Wikipedia

Search results

Friday, March 28, 2014

Crimea's Crisis and Its Effects on Global Economy-Article-118

क्रिमिया संकटको विश्व अर्थव्यवस्थामा प्रभाव

चार वर्षदेखि चलिरहेको सिरियाको गृह युद्ध र त्यहाँ भएका ठूला ठूला हिंसाका घटनाहरुलाई छाडेर कुरा गर्ने हो भने विश्वमा अहिले द्वन्द सृजित त्यति विकराल मानवीय समस्याहरु देखिएका छैनन्। हुन त अफगानिस्तान, इराक, सोमालिया, नाइजेरिया, भेनेज्येला, इजिप्ट लगायत अरु केही मुलुकहरुमा बेला बेला हुने अशान्तिको क्रम भने रोकिएको छैन्। तर यी वा यस्तै अवस्था भएका अन्य केही राष्ट्रहरुमा भने सिरियाको जस्तो गंभिर मानवीय समस्या देखिएको छैन, हालसम्मका लागि। यस प्रकार विश्वमा अहिले पूर्ण शान्ति नभएता पनि अति नै अशान्तिको स्थिति छैन। तर हालै भएको रुसी राष्ट्रपति भ्लादमिर पुटिनको महत्वाकांक्षा विस्तारको नया संस्करणले विश्वलाई ठूलो अशान्तिको दिशा तर्फ धकेल्ने हो कि भनी चिन्ता गर्न थालिएको छ। समाप्त भएको सीत युद्ध पुन: आरम्भ हुने हो कि भनी अनुमान गर्न थालिएको छ। केहीले त पुटिनको यो महत्वाकांक्षाले विश्वलाई दुई गुटमा बाड्ने अनि ठूलै युद्ध हुन सक्ने भनी अडकल काटिरहेका छन्। पुटिनले केही समय पहिले युक्रेनको हिस्सा रहेको क्रिमियालाई रुसमा बिलय गराएका थिए। एक सार्भौमसत्ता सम्पन्न राष्ट्रको भू-भालाई कुटिल राजनीति एवं सैन्य बल प्रयोग गरेर आफ्नो मुलुकमा गाभेका थिए।
पुटिन र उनका वृतमा रहेका व्यक्तिहरुको योजना अनुसार, फेब्रुअरी २७-२८,  २०१४ मा, रुस समर्थित बन्दुकधारीहरुले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएर रुसद्वारा रुचाइएका व्यक्ति-सर्गेइ आक्सिनोभलाई त्यहाँको प्रधान मंत्री नियुक्त गरेका थिए। मार्च ६ मा माक्रिमियाको संसदले क्रिमियालाई रुसमा बिलय गराउने भनी मतदान गरेको थियो। यति मात्र होइन, मार्च १६ मा, थप बढी स्वायत्ताका साथ युक्रेनको भू-भाग रहेन वा रुसमा बिलय हुने भनी आफ्नो इच्छा जाहेर गर्न क्रमियाका नागरिकहरुलाई जनमत संग्रहमा भाग लिन लगाइएको थियो, जुन रुसकै योजनाको एउटा भाग थियो। सो जनमत संग्रहको परिणामले क्रिमियालाई रुसमा गाभ्न अनुमति दिएको थयो। विवादित उक्त जनमत संग्रहलाई यूरोपेली राष्ट्रहरु लगायत विश्वका अन्य धेरे राष्ट्रहरुले मान्यता भने दिएनन् र सो कार्यको निन्दा एव चर्को स्वरमा विरोध समेत गरे। तर यी सबै बिरोधहरुको बाबजुत पनि क्रिमियाको संसदले, मार्च १७ मा, युक्रेनबाट क्रिमिया स्वतन्त्र भएको र रुसमा बिलय हुन तयार रहेको भनी घोषणा गर्यो। रुस र क्रिमियाका अधिकारीहरुले क्रिमियालाई रुसमा बिलय गर्ने भनी उल्लेख भएको सहमति पत्रमा, मार्च१८ मा, मास्कोमा हस्ताक्षर गरे। यसरी एक सार्भौमसत्ता सम्पन्न राष्ट्रका केही नागरिकहरु केही दिनमै अर्को त्यस्तो राष्ट्रको नागरिक हुने पुगे जुन राष्ट्रले बल प्रयोग गरेर कुनै मुलुकको नागरिकलाई आफ्नो मुलुकमा बिलय हुन बाध्य पारेको थियो। केही व्यक्तिहरुको महत्वांकाक्षाको कारणले गर्दा एक मुलुकका नागरिकहरु अर्को मुलुकको नागरिक हुन बाध्य भएका थिए। ती