बीरगञ्जको सडक
फराकिलो पार्नु आवश्यक छैन
हामी नव निर्माण कम
गर्छौ। पुरानो संरचना नभत्क्याएर नव निर्माण त पटक्कै गरेका छैनौ। तर पहिले देखि
निर्मित कुराहरू भत्काउनमा भने ऐतिहासिक विकास भएको देख्छौ। पहिलेदेखि
निर्मित कुराहरूको उचित संरक्षण गर्नुलाई पटक्कै विकास मान्दैनौ। यदि पहिलेदेखि
निर्मित कुराहरू भत्काउनु नै विकास हुँदो हो त भारतको बनारस सहर रुप अर्को
हुनेथियो। पुरानो दिल्लीको रुप अर्को हुने थियो। लन्दन र पेरिसको रुप पनि अर्को
हुने थियो। तर यी सहरहरूको मौलिकता कायम राख्न यी सहरहरू भत्काउने कार्य भएन। बरू यी
सहरहरूको मौलिकता कायम राख्न करोडौ रूपैया खर्च गरियो। बनारसका सडकहरू चौडा पार्न
सडक वरपरका घरहरू भत्काउने हो भने बनारसको मौलिकता नै रहँदैन। ‘बनारस की गल्ली’
भन्ने उखान पनि हराएर जान्छ। त्यो सहर ‘मौलिक’ बनारसको रुपमा रहँदैन पनि। यही सत्य
पुरानो दिल्ली, लन्दन र पेरिसमा पनि लागु हुन्छ।
सन् १७०३ मा बनेको
बेलायतको राजदरवार “बकिंघम पैलेस” उपयोगी कम तर खर्चिलो बढी छ। लाखौं पौण्ड केवल
यसको मर्मत र संहारमा खर्च गर्नु परेको छ। यो भवनको व्यापारिक उपयोगिता पटक्कै छैन्। वर्तमान समयमा ‘हात्ति पालेको’ जस्तो छ।
यसलाई भत्काउने आवाजहरू नउठेका भने होइनन्। तर यसको संरक्षण गर्नु पर्छ भन्नेहरूले
जितेका छन्। यो कारणले गर्दा यसलाई भत्काउने कार्य भएको छैन। ७७५ कोठाहरू भएको लन्दन
स्थित बकिंघम दरवारको उपयोग भने ज्यादै न्यून छ। बेलायतकी महारानीको निवास र केवल
राजकीय समारोहरूको आयोजना बाहेक अन्य कुनै काममा यो दरवारको उपयोग हुन सकेको छैन।
यति हुँदा हुँदै पनि यो दरवारलालई ‘बेलायतको परिचय’ भनेर देशवासीहरूले यसको
संरक्षण गरेका छन्। सामान्य नागरिकहरूले (आफूले भुक्तान गरेको रमक) कर खर्च गरेर
यो दरवारको संरक्षण गरेका छन्।
अब विषय प्रवेश गरौ।
वीरगञ्जका सडकहरू चौडा पार्न त्यस वरपरका घरहरू भत्काउने भनी हाल चलिरहेको चर्चाको
परिचर्चा गरौ। तर यो परिचर्चा गर्नु भन्दा पहिले दुई महत्वपूर्ण प्रशंगहरूलाई यहाँ
जोड्न चाहन्छु।
पहिलो प्रशंग। वीरगञ्जले
आफ्नो मौलिकताको संरक्षण गर्न नजानेको र जानेर पनि नगरेको इतिहास भने नौलो होइन।
वीरगञ्ज एक यस्तो ऐतिहासिक सहर हो जहाँ नेपालमा पहिलो पटक सन् १९२७ मा रेलसेवा
स्थापना भएको थियो। भारतको रक्सौल हुँदै नेपालको अमलेषगञ्जसम्म पुग्ने यो ‘नैरोगेज’
रेलसेवाको लम्बाइ भने ४७ किलोमिटर थियो। यो रेलसेवाले सन् १९६५ सम्म यात्रीहरूलाई
