Wikipedia

Search results

Friday, May 13, 2016

Liberal System:Prerequisite for Economic Development-Article-113

उदार राजनीति र लन्दन–मेयरको चुनाव

युरोपको राजधानी मानिने लन्दन शहरको मेयरमा एकजना पाकिस्तानी आप्रवासीका छोरा सदिक खान निवार्चित हुनु राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रमा अहिले सर्वाधिक चाासो र चर्चाको विषय भएको छ। राजनीतिमा रुचि राख्ने विश्वभरिका मानिसले यसलाई ठूलो र महत्त्वपूर्ण घटनाको रूपमा लिएका छन् र साथै यस स्थितिलाई एउटा सुखद राजनीतिक विकासको रूपमा पनि मानेका छन्। कतिपय व्यक्तिले सदिक खान मेयरमा निर्वाचित हुनुलाई पश्चिमको राजनीतिक व्यवस्था उदार छ भन्ने कुराको प्रमाणसहितको उदाहरण पनि भनेका छन्।
   
खान इतिहास रच्दै, पश्चिमी राष्ट्रहरूको समेत राजधानी मानिने लन्दनको पहिलो मुस्लिम मेयर निर्वाचित भएका छन्। मानव अधिकारको क्षेत्रमा काम गर्ने ४५ वर्षीय खानका पिता भने पेशाले बस–ड्राइभर हुन्। हालै लन्दन शहरको मेयरको लागि भएको निर्वाचन (मे २०१६) मा खानले अत्यधिक मत (१३ लाखभन्दा बढी) प्राप्त गरेका थिए। उनले प्राप्त गरेको मत सङ्ख्यालाई दृष्टिगत गर्दा युके (ग्लष्तभम प्ष्लनमयm) को इतिहासमा कुनै पनि नेताले अहिलेसम्म पाएको जनादेशभन्दा ठूलो हो।
   
खानले केही दिन पहिले (मे ७, २०१६ मा) लन्दनको मेयरको रूपमा साउथवार्क स्थित, साउथवार्क केथेड्रल (चर्च) मा पदको शपथ लिएका थिए। इस्लाम धर्म मान्ने कुनै व्यक्तिले क्रिश्चियनहरूको पवित्र धर्मस्थल, चर्चमा आयोजित समारोहमा पदको शपथ लिनु सामाजिक सद्भावको उत्कृष्ट उदाहरण त थियो नै, राजनीतिकवृत्तमा विश्वसामु अति उदारताको एउटा सबल सन्देश पनि थियो। विश्वभरिका कट्टर जातिवादी, साम्प्रदायिक समूहका लागि, जो जातजाति, रंग, सम्प्रदाय, क्षेत्र, धर्म आदिको आधारमा राजनीति गर्छन्, एउटा खास सद्भाव–सन्देश पनि थियो।
   
हुन पनि खानको सम्बन्ध एक अल्पसङ्ख्यक जातीय समूह (मुस्लिम) सँग भए तापनि उनले ठूलो सङ्ख्यामा अन्य जातीय समूहहरूबाट पनि मत पाएका थिए। करिब ८५ प्रतिशत गोरा र १५ प्रतिशत अन्य (साउथ एसियन, काला, मिश्रित, चाइनिज र अन्य) जातीय समूहको बसोवास रहेको स्थान (लन्डन) बाट गैरगोरा (दक्षिण एसियाली मूलका) व्यक्तिले त्यति ठूलो सङ्ख्यामा मत पाउनु एउटा ऐतिहासिक घटना हो। यो असाधारण घटना हो। लन्डनवासीले देखाएको ऐतिहासिक, मीठो सामाजिक एवं धार्मिक सद्भाव हो। बलियो, इमानदर एवं व्यावहारिक प्रजातन्त्रमा मात्र यस किसिमको चुनावी परिणाम आउन सक्छ। तथाकथित जातीयता र साम्प्रदायिकताको अदृश्य पर्खालभित्र घेरिएको प्रजातान्त्रिक व्यवस्थामा यस किसिमको चुनावी परिणाम आउन सक्तैन। उदारणको लागि धेरै पर जानु पर्दैन, छिमेकी भारतको स्थिति हेरे पुग्छ। लगभग सारा जिन्दगी भारतको राजनीतिमा बिताएकी सोनिया गाँधीले इटलीमा जन्मेको कारण भारतको प्रधानमन्त्री हुनबाट वञ्चित हुनुपरेको छ। भारतको अनुदार प्रजातन्त्रले सोनिया गाँधीलाई प्रधानमन्त्री हुन दिएको छैन। तर अर्कोतिर भारतले नेपाललाई निर्देशित गर्दै भन्छ–संविधानलाई समावेशी र सबैलाई समेट्ने किसिमको बनाऊ।
   