महत्वाकांक्षी व्यक्तिहरुको नेतृत्व भने पुटिनले गरेका थिए। राष्ट्रवादी नारा चर्काएर रुसी जनताको मन जित्न प्रयासरत रहेका पुटिन बाहिरी रुपमा अति राष्ट्रवादी र लोकप्रिय नेताका रुपमा देखिए पनि भित्री रुपमा उनी राष्ट्रवादी नारा चर्काएर रुसी राजनीतिमा आफ्नो पकड दीर्घकालिन रुपमा बलियो बनाउने दाउमा रहेको प्रष्ट हुन आउँछ। तर पुटिनको क्रिमियाप्रतिको यो व्यवहारले जन्माउने समस्याहरुले रुसी जनतालाई आर्थिक रुपमा निकै प्रतिकूल प्रभाव पार्ने अनुमान गर्न थालिएको छ। सं रा अमेरिका र यूरोपियन यूनियनले रुसमाथि आर्थिक प्रतिवन्धहरु लगाउने घोषणा गरि सकेका  छन्। अर्कोतिर, क्रिमियाको जनता अर्को मुलुकको जनतामा रुपान्तरि हुँदा उत्पन्न हुने अनेक राजनैतिक, कानूनी एवं आर्थिक समस्याहरुको लेखा जोखा हुन अझ बाँकी नै छ। बिलय र विभाजन जहिले पनि असहज हुने गर्दछ। इतिहासले यही भन्छ।
रुसमाथि लगाइने आर्थिक प्रतिबन्धहरुले लघुकालिन र दीर्घकालिन दुबै किसिमले रुसी जनतालाई असर पार्ने देखिन्छ। हुनत रुसमाथि लगाइने आर्थिक प्रतिबन्धले युरोपियन यूनियन मात्र होइन, विश्वका अन्य राष्ट्रहरुलाई पनि प्रभाव पार्नेछ। तर विशेषज्ञहरुको विचारमा यो प्रतिबन्धले रुसलाई भने बढी आर्थिक प्रभाव पार्नेछ। केही समय पहिले मात्र रुसको एक ठूलो बैंकका प्रमुखले रुस मन्दीको नजिक पुग्न आटेको उल्लेख गरेका थिए। यसै गरी, हालै मात्र जि७ ( G7- Group of industrialized countries)  ले रुसलाई जि८ बाट निष्कासित गरेको घोषणा गरेको थियो। रुस सो समूहमा हुँदा यसलाई जि८ भन्ने गरिन्थ्यो। जि ७ का नेताहरुले रुसको सोचीमा हुने भनिएको जि ८ को सिखर सम्मेलन रद्द गरिएको र अब सो सिखर सम्मेलन रुसलाई सम्मिलित नगरी ब्रसेल्समा हुने भनी घोषणा गरेका छन।
यूरोका धेरै मुलुकहरुले रुसबाट ठूलो परिणामा आयात गर्दछन। र यसै गरि रुसका धेरै नागरिकहरु यूरोपका विभिन्न राष्ट्रहरुमा बसोबास गर्नुका साथै धेरै रुसीहरुले यूरोपमा लगानी पनि गरेका छन। रुसमा लगाइने आर्थिक प्रतिवन्धहरुले निश्चय रुपमा रुसी अर्थ तन्त्रलाई प्रतिकूल प्रभाव पार्नेछ र सबै भन्दा बढी सामान्य रुसी नागरिकहरु प्रभावित हुनेछन। ब्रिक्स (BRICS- Brazil, Russ, India, China and S Africa) को एक सदस्य राष्ट्र रुस, जो आफ्नो मुलुकलाई विश्व अर्थ व्यवस्थामा गाभेर आर्थिक प्रग्रतिको दिशामा तिब्र गतिमा अग्रसर छ, लाई ऊ माथि लगाइने विभिन्न आर्थिक प्रतिबन्धहरुले  प्रतिकूल प्रभाव पार्नेछन् भन्ने कुरामा दुई मत हुन सक्तैन। विडम्वनापूर्ण  त के हुने छ भने महत्वाकांक्षी नेताहरुको व्यवहारद्वारा सृजित समस्याहरुको सामना गरिब जनताले गर्नु पर्नैछ र त्यस्तै स्थिति सृजना रुसमा हुन गइ रहेको छ। पुटिनको महत्वाकांक्षाको मूल्य सामान्य, गरिब रुसी जनताले चुकाउने पर्नेछ, यदि साँच्चिकै रुपमा, रुसमा लगाइने आर्थिक प्रतिबन्धहरु कठोर भएर प्रस्तुत भएमा। जुन सुकै मुलुकमा पनि र जस्तो सुकै धनी हुँ भन्ने राष्ट्रमा पनि, अस्थिर आर्थिक अवस्था र त्यसबाट उब्जिने दुष्परिणमाहरुले सबै भन्दा पहिले त्यहाँको गरिब जनतालाई पिरोल्ने गर्दछन्। तर गरिब जनताको चाहना मुलुकको सीमा र सक्ति विस्तार भन्दा पनि दुई छाक ढुक्क संग खान पाइयोस भन्ने  रहेको हुन्छ। कुनै पनि मुलुकको गरिब जनताको प्राथमिकतामा सर्वप्रथम आर्थिक खुसहाली नै पर्दछ। लडाइ झगडा गरिब जनताको माग कहिले हुँदैन। लडाइ झगडा नेताहरुको उच्च महत्वाकंक्षाको गर्भबाट जन्मिने गर्दछ। यो तथ्य विश्वभरका मुलुकहरुमा देख्न सकिन्छ।  
