भारतमा सत्ता
परिवर्तन: नेपालमा त्यसको आर्थिक प्रभाव
भारतका प्रस्तावित
प्रधान मंत्री नरेन्द्र मोदीको बारे थप परिचय दिन अब आवश्यक छैन। भरतीय उपमहाद्विप
मात्र होइन, सारा विश्वले नै मोदीको यो चमत्कारी चुनावी विजयलाई कौतुहलता, चाँसो र
आशाका साथ हेरि रहेको छ। विश्वका ठूला ठूला संचार माध्यमहरुले मोदीको यो विजयलाई
थप महत्वका साथ प्रकाशित गरे र अहिले पनि गरि रहेका छन्। मोदी, एशिया मात्र होइन
सम्पूर्ण संसारमा नै, एक गरिब परिबारबाट आएका साधारण व्यक्ति जो पहिले चिया
बिक्रेता हुँदै केवल एक क्षेत्रीय (गुजरातका) नेता मात्र थिए, छोटो समय नै
राष्ट्रिय नेता हुँदै अन्तरार्ष्टिय नेता समेत हुन पुगेका छन्। मोदीले नेहरु
परिवारका सदस्यहरु वा अन्य केही नेताहरुले झै बनी बनाउ राजनीति क्षेत्र पाएका
होइनन। मोदीले आफ्नो राजनीति क्षेत्र आफैले बनाए, राजनीतिको खेति गर्न आफैले जेमिन
कोडे, रोपे अनि फल फलाए। उनको परिबारले राजनीतिसँग कुनै खास सम्बन्ध राख्दैन। मोदीको
लोकप्रियतालाई हेर्दा उनको लोकप्रियता महात्मा गाँधीको लोकप्रियताको हारा हारीमा
पुग्न खोजेको देखिन्छ। तर यो स्थिति, उनले आफ्नो लोकप्रियताको स्तरलाई यसै गरी
कायम राख्न सके मात्र सम्भव हुनेछ। र यसका लागि मोदीले आफ्नो कट्टर हिन्दुवादी
नेताको छवि उतारेरर सम्पूर्ण भारतीयहरुको नेताको रुपमा स्थापित गर्नु पर्नेछ। हुनत
गाँधी र मोदीलाई समान किसिमले तुलना गर्न भने मिल्दैन किनभने यी दुई नेताहरुलाई दुई
अलग अलग राष्ट्रिय परिस्थितिले नेताको रुपमा जन्माएका हुन। दुबैको समय पनि ज्यादै
नै पृथक पृथक छ। र दुबैको क्षेत्र पनि अलग छ। गाँधी एक राजनैतिक नेता थिए भने मोदी
आर्थिक नेता हुन। मोदीको कार्यकालमा गुजरातमा जुन किसिमको आर्थिक
प्रगति भयो त्यो प्रगतिले नै मोदीलाई एक आर्थिक नेताको रुपमा स्थापित र परिचित गरायो।
मोदीको लोकप्रियताको आधार पनि आर्थिक विकासप्रति उनको निष्ठा र समर्पण हो। आर्थिक
भ्रष्टाचारमुक्त उनको छवि हो। अहिलेका ताजा परिस्थितिहरुले त्येही तथ्य देखाउँछन्।
भोलिका कुरा भोलि गरिएला।
भारतमा समाजवादको
जुन थोड बहुत अवशेष थियो र जसले पूँजीवादको दिशातर्फ दौडिन खोजेको भारतलाई बेला
बेलामा रोडा ढुंगा ओछ्याएर बाधा पुर्याइ रहेको थियो, केन्द्र सरकारमा मोदीको पकड
बलियो भए सँगै त्यो अवशेष अब क्रमिक रुपमा समाप्त भएर जानेछ। मोदी- नेतृत्व
सरकारले भारतलाई पूँजीवादको दिशामा तिब्र गतिमा दौडाउने छ र अब ‘गुजरात आर्थिक
मोडेल’ को अभ्यास भारतका अन्य राज्यहरुमा पनि गरिने छ। खास गरि पश्चिम बंगाल,
उडिसा, आसाम जस्ता सुस्त गतिमा प्रगति पथमा लम्केका राज्यहरुमा। तर मोदी आफै पनि
एक गरिब परिबारबाट आएको र गरिबीको पीडा राम्रो गरी बुझेको हुनाले उनले अब भारतमा
अभ्यास हुने ‘फुले फेज’ को पूँजीवादलाई गरिबहरुको हित भन्दा मिलौं टाढा हुन भने
दिने छैनन्। पूँजीवादको प्रयोग गरिब जनताको हितमा गर्ने छन। पूँजीवादको
कुप्रभावहरुलाई सके जति नियन्त्रण गर्ने प्रयास गर्ने छन्। उनले सार्वजनिक
