Wikipedia

Search results

Friday, January 6, 2017

Special Nature and Characteristics of Nepalese Economy-Article-138

नेपाली अर्थव्यवस्थाका प्रकृति र विषेशताहरू

नेपाल गरिब राष्ट्र होइन। जनता र नेताहरूले नेपाललाई गरिब पारेका हुन। पछिल्लो समयमा (२०१७ साल पछि) भने मुख्य गरी नेताहरूद्वारा नेपाललाई गरिब तुल्याउने कार्यको थालनि भयो। २०४७ साल पछि, दलीय राजनीतिको अभ्यास हुन थाले पछि, नेताहरूले नेपाललाई गरिब पार्ने अनेक किसिमका क्रियाकलापहरू गरे। विभिन्न दलका अनेक नेताहरूले, सरकारमा भएको बेला, फरक फरक किसिमका आर्थिक नीति तथा कार्यक्रमहरूको प्रयोग गरे। कुनै दलका नेताहरूले पूँजीवादी अर्थ व्यवस्थालाई महत्व दिए भने कुनैले मिश्रित अर्थ व्यवस्थालाई। कुनै दलका नेताहरूले त कस्तो किसिमको नीति तथा कार्यक्रमहरू लागु गरेमा नेपालको आर्थिक विकास हुन्छ भनी थाहा पाउन पनि सकेनन्। उदाहरणका लागि माओवादीहरू। माओवादीको संगठनमा त जानकार अर्थशास्त्रीहरू पनि देखिएनन्। जंगलबाट आएको माओवादीसँग केवल शत्रुलाई पराजित गरेर राज्य-शक्ति कसरी आफ्नो हातमा लिन सकिन्छ भन्ने अनुभव (tactical war experience ) मात्र छ। र अहिले पनि यो दलले केवल त्येही नीतिको प्रयोग गरिरहेको छ। उदाहरण (हाल) तेस्रो ठूलो दल भएता पनि माओवादीले अहिले सरकारको नेतृत्व गरिरहेको छ।  
तर हामीले वर्तमान पुस्ता (युवाहरू) र आउने पुस्ता (वाल वालिकाहरू) लाई के तथ्य प्रष्ट गरी अवगत गराइ दिनु पर्छ भने नेपाल एक निर्धन राष्ट्र होइन। नेपाललाई निर्धन नेताहरूले आफ्नो स्वार्थी व्यवहारले गर्दा पारेका हुन। सँधै अनेक किसिमका कलह गर्नमा रमाउने र नेपाललाई अस्तव्यस्त पार्नमा आफ्नो फाइदा देख्ने नेताहरूले यो देशलाई निर्धन पारेका हुन। यी झगडिया नेताहरू मिलेर हिंड्ने हो भने विकासको पर्याप्त सम्भावनाहरू भएको यो देशको विकासको गति तत्काल तिब्र हुन्छ। यो तथ्य हामीले वर्तमान पुस्तालाई बताइ दिने हो भने उनीहरू शिर ठाडो पारे बाँच्न सक्छन। गरिब राष्ट्रको नागरिक हुँ भन्ने उनीहरूको मनमा लघुताभाष हुँदैन। गर्वका साथ टाउको ठाडो पार्न सक्छन्।
पर्याप्त आर्थिक विकासका सम्भावनाहरू भएको नेपाललाई कसरी गरिब राष्ट्र भन्ने? नेपालसँग पर्याप्त मानव-शक्ति छ। देश भित्र यो मानव शक्तिको उपयोग हुन नसकेर लाखौं नेपालीहरू रोजगारीका लागि विदेशिनु परेको छ। ठूला  ठूला हिमछादित (glacier) नदीहरू छन जुन खानेपानी, विद्युत र सिंचाइका लागि वरदान हुन सक्छन। तर यी नदीहरूको उपयोग हुन सकेको छैन, उल्टो वर्षातको समयमा यी नदीहरू डरलाग्दो बाढीको कारण बन्न पुगेका छन्। यी नदीहरूले भारतलाई बढी फाइदा पुर्याएका छन्। नेपालको जलवायु एवं मौसम कृषिका लागि अति नै अनुकूल छ र वर्षभरि अनेक किसिमका बालीहरू लगाउन