जोखिम व्यवस्थापन
उपेक्षित किन?
कुनै एउटा यस्तो समय
थियो जुन समयमा नेपालमा गलैचा व्यवसाय अति नै फष्टाएको थियो। सम्भवत: त्यो चालिसको
दशक हुनु पर्दछ। मुख्य गरी काठमाडौ र यो सहरको वरपर, सयौंको संख्यामा गलैचाका
कारखानाहरु संचालित थिए। प्रत्यक्ष मानवीय श्रम (हाते तान) प्रयोग गरेर निर्माण
हुने ती गलैचाहरु पश्चिमका राष्ट्रहरुमा निकै लोकप्रिय रहेको प्रचार गरिएको थियो।
ठूलो परिमाणमा विदेश निर्यात हुने र अत्यधिक लाभ दिने भनी चर्चित गलैचा कारखानमा
त्यसताका धेरै नेपालीहरु ठूलो रकम लगानी गरे। यहासम्म कि सामान्य आर्थिक अवस्था
भएका परिवारहरुले पनि, ऋण गरेर नै भए पनि, यो उद्योगमा अत्यधिक नाफा आउने लोभमा
लगानी गरे। तर त्यही समयमा नेपालका गलैचा कारखानाहरुले बाल श्रमको प्रयोग गर्ने
भएकोले अन्तरार्ष्ट्रिय बजारले नेपाली गलैचाहरु खरिद गर्न नचाहेको खबरहरु आउन
थाले। वाल-श्रम प्रयोगको कारण वा अन्य अरु पनि कारणहरुले गर्दा हो, गलैचा
उत्पादनमा ठूलो कमी आयो किनभने खरिदकर्ता ह्वातै घटे। यो उद्योगमा लगानी
गर्नेहरुले ठूलो घाटा खानु परेको भन्ने हल्लाहरु सुनियो। त्यस पछि गलैचा उद्योग
धरासायी भयो भन्ने खबर आयो। जे होस त्यो बेलाको जस्तो अहिले, मुख्य गरी काठमाडौमा,
च्याउ झै गलैचा कारखाना देखिंदैन। काठमाडौमा त्यो बेला जस्तो (ठूलो परिमाणमा)
गलैचा उत्पादन हुँदैन पनि।
यसै गरी नेपालमा
तयारी पोशाकको पनि कुनै बेला निकै बोलबाल थियौ। काठमाडौ, तयारी पोशाक उत्पादन गर्ने
राष्ट्रको, एक किसिले मुख्य बाजरको रुपमा नै स्थापित भएको थियो। तयारी पोशाक
पश्चिमका बजारहरुमा निर्यात गरेर राम्रो आर्जन गर्न सकिने विश्वासले
व्यापारी-समाजमा बलियो जरा गाडेको मात्र थिएन, धेरैले यो उद्योगमा ठूलो लगानी
गरेका थिए पनि। तर पछि यो उद्योग पनि धरायसी भयो। धरासायी हुनुको मुख्य कारण
पश्चिमका राष्ट्रहरुले सानो परिमाणमा खरिद गर्न (कोटा कम पार्न) थालेको भनी
समाचारहरु आए। नेपालका व्यापारीहरुको नाममा विदेशका व्यापारीहरुले नेपालले पाएको
कोटाको दुरुपयोग गरेको र भारतबाट नै तयारीको अवस्थमा लुगाहरु नेपालमा आएर नेपाल
केवल निर्यात केन्द्र मात्र बनेको भन्ने हल्लाहरु चर्चामा आए। विस्तारै तयारी
पोशाक तयार गर्ने उद्योगहरु धराशायी हुने
क्रम शुरु भयो। अहिले नेपालमा ज्यादै कम परिमाणमा तयारी पोशाक उत्पादन हुन्छ। तर
त्यही समयमा बंगलादेशमा फष्टाएको तयारी पोशाक उद्योग अहिले त्यस मुलुकको लागि
रोजगारीको ठूलो स्रोत मात्र होइन तयारी पोशाकको लागि एशियामा नै राम्रो बजारको
रुपमा स्थापित भएको छ। तर नेपालका तयारी पोशाक उत्पादन गर्ने कारखानाहरु खहरे खोले
झै सुकेर गए।
यी उद्योगहरुले किन
दीर्घ जीवन पाउन सकेनन्? केहीले बाहेक, यस उद्योगमा लागेका धेरै व्यापारीहरुले किन
ठूलो घाटा बेहोर्नु पर्यो? यो प्रश्नको उत्तर खोज्नु भन्दा पहिले केही थप
प्रशंगहरुलाई जोडौ।
कुनै यस्तो समय
थियो, नेपालमाका केही सहरहरु, मुख्य गरी काठमाडौमा जग्गामा लगानी गर्नु माटोलाई
