नेपालमा संघर्षको
सिलसिला: प्रजातन्त्रको भविष्य
नेपालमा संघर्षको
सिलसिला जारि छ। यो सिलसिला समाप्त हुने छांटकांट कतै देखिन थालेको छैन। जुन
विश्वास र अपेक्षाका साथ नागरिकहरुले एक तन्त्रिय व्यवस्था समाप्त पारेर मुलुकमा
प्रजातन्त्र ल्याएका थिए त्यो अपेक्षा पुरा हुनु त कता हो कता उल्टो प्रजातन्त्रको
भविष्य अनिश्चित हुन थालेको छ। समग्रमा हेर्दा, प्रजातन्त्रको भविष्य अनिश्चित
मात्र होइन, नेपाल सिरिया वा यमन हुन हो कि भन्ने चिंता लाग्न थालेको छ। हुन पनि
२०४६/४७ सालको राजनैतिक परिवर्तन देखि नै नेपाल शान्त
र स्थिर हुन सकेको छैन। यो समयदेखि नै नेपाल निरन्तर रुपमा कुनै न कुनै समस्याको
दल दलमा फंसेको छ, बाहिर निस्कन सकेको छैन। आर्थिक र सामाजिक विकासका कुराहरु
एकतिर पन्छिएर बसेका छन्। उता जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता जस्ता
अनुत्पादक मुद्दाहरुले देश र जनताको अमूल्य समय बर्बाद गरि रहेका छन्। अर्कोतिर, नेताहरुले
आफू संविधान निर्माणमा केन्द्रित भएको भन्दै देश विकासको जिम्मेबारीबाट पन्छिने
सुनौलो मौका पाएका छन्। जनताको आश्यकताहरु एकातिर फर्केको छ भने नेताहरुको स्वार्थ
र अहम् अर्कोतिर फर्केको छ। नेताहरुको दलगत र व्यक्तिगत स्वार्थ र अहमको कारणले
गर्दा न त मुलुको ध्यान विकासमा केन्द्रित हुन सकेको छ न त नया संविधान निर्माण नै
हुन सकेको छ। अब त हुँदा हुँदै नेताहरुको अहम र स्वार्थले गर्दा नेपालको स्थिति
सिरिया वा यमनको जस्तो हुने हो कि भन्ने भयले नेपालीहरुलाई सताउन थालेको छ।
तर विचारणीय कुरा, देश
भित्रका विभिन्न नेताहरुको व्यक्तिगत स्वार्थ र अहमले गर्दा सिरिया र यमन अहिले मुलुकबाट
रणभूमिमा परिवर्तित भएका छन्। अन्य मुलुक, कट्टरपंथी, बिद्रोही र अनेक आतंकबादी संगठनहरुले सिरिया र यमनको गृह
कलहलाई आफ्नो स्वार्थ वृद्धिमा नराम्रो गरि उपयोग गरि रहेका छन्। तर अर्कोतिर, यो
स्थितिबाट यी मुलुकका निर्दोष नागरिकहरु पीडित हुन पुगेका छन्। यी मुलुकका
नागरिकहरुलाई यो स्थितिमा पुर्याउने वाह्य शक्तिहरु मात्र नभएर यस मुलुकका
स्वार्थी नेताहरु नै प्रमुख हुन। वाह्य शक्ति भन्दा भित्रका शक्तिहरु नै यो स्थिति
ल्याउनका लागि प्रमुख रुपमा जिम्मेबार छन्। तर अफसोच! यी मुलुकका स्वार्थी नेताहरुको अहमको
मूल्य त्यहाँका निर्दोष नागरिकहरुले संकट सहेर, सरर्णाथी बनेर, ज्यान दिएर चुकाउनु
परेको छ।
सिरिया पाँच सात वर्षदेखि, प्रथम त, आफ्नै देशका
नेताहरुको स्वार्थको दलदलमा यसरी फँसेको छ कि यो दलदलबाट बाहिर निस्किने सम्भावना
टाढा सम्म पनि कहिं कतै देखिएको छैन। प्रत्येक दिनको युद्धले गर्दा सामान्य जनताको
जीवन प्रत्येक पल असुरक्षित र जोखिमपूर्ण भएको छ। सन् २०१४ सम्ममा सिरियाको गृह युद्धमा करिब दुई
लाख नागरिकहरुको ज्यान गइ सकेको छ। करिब ४०
