पूँजीवादको जन्म, विकास र प्रयोग
८. किन हुन्छ बिरोध पूँजीवादको?
सानो वा ठूलो स्वरमा,
पूँजीवादको सबैतिर निकै बिरोध भएता पनि विकासशील राष्ट्रहरुमा भने यसको चर्को
स्वरमा बिरोध हुने गर्दछ। विकासशील राष्ट्रहरुमा त पूँजीवादको झनै अति चर्को
स्वरमा विरोध हुने गर्दछ। विकासशील राष्ट्रहरुमा कम्युनिष्टहरुले पूँजीवादको बिरोध
गर्ने जिम्मेबारी नै लिए झै गरी बिरोध गर्छन। त्यति मात्र होइन, त्यस्ता राष्ट्रहरुमा
राजनैतिक दलको रुपमा रहेर, राष्ट्रिय राजनीतिलाई प्रभावित पार्न सक्ने क्षमता
राख्ने कम्युनिष्टहरुले मुलुकको अर्थ नीति समेतलाई राज्य नियन्त्रित घेराबाट बाहिर
आउन दिंदैनन्। यो प्रचलन नेपालमा पनि कम छैन। नेपालका कम्युनिष्टहरुले पनि, अझ
जसले आफूलाई विशुद्ध कम्युनिष्ट ठान्दछन, ले पूँजीवादको ठूलो स्वरमा विरोध गर्छन। पूँजीवादको
बिरोध गर्नु आफ्नो धर्म हो भनी ठान्दछन। पूँजीवादले श्रमको शोषण गर्छ भनी आफूहरुले
मात्र विश्वास गर्दैनन् साथै आफ्ना समर्थक एवं सामान्य गरिब जनतालाई पनि
आफ्नो त्यस किसिमको विश्वासमा समर्थन जनाउन बाध्य पार्छन। तर्कले नपुगेर बलद्वारा
पनि पूँजीवादको बिरोध गर्न दबाब दिन्छन्। तर यहाँ प्रश्न उठ्छ, नेपाल लगायत अन्य विकासशील
मुलुकका कम्युनिष्टहरुले बुझेर पूँजीवादको विरोध गरेका हुन वा केवल विरोधका लागि मात्र
विरोध गरेका हुन? के साँच्चै नै पूँजीवादले श्रमको शोषण गर्दछ? के पूँजीवादी अर्थ
तन्त्र अँगालेका मुलुकका गरिबहरुको आर्थिक एवं सामाजिक जिवन ज्यादै कष्टकर छ,
पूँजीवादी अर्थ तन्त्र नअँगालेका मुलुकका गरिबहरुको भन्दा? पूँजीवादी अर्थतन्त्रको
अति नै विरोध हुने राष्ट्रमा के गरिबहरुको आर्थिक हितको संरक्षण भएको छ त? यस
किसिमका प्रश्नहरुको उत्तर खोज्न आवश्यक छ, पूँजीवादको बिरोध गर्नु पूर्व।
पूँजीवादको ज्यादै
छोटो र सरल परिभाषा हो ‘केवल अति आवश्यक परेको अवस्था बाहेक अन्य सामान्य अवस्थामा
राष्ट्रिय अर्थ तन्त्रमा सरकारको नियन्त्रण नहुनु र निजी क्षेत्रलाई स्वतन्त्र
रुपमा कार्य गर्न दिनु।’ पूँजीवादले राष्ट्रको आर्थिक विकासमा निजी क्षेत्रको
भूमिका अहम् हुन्छ भनी वकालत गर्दछ। र यो व्यवहारद्वारा प्रमाणित सत्य पनि हो,
केवल कोरा सिद्धान्त मात्र होइन। निजी क्षेत्रको सक्रिय योगदानको अभावमा राष्ट्रको
आर्थिक विकास सम्भव छैन। कुनै पनि मुलुकमा, धनी वा गरिब, सानो वा ठूलो होस, त्यहाँ
रोजगारीको बृहत् स्रोत निजी क्षेत्र देखिएको छ, सरकार देखिएको छैन। तर पूँजीवादको
बिरोध गर्नेहरुले निजी क्षेत्रको महत्वलाई किन बेवास्त गरेको र सरकारी नियन्त्रणलाई
आर्थिक विकासको सर्वोपरि माध्यम किन मानेको हो बुझि नसक्नु भएको छ। वर्तमान विश्व
परिस्थितिमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका अति नै महत्वपूर्ण
रहेको र राज्य नियन्त्रित अर्थ व्यवस्थाले मुलुकलाई निर्धन तुल्याइ गरिब जनताको
जिवन झनै कष्टकर पार्दै लाने यथार्थ व्यवहारद्वारा नै प्रमाणित भइ सकेको
परिप्रेक्ष्यमा पूँजीवादको बिरोध गर्नुको कुनै औचित्य छैन। पूँजीवादको बिरोध गरेर गरिब
