पूँजीवादको जन्म, विकास र प्रयोग
७. कृषिमा प्रभाव
पूँजीवादका अवगुणहरु नभएका होइनन्। यसका प्रशस्त अवगुणहरु छन। गरिब र धनी
बीचको खाडल क्रमिक रुपमा फराकिलो पार्दै, गरिबहरुलाई झनै गरिब र केवल सीमित
व्यक्तिहरुलाई ज्यादै धनी पार्ने कार्य पूँजीवादले गर्दछ। यति मात्र होइन, शरिरीक
श्रम भन्दा मानसिक श्रमलाई महत्व दिएर, शारिरीक श्रमको शोषण गर्न सजिलो हुने
स्थिति समेत पनि पूँजीवादले निर्माण गर्दछ। पूँजीवादको कारणले गर्दा नै केवल
बृद्धि ख्याएको भरमा, छोटो अवधिमा नै, केही सीमित व्यक्तिहरु अरबपति, खरबपति हुने
स्थिति श्रृजना समेत हुन्छ। यस किसिमक आरोपहरु पूँजीवाद माथि लाग्दै आएको छ। तर
मननयोग्य तथ्य के पनि छ भने पूँजीवादमा भएका अवगुणहरुलाई पूँजीवादले नै कम वा
समाप्त पार्ने कार्य गर्दछ। जसरी मानिसको शरिरमा, काटिएर घाउ लागेमा, त्यो घाउ
छुटाउने क्षमता पनि शरिरमा नै विद्यमान हुन्छ, समय वित्दै जाँदा घाउ पुरिँदै, निको
पनि हुँदै जान्छ, त्यसै गरी नै पूँजीवादबाट उत्पन्न हुने दुरगुणहरु हटाउने क्षमता
पनि पूँजीवाद भित्र नै विद्यमान रहेको हुन्छ। त्यसकारण भन्ने गरिन्छ, पूँजीवादको
विकल्प अशल, अझ बढी लोक कल्याणकारी पूँजीवाद हो।
पूँजीवादका अनेक दुरगुणहरु छन्। यो लेखमा भने पूँजीवादले कृषि क्षेत्रमा के
कस्ता प्रभावहरु पार्ने गर्दछ त्यस बारे चर्चा गर्ने प्रयास गरिएको छ। खास गरी
विकासशील मुलुकहरु, त्यसमा पनि नेपाल जस्तो मुलुकको कृषि क्षेत्रमा पूँजीवादले कस्तो
प्रभाव पार्ने छ तथा पारि रहेको छ त्यसबारे केही तथ्यहरु प्रस्तुत गर्ने कोशिस
गरिएको छ।
नेपालको कृषि क्षेत्रमा पूँजीवादले कस्तो र कुन किसिमले प्रभाव पार्न सक्छ वा
पारि रहेको छ भन्ने बारे चर्चा गर्दा चर्चित पत्रकार एवं वुद्धिजीवी चन्द्रकिशोरको
कान्तिपुर दैनिकमा हालै प्रकाशित लेख ‘गाउँ रित्तिँदै, खेती सिद्धिँदै’ का केही
अंशहरु सान्दर्भिक भएकोले तिनलाई यहाँ प्रस्तुत गरेको छु। आफ्नो लेखमा चन्द्रकिशोरले
उल्लेख गरेका छन् ‘सामाजिक
बदलावको यो प्रक्रियाले खेतीप्रतिको पारम्परिक बुझाइमै असर पारेको छ । पहिला खेती
भोजनका लागि गरिन्थ्यो,
तर आज त्यो अवस्था छैन । बालीहरूमा पनि
विविधता थियो । विभिन्न थरीका अन्नहरू उब्जिन्थे । स्वादमा विविधता खोजिन्थ्यो ।
अब खेती भनेको आम्दानीका लागि हो भन्ने सोच बढेको छ । खेतबाट कति बढी कमाउन सकिन्छ
भन्ने बुझाइ छ र त्यसका लागि नगद बढी हुने किसिमका खेती गर्ने चलन बढेको छ।’ यसै
गरी अर्को सन्दर्भमा चन्द्रकिशोरले फेरि उल्लेख गरेका छन् ‘चिना, सामा, कोदो, मडुवा, कौनी, जनेरा, जौं, कुर्थी, सकरकन्दजस्ता
बाली अब प्रायः लगाइँदैनन् । धानको खेतीमा पनि विभिन्न प्रजातिका धान रोपिन्थ्यो ।
खेती भनेको भोजन भन्ने सोच पछाडि र आर्जन भन्ने बुझाइ बढी हुनथालेपछि त्यसले
पारम्परिक प्रवृत्तिहरूलाई फेर्दै लगेको छ।’
