Wikipedia

Search results

Friday, January 1, 2016

America: The Land of Innovation-Article-194

अमेरिका: आविष्कारको भूमि

संयुक्त राज्य अमेरिका जहाँ प्रत्येक पल नयाँ नयाँ वस्तु एवं सेवाहरूको विकासबारे सोचिन्छ, नयाँ वस्तु एवं सेवाहरूको विकास गरिन्छ र नयाँ वस्तु एवं सेवाहरूको विकास गरेर उपभोक्ताहरूलाई अधिक सेवा तथा सन्तुष्टि प्रदान गरिन्छ । यसैगरी व्यापारका नयाँ नयाँ तरिकाहरूको विकास गरिन्छ । नयाँ नयाँ वस्तु एवं सेवाहरू उत्पादन गर्ने सन्दर्भमा नै अमेरिकामा फेसबूक, युट्युब, स्काइप, गूगल, अमेजन, इबे, ट्वीटर, उबर आदिको विकास भएको हो । यी सुविधाहरूको विकासले उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूको विस्तार मात्र भएन, व्यक्तिहरूको जीवनशैलीमा नै परिवर्तन आयो । रोजगारका अनेक अवसरहरू सृजना भए ।
   
संसारको कुनै एक कुनामा भएको घटना केही मिनेटभित्रमा नै संसारभरिका व्यक्तिहरूलाई अवगत गराउन सकिन्छ भन्ने कुरा युट्युबको विकास हुनुभन्दा पहिले कसैले सोचेको पनि थिएन । अहिले सिरियामा सरकारी सेना वा इस्लामिक उग्रवादी स·ठनले सामान्य नागरिकमाथि गरेको बम हमला होस् वा नाइजेरियाको अर्को इस्लामिक उग्रवादी सठन बोको हरामले गरेको हिंसक कारबाई, केही मिनेटभित्रमा नै संसारभरि युट्युबमा हेर्न सकिन्छ । युट्युबले सञ्चारलाई यति छरितो र व्यापक पारिदिएको छ कि अब कुनै सार्वजनिक महत्त्वको घटना थाहा पाउन अखबार, रेडियो वा टिभीको समाचारलाई पर्खेर बस्नुपर्दैन, युट्युब हेरे हुन्छ ।
   
सञ्चारको क्षेत्रमा भएको अर्को महान् आविष्कार हो, फेसबूक। फेसबूकका प्रयोगकर्ताहरूलाई नागरिक मान्दै यसलाई देश मान्ने हो भने चीनलाई उछिंदै फेसबूक संसारको सर्वाधिक ठूलो देश हुन पुगेको छ । अहिले, संसारभरिबाट लगभग १ अरब ५५ करोड जति व्यक्तिहरूले फेसबूक प्रयोग गर्छन् । जनसङ्ख्याको आधारमा चीन विश्वको सर्वाधिक ठूलो देश हो । चीन, जहाँ अहिले (सन् २०१५ को अनुमान) करिब १ अरब ४१ करोड व्यक्तिहरूको बसोबास छ ।
   
फेसबूक आफैमा एक विशाल मुलुक हुन पुगेको त छ नै यसका प्रयोगकर्ताहरूले पनि विश्वको अनेक स्थानहरूबाट एक अर्कासँग स्वतन्त्र भएर विभिन्न किसिमबाट अन्तक्र्रिया गर्न सक्छन् । फेसबूकको कुनै एक प्रयोगकर्ताले यो प्रयोग गर्न बस्दा लाग्छ ऊ अनेक व्यक्तिहरूको माझमा छ, त्यो प्रयोगकर्ता एक्लै भए तापनि । मनोवैज्ञानिकरूपमा फेसबूकले एक्लै बसेर यो प्रयोग गर्ने व्यक्तिलाई ऊ मान्छेहरूको भीडमा बसेको अनुभूति गराइदिन्छ । यो आफैमा एक चमत्कार हो । एक अनौठो माध्यमको आविष्कार हो । फेसबूकले व्यक्तिहरूको जीवनशैलीमा नै परिवर्तन ल्याइदिएको छ । अहिले व्यक्तिहरूले कुन ठाउँमा के भयो, को कुन स्थितिमा छ, कसले के भन्यो भनी थाहा पाउन पहिले फेसबूकमा लग इनहुन्छन्, पछि मात्र सञ्चारका अन्य माध्यम प्रयोग गर्छन् । अहिले, यो समय बिन्दुमा, फेसबूक आफैमा समाचारको ठूलो स्रोत हुन पुगेको छ । खासमा फेसबूक अहिले भानुमति का पिटाराहुन पुगेको छ, जहाँ मनोरञ्जन, सूचना, जानकारी, गीत, ंगी, इतिहास, राजनीति जस्ता अनेक विषयहरू पाउन सकिन्छ ।
   