सुन बनाउनु झै थियो। पाँच लाख रुपैयाँमा खरिद गरेको जमिन खरिद गरेको केही महिना
पछि नै बिक्री गर्दा दस लाखसम्म प्राप्त हुन्थ्यो रे। बिना कुनै ठूलो परिश्रम,
केवल राम्रो पूँजी लगानी गरेको भरमा, छोटो समयमा नै, बिना जोखिम अति मोटो रकम
आम्दानी हुने यो जग्गा उद्योग त्यस समयमा तराइमा प्रचलित “गुल्लरको फूल” को
पर्यायवाची बनेको थियो। ठूलो संख्यामा लगानीकर्ताहरुले त्यसबेला जग्गामा लगानी
गरे। केहीले त्यसबेला राम्रो आम्दानी गरे पनि। तर त्यो आम्दानी केवल छोटो समयमा तर
मार्ने (Price
Skimming) स्थिति मात्र थियो
जुन टिकाउ हुन सकेन। परिणामस्वरुप पछि जमिनको भाउ आकास्निन छाड्यो र यथार्थ
धरातलमा आयो। तर भयो के भने जसले भोलिका दिनहरुमा आकास्सिएको भाउमा जग्गा बिक्री
गर्न पाइन्छ भन्ने विश्वासमा ठूलो लगानी गरेर जग्गा खरिद गरेका थिए, जग्गा खरिद गर्न
चर्को व्याजदरमा ऋण लिएका थिए, उनीहरु डुबे। ठूलो घाटामा परे। अहिले स्थिति यो छ
कि लगानीकर्ताहरु जग्गामा लगानी गर्न डराउँछन्। काठमाडौमा जग्गाको खरिद बिक्री
सुस्त भएको छ। जग्गा खरिद बिक्री व्यवसाय पनि सुनको अण्डा उत्पादन गर्ने मुर्गी
हुन छाड्यो।
नेपालको व्यापारिक
जगतमा माथि वर्णनन् गरिएका स्थितिहरुको पुनरावृति हुने क्रम भने रोकिएन। २०४६ सालको राजनैतिक परिवर्तनले दिएको प्रशासनीक
खुकुलोपना र मुख्य गरी गणतन्त्रको आगमन (२०६२।२०६३) ले ल्याइदिएको प्रशासनिक वेथितिको
कारणबाट नेपालमा घर निर्माणको गतिले अति नै तिब्रता लियो। स्थानीय निकायहरु नभएको
र फष्टाएको सरकारी वेथितिको कारणले गर्दा निर्माणका लागि हुने प्रशासनिक निगमन र
नियन्त्रण कम हुन पुग्यो। यो स्थितिको फाइदा उठाउँदै अव्यवस्थिति किसिमले, अध्ययन
अनुसन्धान नगरिकनै पनि, गगनचुम्बी घरहरु निर्माण हुने क्रम काठमाडौमा तिब्र गतिमा
शुरु भयो।
सक्रिय राजतन्त्र
हुँदा, दरबार प्रशासनले दरबारको सुरक्षाको कारण काठमाडौमा वहुतल्ले घर बनाउन
दिइदैन भन्ने एक किसिमको हल्ला वा यथार्थ जे थियो त्यसले वहुतल्ले घर निर्माणमा
ज्यादै खुकुलोपनाको स्थिति आउन दिएको थिएन। बेथितिको स्थिति हुन दिएको थिएन। तर राजतन्त्रको
समाप्ति र गणतन्त्रको प्रारम्भ पछि भने काठमाडौमा अव्यवस्थित किसिमले घर निर्माण
गर्ने प्रवृत ज्यादै बढ्यो। काठमाडौ, भूकम्पको हिसाबले अति जोखिमपूर्ण क्षेत्रमा
पर्दछ भन्ने कुराको हेक्का हुँदा हुँदै पनि काठमाडौमा निजी वा संस्थागत गरी
व्यापारिक एवं आवसीय घरहरु ठूलो संख्यामा निर्माण। ठूला ठूला आकारका र उचाइँका
अपार्टमेन्ट, मल एवं अन्य प्रयोजनका घरहरु
निर्माण भए। ती घरहरु निर्माण गर्दा ठूलो रमक लगानी गरियो। तर हालै गएको भूकम्पले
गर्दा ती अग्ला घरहरु मध्ये केही ढले भने केही नराम्रो गरि चर्केका छन्। सुरक्षाको
कारणले केही घरहरु बस्न नसकिने स्थितिमा पुगेका छन्। त्यस्ता घरहरु मर्मत गर्न
गार्हो छ। मर्मत गरिए पनि त्यस्ता घरहरुमा परिवारहरु बस्न राजी हुने देखिंदैन।
