Wikipedia

Search results

Friday, March 14, 2014

Some Personal Experiences-Article-116

केही आफ्नै अनुभवहरु

नेपालमा कुनै समय यस्तो थियो जुन बेला पत्र पत्रिकाहरु केवल नेताहरुको भाषण र अन्तरवार्ता, उनीहरु बीचको दाउपेंच र कटुता, सक्ति संघर्ष र जाल झेल जस्ता समाचारहरुले भरिएका हुन्थ्ये। एउटा नेताले गरेको दल बदल पनि कुनै पत्रिकामा प्रमुख समाचार बनेर देखा पर्थ्यो। नेताहरु बीच गाली गलौज भएको छ भने त त्यो समाचार झनै पाठकहरुका लागि चना चटपटेको रुपमा पत्रिकाहरुले चटपटा पारेर छाप्ने गर्थ्ये, पाठक तान्नका लागि। पाठकहरुले पनि चटपटा स्वादका साथ त्यस किसिमका समाचारहरु स्वाद लिएर पढ्ने गर्थ्ये। पाठक तान्न पत्र पत्रिकाहरुले गरेका त्यस किसिमको तरिका वा रणनीतिले पाठकहरुको पत्र पत्रिका पढ्ने रुचि पनि विस्तारे फेरि दिएको थियो। पाठकहरु त्यस किसिमको समाचारहरु खुब स्वाद लिएर पढ्ने गर्थ्ये। समाजलाई हित हुने किसिमका समाचारहरु पढ्न भने उदासिन देखिन्थे।
अर्कोतिर, त्यस किसिमका समाचारहरुले भने नागरिकहरुको आर्थिक एवं सामाजिक जिवनमा सकारात्मक परिवर्तन ल्याउनमा कुनै किसिमको भूमिका खेल्ने गर्थेनन्। नागरिकहरुलाई आर्थिक एवं सामाजिक विकासको बाटोमा लम्किन कुनै किसिमको मार्ग दर्शन गराउने काम गर्थेनन्। उल्टो जाल झेल, दाउपेंच गरेर कसरी सक्तिशाली बन्न सकिन्छ भन्ने तरिकाहरु सिकाउने गर्थ्ये। व्यक्तिमा, आफ्नो योग्यतामा भन्दा जाल झेल, कुटिलतामा विश्वास गर्ने मनोविज्ञान निर्माण गर्थ्ये।  
अहिले भने समय बदलिएको छ। आज भोलि आर्थिक समाचारहरु पत्रिकाहरुमा नियमित किसिमले एवं केही अवस्थाहरुमा प्रमुखताका साथ छापिएको पनि देखिन थालेको छ। यो ज्यादै सुखद कुरा हो। यस किसिमको अभ्यासले व्यक्ति, परिवार, समाज एवं मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्याउँछ। उदाहरणका लागि कुनै एउटा नेताले दल भित्र वा बाहिर रहेको आफ्नो प्रतिद्वन्दिलाई कसरी पराजित पार्यो, त्यो नेताले आफ्नो दलको अध्यक्ष हुन के कस्ता दाउपेंच खेल्यो, आफू रहेको दल विभाजित गरेर कसरी अर्को दल बनायो जस्ता समाचारहरु, आम पाठकहरुले पढ्दा एकै छिनका लागि उनीहरुलाई रमाइलो गराउने किसिमका त हुन्छन तर तिनले ती आम पाठकहरुको जिवनमा कुनै किसिमका सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउँदैनन्। ती समाचारहरुले निर्रथक हुन्छन्।
राजनीतिका दाउपेंचहरुले भरिएका समाचारहरु भन्दा ती समाचारहरु महत्वपूर्ण हुन्छन् जसमा कुनै अति साधारण व्यक्तिले खास किसिमको कार्य गरेर आफ्नो परिवार र समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको हुन्छ। अति सामान्य व्यक्तिले गरेका त्यस किसिमका महत्वपूर्ण कार्यहरुले पाठकहरुलाई मेहनत गर्न, अविचलित भएर लक्ष्य प्राप्ति गर्न एवं आशवादी हुन उत्प्रेरित गर्दछन्। संघर्ष गरेर गरिबीबाट छुटकारा पाउने बाटो देखाउँ छन्।  