समारोहहरुमा गरिबका लागि सोंच्ने र गरिबका लागि काम गर्ने बाचा गर्नुका साथै उनको
सरकारले गरिब, युवक र आमा बहिनीहरुका लागि ठोस कार्य गर्ने प्रतिवद्धता जनाएका पनि
थिए। तर पूँजीवादको कुप्रभावलाई कम पार्दै गरिबको हितमा काम गर्न सक्नु असम्भव
नभएता पनि त्यति सजिलो भने अवश्य पनि छैन। मोदीको लोकप्रियताको आयुको निर्धारण र परीक्षण
पनि भविष्यमा यही तथ्यले गर्नेछ। राष्ट्रिय आय वितरणमा देखिएको ठूलो असमानताको
कारण भारतमा बढ्दो रुपमा रहेको नक्सली प्रभावलाई पनि मोदीले कुशलतापूर्वक सम्बोधन
गर्नु पर्नैछ।
भारतका पुराना
दिग्गज नेताहरुलाई पछाडि पार्दै छोटो समयमा नै मोदी सम्पूर्ण भारतमा कसरी चर्चित र
लोकप्रिय नेता हुने पुगे? यो प्रश्न आफैमा निकै महत्वपूर्ण छ। मोदीको
लोकप्रियतालाई चेक झै भजाउँदै विगत चुनावमा भारतीय जनता पार्टी, भाजपाले उनको नाम
अगाडि सारेर पार्टीका लागि भोट मागेको थियो। उनले वाराणसीबाट पनि चुनाव लड्नुले यस
कुराको पुष्टि गर्दछ। भारतमा गरिबी कम पार्ने र रोजगारीहरुको सृजना गर्ने मोदीको आकर्षक
नाराबाट लोभिएर मतदाताहरुले उनलाई ठूलो संख्यामा मत दिएर बिजयी तुल्याए। त्यति
मात्र होइन, मतादाताहरुले मोदी संलग्न रहेको पार्टीलाई पनि ठूलो संख्यामा मत दिएर
एक बलियो र ठूलो पार्टीको रुपमा पुर्याए। संसदीय दलको बैठमा मोदी नेतृत्वको
प्रसंशा गर्दै बिरिष्ठ नेता आडवाणीले यस्तो पनि भने, “मोदीभाइको कृपाले भाजपाले
यत्रो ठूलो विजय पाएको हो।” तर समग्रमा हेर्दा भाजपालई भारि सफलता दिलाउनमा मोदीको
भूमिका ज्यादै ठूलो भएता पनि मोदीलाई राष्ट्रिय स्तरमा चर्चित गराउनमा भाजपाको पनि
ठूलो योगदान छ। भाजपाको हिन्दुवादी छविले
मोदीलाई लोकप्रियताको सिखरमा पुर्याउन भर्यांगको काम गर्यो, सिखरमा पुग्न भलै
मोदीले आफ्नै खुट्टाको प्रयोग गरेता पनि। यो तथ्यलाई स्वीकार गर्दै मोदीले पनि
यस्तो भने, “सबैले देख्दा र परबाट हेर्दा मोदी-मोदी भन्ने हुन्छ तर पार्टीका
बरिष्ठ नेताहरुले मलाई काँधमा राखेकोले म देखिएको हुँ, मोदी आफैमा केही होइन।”
मोदी - भाजपा सम्बन्ध ढुंगालाई माटोको भर माटोलाई ढुंगाको भर जस्तो देखिन्छ। एक चमत्कारी नेता र एक
राजनैतिक दल बीच यस किसिमको सम्बन्धको संयोग राजनीतिमा बिरलै देखिन्छ। अब आउने
समयमा मोदी एक अत्यन्त बलियो प्रधान मंत्रीको रुपमा देखिने छन् भने भाजपा पनि एक
बलियो राजनैतिक दलको रुपमा स्थापित हुनेछ, तर स्थितिले साथ दिएमा, मोदी र भाजपाले
जनताको मन जित्न सकेमा। तर मोदीको
नतृत्वमा भएको गुजरातको आर्थिक विकासलाई भुल्न मिल्दैन। उनको एकल योगदानलाई पनि
स्वीकार गर्नुको विकल्प छैन्।
भारतको राजकीय
सत्तामा भाजपाको पकड र उच्च प्रशासकीय पदमा मोदीको पहुँच पछि भारतमा प्रारम्भ हुन
थालेको आर्थिक विकासको एक नया युग, जसमा राष्ट्रवाद र हिन्दुवादलाई केन्द्रमा
राखिने छ, ले भारतका ती परिबारहरु, जो केवल गरिबीबाट मात्र होइन, अज्ञानता,
अशिक्षा, कुपोषण, रोग, अन्धविश्वास जस्ता घातक तत्वहरुबाट पनि उत्तिकै सताइएका
