प्रतिभातन्त्र को व्यवहारीक उपयोग
राज्य संचालनको
मार्गदर्शन विभिन राष्ट्रहरुको विभिन्न किसिमको रहेको पाइन्छ। केही राष्ट्रहरुले
धर्मलाई नै राज्य संचालनको मार्ग दर्शनको रुपमा लिएका छन्। धर्मलाई राज्य संचालनको मार्ग दर्शन मान्ने
राष्ट्रहरुमा आर्थिक र राजनैतिक विकासको गति सुस्त रहेको भने सजिलै देख्न
सकिन्छ। साथै त्यस किसिमका राष्ट्रहरुमा समाज परम्परावादी एवं वहुसंख्यक
व्यक्तिहरुमा वैज्ञानिक एवं राजनैतिक चेतनाको कमि रहेको पनि सहजै देख्न सकिन्छ। केही
राष्ट्रहरुले भने पूँजीवाद अन्तरगत प्रतिस्पर्धापूर्ण अर्थव्यवस्था र
वहुसांस्कृतिक खुला समाजलाई राज्य संचालनको मार्ग दर्शनको रुपमा लिएको पाइन्छ।
प्रतिस्पर्धापूर्ण अर्थव्यवस्था र वहुसांस्कृतिक खुला समाज भएका राष्ट्रहरुले भने
आर्थिक विकास तिब्र गतिमा गरेका छन्, अहिले पनि गरिरहेका छन्। त्यस किसिमका
राष्ट्रहरुमा समाजको बौद्धिक चेतनाको स्तर पनि तुलनात्मक रुपमा उच्च रहेको पाइन्छ।
प्रतिस्पर्धापूर्ण अर्थव्यवस्था र खुला समाजलाई प्रयोगमा ल्याउने तर साथै
आरक्षणको व्यवस्था सहित केही जाति वा समुदायलाई खास खास थप सुविधा दिने राष्ट्रहरु
पनि देखिएका छन्। यी राष्ट्रहरुले भने नागरिकहरुको प्रतिभाको साथै उनीहरुको जात वा
समुदायलाई पनि महत्व दिएको पाइन्छ। खास जात वा समुदायका नागरिकहरुलाई केही
सुबिधाहरु अन्य भन्दा बढी दिएको देख्न सकिन्छ। त्यस किसिमका राष्ट्रहरुले
आरक्षणलाई महत्व दिएको पाइन्छ।
सिंगापुरले भने माथि
उल्लेख गरिएका भन्दा छुट्टै किसिमको विचारलाई प्रयोगमा ल्यायो। प्रतिभातन्त्र (Meritocracy) लाई राज्य संचालनको मार्ग दर्शनको रुपमा लियो। नागरिकहरुको
जात वा समुदाय भन्दा उनीहरुको प्रतिभालाई विशेष महत्व दियो। राष्ट्रको समग्र
विकासका लागि नागरिकहरुको उच्च प्रतिभाको उपयोगमा बढि ध्यान पुर्यायो। मुलुकको
आर्थिक, सामाजिक, राजनैतिक गरि समग्र विकासका लागि नागरिकहरुको बौद्धिक प्रतिभलाई
जोड दियो। कुनै पनि व्यक्तिलाई, ऊ कुन जात वा समुदायबाट आयो भन्ने कुरालाई आधार
मानेर उसलाई औसर प्रदान गर्ने नभइ उसको बौद्धिक क्षमताको आधारमा उसलाई औसर प्रदान
गर्ने प्रावधानलाई महत्व दियो। राष्ट्रको समग्र विकासको लागि नागरिकहरुको प्रतिभा
सर्वधिक महत्वपूर्ण हुन्छ भन्ने कुरामा निरन्तर विश्वास गर्यो। अर्थात सिंगापुरले
प्रतिभातन्त्रलाई व्यवहारिक प्रयोगमा ल्यायो, उपलब्धिहरु पनि हाँसिल गर्यो।
प्रतिभातन्त्रलाई राज्य संचालनको उपयोगी मार्ग दर्शनको रुपमा लियो। सिंगापुरले
प्रतिभातन्त्रलाई सर्वाधिक महत्वपूर्ण मानेको हुनाले नै एशियाको यो एक अति सानो
टापु, जसको क्षेत्रफल केवल 718.3 वर्ग
किलोमिटर
मात्र रहेको छ,
एशियाको एक महत्वपूर्ण आर्थिक महाशक्ति हुन पुग्यो। सिंगापुर यतिसम्म वहु
संस्कृतिक, वहु भाषिक छ कि यसले अंग्रेजी, मलेय, मन्डारिन र तामिल गरी चार भाषालाई
राजकीय मान्यता दिएको छ। यी चारै भाषा सिंगापुरका “अफिसियल लैन्ग्वेज” हुन।