यसै प्रसंगमा केही आफ्ना अनुभवहरु यहाँ उल्लेख गर्न सान्दर्भिक लाग्यो। यो स्तम्भकारलाई, गएको मंसिर (२०७० साल) महिनामा, बीरगंजको केही हप्ताको बसाइमा विभिन्न किसिमका अनुभवहरु हासिल गर्ने औसर जुट्यो। आफू आर्थिक क्षेत्रमा बढी चांसो राख्ने भएकोले मेरा केही खास अनुभवहरु पनि आर्थिक विषयका सेरोफेरो मै हासिल हुन पुगेका थिए। म यहाँ दुई ओटा मात्र अनुभव राख्ने अनुमति चाहन्छु। पहिलो अनुभव- बीरगंजको माइस्थान चौकबाट प्रतीक प्रकाशन समूहको कार्यालय, श्रीपुर पुग्न म रिक्सामा चढेर जांदै थिए। मेरो स्वभाव (आर्थिक एवं सामाजिक क्षेत्र लगाएत गरिबीमा बढी चांसो राख्ने) अनुसार मैले त्यो रिक्साबालालाई तिम्रो घर कहाँ हो भनी सोधे। उनले “आदापुर” भने। कलैयाको नजीक रहेको आदापुर भारतको बिहार राज्यको एक सानो शहर हो भन्ने मलाई थाहा थियो र म त्यहाँ धेरै पटक पुगेको पनि छु। ती रिक्साबालाको जबाफबाट अचम्म पर्दै मैले उनलाई सोधे “अहिले भारतमा निकै आर्थिक प्रगति हुँदैछ, बिहारले त आर्थिक प्रगतिमा भारतको अन्य राज्यहरुलाई उछिन्ने तरखर गर्दैछ। यस्तो स्थितिमा तिमी रोजगारीका लागि यहाँ (बीरगंज) किन आइ पुग्यौ?” रिक्साबालाले जबाफ दिए “तपाँईले भन्नु भएको कुरा ठीक हो। म रोजगारीका लागि यहाँ (बीरगंज) आउने कारण पनि त्यै विकासले गर्दा हो। आजभोलि आदापुरमा रिक्साहरु ज्यादै कम चल्छन। रिक्साहरुलाइ मोटर गाडीहरुले विस्थापित गर्दै छन। त्यसकारण त्यहाँ (आदापुर) रिक्सा ज्यादै कम चल्ने हुनाले म यहाँ आएको, रिक्सा चलाउन। दुई पैसा कमाउन।”
"हरेक दिन आदापुरबाट बीरगंज आएर रिक्सा चलाउनु अति गार्हो हुँदैन?” मेरो यो प्रश्नमा उनले भने “गार्हो त हुन्छ तर बाल बच्चा, परिवार पाल्न खर्च जुटाउनु त पर्यो। अनि त्यो खर्च जुटाउन कुनै काम त गर्नु पर्यो नि, कि परेन?” उनले थपे “बिहान चार पाँच बजे साईकलमा चढेर बीरगंजका लागि आदापुरबाट हिँड्छु। बाटोमा एक डेढ घण्टा लाग्छ। बीरगंज पुगेर, गराजबाट रिक्सा झिकेर चलाउन लग्छु, सडकहरुमा। साँझ पाँच छ बजेतिर रिक्सा फर्काएर गराजमा लग्छु अनि त्यहाँ राखेको आफ्नो साइकल झिकी त्यसमा चढेर, घर, आदापुर फर्किन्छु। मेरो प्रत्येक दिनको कार्य यही हो। मैले बिगत १३। १४ वर्षदेखि रिक्सा चलाएर बाल बच्चा, परिबार पालि रहेको छु।”
दोस्रो अनुभव- अर्को पटक, म रिक्सा चढेर प्रतीक प्रकाशन समूहको कार्यालयबाट आदर्शनगर (बीरगंज) जाँदै थिएँ। म चढेको रिक्साबालाले त्यति बेलाको मौसम अनुसार सामान्य जाडो भएता पनि मोटो ज्याकेट लगाएका थिए र उनलाई पसिना पनि आइ रहेको थियो। कुराकानी गर्ने अभिप्रायले मैले उनलाई प्रश्न गरे “जाडो त त्यति छैन, किन ज्याकेट लगाएको होला भाई?” मेरो प्रश्नको उत्तरमा उनले भने “म ज्याकेट लगाउँ वा नलगाउँ तिमीलाई के को चाँसो? तिमीहरु आफूलाई के सम्झन्छौ? आफ्नो काम सँग मतलब राख। म साधारण मान्छे हो? चिन्छौ म को हुँ?” यति भने पछि ती रिक्साबालाले मलाई एउटा सानो पर्चा दिए, पढ्न। मैले त्यो पर्चा पुरा पढिन। उनले चर्को स्वरमा भने “पुरा पढ्नुस न।” मैले जबाफमा भने “यो एक राजनैतिक दलको पर्चा हो र यसमा के लेखेको छ मैले पढिसकेको छु।” ती रिक्साबालाले अलि झोंकिदै भने “म यो (पर्चामा उल्लेख भएको) राजनैतिक दलको सदस्य हो, बुझ्नु भयो?”
