पहिलो आवश्यकता
शान्तिपूर्वक बाँच्न पाउनु पर्ने होइन र?
देश, सीमाना, सरकार,
धर्म यी जनताका दोस्रो आवश्यकताका कुराहरु हुन। पहिलो आवश्यकताको कुरा भनेको मानिस
वा जनता शान्तिपूर्वक बाँच्न पाउनु पर्दछ, उसको पेट भरिएको हुनु पर्दछ, टाउको माथि
खुला आकास होइन एउटा छाना हुन पाउनु पर्दछ। यो कुरा अहिलेको सन्दर्भमा अर्थहीन
होला। राज्यको सीमाना, क्षेत्रीय अधिकार, धर्म, समुदाय, जातपात आदि जस्ता दोस्रो
वा तेस्रो आवश्यकताका कुराहरुले अति महत्व पाइरहेको समयमा जनताले शान्तिपूर्वक
बाँच्न पाउनु पर्दछ भन्ने कुरा बकबास हुन सक्छ। मानिसको ज्यान भन्दा पनि अति प्यारो
अहिले सीमाना, समुदाय, शासन, धर्म आदि भइरहेको सन्दर्भमा शान्त र सुरक्षित भएर
जनताले बाँच्न पाउनु पर्दछ भन्ने कुराको बारेमा चर्चा गर्दा जन समुदायलाई झर्को
लाग्न सक्छ। तर नागरिकहरुले सर्वप्रथम शान्तिपूर्वक बाँच्न पाउनु उसको पहिलो र
सर्वाधिक महत्वपूर्ण आवश्यकता हो। यसमा दुई मत हुन सक्तैन। र यो सर्वकालिक सत्य हो
पनि। सभ्यता विकासको क्रममा पहिले मानिसको उत्पत्ति भएको हो। त्यसपछि मात्र धर्म,
राज्य, सीमाना र सरकार जस्ता कुराहरुको उत्पत्ति भएको हो। र खासमा राज्य, सीमाना,
जात, समुदाय आदिको विकास जनताका लागि होइन केही महत्वाकांक्षी व्यक्तिहरुका लागि
भएको हो।
गहिरिएर चिन्तन
गर्ने हो भने यो तथ्य प्रष्ट हुन आउँछ।
एउटा तथ्य
पाठककरुलाई पढ्दा वा सुन्दा सर्वाधिक उट्पट्यांङ वा मूर्खतापूर्ण लाग्न सक्छ। यस्तो
कुरा उठाउने व्यक्तिले अन्यावश्यक रुपमा कुतर्क गरेर पाठकको समय दुरुपयोग गरेको
आरोप पनि लाग्न सक्छ। त्यो तथ्य के हो भने, राज्य, सीमाना, सरकार, समुदाय आदि महत्वाकांक्षी
वा शासकहरुका मष्तिष्कका उपजहरु हुन। यी, बाँच्नका लागि जनताका लागि नभइ नहुने
अत्यावश्कीय तत्वहरु भने होइनन्। प्रष्ट गरी भन्ने हो भने यी विषयहरु
महत्वाकांक्षी एवं शक्तिसाली व्यक्तिहरुका हतियार वा औजार हुन, जुन प्रयोग गरेर
उनीहरुले जनतामाथि शासन गर्न सक्छन। वा यी हतियाहरुको प्रयोगले जनतामाथि शासन
गर्ने कार्यलाई सजिलो तुल्याइ दिन्छ। यी विषय वा हतियारहरुको प्रयोग गरेर नै महत्वाकांक्षी
एवं सक्तिसाली व्यक्तिहरुले जनता माथि दीर्घाकालीन रुपमा शासन गर्न सक्छन्। मानव
सभ्यता विकासको इतिहासले यही तथ्य देखाएको छ।
तर अचम्म त यो
कुरामा हुन्छ कि जसले यो तथ्य प्रष्ट गरी बुझ्नु
पर्ने हो उनीहरुले यो महत्वपूर्ण तथ्यको पूर्णरुपमा बेवास्ता गरिरहेका छन्।