छन्, को भलाइ का लागि के के कस्ता कार्यहरु गर्ने छ त्यो कुरा आउने भविष्यले नै
बताउने छ। यसै गरी यो स्थितिको असर नेपालमा पनि कस्तो किसिमले पर्नेछ त्यसको
लेखाजोखा गर्नु पनि सान्दर्भिक देखिन्छ।
भारतमा आउन थालेको
नया स्थितिले भारतमा स्वदेशी एवं विदेशी लगानी वृद्धि गर्नमा योगदान पुर्याउने छ।
यसबाट रोजगारीका थप अवसरहरु सृजना भएर नेपालीहरुले पनि भारतमा रोजगारी (श्रमिक र
अदक्ष कामदारको रुपमा) पाउने छन्। यसै गरी नेपालले भारतलाई आवस्यक पर्ने थप कच्चा
सामाग्रीहरुको निर्यात गर्न सक्छ। समाचारहरुमा, अब बन्ने मोदी सरकारले पशुपतिदेखि
तिरुपतिसम्मको बाटो निर्माण गर्न र नेपालमा धार्मिक पर्यटकहरु भित्र्याउन सहयोग
पुर्याउन चाँसो देखाउने पनि उल्लेख गरिएको छ। साथै मोदीले नेपाल प्रतिको सद्भाव
स्वरुप अम्बानी समूहलाई नेपालको जल बिधृत मा लगानी गर्न अनुरोध गर्न सक्छन। यस्तो
गर्ने सम्भावना पनि छ। भारतमा, कांग्रेस सरकारमा हुँदा नेपाल र भारत बीचको सम्बन्ध
चिसिएको थियो। त्यो चिसिएको सम्बन्धलाई अब आफ्नो समयमा न्यानो पारेर, अझै सुमधुर
बनाउने जस मोदीले लिन सक्छन। कांस्रेस सरकारले नेपालसँगको सम्बन्धलाई कटुतापूर्ण
बनाएको विपक्षीहरुको आरोप कांग्रेसी नेताहरुले खेप्दै आएका छन् पनि।
मुख्य गरि
कांग्रेसको समयमा, नेपाल सम्बन्धी नीति निर्माण भारतका ब्युरोक्रेट्सहरुले गर्दै
आएकोमा, अब सत्तामा भाजपा र मोदीको पकड
बलियो भए सँगै, यो नयाँ स्थितिमा नेपाल सम्बन्धी नीति निर्माणमा राजनैतिक
नेताहरूको भूमिका पनि महत्वपूर्ण हुँदै जानेछ। भाजपामा, नेपालप्रति राम्रो सद्भाव
राख्नु पर्छ भन्ने नेताहरु धेरै भएको हुनाले नेपाल र भारत बीचको सम्बन्ध थप सुमधुर
हुनेछ र त्यसले यी दुई देश बीचको आर्थिक सम्बन्ध सुमधुर भएर जानेछ। गुजराल
डक्ट्राइनले महत्व पाउने छ। छोटकारीमा भन्ने हो भने भारतमा हुने आर्थिक विकासबाट
नेपालले फाइदा लिन सक्ने प्रशस्त ठाउँहरु सृजना हुने छन्। यसका लागि नेपालले
रणनीतिक योजनाहरु तयार पार्न आवश्यक छ।
भारतमा उत्पन्न नया
परिस्थितिले नेपालका आर्थिक क्षेत्रहरुमा प्रतिकूल असर पार्ने सम्भावनाहरु पनि
उत्तिकै छन्। उल्लेखनीय प्रतिकूल प्रभाव भने कृषि क्षेत्रमा पर्न सक्छ। भारतीय
कृषकहरुको आर्थिक क्षमता अभिवृद्धि गर्न मोदी सरकारले कृषकहरुलाई दिने अनुदान रकम
वृद्धि गर्न सक्छ। भारतको कृषि क्षेत्रले करिब एक लाख पचास हजार करोड अनुदान
पाउँदै आएको छ। यदि कृषकहरुले पाउने अनुदानको रकममा वृद्धि भएमा स्वभाविक रुपमा भारतका
कृषि उत्पादनहरु सस्तो हुन पुग्ने छन र त्यसको असर नेपालका कृषि उत्पादनहरुलाई
पर्नेछ। नेपालका कृषि उत्पादनहरु भारतीय भन्दा महँगो हुने छन। परिणामस्वरुप, बढी
मात्रामा, नेपालका सीमा क्षेत्रहरुमा सस्तो भारतीय कृषी उत्पादनहरु प्रश्स्त
देखिने छन्। नेपाली कृषि उत्पादनहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Wednesday, May 21, 2014
No comments:
Post a Comment