लाख सिरियालीहरु इजिप्ट, इराक, लेबनान, टर्की, जोर्डन र उत्तरी अफ्रिकाका विभिन्न
राष्ट्रहरु लगायत विश्वका विभिन्न राष्ट्रहरुमा सरर्णाथी जीवन बिताउन बाध्य भएका छन्।
सिरियाको स्थितिलाई यस्तो डरलाग्दो र पीडादायी तुल्याउनमा यस मुलुकका स्वार्थी र
अदूरदर्शी नेताहरुको ठूलो हात छ। उनीहरुका त्यस किसिमका कार्यहरुले गर्दा नै सिरिया
अहिले इरान, टर्की, लगायत विश्वका अन्य
विभिन्न शक्तिसाली राष्ट्रहरुको हातको गोटी हुन पुगेको छ। अर्कोतिर अतिबादी जातीय
संगठन आइ. यस. समेत गरी अन्य विभिन्न आतंकबादी संगठनहरुको
क्रिणाभूमि पनि हुन पुगेको छ। ऐतिहासिक
र प्रचीन सम्पदाहरुले भरिएको, सभ्यता विकासको गौरव बोकेको, सरिया, आज, अहिले
अनावश्यक युद्धको भूमरिमा फंसेको छ। एक किसिमिको एक वंशीय असद ( सन् १९७१ देखि
हालसम्म) शासनबाट दिक्क भएर सिरियामा पूर्ण प्रजातन्त्रका लागि संघर्ष आरम्भ गर्ने
सिरियाली नागरिकहरु मध्ये धेरैले सिरियामा बरु बाबु र छोरा (क्रमश: हाफेज अल-असद:
सन् १९७१-२००० र बसार अल-असद २०००- हालसम्म) हरुको शासनकाल तुलनात्मक रुपमा ठिक
रहेको भन्ने स्थितिमा पुगेका छन्। उनीहरुको शासन कालमा, अहिलेको यो गृहयुद्धमा जति
धेरै मान्छेहरु मारिएका त थिएनन भनी प्रजातन्त्रका लागि संघर्ष आरम्भ गर्नेहरुले
भन्ने थालेका छन्। हुन पनि अहिले, सिरियाली राष्ट्रपति बसार अल- असदलाई सत्ताच्यूत
गर्न लागेका विभिन्न शक्तिहरुको मूल उद्देश्य सिरियामा प्रजातन्त्र स्थापना गर्ने
नभइ आ-आफ्नो स्वार्थपूर्ति गर्ने हुन
पुगेको छ।
यमनको समयस्या पनि
समयमा नै समाधान नहुने हो भने यो मुलुकको नियति पनि सिरियाको जस्तो हुने पक्का छ। यो
मुलुक पनि राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय शक्ति केन्द्रहरुको क्रिणा भूमि हुने
पक्का छ। तर यो मुलुक, देश भित्रका नेताहरुको अदूदर्शिता, कलह र संघर्षको कारणले
गर्दा रणभूमि परिणत भएको हो। यो आलेख तयार पारिरहँदा यमन भित्र मुख्य रुपमा दुई
परस्पर बिरोधी शक्तिहरु –राष्ट्रपति अबद्राबुह मनसुर हादीका समर्थक लडाकुहरु र
हुथिज, जसलाई पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको एक किसिमको समर्थन प्राप्त
छ, बीच ससस्त्र संघर्ष भइ रहेको छ। केही हप्तादेखि सुरु भएको त्यहाँको संघर्षले
६०० भन्दा बढी व्यक्तिहरुको ज्यान लिसकेको छ भने दुई हजार भन्दा बढी ब्यक्तिहरु
घाइते भएका छन्। यसै गरी एक लाख भन्दा बढी व्यक्तिहरु विस्थापित हुन पुगेका छन्।
यमनमा, प्रारम्भमा
मुख्य गरी सरकार वा राष्ट्रपति हादीका समर्थक र हुथिज लडाकुहरु बीच भएको संघर्षले
अहिले राष्ट्रिय र अन्तरार्ष्ट्रिय गरी विभिन्न शक्तिहरुलाई देश भित्र भित्र्याएको
छ। उनीहरुलाई यमन भित्र खेल्ने मौका दिएको छ। प्रमुख रुपमा सत्ताको लागि यी दुई
