बाढी बनेको छ सूचना र जानकारी
राजनैतिक व्यवस्थामा
आएको परिवर्तन, सूचना र प्रविधिको क्षेत्रमा भएको अति विकास र तुलनात्मक रुपमा
परिवर्तित (उक्लिएको) क्रयशक्तिले आम नेपालीको सूचना एवं जानकारीप्रतिको पहुँचलाई
ज्यादै सरल तुल्याइ दिएको छ। अहिले आम नेपालीहरुले, पहिले भन्दा निकै सरल किसिमबाट
सूचना र जानकारी घर आँगन मै प्राप्त गरि रहेका छन्। सहरहरुमा
सूचना र जानकारीहरुको उपलब्धता निकै सरल भएको छ। गाउँहरु पनि अहिले सूचना र
जानकारीहरु प्राप्त गर्ने हिसाबले निकै पछाडि भने छैनन्। तर यहाँ बिचारणीय कुरा के
छ भने व्यक्तिहरुले सजिलै गरी प्राप्त गर्ने त्यस किसिमका सूचना र जानकारीहरुको
उपयोग आफ्नो, परिवार अनि समाजको अधिक्तम हित हुने किसिमले गर्न सकेका छन् त? यो एक
यक्ष प्रश्न हो।
नेपालमा अहिले प्रेस
माथि नियन्त्रण छैन। अति सम्वेदनशील बाहेक अन्य सूचना एवं जानकारी जनसमक्ष पुर्याउन
व्यक्ति वा संचारगृहहरुले सरकारसँग पूर्व अनुमति लिनु पर्दैन। यो अति राम्रो कुरा
हो। यसको प्रशंसा हुनु पर्दछ। तर यसका साथै हेक्का राख्नु पर्ने कुरा के छ भने
संचार गृहहरुले त्यस्ता खवर वा विचारहरु संप्रेषण गर्नमा अधिक रुचि राख्नछन जसले
जनतालाई सुसुचित गर्ने भन्दा पनि बढी पाठक, स्रोता एवं दर्शक बटुल्ने काम गरुन्।
अर्कोतिर, जनताले आफू र समाजलाई फाइदा हुने खबर एवं जानकारीहरुलाई महत्व दिनुको
साटो बिरोधी बिचारहरुलाई बढी महत्व दिन्छ वा दिन सक्छ। विकासशील राष्ट्रहरुमा
बिरोधी विचार वा सूचनाहरुले बढी महत्व पाउने गर्दछन किनभने तिनले जनताको रोस,
कुंठा, आदिलाई क्षणिक समाधान सहित सम्बोधन गर्छन्। त्यसकारण जनतालाई फाइदा हुने
सूचना एवं जानकारीहरु भन्दा पनि त्यस किसिमका सूचना एवं जानकारीहरुले प्राथमिकता
वा महत्व पाउँछन जसले समाजमा उथल पुथल पैदा गरोस, जनतलाई गलत दिशामा लाग्न प्रेरित
गरोस। त्यस किसिमका सूचना एवं जानकारीहरुलाई साउन भदौको बाढीको संज्ञा दिन सकिन्छ
किनभने तिनले जनतालाई स्वच्छ र सन्तुलित मात्रामा पानी (सूचना एवं जानकारी) दिनुको
सट्टा व्यक्तिहरुलाई डुबाउने काम गर्छन्। अहिले यो समस्या नेपाल लगायत विकासशील
राष्ट्रहरुमा एक ठूलो चुनौतिको रुपमा देखिएको छ।
व्यक्तिले आफूलाई
अनावश्यक सूचना एवं जानकारीहरुको बाढीबाट कसरी जोगाउने? यो विषयले गंभिर समस्याको
रुप लिंदैछ। उदाहरणका लागि, अहिले नेपालमा कस्तो किसिमको संघीयता कायम गर्ने भन्ने
बारे विभिन्न किसिमका लेख, विचार एवं अन्य सामाग्रीहरु छापा, श्रव्य, दृश्य आदिका