अमेजन, इबे जस्ता सपिङ वेबसाइटहरूले विभिन्न सामग्रीहरू खरिद गर्ने तरिकामा नै परिवर्तन ल्याइदिए । यी वेबसाइटहरूको प्रयोगले विभिन्न सामग्रीहरू खरिद गर्न भौतिकरूपमा कुनै पसलमा नै पुग्नुपर्दछ भन्ने परम्परागत मान्यतालाई असत्य प्रमाणित गरिदिए । यस किसिमका सपिङ वेबसाइटहरू प्रयोग गरेर घरमा बसेर नै संसारभरिबाट करोडौं व्यक्तिहरूले विभिन्न सामग्रीहरू खरिद गर्छन् । यसरी खरिद गर्दा समयको बचत त हुन्छ नै साथै वस्तुहरूको मूल्य पनि सस्तो पर्न आउँछ । विक्रेताहरूले कुनै महँगो स्थानमा, ठूलो घरमा, पसल सञ्चालन गरेर सामग्रीहरू बिक्री गर्नु नपरेकाले मूल्य स्वाभाविकरूपमा सस्तो पर्न जान्छ । यसरी अनलाइन सपिङले मानिसको जीवन पद्धतिमा नै परिवर्तन ल्याइदिएको छ । अहिले करोडौं व्यक्तिहरूले संसारभरिबाट अनलाइन सपिङ गर्छन् । सन् २०११ मा, अमेरिकामा २०० बिलियन डलरको कारोबार अनलाइन सपिङबाट भएको थियो भने सन् २०१६ मा अनलाइन सपिङ ३२७ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । 
   
संसारको प्रत्येक स्थानमा समान किसिमले आवश्यक पर्ने र छोटो दूरीको आवागमनलाई अत्यधिक सरल तुल्याइदिने टेक्सीको अर्को कुनै प्रभावकारी विकल्प होला भन्ने कसैले सोचेको पनि थिएन । एक किसिमले भन्ने हो भने टेक्सी निर्विकल्प नै थियो । नयाँ वस्तु, सेवा एवं व्यापार पद्धतिको विकासको क्रममा उबरटेक्सीको प्रभावकारी विकल्प हुन पुगेको छ । अहिले उबरको प्रयोगले छोटो दूरीको यातायातलाई सरल, छरितो र सस्तो तुल्याइदिएको त छ नै साथै व्यापारको नयाँ तरिकाको विकास पनि गरिदिएको छ । आफ्नो निजी प्रयोगका लागि कार वा सवारीका साधन राख्नेहरूले आफ्नो सो कारलाई उबरको सहयोगमा टेक्सीको रूपमा प्रयोग गर्न सक्छन् र फुर्सतको समयलाई थप आय प्राप्त गर्नमा उपयोग गर्न सक्छन् । यसरी उबरले रोजगारको नयाँ अवसर सृजना गरिदिएको छ । संसारभरि नै उबरको प्रयोगमा व्यापक वृद्धि भएको छ पनि ।
   
यसरी अनेक किसिमका वस्तु, सेवा एवं व्यापार पद्धतिहरूको विकास गरेर अमेरिका विभिन्न आविष्कारहरूको जननी हुन पुगेको छ । अमेरिका विश्वमैं राजनैतिक तथा आर्थिकरूपमा धनी हुन सक्नु अमेरिकाको आविष्कार संस्कृतिले गर्दा हो । नयाँ नयाँ वस्तु एवं सेवाहरूको अविष्कार गर्नु अमेरिकाको संस्कृति नै बनेको छ । यहाँका कलेज मात्र होइन, हाईस्कूलदेखि नै विद्यार्थीहरूलाई अनुसन्धानमुखी हुन प्रेरित गरिएको हुन्छ ।
   
अमेरिकाको अविष्कार (खोज, अनुसन्धान, अन्वेषण, उत्पत्ति वा विकास जे भनौं) संस्कृतिको रक्षा दुई महत्त्वपूर्ण तत्त्वहरूले गरेका छन् । ती दुई महत्त्वपूर्ण तत्त्वहरू हुन्१) कडा नियम र कानुन तथा २) अविरल शान्ति र सुव्यवस्था ।
   
अमेरिकामा जसले जुन वस्तु वा सेवा अथवा व्यापारको खोज एवं विकास गरेको हो, उसले त्यसको व्यापारिक प्रतिफल (आर्थिक लाभ) प्राप्त गर्ने स्वतन्त्र अधिकार राख्दछ र सरकारले पनि उसको त्यो अधिकारको सुनिश्चितताको प्रत्याभूति गर्दछ ।
   