खानको विजयले एकजना आप्रवासीको सन्तानले पश्चिमी राष्ट्रमा पुगेर यति ठूलो उपलब्धि हासिल गर्न सक्छ भन्ने कुराको पुष्टि गर्छ साथै राजनैतिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा पश्चिमी राष्ट्रका नागरिक पूर्वी राष्ट्रका नागरिकभन्दा धेरै उदार र अगाडि छन् भन्ने कुरा पनि पुष्टि गर्छ। पश्चिमी मुलुकका नागरिकहरू आर्थिक, सामाजिक मात्र होइन, राजनैतिक क्षेत्रमा पनि निकै उदार छन्। यहाँ जाति, धर्म, समुदायको आधारमा होइन, व्यक्तिको प्रतिभा र इमानदारी, उसले समाजको हितमा पुर्‍याउन सक्ने योगदानको आधारमा कदर हुन्छ। र यो मान्यता, यो कदर गर्ने तरिकाको परिणाम हो, सदिक खानको विजय।
   
पश्चिमी राष्ट्रहरूले राजनीतिक व्यवस्थालाई उदार पारेको कारण नै द्रुततर गतिमा चौतर्फी विकास गर्न सकेका हुन्। विश्वभरिका प्रतिभा भित्र्याउन पश्चिमी राष्ट्रहरू कन्जुस्याइँ गर्दैनन्। यस तथ्यको अर्को बलियो प्रमाण हो अमेरिका। विश्वभरिका प्रतिभा जम्मा हुने र तिनीहरूले आफ्नो प्रतिभा प्रयोग गर्न पाउने मुलुक हो, अमेरिका। केन्याली बाबुबाट जन्मेका बराक ओबामा अमेरिकाको राष्ट्रपति निर्वाचित हुँदा कुनै ठूलो विवाद भएन। अमेरिकीहरूले उनलाई राष्ट्रपतिको रूपमा सहर्ष स्वीकार गरे। सोनिया गाँधीको सम्बन्धमा भारतले किन यस्तो उदारता देखाउन सकेन?
   
जर्मनी, डेनमार्क, नर्वे, स्वीडेन, इटली, युके, ग्रीस, अस्ट्रियाजस्ता मुलुकहरूले अहिले ठूलो सङ्ख्यामा द्वन्द्वग्रस्त मुलकहरू–अफगानिस्तान, सोमालिया, सिरियाका नागरिकलाई शरण दिइरहेका छन्। तर भारत, चीन जस्ता आर्थिक समृद्धि हासिल गर्न अग्रसर मुलुकहरू ती शरणार्थीहरूलाई सहयोग गर्न हात अगाडि बढाउन सकेका छैनन्। पूर्वी राष्ट्रहरू अनुदार छन् भन्ने कुराको पुष्टि यसबाट हुँदैन?
   
पूर्वमा र खासगरी दक्षिण एसियामा आर्थिक विकासको गति ‘कछुवाको चाल’ हुनुमा यस क्षेत्रको राजनैतिक व्यवस्था उदार नहुनु हो। राजनैतिक व्यवस्था उदार हुन नसकेकोले यस क्षेत्रका मुलुकहरूमा प्रजातन्त्र भए तापनि त्यो प्रजातन्त्रको फाइदा केही सीमित व्यक्तिहरूले उठाइरहेका छन्, सामान्य नागरिकले उठाउन पाएका छैनन्। मुलुकको प्रजातन्त्रलाई लठ्ठी, पैसा, ताकतले निर्देशित गरेको छ। पाकिस्तान, नेपाल, भारत, ब·लादेश, अफगानिस्तान सबैमा यही स्थिति  छ। अफगानिस्तानमा त झन् धर्मको नाममा सामान्य नागरिकको बाँच्ने अधिकारसमेत हनन भएको छ। अफगानीस्तानको राजनैतिक व्यवस्थालाई उदार मान्न सकिन्छ?
   