माध्यमहरुबाट जन समक्ष आइ रहेका छन्। निश्चय पनि तिनले विभिन्न व्यक्तिहरुका
विभिन्न विचारहरु बोकेका हुन्छन्। तर कुनै एक पाठक वा श्रोतलाई कुन विचार सही वा
गलत हो भनि छुट्याउन निकै गार्हो हुन्छ। अर्कोतिर पाठक वा स्रोताले आफ्नो परिवेश,
शिक्षा, ज्ञान वा चेतनाको स्तर अनुसार कुनै पनि समाग्री पढि वा सुनिसके पछि त्यस
मुद्दा प्रति खास किसिमको विचार निर्माण गर्छ, तर त्यस सामाग्रीको सत्यता वा
उपयोगिताप्रति उसले त्यति ध्यान दिदैन।
विभिन्न अनुसन्धान
एवं अध्ययनहरु बाट प्राप्त भएको तथ्य के हो भने छापा, श्रव, दृश्य आदिको माध्यमबाट
जन समक्ष पुग्ने सूचना एव जानकारी (लेख, विचार, अन्तर्वाता, समाचार, विचार
विश्लेषण आदि) हरुले पाठक, दर्शक आदिलाई खास किसिमको विचार निर्माण गर्ने
उत्प्रेरित (Motivate)
गर्छन। पाठक, दर्शक आदि हरुमा खास किसिमको विचार
जन्म गराउने आधार भूमिको कार्य उसले प्राप्त गर्ने सूचना एवं जानकारीहरुले
गर्दछन्। त्यस कारण यदि देशबासीहरुले उपयोगी सूचना र जानकारीहरु प्राप्त गरि रहेको
छ भने उनीहरुले आफ्नो, परिवार एवं समाजको लागि उपयोगी हुने किसिमका धारणा, विचार
आदिको निर्माण गर्छन्। तर यदि देशबासीहरुले रोचकता, मोहकता र आकर्षताको आवरण ओढेका
मिथ्या, भ्रामक, अर्थहीन सूचना एवं जानकारीहरु प्राप्त गरि रहेका छन् भने उनीहरुले गलत एव डरलाग्दो किसिमका
बिचार निर्माण गर्छन्। उदाहरणका लागि प्राय: हेरक दिन जसो समाचारहरुमा हत्या,
बलत्कार, आत्म हत्या आदिका खबरहरु आएको देख्न सकिन्छ। यस्ता घटनाहरु बारे
सम्प्रेषित समाचारहरुले ती विभिन्न किसिमका घटनाहरु बारे जानकारी त दिन्छन् नै तर
साथै ती घटनाहरुले हत्या, हिंसा, बलत्कार गर्न अन्य व्यक्तिहरुलाई उत्प्रेरणा सहित
तरिकाहरु बताउन सक्छन्, यदि विभिन्न पक्षहरुमा विचार गरेर, गहिरो चिन्तन सहित
समाचार सम्प्रेषण गरिएको छैन् भने।
विज्ञान एवं प्रविधिको
क्षेत्रमा भएको अभूतपूर्व विकासले गर्दा सूचना र जानकारीको उपलब्धतालाई यति सजिलो
परि दिएको छ कि एक व्यक्तिले आफ्नो खल्तिमा राख्न सक्ने एउटा सानो स्मार्ट फोनको
सहयोग लिएर आफू जस्तो सुकै सुगम वा दूर्गम ठाउँमा रहेको अवस्थामा पनि आफ्नो स्थान,
देश र संसारमा के भइ रहेको छ सजिलै थाहा पाउन सक्छ। तर यो अति सरलताको स्थितिले
अति जटिलता पनि थपि दिएको छ। र त्यो अति जटिलता हो गलत सूचना वा जानकारीहरुको
बाढीबाट आफूलाई कसरी जोगाउने? यस किसिमका गलत सूचना एवं जानकारीहरुले