सामान्य जनताले यो तथ्य बुझिरहेको छैन। नेताहरुको उक्साहटमा लागेर, आफ्नो
सम्पत्ति, जीवन, र ज्यानको नै आहुति दिएर जनता अहिले सीमाना, पहिचान, समुदाय जस्ता
अनुत्पादक विवादहरुमा अल्झेको छ। अहिले जनताको सर्वाधिक महत्वपूर्ण सरोकारको विषय
पहिचान होइन, गरिबी निवारण हुनु पर्ने हो। शान्तिपूर्ण बांच्न पाउनु पर्ने आवश्कता
हुनु पर्ने हो। र सर्वाधिक महत्वपूर्ण विषय गरिबहरुले दुई छाक ढुक्कसँग खान पाउनु
पर्ने आवश्यकत हुनु पर्ने हो। तर अहिले नेपाली जनताले त्येही गलती गरिरहेको छ जुन
केही वर्ष पूर्व रवान्डाको जनताले गरेको थियो। नेताहरुको उक्साहटमा लागेर,
डरलाग्दो गृह युद्ध मच्चाएर, रवान्डालीहरुले आफ्नै दाजुभाइ दिदीबैनीहरुको आम हत्या
गरेका थिए। केवल एक महिना (April-July 1994) मा मात्र दुई जातीय समूह- टुट्सी र हुटु बीच भएको अति रक्तपातपूर्ण
संघर्षमा करिब १० लाख रवान्डालीहरुको आम हत्या भएको थियो। सामप्रदायिक, जातीय,
धार्मिक संघर्ष कति डरलाग्दो हुन्छ भन्ने तथ्यको डरलाग्दो चित्र रवान्डाको घटनाबाट
कोर्न सकिन्छ।
शान्तिपूर्वक बाँच्न
पाउने जनताको अधिकार सँधै सुरक्षित हुनु पर्दछ भन्ने बारे बहस गर्दा राज्य,
सीमाना, समुदाय, क्षेत्र आदिको उत्पत्ति के का लागि, कसरी र को द्वारा भयो भन्ने
बारे चर्चा गर्न आवश्यक छ। माथि उल्लेख गरिएका यी सवै विषयहरुको बारेमा चर्चा गर्न
यो सानो लेखमा सम्भव नभएको हुनाले यहाँ केवल राज्य, राज्यको सीमाना आदि बारेमा
चर्चा गर्न खोजिएको छ। राज्यको उत्पत्ति को द्वारा? किन? कसरी? के फाइदा का लागि
गरियो? यी विषयहरुमा प्रकाश पार्न खोजिएको छ।
यो आधुनिक युगमा पनि,
अति प्रजातन्त्रको युगमा पनि, राज्य वा सरकारको निर्माण एवं प्रयोगबाट जनता भन्दा नेता
वा राजनीतिको खेति गर्ने व्यक्तिहरुलाई बढी फाइदा पुगेको छ। यो तथ्य वर्तमान
सन्दर्भमा नेपाली जनतालाई बलियो गरि र पीडादायी किसिमले बोध भएको हुनु पर्ने हो। तर
वहुसंख्यक नागरिकहरुको ध्यान यस तथ्यतिर पुगेको देखिएन। हालै टिकापुरमा घटेको
घटनाले यो कुराको पुष्टि गर्दछ।
चिन्तनीय कुरा त के
छ भने राजनैतिक खेति गर्ने वा राजनैतिक खेलाडीहरुको पछि लागेर, उनीहरुको उक्साहटमा
परेर नेपाली जनता आफ्नै दाजु भाई, दिदी बहिनीको हत्या गरेर खुनको होली खेल्ने
मनस्थितिमा पुगेको छ। वर्षौदेखिं एक ढिक्का भएर बसेको नेपाली समाज राजनीतिका खेलाडिहरुको
कुटिल प्रहारबाट टुक्रा टुक्रा भएको छ। माटोको हाँडि झै असंख्य टुक्रामा विभाजित