ती रिक्साबाला सँग मैले लामो बाद बिबाद गर्न चाहिन, केवल उनले भनेका कुराहरु सुने मात्र। उनले दिउँसै (काम गर्नु पर्न समयमा) रक्सी खाएको प्रमाण उनको मुख गन्हाएको स्थितिबाट भेटिन्थ्यो। र अर्को कुरा, उनको मुख अलि सुन्निएको पनि थियो। त्यसबाट उनी रक्सीको लतमा फंसेको भन्ने कुराको अनुमान गर्न सकिन्थ्यो।
माथिका मेरा ती दुई अनुभवहरुको विश्लेषण गरौ। मेरो पहिलो अनुभवबाट मैले पाएको शिक्षा- मानिसले औसरको खोजि गरेर आफ्नो लागि आफैले रोजगारी सृजना गर्न सक्छ। प्राप्त साधनहरुको व्यवस्थित प्रयोग गरेर आफ्नो र परिवारको भविष्य राम्रो पार्न सक्छ। यसै गरी संघर्ष गरेर गरिबीलाई कम पार्न सक्छ। दोस्रो अनुभवबाट पाएको शिक्षा- आफू सँग भएका साधन र स्रोतहरुको उपयोग ठीक सँग गर्न नसेकमा त्यस्तो गर्ने व्यक्तिले त दुख पाउँछ नै उसको परिवारले पनि दुख पाउँछ। त्यति मात्र होइन, त्यस्तो गर्नेको व्यवहारमा सकारात्मक परिवर्तन नआए ऊ बरबाद पनि हुन्छ।
सर्वाधिक महत्वपूर्ण शिक्षा- गरिबीको सम्बन्ध केवल धन सम्पत्ति सँग मात्र छैन, ज्ञानसँग पनि छ। ज्ञानसँग अझै बढी छ। धन सम्पत्ति भएको मान्छे पनि उचित ज्ञानको अभावमा गरिब हुन सक्छ। अर्कोतिर धन सम्पत्ति नभएको मान्छे पनि अति आवश्यक ज्ञान, सिप आदिले युक्त छ भने उसले त्यो ज्ञान उपयोग गरेर आफूलाई धनी पार्न सक्छ।
व्यक्तिमा चेतना जगाउने, गरिबीबाट छुटकारा पाउने तरिकाहरु देखाउने, परिश्रम र आँट गरेर समृद्धि हासिल गर्न सकिन्छ भनी उत्प्रेरित गर्ने किसिमका समाचारहरुले अझै बढी महत्व पाउनु पर्ने देखिन्छ। यस किसिमक समाचारहरुलाई पत्र पत्रिकाहरुले अति महत्वका साथ छाप्न पनि उत्तिकै आवश्यक छ। व्यक्तिहरु जति बढी चेतनशील हुन्छन त्यति नै बढी मात्रामा उनीहरु गरिबीबाट छुटकारा पाउन नया नया तरिकाहरु खोज्न क्रियाशील हुन्छन। यसै गरी, एउटा व्यक्तिले भारि बोकेर वा ठेला चलाएर पनि, बाल बच्चालाई उचित शिक्षा दिएर, चार जनाको परिवार चलाएको स्थिति अन्य गरिबहरुलाई त्यस किसिमबाट संघर्ष गर्न उत्प्रेरित गर्ने समचार बन्न सक्छ, समाचार पत्रको प्रमुख पृष्ठमा आउन सक्छ, आउनु पर्छ पनि। एउटा घुसखोर एवं भ्रष्ट नेताले विकासका लागि यसो गर्नु पर्छ विकासका लागि उसो गर्नु पर्छ भनी छांटेको भाषण समाचार पत्रमामा छाप्नु भन्दा त्यस किसिमको समाचारहरु छापिनु पर्दछ। र तिनले महत्व पाउनु पर्दछ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, March 14, 2014

No comments:

Post a Comment