चन्द्रकिशोरले
प्रस्तुत गरेको कृषि क्षेत्रको समस्यामा खास गरी उनले नेपालका कृषि क्षेत्रमा के
कस्ता समस्याहरु परि रहेका छन, मा बढी जोड दिएका छन्। तर नेपालका कृषि क्षेत्रमा
देखिएका यी समस्याहरु केवल नेपालमा मात्र सीमित छैनन्, विश्व भरिको कृषि क्षेत्रमा
यी समस्याहरु जटिल रुपमा प्रस्तुत भइ रहेका छन्। यी समस्याहरु पूँजीवादको प्रभावले
गर्दा आएका हुन। विश्व भरिका कृषकहरुले केवल त्यस किसिमका बाली लगाइ रहेका छन् वा
लगाउनमा जोड दिइ रहेका छन जसको उत्पादन एवं बिक्रीबाट बढी भन्दा बढी लाभ प्राप्त
होस। त्यस किसिमका अन्न, फलफुल एवं तरकारीहरुको उत्पादनमा जोड दिइ रहेका छन जुन कम
जमिनमा बढी परिमाणमा उत्पादन गर्न सकियोस, तिनको बिक्रीबाट बढी लाभ प्राप्त गर्न
सकियोस। कृषकहरुले कम लाभ प्राप्त हुने वा केवल स्वउपभोगका प्रयोग गरिने (किसिमका)
बालीहरु लगाउन छाड्दै गइ रहेका छन, क्रमिक रुपमा। वर्तमानमा, जुन सुकै मुलुकमा
पनि, कृषकहरु कम जमिनको प्रयोग गरेर, बढी परिमाण एवं संख्यामा वस्तुहरु उत्पादन
गरी, छोटो समयमा नै बढी भन्दा बढी मुनाफा आर्जन गर्ने उद्देश्य पट्टि लागि लागेको
देखिएका छन्। कृषकहरु यो उद्देश्यले अभिप्रेरित भएका हुनाले नै परम्परागत अन्न,
फलफुल एव तरकारीहरुको उत्पादन ज्यादै न्यून परिणाममा हुँदै छ। त्यति मात्र होइन,
जनताको स्वास्थ्यलाई लाभ पुर्याउने किसिमका बालीहरु, जुन बढी जमिन ओगटेर कम फल्छन,
क्रमिक रुपमा लोप हुने स्थितिमा पुग्दैछन। करैला, परबल, धनिया, जिरा, सुंप, मेथी
जस्ता तरकारी एवं मसलाहरु कम उत्पादन भइ रहेका छन। कम उत्पादन भएको हुनाले यिनको
मूल्यमा पनि वृद्धि हुँदै गइ रहेको छ। तर अर्कोतिर बन्दाकोभी, टमाटर, जस्ता
तरकारीहरु, जुन कम जमिन र प्रयत्नबाट ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ, को
खेतिमा कृषकहरुले अत्यधिक जोड दिइ रहेका छन। यस्तै स्थितिले निरन्तरता पायो भने, कम मुनाफा
हुने वा मुनाफा नहुने तर जन स्वास्थ्यका लागि भने अति नै उपयोगी साबित बालीहरु
बजारबाट हराउन सक्ने स्थिति आउन के बेर? यति मात्र होइन, बालीहरुलाई विभिन्न
किसिमका रोग एवं जोखिमहरुबाट जोगाउँदै लगानीलाई सुनिश्चित पार्न र साथै लगानीको
तुलनामा कैयौं गुणा बढी लाभ प्राप्त गर्न, अर्थात कम जमिनमा बढी उत्पादन गर्न,
कृषकहरुद्वारा किटनाशक औषधि (pesticides) हरुको प्रयोग पनि बढ्दो मात्रामा भइ रहेको छ। यस किसिमका किटनाशक औषधिहरुले लघु
कालमा कृषकहरुलाई कम जमिनमा ठूलो परिमाणमा तथा सुरक्षित किसिमले उत्पादन गर्न
सघाएता पनि दीर्घकालमा भने जनस्वास्थ्यमा ज्यादै नै प्रतिकूल असर पार्न तथ्यमा दुई
मत हुन सक्तैन। बालीहरुमा बढी मात्रामा विषादीहरुको प्रयोगले गर्दा, खास गरि
नेपालमा, मिर्गौला, मुटु आदि सम्बन्धी रोगहरु बढी संख्यामा देखिएका हुन सक्छन। यस
