँजीवादले गरिबहरुको हितको रक्षा गर्दछ। उनीहरुलाई मूल्य वृद्धिको मारबाट
जोगाउँछ। तर बिडम्बना, बामपन्थीहरुले, पूँजीवादले गरिबहरुको शोषण गर्दछ भनी बलियो
विश्वास गर्दछन। त्यति मात्र होइन, आफूले बनाएको यो ‘डेट एकस्पाएर सिद्धान्त’
(पूँजीवादले गरिबको शोषण गर्दछ) को प्रचार पनि निकै गर्छन। गरिबहरुलाई भूलभूलैयामा
राख्छन। बामपन्थीहरुको यो ‘डेट एकस्पाएर सिद्धान्त’ ले गर्दा गरिबहरुको हित हुनुको
साटो झन बढी अहित हुन पुगेको छ। गरिबहरु, गरिब नै रहि रहन बाध्य भएका छन। गरिबहरुको
आर्थिक जिवनमा सुधार आउन सकि रहेको छैन। यस प्रकार बामपन्थी आर्थिक दर्शन
गरिबहरुको लागि झनै गरिब पार्ने औजारको रुपमा प्रस्तुतु हुन पुगेको छ। मुल कुरा त
के हो भने, गरिबहरुलाई झनै गरिब पार्ने कार्य पूँजीवादले गर्दैन। गरिबहरुलाई झनै
गरिब पार्ने काम बामपन्थी नेताहरुको ‘डेट एकस्पाएर सिद्धान्त’ ले गर्दछ वा
स्वार्थी नेताहरुको आफू शक्तिसाली हुन खेल्ने दाउपेंचले गर्दछ। गरिबीहरुको गरिबीलाई चुनाव जित्ने
औजारको रुपमा प्रयोग गर्ने उनीहरुको त्यो कुटिल नीतिले गर्दछ। ‘बामपन्थी आर्थिक
दर्शन द्वारा गरिबहरुको जिवनमा आर्थिक खुसहाली आउने छ’ भनी बाँडिएको झूठो सपनाले
गर्दछ। बामपन्थी नेताहरुको आर्थिक दर्शनले मात्र होइन, संसदवादी नेताहरुको
व्यवहारले गर्दा पनि गरिबहरुलाई झनै गरिब पार्ने कार्य गरेको छ। संसदवादी नेताहरु,
त झनै बढी, गरिबहरुको दुख पीडालाई बेवास्ता गर्दै आर्थिक, सामाजिक भ्रष्टाचारमा
लिप्त छन, निरन्तर रुपमा। त्यति मात्र होइन, कुन किसिमको आर्थिक नीतिद्वारा
नेपालको आर्थिक विकास हुन्छ, गरिबहरुको जिवनमा खुसहाली आउन सक्छ भन्ने कुरामा पनि स्पष्ट
छैनन्, पूर्ण रुपमा भ्रममा छन, लगभग सम्पूर्ण संसदवादी नेताहरु।
फेरि पूँजीवादी अर्थ व्यवस्थामा नै फर्कौ। पूँजीवाद अँगालेका मुलुकका बजारहरुमा वस्तु वा
सेवा बिक्री गर्नका लागि बिक्रेताहरु बीच तिब्र प्रतिस्पर्धा हुन्छ, यो उल्लेख गरि
सकिएकै कुरा हो। जुन बिक्रेताले आफूलाई प्रतिस्पर्धामा जोगाउन सक्छ, उसले आफ्नो
अस्तित्वलाई बजारमा निरन्तरता दिन सक्छ, जसले सक्दैन ऊ बजारबाट बाहिरिन्छ। त्यस
कारण पूँजीवाद अँगालेका बजारहरु प्रतिस्पर्धापूर्ण हुन्छन, सजिलै अत्यधिक मुनाफा
आर्जन गर्न सकिने स्थिति हुँदैन, बजारहरुमा। एकै किसिमको वस्तु, बा भनौ एकै किमिमको
आलु विभिन्न बिक्रेताहरुले, एउटै बजार क्षेत्रमा बिक्री गर्ने क्रममा, आलूको मूल्य
प्रति किलो फरक फरक राखेका हुन्छन, मूल्यमा समानता हुँदैन। उनीहरुले आ-आफ्नो
बिक्री रणनीति एवं उनीहरु कहाँ आउने ग्राहकको क्रयशक्ति वा प्राथमिकता अनुसार
प्रति किलो आलुको मूल्य निर्धारण गर्छन। यस प्रकार, समान किसिमको गुण, विषेशता
भएको आलुको मूल्य प्रति केजी एउटा बिक्रेता कहाँ पच्चिस रुपैयाँ हुन सक्छ भने