व्यक्तिहरुलाई सही उद्देश्य प्राप्त गर्न सहयोग त गर्दैनन् नै, बरु उल्टो बगाएर
त्यस्तो स्थानमा पुर्याइ दिन्छन जहाँबाट फर्केर आउन कठिन हुन पुग्दछ।
आज भोलि धर्म,
साम्प्रदायिकता, जातीयता, क्षेत्रीयता आदि जस्ता विषयहरु यस्ता तातो जिलेबी बनेका
छन् जसले व्यक्तिहरुलाई छिटै प्रभावित गर्दैछन्। यी विषयहरु संग सम्बन्धित समाचार,
विचार, सूचना आदि व्यक्तिहरुले बडो रुचिका साथ पढ्न बा सुन्न थालेका छन। यी विषयहरुसँग
सम्बन्धित मुद्दाहरु उठाएर नेताहरुले आफ्नो पक्षमा धेरै व्यक्तिहरुलाई ल्याउन सकि
रहेका छन, ठूलो भीड जम्मा गर्न सफल भएका
छन्। धर्म, क्षेत्रीयता, साम्प्रदायिकता आदिका अर्थहीन मुद्दाहरु जुन केही खास नेताहरुले
उठाएका छन्, ले विभिन्न अफ्रिकी मुलुकहरुमा लाखौको ज्यान लिएको र त्यो क्रम अहिले
पनि नटुटेको हामी आज भोलि पनि देख्न सक्छौ। धर्म र साम्प्रदायिकताका मुददाहरु
अहिले इराकमा नराम्रो गरी फैलिएका छन र तीनले हजारौंको ज्यान समेत लिइसकेका छन्।
पहिले केवल राजनैतिक मुद्दामा केन्द्रित रहेको सिरियाको गृह युद्ध अब धार्मिक
मुद्दामा प्रवेश गरेको छ।
मिथ्या, भ्रामक, गलत
सूचना एवं जानकारीहरुले नङ्ग र मासु झै गरी बसको, विभिन्न धर्म, सम्प्रदाय, समूह
सम्मिलित समाजलाई फटाउने काम मात्र गरेका छैनन् साथै विभिन्न धर्म, सम्प्रदाय,
विश्वासका व्यक्तिहरु मिलेर बस्न सम्भव छैन जस्ता डर लाग्दा विचारहरु निर्माण गर्न
व्यक्तिहरुलाई उत्प्रेरित गरि रहेका छन्।
मिथ्या, भ्रामक, गलत
सूचना एवं जानकारीहरुको बाढीले केवल एक व्यक्ति विशेषलाई पनि उत्तिकै सताएको छ।
कतारमा राम्रो आम्दानी प्राप्त गर्नेछु भनी हिंडेको एक निर्धन नेपाली लिबिया जस्तो
युद्धग्रस्त ठाउँमा पुगेछ। त्यहाँ पुगे पछि पैसा कमाउनु त आकासको फल भएको छ नै
ज्यान जोगाउन पनि गार्हो भएको छ। विदेशमा पुगेर चार पैसा कमाउँला भनि सीमा काट्ने
एक असहाय नेपाली दलालको चक्करमा परेर ठूलो ऋणमा डुबेको छ। ऋणको भारि बोकेर स्वदेश
फिर्ने बाटो खोजिरहेको छ। गलत सूचना एवं जानकारीहरुले श्रृजना गरेका यस्ता
समस्याहरु अनगिन्ति छन्।
त्यसकारण अहिलेको
ठूलो चुनौति भनेको एक व्यक्तिले आफूलाई
गलत सूचना एवं जानकारीहरुको बाढीबाट जोगाउनु हो। आफूलाई मिथ्या, गलत एवं भ्रामक
सूचना एवं जानकारीहरुको बाढी बाट जोगाएर अलग राख्न सक्नु पनि आर्थिक विकासको एक
खुडकिलो चढ्नु हो, अहिलेको यो अति संचारको युगमा।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, September 5, 2014
No comments:
Post a Comment