जनतालाई झन झन गरिब हुने वातावरण बनाउनु भन्दा अरु केही हुन सक्तैन। राष्ट्रिय
अर्थ तन्त्रमा सरकारको अति नियन्त्रणले मुलुकको आर्थिक विकास हुनुको साटो देश र
जनता गरिब हुँदै जान्छ भन्ने कुरा पूर्व सोभियत रूसको स्थितिबाट प्रष्ट भएको सबैले
महसुस गरेको कुरा हो। यसै गरी पूँजीवादले देश र जनताको आर्थिक विकास छोटो समयमै चमत्कारी
किसिमले गर्न सकिन्छ भन्ने उदाहरण सं रा अमेरिकाको आर्थिक विकासले प्रष्ट पारेको
पनि सबैले महसुस गरेको यथार्थ हो। अहिले चीनले पनि संयुक्त सं रा अमेरिकाले प्रयोग
गरेको अर्थ नीति (पूँजीवाद) पछ्याइ रहेको छ, राष्ट्रको आर्थिक विकासका लागि, गरिब
जनताको निर्धनता कम पार्नका लागि। मुलुकको आर्थिक विकासका लागि पूँजीवादी अर्थ
व्यवस्था आवश्यक छ भनी उल्लेखन गर्न चीनका नेताहरुले कुनै संकोच मानि रहेका छैनन्,
राजनीतिको क्षेत्रमा, स्वतन्त्र र निष्पक्ष चुनावद्वारा सरकारको चयन हुनु पर्दछ
भन्न नसके तापनि।
पूँजीवाद
बामपन्थीहरुका लागि एक काल्पनिक सत्रु मात्र हो, केवल आफ्नो कार्यकर्ताहरुलाई
डराउनका लागि मात्र, त्यो भन्दा बढी केही पनि होइन। बामपन्थीहरुले प्रतिस्थापित
गर्ने विभिन्न किसिमका काल्पनिक सत्रु र
तिनलाई प्रतिबिम्वित गर्ने शब्दहरु- वर्गीय सत्रु, प्रमुख सत्रु, मुख्य सत्रु,
सामन्त, शोषक, दलाल, साम्राज्यवाद, उपनिवेशवाद, नव उपनिवेशवाद जस्तै पूँजीपति वा पूँजीवाद पनि एक काल्पनिक सत्रु हो। पूँजीपति काल्पनिक
सत्रु यस अर्थमा हो कि अहिलेको यो ‘करपोरेट’ युगमा कुनै एक व्यक्तिले, कुनै
व्यवसायमा, केवल आफ्नो मात्र सम्पूर्ण पूँजी न त लगानी गरेको पाइन्छ न त कुनै
ज्यादै ठूलो व्यवसायमा कुनै एक व्यक्तिको मात्र नियन्त्रण नै रहेको पान्छ। सयौं या
त्यो भन्दा बढी व्यक्तिहरुलाई शेयर बिक्री गरेर ठूलो पूँजीको निर्माण गरिएको हुन्छ
र त्यो पूँजीमाथि अनेकौ लगानीकर्ताहरुको स्वामित्व एवम् नियन्त्रण हुन्छ। त्यसकारण
अहिलेको यो ‘करपोरेट’ युगमा पूँजीपति भन्ने शब्दले कुनै एक व्यक्तिलाई पूँजीपति भनेर
इंगित गर्न सक्तैन। यस परिप्रेक्ष्यमा पूँजीवादको आर्थिक शोषण संग कुनै सम्बन्ध
रहेको पाइँदैन, पहिले यसलाई परिभाषित गरे अनुसार।
माथि उल्लेख गरिएका,
कम्युनिष्टहरुले ठान्ने अन्य सत्रुहरु पनि असान्दर्भिक एवं अर्थहीन भइ सकेका छन्,
यिनीहरुको उपस्थिति समाजमा छैन, अहिलेको विश्वमा। कुनै समयमा थिए, तर अहिले छैनन
किनभने अहिले विश्वको सामाजिक, राजनैतिक र आर्थिक संरचना पूर्ण रुपमा परिवर्तन भइ
सकेको छ। अहिलेको समाज न त मार्क्स कालिन समाज हो, न त लेलिन, न त माओ कालिन नै।
अहिले समाजमा शोषण त छ, तर पहिले भन्दा पृथक किसिमको छ। अहिलेको विश्वमा,
नेदरलैण्डको साम्राज्य छैन। न त अहिले बेलायतको, न त फ्रान्स, न त स्पेनको नै
साम्राज्य छ। यिनीहरुले कुनै समयमा आ आफ्नो साम्राज्य खड गरेका थिए, उपनिवेशको
विस्तार गरेका थिए। उपनिवेश कामय गरिएका मुलुकहरुको साधन, स्रोतको शोषण गरेका थिए,
पूँजीवादको चरम उपयोग गरेका थिए। एक किसिमले भन्ने हो भने विश्वका अनेक