पक्षहरु बीच संघर्ष भएको हो। यी दुई पक्षहरुले सत्ताको साझेदारी विवेकी किसिमले
गरेको भए यो स्थिति उत्पन्न हुने थिएन। दुई पक्षहरुको महत्वाकांक्षाबाट उत्पन्न
संघर्षको परिणाम निर्दोष जनताले बेहोर्नु पर्ने थिएन।
यमन अहिले “प्रोक्सी
वार” हुने स्थानमा परिणत भएको छ। यमनबाट अहिले इरान र साउदी अरेबियाले प्रोक्सी
वार गरि रहेका छन्। प्रोक्सी वार (Proxy War) उपस्थित नभएर गरिने युद्ध भन्ने बुझिन्छ। अहिले राष्ट्रपति हादीलाई
साउदी अरेबिया र साउदी अरेबियाको नेतृत्व रहेको सहयोग समूहको सैन्य सहयोग प्राप्त
छ भने हुथिज, जो सिया हुन, लाई इरानाको सैन्य सहयोग प्राप्त छ। भन्ने हो भने अहिले
यमन भित्र एक किसिमले साउदी अरेबिया र इरानले एक अर्का विरुदध लडाइ गरि रहेका छन्।
यति मात्र होइन, अहिले यमन भित्र विभिन्न अतिबादी शक्ति समूहरु जस्तै सुन्नी
आदिबासी, अल-काएदा, सिरिया र इराकमा उदाएको नया शक्ति इस्लामिक स्टेट आदि आदिले आ-आफ्नो
चाँसोको लागि युद्ध गरि रहेका छन्। आफ्नै नेताहरुको कुटिल व्यवहारले गर्दा, उनीहरु
बीचको कलहले गर्दा, जस्तो कि नेपालमा देखिएको छ, यमन अहिले प्रोक्सी वार गर्ने
स्थानमा रुपान्तरित भएको छ। अनावयश्यक युद्धमा होमिएको छ। जनता अनावयश्यक युद्ध
गर्न वाध्य भएको छ।
हिन्दीमा एउटा भनाई
छ- “छुरी तरबुज पे गिरे या तरबुज छुरी पर गिरे चोट तो तरबुजको हि लगेगी।” नेपालका
नेताहरुले आ-आफ्नो अहम् को लागि एक अर्का सँग झगडा गरेर स्थितिलाई असहज पारेता
पनि, उनीहरुको कलहले गर्दा देशमा संघर्षको स्थित उपत्पन भएता पनि, वा नागरिकहरुले
उनीहरुको नाराको पछाडि लागेर एक आपसमै संघर्ष गरेता पनि अन्तिम असर त नागरिकहरुलाई
नै पर्ने हो। नेताहरुलाई त कुनै खास असर पर्ने होइन। विभिन्न किसिमका सगर्षहरुबाट
उत्पन्न हुने बेरोजगारी, गरिबी, अशिक्षा आदिले सामान्य नागरिकहरुलाई नै सताउने हो।
मुलुकमा राजनैतिक अस्थिरताबाट उत्पन्न हुने अनेक किसिमका समस्याहरुबाट सामान्य
नागरिकहरु नै प्रभावित हुने भएकोले सामान्य नागरिकहरुले नेताहरुलाई मिलेर कार्य
गर्न दबाब दिन आवश्यक छ। फुटेर होइन जुटेर कार्य गर्न दबाब दिन आवश्य छ। यो विषम
समयमा, नेताहरुले ल्याएका अनावश्यक नाराहरुको पछाडि नलागेर, उनीहरुको उक्साहटमा
नउक्सिएर नेपाली जनताले देश र देशबासीको हितमा नेताहरुलाई कार्य गर्न बाध्य पार्न
आवश्यक छ। यो समयमा नेताहरु गुट फुटको कुटिल नीतिमा लागेता पनि जनताहरु मिलेर
अगाडि बढ्न आवश्यक छ। होइन, यस किसिमका संघर्षका सिलसिलाहरु नेपालमा नरोकिने हो र
तिनीहरुले निरन्तरता पाउने हो भने नेपालमा प्रजातन्त्रको भविष्यमा प्रश्न चिन्ह
लाग्ने मात्र होइन नेपाल सिरिया वा यमनको स्थितिमा पुग्न बेर लाग्ने छैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 10, 2015
No comments:
Post a Comment