भएको छ। यति नराम्रो गरी विभाजित भएको छ कि त्यसरी विभाजित हुन उचित अनुचित के हो
त्यो पनि छुट्याउन सकिरहेको छैन्। जनता
अहिले पूर्णरुपेण दिग्भ्रमित छ। अनि दिग्भ्रमित कसले पारेको हो भन्ने तथ्य जग
जाहेरछ।
नेपाली जनताले विगतमा
( २००७ देखि २०६३ सालसम्ममा) शासन व्यवस्थाका लागि, पहिचानका लागि, क्षेत्रका लागि,
समुदायका लागि अनेक किसिमका संघर्षहरु गरिसक्यो र अहिले पनि गरिरहेको छ। राजनैतिक
खेलाडीहरुका अनुसार ती संघर्षहरु सफल भए पनि। ती सफल संघर्षहरुले कतिपय राजनीतिको
खेति गर्नेहरुलाई उच्च तह, अधिक सक्ति, विलासी जीवनमा पुर्याइ दिए पनि। तर गौर तलब
कुरा त के छ भने सामान्य गरीब जनताले ती संघर्षहरुका उपलब्धि स्वरुप के पायो त? सामान्य
गरीब जनता संलग्न भएका, जीवन र ज्यान नै दिएका आन्दोलनहरुले के उनीहरुका झोपडीहरुलाई
महलमा रुपान्तरित गरि दिए त? महल त सपनाको कुरा भयो, दुई छाक ढुक्क संग खान पाउने
आवश्यकता सम्म पनि ढुक्क किसमले पूरा गरि दिए त? अति गरिबका बालबच्चाहरु ज्याला
मजदूरी गर्न छाडेर स्कूल जान पाउने स्थितिमा पुगे त? पर्याप्त स्वास्थ्य सुविधा र
जीवन रक्षा गर्ने औषधि पाएर के अति निर्धनहरु कालको मुखबाट जोगिन पाए त? केवल दुई
छाक ढुक्क संग खानका लागि पनि घर परिवार छोडेर नेपालीहरु ठूलो संख्यामा परदेसिने
स्थितिको अन्त्य भयो त? माथि भनिएका कुराहरु त परका कुराहरु हुन, अहिले पनि
नेपालका विभिन्न गाउँहरुमा कथित ठूला जातिहरुले सानो जातिलाई आफू सरह ठान्दैनन्।
त्येति मात्र होइन आफूहरुले खाने होटलमा खान दिंदैन। आफूहरुले पानी भर्ने इनारमा
पानी भर्न दिंदैनन्। कतिपय बेघरबार निर्धनहरु अहिले पनि ओडारमा बस्नु पर्ने स्थित
छ। भोको पेट भर्नका लागि जंगली कन्द मूल, सागपात खानु पर्ने स्थिति छ।
अब चर्चा गरौ
राज्यको उत्पत्ति र आवश्यकता बारे। राज्यबाट कसलाई र कसरी फाइदा पुगेको छ बारे।
सभ्यता विकासको
क्रममा मान्छेहरुले जब जंगली जीवन परित्याग गरेर कृषि जीवनमा प्रवेश गरे, उनीहरु
कृषि कार्य गर्न समूहमा र नदीको किनार वा जलासयको छेउमा बस्न थाले। पाठकहरुले
अहिले पनि हेर्नु भए हुन्छ संसारका प्रचीन सहरहरु नदिका छेउ छाउमा अवस्थित रहेको
तथ्य। यसरी नदि किनारमा अवस्थित रहेका वस्तिहरुले विस्तारै गाउँको रुप लिन थाले। र
ती गाउँहरुमा आफ्नो हैकम चलाउन वा ग्रामबासीहरुलाई आफ्नो बलको आधारमा आफूले भनेको
दिशमा हिंडाउन गाउँ नाइके वा कविला नाइके वा सरदार हरुको जन्म हुन थाल्यो। ज्यादै
शक्तिसाली एवं महत्वाकांक्षी गाउँ नाइकेहरु केवल एउटा गाउँमा मात्र सीमित रहेनन्, उनीहरुले