एशिया र अफ्रिकाका
धेरै राष्ट्रहरु, जो राष्ट्रको रुपमा सिंगापुरभन्दा धेरै पहिले नै स्थापित र
संगठित भएका थिए, अहिले पनि सामाजिक, आर्थिक र राजनैतिक विकासको क्षेत्रमा
सिंगापुरभन्दा निकै पछाडि परेका छन्। कतिपयलाई त असफल राष्ट्र भइएला भन्ने
चिन्ताले सताएको छ। एक सार्भौम राष्ट्रको रुपमा अस्तित्व कायम गर्न कठिन छ। यी
राष्ट्रहरु जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता जस्ता अनेक घातक, विभाजनकारी
मुद्दाहरुमा अल्झिएका छन्। अनुत्पादक, डरलाग्दा मुद्दाहरुको पछि लागेर आर्थिक
विकासको पथमा निकै पछाडि परेका छन्। अनेक कसिमका द्वन्दहरुमा फंसेका छन।
सिंगापुर एक अति नै
प्राचीन राष्ट्र भने होइन। इस्ट इण्डिया कम्पनीका लागि एक व्यापार केन्द्रको रुपमा
आधुनिक सिंगापुरको स्थापना सन् १८१९ मा सर स्टाम्फोर्ड राफल्सले गरेका थिए।
सिंगापुरको स्थापना गर्न राफल्सले जोहरका सुल्तानबाट अनुमति प्राप्त गर्नु
परेको थियो। पछि, सन् १८२४ मा सिंगापुर
बेलायतको अधिनमा आयो र सन् १८२६ मा दक्षिण एशिया स्थित बेलायत अधिनस्थ विभिन्न
भागहरु मध्ये (बेलायतको) एक भाग हुन पुग्यो। ती भागहरुको नियन्त्रण त्यसबेला
“ब्रिटिस इस्ट इण्डिया कम्पनी” ले गर्थ्यो। सन् १९६३ मा सिंगापुर बेलायतबाट मुक्त
भयो तर मलेशियाको भूभागमा मिल्न पुग्यो। सन् १९६५ मा सिंगापुर मलेशियाबाट
छुट्टियो। सन् १९६५ पछि भने एक स्वतन्त्र राष्ट्रको रुपमा सिंगापुरले अति तिब्र
गतिमा, चमत्कारी किसिमले आर्थिक प्रगति गर्यो। र त्यस किसिमको आर्थिक प्रगति
गर्नुको पछाडि बलियो हात भने सिंगापुरले अपनाएको प्रतिभातन्त्रको नै थियो।
प्रतिभातन्त्र अन्तरगत सिंगापुरले आफ्ना नागरिकहरुलाई मात्र होइन विश्वका अन्य विभिन्न
राष्ट्रहरुबाट सिंगापुर आएका नागरिकहरुलाई पनि आ-आफ्नो प्रतिभा सिंगापुरमा उपयोग
गर्न बलियो, निस्पक्ष र स्वतन्त्र औसर प्रदान गर्यो। अर्को शब्दमा भन्ने हो भने,
राष्ट्रको आर्थिक विकास गर्ने सिंगापुरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
नागरिकहरुको प्रतिभाको भरपुर उपयोग गर्यो।
सिंगापुरको आर्थिक,
राजनैतिक र सामाजि गरी यस देशको चौतर्फि विकासमा नेता लि क्वान येउको योगदान भने
ज्यादै महत्वपूर्ण रहेको छ। सिंगापुरको केन्दिय राजनतिमा लामो समयसम्म आसिन रहेका
लि, ३१ वर्ष (सन् १९५९ देखि १९९०) सम्म यस मुलुकको प्रधान मंत्री रहेका थिए। लि
प्रधानमंत्री नरहँदा पनि सिंगापुरको राजनीति (सन् १९९१ देखि २०१५ सम्म) मा सक्रिय नै
रहि रहे। विभिन्न पदमा रहेर सिंगापुरको आर्थिक विकासमा विशेष योगदान पुर्याउने
कार्य गरि नै रहे। “आधुनिक सिंगापुरको निर्माता” मानिएका लि क्वान येउको मृत्यु
केही दिन पहिले ( Monday, March 23, 2015) भएको थियो। सिंगापुरलाई आर्थिक विकासको पथमा
तिब्र गति दौडाउने विचार (सिद्धान्त?) “प्रतिभातन्त्र” का विकासकर्ता एवं