क्षेत्रमा अनुसन्धानहरु हुन उत्तिकै आवश्यक छ।
विकसित
मुलुकहरुमा हरियो तरकारी भन्दा मासु सस्तोमा खरिद गर्न सकिन्छ। हुन पनि पशुहरुको मासु,
खास गरी कुखुराको मासु, सानो ठाउँ र कम लगानीमा बढी उत्पादन हुन सक्ने भएकोले
अहिले विश्व भरि नै ठूलो परिमाणमा मासुको उत्पादन एवं विक्री भइ रहेको छ। तर केवल
मासुलाई मात्र आहारमा बढी मात्रामा सामेल गर्दा विभिन्न किसिमका शारिरीक समस्याहरु
उत्पन्न हुने विज्ञहरुको राय रहेको पाइन्छ। मुख्य गरी, पशुहरुको मासुबाट प्राप्त
हुने चिल्लो पदार्थ (बोसो) धेरै खाएमा मोटोपना (Obesity) को समस्याबाट पीडित हुनु पर्ने देखिएको छ। साथै रातो मासु पनि स्वास्थ्यको
लागि त्यति हितकर मानिंदैन।
उता, अर्कोतिर
हेर्ने हो भने, कम लागतमा ठूलो परिमाणमा उत्पादन गरी उपभोक्ताहरु लाई सस्तोमा
बिक्री गर्दा, त्यस किसिमको कार्यबाट उपभोक्ताहरुलाई पनि निकै लाभ पुगेको देखिन्छ।
बजारमा सामाग्रीहरु सस्तोमा (ठूलो
परिणाममा उत्पादन भएको कारणले गर्दा) उपलब्ध हुँदा उपभोक्ताहरुको क्रय शक्तिमा पनि
वृद्धि हुन पुग्दछ। तर अन्य उपभोग्य सामाग्रीहरु सस्तोमा उपलब्ध भएर क्रेताहरुलाई
फाइद पुगेको देखिएता पनि विभिन्न खाद्य सामाग्रीहरु सस्तोमा उपलब्ध भएर भने
उपभोक्ताहरुको स्वास्थ्यमा ज्यादे नै प्रतिकूल प्रभाव पर्न सक्ने देखिन्छ। खाद्य
सामाग्रीहरुको उत्पादनमा विविधता न हुनु, जन स्वास्थ्यका लागि हितकर भन्दा पनि बढी
मुनाफा हुने किसिमका खाद्य वस्तुहरुको उत्पादन एवं विक्रीमा व्यवसायीहरु केन्द्रित
हुनु, अशल स्वास्थ्यले भन्दा पनि मुनाफाले बढी महत्व पाउनु पूँजीवादका दूरगुणहरु
हुन।
पूँजीवादले व्यवसायीहरुलाई
लागतमा नियन्त्र गरी मुनाफा उच्च पार्ने तरिकाहरु सिकाउँछ। यसले वस्तु वा सेवाको
मूल्य उच्च पारेर भन्दा उत्पादन, बिक्री
एवं अन्य लागतहरु नियन्त्रण गरी, सस्तोमा सामाग्रीहरु बिक्री गरेर व्यवसायीहरुलाई
मुनाफा वृदि गर्न अनेक तरिकाहरु सिकाउँछ। यसै गरी, पूँजीवादले केवल मुनाफा वा
अत्यधिक मुनाफा हुने क्रियाकलापहरु मात्र केन्द्र रहन व्यवसायीहरुलाई उत्प्रेरित
गर्दछ।
विभिन्न
लागतहरु नियन्त्रण गरेर सस्तोमा वस्तु एवं सेवाहरु उत्पादन गरी मुनाफा अभिवृद्धि
गर्न पूँजीवादले व्यवसायीहरु लाई सघाउने र साथै उपभोक्ताहरुलाई पनि सस्तोमा
वस्तुहरु उपलब्ध गराएर उनीहरुको क्रय शक्ति बढाउनमा यसले महत्वपूर्ण योगदान
पुर्याए तापनि कृषि क्षेत्रमा भने पूँजीवादले दीर्घ कालमा ज्यादै नै नकारात्मक
प्रभाव पार्ने देखिन्छ। यस बारे समयमै सचेत हुन
र कृषि क्षेत्रमा पूँजीवादले पार्ने नकारात्मक प्रभाव कसरी कम पार्न सकिन्छ
भनी सोंच्न अति नै आवश्यक देखिन्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 12, 2013
प्रतीक दैनिकमा प्रकाशित Friday, April 12, 2013
No comments:
Post a Comment