पूर्वेली राष्ट्रहरूको राजनीतिमा आर्थिक विकासको कुरा कमस जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताको कुरा बढी हुन्छ। हालै लन्डनमा भएको मेयरको निर्वाचन परिणामलाई अर्को किसिमले हेरौ र त्यो घटनालाई उल्टो पारेर विश्लेषण गरौं। यदि पाकिस्तानमा जन्मेको कुनै बेलायती मूलको गोराले पाकिस्तानको कुनै शहरको मेयर पदमा उम्मेदवारी दिएको भए के त्यो गोराले त्यो चुनाव जित्न सक्थ्यो? त्यस शहरका नागरिकले त्यो गोरालाई अत्यधिक मत दिएर सदिक खानलाईजस्तो विजयी गराउँथे? हामी पूर्वेली राष्ट्रहरू उदारताको खोलभित्र अनुदार मन राख्नेहरू हौ। हामी जातीयता, क्षेत्रीयतामा विश्वास गर्छौं। पश्चिमी राष्ट्रहरूजस्तो जातिहीन समाजको निर्माण हाम्रो रुचिको विषय नै होइन। हामीलाई समाजभित्र अनेक जातजाति चाहिन्छ। 
   
हामी पूर्वीयहरू राजनीतिमा निकै अनुदार छौं। अरबका कतिपय मुलुकहरूले उनीहरूको मुलुकमा बर्सौसम्म बसे पनि त्यसरी बस्नेहरूलाई आफ्नो देशको नागरिकता दिंदैनन्। बरु बर्सौसम्म बस्न दिन्छन्, तर नागरिकता भने दिंदैनन्। अर्कोतिर आफूहरू पश्चिमका मुलुकहरूमा पुग्छन, त्यहाँ बस्छन् र त्यसरी बसेको केही अवधिपछि आफू बसेको देशको नागरिकता लिन्छन्। फ्रान्स, इटली, जर्मनीलगायत युरोपका अन्य विभिन्न मुलुकहरूमा अरबहरू ठूलो सङ्ख्यामा स्थायी बसोवास गर्छन्।
   
पूर्वका राष्ट्रहरूको गरिबी यस क्षेत्रका बासिन्दाहरूको अनुदार मनोविज्ञानसँग जोडिएको छ। अनुदार राजनैतिक व्यवस्थासँग जोडिएको छ। यसै सन्दर्भमा एकजना मित्र बुद्धि बस्यालले आफ्नो फेसबूक–स्टाटसमा लेखेको कुरा ‘जुन देश जब समृद्धशाली बन्छ, तब मात्र त्यो देशको जनता राष्ट्रवादी जनता मानिन्छ’ उल्लेख गर्न चाहन्छु। हुन पनि हो, राष्ट्रवाद मुलुकको आर्थिक र सामजिक समृद्धिसँग गाँसिएको हुनुपर्दछ, जातीयता, साम्प्रदायिकता, क्षेत्रीयतासँग होइन।
   
नेपालको राजनीतिलाई पनि अनुदार मनोविज्ञानले छोडेको छैन, बरु गाँजेको छ। यहाँका नेताहरू अहिले पनि जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताको आधारमा राजनीति गर्छन्। नागरिकहरू पनि जातीय, क्षेत्रीय, साम्प्रदायिक स·ठन खोल्न पाएकोमा द· हुन्छन्। न नेताहरू,  न सामान्य नागरिक जातिहीन समाजको निर्माणमा अभिरुचि राख्छन्। नेताहरूले किन रुचि राखून्? उनीहरू त झन् जातीयता र साम्प्रदायिकताको आधारमा राजनीति गर्न पाएका छन्। आफूलाई प्रगतिशील भन्ने माओवादीले त अझै द्वन्द्वकाल (२०५२–२०६२) मा नेपालभरि जातीय कलहको बींउ नै छर्‍यो।
   
तर मनन गर्ने कुरा के छ भने प्रजातन्त्रमा जबसम्म इमानदार र प्रतिभावानलाई मौका दिइँदैन र चुनावमा जातीयता र साम्प्रदायिकताको आधारमा नेताहरू चयन भइरहन्छन्, नेपालको गरिबी जहाँ छ त्यहीं रहिरहने छ। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशसित Friday, May 13, 2016

No comments:

Post a Comment