क्रिमियाको घटनाबाट युक्रेन मात्र होइन, रुसका अन्य छिमेकी राष्ट्रहरु पनि ससंकित हुन पुगेका छन। यूरोपेली यूनियन र अमेरिकाले पनि रुसको यस कदको चर्को बिरोध र निन्दा गरि सकेका छन्। एक किसिमले भन्ने हो भने विश्व जनमत नै रुसी अधिकारीहरुको यो कार्यवाहीको विपक्षमा छ। तर पनि सुखद कुरा के छ  भने, अहिलेसम्मको स्थितिको विश्लेषण गर्दा, यो रुसी कार्यवाहीको बिपक्षमा रहेका राष्ट्रहरुमध्ये कुनै पनि एक राष्ट्रले रुसको बिरोधमा सैनिक कार्यवाही गर्नु पर्छ भनि माग गरी रहेको छैन्। सबै राष्ट्रहरु युद्धको विभिषिकाबाट त्रसित छन। युद्धले गर्ने जन धनको क्षतिबाट बच्न खोजि रहेका छन। कुनै अन्य राष्ट्रको हितको रक्षा गर्न आफ्नो मुलुकलाई गरिब पार्न चाहि रहेका छैनन्। मुलुकलाई झमेलामा पस्न देखि जोगाइ रहेका छन्। त्यस कारणले रुसको बिरुदधमा अहिले कुनै किसिमको सैनिक कार्यवाही हुने सम्भावना रहेको देखिंदैन। कुनै किसिमको युदध् हुने सम्भावना रहेको देखिंदैन। तर क्रिमिया समस्याले भने अर्को युद्ध निम्त्याउने संकेत दिइरहेको छ। र त्यो युद्ध हो व्यापार युध्द। रुसले अब आफ्ना विपक्षी राष्ट्रहरुसँग व्यापार युद्ध गर्नु पर्नेछ। र व्यापार युद्ध पनि निकै दुष्कर हुने गर्दछ। यसले मन्द विषले झै विस्तारै प्रभाव पार्ने गर्दछ। सबै भन्दा बढी यसले गरिब जनतालाई प्रभाव पार्ने गर्दछ।
क्रिमिया समस्याले रुसको अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्ने छ नै साथै यूरोपेली राष्ट्रहरुलाई पनि उत्तिकै प्रभाव पार्नेछ किनभने यूरोपका धेरै राष्ट्रहरु संग रुसको व्यापारिक साझेदारी छ। अर्कोतिर, यूरोपका धेरै राष्ट्रहरु पहिलेदेखि नै आर्थिक समस्याको दलदलमा फंसेका छन। अब यो नया सृजिएको समस्याले भने ती राष्ट्रहरुलाई झनै बढी आर्थिक कठिनाइहरु थप्ने छ। यसरी, आउने समय विश्व आर्थिक जगतको लागि सुखद भने देखिंदैन। यूरोपलाई पर्ने आर्थिक कुप्रभावबाट एशिया पनि जोगिएर बस्न सक्तैन। यूरोपको दूरा आर्थिक अवस्थाको प्रभाव  एशियामा पनि अवस्य पर्नेछ। यसै गरि, यूरोपमा उत्पन्न हुने आर्थिक समस्याहरुले नेपाललाई पनि प्रभाव पार्नेछ। नेपालको पर्यटन क्षेत्रलाई यो समस्याले बढी पिरोल्ने देखिन्छ।
आशा गरौ पुटिनले आफ्नो उच्च महत्वाकांक्षालाई नियन्त्रित गर्नैछन् र अझै विस्तारित हुनबाट रोक्ने छन्। उनको महत्वाकांक्षा विस्तारले व्यापार युद्ध शुरु हुने र त्यसबाट रुसको गरिब जनता मात्र होइन, विश्वका अन्य विभिन्न राष्ट्रका गरिब जनता समेत प्रभावित हुने यथार्थ बुझि दिने छन्। अहिलेको लागि यही कामना गरौ।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, March 28, 2014

No comments:

Post a Comment