सकिन्छ। पर्यटकिय स्थानहरूका लागि नेपाल विश्व प्रसिद्ध छ। विश्वका १ सय २३ अग्ला शिखर मध्ये नेपालमा मात्र २३ अग्ला शिखरहरू छन्, जुन आफैमा अति आश्चर्यको कुरा हो। पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दीर जस्ता विश्व प्रसिध्द धार्मिक तिर्थ स्थलहरू पनि नेपाल मा नै छन्। प्राचीन सभ्यता र संस्कृतिका जीवित इतिहासहरू- राजर्षि जनक, महर्षि याज्ञवल्क्य, गार्गी, अष्टवक्र नेपालका बौद्धिक सम्पत्ति हुन। संसारलाई अनेक प्रशिद्ध ग्रन्थहरू दिने ऋषि व्यास को गुफा अहिले पनि दमौलीमा सुरक्षित छ। पर्यटनका यी पूर्वाधारहरूले नेपाललाई छोटो समयमा नै धनी तुल्याउन सक्छन्। यी अनेक किसिमका मानवीय, प्राकृतिक, धार्मिक, साँस्कृतिक समप्त्तिहरू हुँदा हुँदै पनि नेपाललाई कसरी गरिब राष्ट्र भन्ने?
अर्थशास्त्रको भाषामा ती राष्ट्रहरूलाई गरिब भन्ने गरिन्छ जो संग आर्थिक विकासका सम्भावनाहरू छैनन्। जस्तै अनुकूल जलबायु, कृषियोग भूमि आदि नहुन। उदाहरण,  अरबका केही राष्ट्रहरू यस्ता छन्,  जहाँ अधिक गर्मीको कारण कृषि कार्य कठिन हुन पुग्छ। विकासको सम्भावना नभएकामा अफ्रिकाका अन्य केही मुलुकहरू पनि पर्छन।
नेपालमा पर्याप्त विकासका सम्भावनाहरू छन्। यहाँका राजनैतिक दलका नेताहरू बीच सत्ता साझेदारीका लागि दीर्घकालिन समझदारी हुने हो भने त्यो समझदारीले निश्चय पनि मुलुकमा दीर्घकालीन शान्ति ल्याउने छ। र त्यो शान्तिले आर्थिक विकासको गतिलाई तिब्र पार्ने छ। तथाकथित मधेसी र पहाडे नेताहरू बीच सत्ता साझेदारीको कुरा न मिलेर नै बेला बेलाम कलह उत्पन्न हुने गरेको हो।
यो देशको आर्थिक विकासका लागि नीति, नियम, योजना, कार्यक्रम आदिको निर्माण गर्दा भने केही कुराहरूमा ध्यान दिन आवश्यक छ। नेपालको आर्थिक व्यवस्थाको प्रकृति एवं विषेशताहरूको गहन अध्ययन गर्न र उचित किसिमले बुझ्न आवश्यक छ। नेपालको आर्थिक व्यवस्थाका प्रकृति एवं विषेशताहरू यस प्रकार छन्:
दुई ठूला बजारबीच सानो बजार:  नेपालको अवस्थिति दुई ठूला बजारहरूको बीचमा रहेको र यी दुई ठूला बजारहरू नेपालको तुलनामा आर्थिक रूपमा ज्यादै सक्षम भएकोले नेपालले यी बजारहरूसँग कुनै पनि वस्तुको उत्पादनमा प्रतिस्पर्धा गर्न सक्तैन। नेपालमा उत्पादित वस्तु यी दुई मुलकहरूमा उत्पादित वस्तु भन्दा सस्तो हुनै सक्तैन। यो कारणले गर्दा केही वस्तुको उत्पादन एवं विक्रीमा सरकारले नेपाली उत्पादकहरूलाई सरक्षण अनिवार्य रुपमा दिनु पर्ने हुन्छ  अकुशल उत्पादन व्यवस्था: नेपालको उत्पादन व्यवस्था कुशल हुन सकेको छैन। केही औधौगिक वस्तुहरू बाहेक अन्य सम्पूर्ण वस्तुहरूको उत्पादन नेपालमा परम्परागत विधिबाट, हातबाट हुन्छ। कृषिका लागि अहिलेसम्म पनि गोरू जोतिएको हलो प्रयोग हुन्छ। विकशित देशहरूमा खान पकाउनका लागि समेत पनि उच्च प्रविधिको प्रयोग हुन्छ। नेपालमा सर्व साधरणले पनि प्रयोग गर्न पाउने गरी मोटर, कार उपलब्ध भएको पचास वर्ष पनि भएको छैन, बेलायतले आज भन्दा करिब १ सय २० वर्ष पहिले (१८९७) भारतलाई कार निर्यात गरेको रेकर्ड छ।  