अर्को कहाँ पैतिस रुपैयाँ। फेरि, अर्को बिक्रेता कहाँ प्रति किलो पन्द्र रुपैयाँ
पनि हुन सक्छ। आलुको बिक्रेताहरुलाई सरकारले ‘यति मुल्य कायम गर्नु पर्छ’ भनेर
कुनै पनि किसिमको निर्दैशन वा दबाब दिंदैन। उनीहरुलाई, उनीहरुकै इच्छा अनुसार
कार्य गर्न स्वतन्त्र छाडि दिएको हुन्छ। बजारमा जसले कुशलता पूर्वक (मुख्य गरी
सस्तोमा तर स्तरीय) आलु बिक्री गर्न सक्छ ऊ बजारमा उपस्थित रहि रहन सक्छ, जो
सक्तैन पलायन हुन्छ, बजारबाट। यस कारण जसले सस्तोमा आलु बिक्री गर्न सक्छ उसले
आफ्नो अस्तित्वलाई निरन्तरता दिन सक्छ जसले सक्तैन ऊ बाजारबाट (प्रतिस्पर्धाले
गर्दा) निकाल बाहर हुन्छ। तर कुनै बिक्रेताले भने प्रतिस्पर्धी भन्दा केही महँगो
पारेर पनि आलु बिक्री गर्न सक्छ वा बिक्री कार्य (अस्तित्व) लाई निरन्तरता दिन
सक्छ। त्यस किसिमबाट, प्रतिस्पर्धीहरु भन्दा केही महँगो पार्दा भने उसले आफ्नो
वस्तु (आलु) लाई प्रतिस्पर्धीहरुको भन्दा थप विषेशता (विषेश गुण, सुलभता, भुक्तानी
आदि) हरुद्वारा युक्त भने पारेको हुन्छ।
पूँजीवाद अँगालेका मुलुकका बजारहरुमा वस्तुको मूल्यलाई कम
पारेर बिक्री गर्न बिक्रेताहरु बीच प्रतिस्पार्धा हुने भएकोले, अर्को शब्दमा सस्तो
पार्नु पर्ने बाध्यता भएको हुनाले, उत्पादकहरुले हरपल उत्पादन लागत कम पार्ने
प्रयास गर्दछन। यसै गरी आपूर्तिकर्ता एवं बिक्रेताहरुले पनि वितरण तथा बिक्री लागत
कम पार्ने प्रयास गरि रहेका हुन्छन, अटुट रुपमा। उत्पादक एवं बिक्रेताहरुले
उत्पादन एवं बिक्री लागत कम पार्न अनेक
किसिमका अध्ययन एवं अनुसन्धानहरु गर्छन। उत्पादन एवं बिक्री लागत कम पार्ने
किसिमका प्रविधिहरुको प्रयोग एवं विकासमा निकै जोड दिन्छन। यसरी पूँजीवादी
व्यवस्थाले गर्दा लागत (उत्पादन एवं विक्री) कम पार्ने प्रविधिहरुको विकास हुन
पुग्दछ। लागत कम पार्ने प्रविधिहरुको विकास एवं प्रयोगबाट बढी फाइदा भने क्रेताहरुले
नै पाउँछन किनभने त्यस्ता प्रविधिको प्रयोगद्वारा वस्तुहरुको मूल्य सस्तो हुन
पुग्दछ। अर्को तिर, उत्पादन एवं बिक्री लागत कम भएकोले उत्पादक एवं बिक्रेताहरुको
मुनाफमा पनि केही वृद्धि हुन जान्छ। साम्यवादी अर्थ व्यवस्थामा भने अर्थ तन्त्र
केन्द्र वा सरकारद्वारा नियन्त्रित हुने भएकोले, उत्पादक एवं बिक्रेताहरुको
उपस्थिति बजारमा ज्यादै सीमित संख्यामा भएकोले, बजारमा न त उत्पादक एवं
बिक्रेताहरु बीच वस्तु बिक्री गर्नका लागि कुनै किसिमको प्रतिस्पर्धा नै हुन्छ न त
उत्पादन एवं बिक्री लागत घटाउने उपायहरुको खोजी नै।
यस प्रकार पूँजीवादको जग भनेको प्रतिस्पर्धा नै हो।
प्रतिस्पर्धाले गर्दा नै पूँजीवाद क्रेताहरुको हितमा कार्य गर्न बाध्य हुन्छ।
गरिबहरुको हितमा कार्य गर्नु पर्ने जिम्मेबारीबाट उम्कन पाउँदैन।
Bishwa Raj Adhikari
प्रतीक दैनिकमा प्रकाशित Friday, March 22, 2013
No comments:
Post a Comment