राष्ट्रहरुको यिनीहरुले भाग बण्डा नै लगाएका थिए, आफ्नो राजनैतिक र आर्थिक फाइदा
का लागि। तर अहिलेको यो वर्तमान युगमा कुनै एक राष्ट्र पनि, कुनै अर्को राष्ट्रको
उपनिवेशको रुपमा रहेको छैन। हरेक राष्ट्र सार्वभौम सत्ता सम्पन्न छ, आन्तरीक कलहले
त्यो राष्ट्र राजनैतिक रुपमा अस्थिर देखिनु बेग्लै कुरा हो। संयुक्त राष्ट्र संघले
हरेक राष्ट्रलाई समान रुपले सार्वभौम सत्ता सम्पन्न रहेको मान्दछ, भौगोलिक रुपमा
सानो वा ठूलो भएता पनि वा सामरिक दृष्टिकोणले ज्यादै शक्तिसाली वा कमजोर भएता पनि।
यस किसिमको विश्व परिस्थिति रहेको सन्दर्भमा कुनै राष्ट्रलाई साम्राज्यवादी, उपनिवेशवादी
भनेर गाली गर्नु र सृजनामा लगाउन सकिने समयलाई गाली गर्नमा खर्च गर्नुको कुनै अर्थ
छैन। यसै गरी, विभिन्न किसिमका काल्पनिक सत्रुहरु खडा गरेर ती काल्पनिक सत्रुहरुसँग
लड्न जनतालाई आह्वान गर्नु, काल्पनिक सत्रुहरुलाई गाली गर्न लगाउनु, सोझा जनतालाई
झुक्याउनु हो। आफ्नो उच्च महत्वकांक्षा पूरा गर्न जनतालाई केवल उपयोग गर्नु हो,
उनीहरुलाई सहयोग गर्नुको साटो। गरिब जनताका लागि गरिबीबाट उन्मुक्ति दिलाउने
तरिकाहरु पत्ता लगाउनुको साटो।
खास गरी राजनैतिक
क्षेत्रमा, किन गरिन्छ काल्पनिक सत्रुहरुको रचना? यो प्रश्न अति नै महत्वपूर्ण छ। यस
प्रश्नको उत्तर यस प्रकार खोज्न सकिन्छ। धेरै व्यक्तिहरुलाई आफ्नो हितमा परिचालन
गर्न उनीहरुको बीचमा राम्रो समन्वय कायम हुन जरुरी छ। धेरै व्यक्तिहरु बीच राम्रो
समन्वय हुन उनीहरु बीच एक साझा उद्देश्य हुन आवश्यक छ। कुनै एक व्यक्ति वा
निकाएलाई धेरै व्यकतिहरुको साझा सत्रुको रुपमा स्थापित गरेर त्यो व्यक्ति वा निकाए
सबैको सत्रुको भन्ने विश्वास सबैमा कायम गर्न सकेमा त्यो व्यक्ति बाँकी सबैको साझा
सत्रु हुन पुग्दछ र त्यो साझा सत्रुसँग लड्नु उनीहरुको साझा उद्देश्य हुन पुग्दछ।
र त्यो साझा उद्देश्यले उनीहरु बीच अति नै राम्रो समन्वय कायम गराउँछ, फुट हुन
दिँदैन। यसरी उनीहरु बीच कायम भएको राम्रो समन्वयको उपयोग केवल एक वा सीमित
व्यक्तिहरुको हितमा हुने गर्दछ। त्यसकारण एक वा केही सीमित व्यक्तिहरुले अरु थुपै
व्यक्तिहरुलाई आफ्नो हितमा प्रयोग गर्न उनीहरुलाई एक साझा सत्रुको डर देखाएर
समन्वयित ढंगमा अगाडि बढ्न बाध्य पार्छन, उनीहरुलाई आफ्नो उद्देश्य पूर्तिका लागि प्रयोग
गर्छन। यो ज्यादै प्रचलित फर्मुला हो जुन राजनैतिक क्षेत्रमा ब्यापक मात्रामा
प्रयोग हुन्छ। यो फर्मुलाको प्रयोग भने केही अति स्वार्थी र महत्वकांक्षी
कम्युनिष्ट नेताहरुले अति नै गरे। विगतमा पनि गरे, अहिले पनि गरि रहेका छन। यो
कुरा मुख्य गरी गरिब जनताले बुझ्न अति आवश्यक छ।
पूँजीवाद वा
पूँजीपति पनि केही महत्वाकांक्षी नेताहरु द्वारा आफ्नो उद्देश्य पूर्तिका लागि
निर्माण गरिएको केवल एक काल्पनिक सत्रु व भूत मात्र
हो। पूँजीवादबाट उत्पन्न हुने दुष्परिणामहरुलाई नियन्त्रण गर्न सकिन्छ तर
पूँजीवादको प्रयोग बिना गरिब जनता र मुलुकको आर्थिक विकास हुन सक्तैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, April 19, 2013
No comments:
Post a Comment