अनुसन्धानको कमी: कम लागतमा कसरी वस्तु एवं सेवाहरू उत्पादन गर्ने, खास किसिमका नया वस्तुहरू उत्पादन गर्ने, अमेरिकामा जस्तै फेसबुक, गुगल, इबे, अमेजन जस्ता नया व्यापारहरूको विकास भएझै नया किसिमका व्यापारहरूको विकास कसरी गर्नेबारे नेपालमा पटकै अनुसन्धान भएको पाइँदैन। उच्च उत्पादन लागत: महँगो इन्धन (विजुली, पेट्रिलियम पदार्थ), महँगो कच्चा पदार्थ, परम्परागत उत्पादन विधि जस्ता कारणहरूले नेपालमा उत्पादन हुने सम्पूर्ण वस्तुहरू भारत र चीनका वस्तुहरूको तुलनामा महँगा हुन पुग्दछन्। नेपालमा उत्पादित वस्तुहरू यसरी महँगो हुने भएको कारण प्रथम त देशभित्र नै बिक्री हुने अवस्था कमजोर भएर जान्छ भने विदेशी बजारमा निर्यात गर्न झन गार्हो हुन्छ। महँगो कच्चा पदार्थ: उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू नेपालमा सस्तो हुन सकेको छैन। लगभग सम्पूर्ण कच्चा पदार्थहरू नेपालले भारतबाट आयात गर्नु पर्दछ। कच्चा पदार्थ नै महँगोमा खरिद गर्नु पर्ने स्थिति रहेमा कसरी सस्तोमा उत्पादन गर्न सकिन्छ? नेपालमा अहिलेसम्म पनि सस्तोमा कच्चा पदार्थहरू उत्पादन गर्न सकिएको छैन्। अनियन्त्रित स्थानीय बजारहरू: नेपालको आर्थिक अवस्थालाई देश भित्रका अनियन्त्रित बजारहरूले सर्वाधिक प्रतिकूल प्रभाव पारेका छन्। नेपाल र भारतबीच खुला सिमाना भएको कारणले गर्दा ठूलो परिमाण भारतीय वस्तुहरू अवैध तरिकाले नेपालमा आयात हुन्छन। यसरी आयात हुने वस्तुहरू लघु कालमा नेपाली उपभोक्ताहरूका लागि सस्तो भएता पनि यिनीहरूले नेपाली उद्योगहरूलाई धरासायी पार्दैछन्। यो कारणले गर्दा भारतीय सिमा नजिक रहेका नेपाली उद्योगहरू बिस्तारै बन्द हुँदै गइरहेका छन्। अर्कोतिर नेपाली बजारहरूमा भारतीय वस्तुहरूको संख्या र वर्चस्व बढ्दै गइरहेको छ। स्थित यस्तो सम्म पनि हुन पुगेको छ कि एक दिनका लागि पनि भारतले नेपालतर्फ सामाग्रीहरू पठाउन बन्द गर्ने हो भने नेपालमा हाहाकार मचिन्छ। तर यस्तो स्थिति कहिलेसम्म कायम राख्ने? महँगो यातायात लागत: नेपालमा यातायात लागत ज्यादै उच्च छ। रेल र जल यातायातको विकास नभएको तथा यातायात लागतलाई सस्तो पार्न ठोस एवं इमान्दार प्रयास नभएको कारणले गर्दा नेपालमा उत्पादित मात्र होइन आयातित सामाग्रीहरू पनि सस्तो हुन सकेको छैन्। यो कारणले गर्दा नेपालका बजारहरूमा उपभोग्य वस्तुहरू ज्यादै महँगो हुन पुगेको हो। पहाडी बजारहरूमा त झन उपभोक्ताहरूलाई महँगीले पिरोलेको छ। ज्ञानको कमी: ज्ञानको क्षेत्रमा र खासगरी व्यापारिक ज्ञानको क्षेत्रमा नेपाल निकै