यसैगरी अमेरिकाभित्र रहेको अविरल शान्तिले पनि यस मुलुकको आर्थिक, सामाजिक एवं राजनैतिक विकासमा ठूलो योगदान पुर्‍याएको छ । यहाँका बालबालिकाहरूलाई यदि कसैले चक्काजाम, बजारबन्द, नाकाबन्द भनेको के हो भनी प्रश्न गर्ने हो भने उनीहरूले बुझ्ने छैनन् किनभने उनीहरूले ती कुराहरू कहिले देखेका पनि छैनन् । नेपालमा भने प्राथमिक स्कूलमा जानेहरूलाई पनि जुलुस, बन्द, हडताल, चक्काजाम आदि भलीभाँति थाहा छ । जुलुसमा गएको अनुभवसमेत छ ।
   
नेपालमा किन हो, कहिले पनि शान्ति आउन सकेन । पञ्चायतकालमा देशभरिको ऊर्जावान समय केवल पञ्चायती व्यवस्था कसरी समाप्त पार्न सकिन्छ भनी सोच्न र त्यसका लागि विभिन्न आन्दोलनहरू गर्नमा नै खर्च भयो । पञ्चायती व्यवस्था ढल्यो, प्रजातन्त्र आयो । प्रजातान्त्रिककालको मूल्यवान समय पनि दलहरूबीच सत्ताको लागि अनेक सङ्घर्ष र झगडामा बित्यो । प्रजातान्त्रिककालको पछिल्लो समय त माओवादीहरूको अदूरदर्शी, अतिअनुत्पादक रक्तपातपूर्ण समयमा बित्यो । यो समयले आम नेपालीलाई ह्दयहीन र अति हिंसक हुन सिकायो पनि । गणतन्त्रको युग त झन् सर्वाधिक डरलाग्दो र लथालिको रह्यो ।
   
नेपालको गणतान्त्रिक युगमा भएको मधेसी मोर्चाको आन्दोलनले त झन् हिन्दी गीतको एक पङ्क्ति नै याद दिलायो । मोर्चाको आन्दोलनले नेपाललाई इक दूर से आती है, पास आके पलटती है, इक राह अकेली सी रुकती है, न चल्ती है को स्थितिमा पुर्‍याइदिएको छ । नेपालको स्थिति वा मोर्चाको आन्दोलन रुकती है, न चल्ती हैको स्थितिमा छ । यदि मोर्चाको आन्दोलन सही छ भने उसले सम्पूर्ण तराईमधेसको जनतालाई साथ लिएर आन्दोलन तीव्र पार्नुपर्‍यो, अनि सरकारलाई जनदबाबमा पारेर आफ्ना मागहरू पूरा गराउनुपर्‍यो । जनताले पनि मोर्चालाई अटुट साथ दिएर वार कि पारको स्थितिमा पुर्‍याउनुपर्‍यो । तर मोर्चालाई लाग्छ, उसको आन्दोलन सही छैन, उसले आम मधेसीको साथ पाएको छैन भने मोर्चाले तत्काल आन्दोलन फिर्ता लिनुपर्‍यो । मधेसको जनताले पनि मोर्चालाई आन्दोलन फिर्ता लिन दबाब दिनुपर्‍यो । मोर्चाको आन्दोलनलाई रुकती है, न चलती हैको स्थितिबाट बाहिर आउन अनि देशमा शान्ति ल्याउन मधेसका जनताले मोर्चाका नेताहरूलाई थप दबाब दिनुपर्‍यो । स्थिति यस्तै रहने हो भने विकसित देशहरूले मलग्रहमा बस्ती बसाल्ने योजना गर्दा नेपालले जंगली जीवनमा प्रवेश गर्न सुरसार गर्नुपर्ने हुन्छ । काठमाडौंका अग्ला अग्ला घरहरूका चुल्होमा दाउरा बल्नुले, औषधिको अभावमा बिरामीहरू मर्नुले, चिसोले मात्र पनि गरिबहरूको ज्यान जानुले के नेपाल जंगली जीवनमा प्रवेश गर्न थालेको सड्केत गर्दैन त ?
   
त्यस कारण विकासको लागि पूर्वशर्तको रूपमा रहेको पहिले शान्ति ल्याउनुपर्‍यो । आर्थिक विकास गर्न अमेरिकामा झै पहिले शान्तिमा जोड दिनुपर्‍यो । शान्ति कायम भएपछि स्वत: विकास हुन्छ । सीमाङ्कन र पहिचानको समस्या पनि समाधान हुन्छ ।
   

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, January 01, 2016

No comments:

Post a Comment