अहिलेको परिवर्तित ताजा स्थितिमा, भूकम्पको जोखिमले गर्दा काठमाडौमा घर निर्माणमा
गरिएको ठूलो लगानी खेर जाने र धेरै लगानीकर्ताहरु डुब्ने स्थिति श्रृजना भएको छ।
अब माथिको प्रशंगलाई
जोडौ। यी उद्योगहरु- गलैचा, तयारी पोशाक, जग्जा, भवन निर्माण, ले किन दीर्घ जीवन
पाउन सकेनन्? केहीले बाहेक, यस उद्योगमा लागेका धेरै व्यापारीहरुले किन ठूलो घाटा
बेहोर्नु पर्यो? माथिका प्रश्नहरुको उत्तर ज्यादै सरल छ। नेपालमा कुनै पनि किसिमको
व्यवसाय गर्दा त्यस व्यवसायको सम्भावना, विस्तार, जोखिम, प्रतिस्पर्धा, भविष्य आदि
बारे अनुसन्धान गर्ने परिपाटिको सर्वथा अभाव छ। यसै गरी कुनै पनि किसिमको व्यवसाय
गर्दा उत्पन्न हुने जोखिम एवं जोखिमहरुलाई कसरी बाँड्ने वा न्युनीकरण गर्ने भन्ने
सोचाइको पनि उत्तिकै अभाव छ।
अहिलेको ताजा
स्थितिलाई लियौ। काठमाडौ मात्र होइन, सम्पूर्ण नेपाल नै भूकम्प गइ रहने क्षेत्रमा
पर्दछ भन्ने कुराको थाहा पाएर अग्ला अग्ला घरहरु नबनाइएको भए केही समय पहिले गएको
भूकम्प र त्यसपछिका आएका धक्काहरुले अग्ला घरहरु भत्क्याएर वा चर्काएर, थुप्रै
लगानीकर्ताहरुको लगानी डुबेर ठूलो क्षति बेहोर्नु पर्ने स्थिति उत्पन्न हुने थिएन।
यसै गरी जोखिम व्यवस्थापन तर्फ ध्यान पुर्याइएको भए पनि यति ठूलो धन जनको क्षति
हुने थिएन। भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरेर अग्ला अग्ला एव अन्य घरहरु
पनि बनाइएको भए यो स्तरमा क्षति अवस्य पनि हुने थिएन होला। यसै गरी भवनहरुको बीमा
गरिएको भए पनि यो स्तरमा क्षति बेहोर्नु पर्ने स्थिति उत्पन्न हुने थिएन। नेपालमा
आवासीय एवं व्यापारिक, दुबै किसिमका
घरहरुको बीमा गराउने प्रचलनको सर्वथा अभाव छ।
अनेक क्षेत्रहरुमा
लगानी गरेर नया नया व्यापारका औसरहरु खोज्नु राम्रो अभ्यास हो। व्यापारका नया नया
औसरहरु खोजी गर्ने क्रममा नै गुगल, फेसबुक, युट्युब, स्काइप, भाइवर, अमेजन, इवे
जस्ता नया नया व्यापारका तरिकाहरुको खोजि गरिएका हुन। यस्तो नेपालमा हुन पनि
राम्रो कुरा हो। कहिले तयारी पोशाक, कहिले गलैचा, कहिले भवन निर्माणमा नया नया
व्यापारका औसरहरु देख्नु राम्रो कार्य हो तर व्यापारिक औसरको खोजी गर्दा जोखिम
पक्षको पूर्णतया बेवास्ता गर्नु भने ज्यादै दु:खद पक्ष हो। र त्येही दु:खद पक्ष
नेपालको व्यापारिक जगत् मा बारम्बार दोहरि रहेको छ।
जोखिम व्यवस्थापनलाई
बेवास्ता गरेर फेरि पनि नेपालमा यसै किसिमले लगानी गर्ने परिपाटिले निरन्तरता
पाउने हो भने नेपालका लगानीकर्ताहरुले ठूलो आर्थिक र मानसिक नोक्सानी बेहोर्नु
पर्ने क्रम रोकिने छैन। पेट काटेर, विदेशमा जोखिमपूर्ण स्थितिमा काम गरेर कमाएको
एवं राष्ट्र भित्र नै दु:ख कष्ट गरेर आर्जन गरेको रकम राम्रो लगानी एवं प्रतिफलको
नाममा बालुबामा पानी हालेको झै हुनेछ। तसर्थ अहिले सर्वाधिक सोचनीय पक्ष जोखिम
व्यवस्थापन हुन पुगेको छ।
प्रतीक दैनिकमा प्रकाशित Friday, May 05, 2015
No comments:
Post a Comment