प्रयोगकर्ता यिनै लि क्वान येउ थिए। लि नै प्रतिभातन्त्रका शिल्पी थिए। लिले
प्रतिभातन्त्रको विकास गरे अनि यसको प्रयोगमा पनि उत्तिकै जोड दिए पनि।
लि लामो समयसम्म
सिंगापुरको राजनीति रहे। एक किसिमको तानाशाही नै कायम गरे, तर सिंगापुरलाई सक्षम,
सुन्दर र विश्व मानचित्रमा सुपरिचित गराएर गए। सिंगापुरलाई सक्षम बनाएर विश्वलाई
नै एक इमान्दार नेताको उदाहरण प्रस्तुत गरेर गए।
लिले सिंगापुरको
विकासमा पुर्याएको खास योगदानले केही महत्वपूर्ण उदाहरणहरु प्रस्तुत गरेको छ। नेता
तानाशाह भएता पनि यदि ऊ इमान्दार छ भने जनताले उसलाई देशको विकास गर्ने औसर प्रदान
गर्ने रहेछ। नेता अलोकप्रिय तानाशाहीले होइन, अति स्वार्थी, क्रुर र भष्ट भए पछि
हुने रहेछ। संक्रणकालमा देशलाई तानाशाह तर इमान्दार नेता चाहिने रहेछ।
नेपालमा राजा
मेहन्द्रले पनि लि क्वान येउले गरे जस्तै गर्न खोजेका थिए। महेन्द्रको पालामा
नेपालको आर्थिक एवं सामाजिक विकास भएको हो पनि। सडक, उद्योग, कृषि, बैंकिग,
व्यापार आदि क्षेत्रको विकासमा महेन्द्रको योगदानलाई बिर्सन मिल्दैन। तर बिरोधीहरुको
विचार सुन्न नसक्ने, जनताको अधिकारलाई संकुचित पार्दे लाने र मुलुकको राजनीतिलाई
केवल दरबार भित्र मात्र सीमित राख्ने जस्ता महेन्द्रका नीतिहरुले गर्दा उनी
नेपालको राजनीतिमा लोकप्रिय वा सफल हुन सकेनन्। हुन त राजा महेन्द्र (११ जुन १९२० - ३१ जनवरी १९७२
) ५१ वर्षको अल्प आयुमा नै स्वर्गवासी भए। यदि उनी लामो समयसम्म बाँचेको भए उनीबाट
केहि अपेक्षा गर्न सकिन्थ्यो कि? तर, नेपालको राजदरबारको राजनैतिक शैली-
राजनीतिलाई दरवार भित्र मात्र सीमित राख्ने र दबार वरपरका व्यक्तिहरुको कुरा मात्र
सुन्ने भएकोले राजा महेन्द्रबाट पछि सम्म पनि सोही गतिमा विकास हुने सक्ने अपेक्षा
गर्न गार्हो थियो। अहिलेको स्थितिमा पनि, नेपालबाट राजसत्ताको अन्त्य हुनुमा
त्येही राजदरबारको राजनैति शैली जिम्मेबार देखिन्छ। राजदारबारले दरबार वरपरका
व्यक्तिहरुको चाकडीयुक्त सल्लाहरुलाई महत्व दियो। तिनमाथि अटुट विश्वास गर्यो तर
जनताको न्यायिक आवाज माथि ध्यान दिएन। महत्वपूर्ण ठानेन।
अब सन्दर्भ परिवर्तन
गरौ। अब, यस आलेखको मुल विषयमा आऔ। वर्तमान युग सूचना र संचारको युग हो। विज्ञान र
प्रविधिको युग हो। यस युगमा, कुनै पनि मुलुकमा, त्यस मुलुकको सर्वाङ्गिण विकास
गर्नका लागि, मुलुक भित्र उपलब्ध रहेका अनेक प्रतिभाहरुमा भर पर्न अति आवश्यक छ।
ती प्रतिभाहरुको उपयोग गर्न आवश्यक छ। प्रतिभाहरुको उपयोग गर्न प्रतिभातन्त्रमा
जोड दिन आवश्यक छ, जसरी सिंगापुरले दियो। व्यक्तिलाई उसको जात, समुदाय, आदिको
आधारमा होइन उसको प्रतिभाको आधारमा उसलाई औसर दिन आवश्यक छ। प्रतिभा अब केवल
बौद्धिक क्षमता भित्र मात्र सीमित छैन। परिश्रम, लगनशीलता, इमान्दारी, नया नया
श्रृजना सक्ति आदि सबै व्यक्तिहरुका प्रतिभा नै हुन।
विश्वराज अधिकारी
No comments:
Post a Comment