पछाडि छ। ज्ञानको कारणले नै सानो मुलुक इजराइलले देशलाई धनी तुल्याएको छ। त्येति मात्र होइन, सामरिक दृष्टिकोणले पनि बलियो छ। आफ्ना छेउ छाउका छिमेकीहरू, यदि कसैले आक्रमण गरेमा, तह लगाउने क्षमता राख्दछ। कृषिको क्षेत्रमा इजराइलले अभूतपूर्व विकास गरेको हो र यो विकास ज्ञानको कारणले गर्दा भएको हो। महँगो ऊर्जा: नेपाल ऊर्जामा आत्म निर्भर छैन र यो नौलो कुरा पनि होइन। तर उपलब्ध रहेको ऊर्जालाई पनि व्यवस्थापकीय असक्षमताले गर्दा सस्तो र नियमित पार्न सकिएको छैन्। लोडसेडिंगको रहस्य अहिले जग-जाहेर छ। संधैको राजनैतिक अस्थिरताले गर्दा ठूलो मात्रामा जल विद्युतको उत्पादन हुन सकेको छैन। भारतबाट आयात हुने पेट्रोलियम पदार्थलाई पनि अनेक कारणहरूले गर्दा सस्तो पार्न सकिएको छैन्।  अव्यस्थित  भण्डारण: विकसित देशहरूसँग तुलना गर्ने हो भने नेपालको भण्डारण व्यवस्था एक सय वर्ष पुरानो रहेको अनुभव गर्न सकिन्छ।  नेपालमा अहिले पनि त्यसै गरी सामानहरू भण्डार गरिन्छ जसरी विकसित देशहरू- अमेरिका, जर्मनी, बेलायत, फ्रान्समा एक सय वर्ष पहिले  गरिन्थ्यो। विकसित देशहरूमा भण्डारणका लागि शीत भण्डार (Cold storage) को प्रयोग मात्र हुँदैन साथै वस्तुको गणना गर्न एवं त्यसको गुणको संरक्षण गर्न प्रविधि (Computerized technology) को पनि अत्यधिक प्रयोग हुन्छ। यसले गर्दा एउटा समय (मौसम) मा उत्पादन भएको वस्तु अर्को समयमा उपयोग गर्न सकिने तुल्याउन सकिएको छ। सिघ्रनाशवान् वस्तुहरू- दुध, फलफूल, मासु,  अण्डा आदिको संरक्षण गरेर तिनलाई लामो समयसम्म उपभोग गर्न सकिने पारिएको छ। यो कारणले गर्दा पनि विकसित देशहरूमा यस्ता वस्तुहरू नेपालको तुलनामा ज्यादै सस्ता हुन पुगेका छन्।
नेपालको अर्थव्यवस्थाको यस किसिमका प्रकृति एवं विशेषताहरू भएकोले यो मुलुकको आर्थिक विकास गर्नका लागि खास खास कुराहरूमा ध्यान दिन आवश्यक छ। माथि उल्लेख गरिएका वुंदाहरूबाट के कुरामा प्रष्ट हुन सकिन्छ भने नेपालका केही क्षेत्रहरूलाई संरक्षण दिनु आवश्यक छ भने केहीलाई प्रतिस्पर्धी तुल्याउन सकिन्छ। उदाहरणका लागि यातायात व्यवस्था (ट्रक, बस, आदि सेवा) लाई प्रतिस्पर्धी तुल्यान सकिन्छ भने कृषिलाई संरक्षण चाहिन्छ। त्यसकारण नेपालले उदार र खुला बजार व्यस्था भित्र रहेर, विभिन्न क्षेत्रहरूको संरक्षण पनि गर्दै, देशको आर्थिक विकास गर्ने एउटै क्षेत्रमा फरक फरक योजना, नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ। एउटै किसिमको आर्थिक नियमहरू नेपालभरि कायम गरेर होइन, फरक फरक स्थान वा बजारमा फरक फरक नीति, निमय ल्याउन आवश्यक छ। किनभने नेपालको अर्थव्यवस्थाको विशेषता एवं प्रकृतिहरू खास किसिमका छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 06, 2016

No comments:

Post a Comment