आफ्नो गाउँमा धेरै गाउँहरु जोड्न थाले। गाउँका सीमाहरुको विस्तार हुन थाल्यो। यसरी
आफ्नो गाउँमा वा क्षेत्रमा अनेक गाउँहरु जोड्न उनीहरु वीच विभिन्न युदधहरु हुन
थाले। जुन क्षेत्रमा धेरै गाउँहरु जोडिए त्यो क्षेत्र ठुलो आकारमा परिवर्तित भयो।
ती क्षेत्रहरु नाइकेहरु द्वारा देशमा रुपान्तरित हुन थाले। यसरी देशहरुको उत्पत्ति
हुन थाल्यो। अनि, नाइकेहरुले आफू मात्र होइन, आफ्ना सन्तानहरुलाई समेत पनि सक्तिमा
राख्ने उपायहरु खोज्न थाले र यही उपायको खोजीको क्रममा रजौटा, राजा, महाराजाहरुको
जन्म भयो। राजा, महाराजाहरुले आफ्नो देशको शासन व्यवस्थामा आफ्नो वंशको निरन्तरता
कायम गर्न र शासन व्यवस्थालाई सजिलो तुल्याउन राज्यको सीमाना तोके। र यसरी राज्यको
सीमाना तोकियो। तोकिएको सीमा क्षेत्र भित्र रहेर राजा महाराजाहरुले जनतामाथि सजिलै
गरी शासन गर्न थाले। र लामो कालसम्म शासन गरे पनि।
तर जब पछि विस्तारै
प्रजातन्त्रको उदय र राजतन्त्रको समाप्ति हुन थाल्यो, यी नाइके वा राजा महाराजा
चरित्रका हरुले पनि समय सुहाउँदो आफूमा परिवर्तन ल्याए तर आफूलाई शासकहरुको रुपमा
होइन जनताको प्रतिनिधिको रुपमा परिचित गराए। आफू जनताको प्रतिनिधि भएको र जनताको
सेवा गर्नु आफ्नो परम लक्ष्य रहेको उद्घोष गरे। नाममा परिवर्तन गरे पनि यी जन
प्रतिधिनिहरुको काम शक्तिको उपयोग गर्नु र जनता माथि शासन गर्नु रहेको तथ्य कसैबाट
लुकेको रहेन। त्यसकारण अहिलेका जनप्रतिनिधिहरु उहिलेका राजा महाराजाहरु सरह नै
हुन। शक्ति, सत्ता र सुविधाहरुका उपासक हुन। यी राजनैतिक खेलाडी वा
जनप्रतिनिधिहरुको प्रमुख उद्देश्य नै सेवाको नाममा जनता माथि शासन गर्नु हो। आफू
शक्तिसाली हुनु हो। यसरी राज्य, राज्यको सीमाना, प्रदेश, प्रदेशको सीमाना आदिले राजनीतिका खेलाडी वा नेताहरुलाई बढी फाइदा
पुग्ने हुनाले नै उनीहरुले राज्य, समुदाय, सीमाना आदिलाई अत्यधिक महत्व दिने
गर्छन्। त्यसकारण राज्य, सीमाना, समुदाय, क्षेत्र, जातपात आदि राजनीतिका खेलाडी वा
नेताहरुका चौरासी व्यंजन (सत्ता, सक्ती सुविधा) खाने भाँडा हुन। यो कारणले गर्दा
नै नेताहरुले जनतामाझ राज्य, सीमाना, समुदाय, क्षेत्र बारे चर्को चर्को कुरा गर्छन।
जनतालाई विभाजित गर्छन्। सामान्य जनताले खोइ बुझेको त यो तथ्य? कैलालीको सामान्य
जनताले त यो तथ्य झनै बुझेको देखिएन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशि Friday, August 28, 2015
No comments:
Post a Comment