ओसार पसार गरेको भएता पनि पछि भने यात्री सेवा बन्द भयो तर पनि रक्सौलबाट विभिन्न
सामाग्री (नून, मल आदि) ओसार्नमा यसको प्रयोग भइ नै रह्यो। तर २०३० साल पछि भने यो
सेवा पूर्णतया बन्द नै भयो। त्यति मात्र हो र? रेलको सेवाको जग्गा जसले जहाँ पायो
आफ्नो जग्मा या त बिलय गरायो या कबज्जा जमायो। स्थिति अहिले यस्तो छ, नया
पुस्तालाई वीरगञ्जमा रेलसेवा थियो भन्ने हो भने पत्याउँदैन किनभने त्यसको
भग्नावशेषसम्म पनि छैन्, विश्वास गर्नका लागि। विकसित मुलुकमा हो भने यस्तो
ऐतिहासिक सम्पत्ति जोगाएर राख्छन। त्यसलाई पर्यटकको लागि एक उत्कृष्ट गन्त्वयमा
परिणत गर्छन्। करोडौं रुपैया आर्जन गर्छन।
सहरलाई धनी पारेर सहारबासीलाई राम्रो आम्दानीको बाटो बनाइ बनाइ दिन्छन्। सहरको
परिचयको रुपमा प्रचार गर्छन्। जस्तै न्युयोर्क सहरको ‘स्टचु अफ लिवर्टी’। तर कठै!
वीरगञ्जको सन्दर्भमा त्यो सत्य लागु हुन सकेन।
दोस्रो प्रशंग।
नेपालमा सहर कसरी ठूलो हुँदै जान्छ भन्ने कारणको पनि अनेक कारणहरू खोजौं। नेपालमा
सहर र गाउँ बीचको अन्तर ज्यादै ठूलो छ। तर विकसित देशहरूमा यति विसाल अन्तर
हुँदैन। सहरमा हुने लगभग सम्पूर्ण कुराहरू गाउँमा हुन्छ। प्रत्येक गाउँमा सडक,
शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, सञ्चार, सुरक्षा, अग्नि नियनत्रण सेवा आदि
अनिवार्य रूपमा हुन्छ नै। केवल विश्वविद्यालय, ठूला अदालत, ठूला ठूला उद्योग,
अत्याधुनिक एवं अति सुविधा सम्पन्न अस्पताल आदि गाउँहरूमा हुँदैनन्। ती कुराहरू
ठूला सहरहरूमा हुन्छन। यो कारणले युरोप वा अमेरिकामा गाउँहरूबाट पलायन भएर
नागरिकहरू ठूलो संख्यामा सहरमा बसोबास गर्दनन्। गाउँहरूमा बसोबास गर्नेहरूको
संख्या पनि ठूलो हुन्छ। नेपालमा जस्तो
सहरहरू अप्राकृतिक तबरले विस्तारित हुँदैन। सानो समयमा सहरहरू अमलाको आकारबाट
फर्सीको आकारमा परिणत हुँदैन।
नेपालमा भने कुनै एक
सहर त्यो पनि आर्थिक विकासको अनेक सम्भावना बोकेको सहर एक दसकमा नै अमलाबाट ठुलो
फर्सी हुन पुग्छ। उदाहरण, काठमाडौ, वीरगञ्ज आदि। अब, प्रश्न उठ्छ यसरी
छोटो समयमा नै ठूलो आकार ग्रहण गर्ने सहरका सडकहरूलाई साँघुरो भयो भन्दै कहिलेसम्म
फराकिलो पार्ने? कहिलेसम्म सडक वरपर बसोबास गरेका नागरिकहरूको उठिबास गर्ने? कहिलेसम्म
त्यस सहरको मौलिकता नष्ट गर्ने? कुनै खास सहरको कुनै खास ठाउँमा बस्ने पाउने कुनै
नागरिकको मौलिक हक कहिलेसम्म खोस्ने? स्वतन्त्रताको हक झै कुनै पनि नागरिकको उसको
आफ्नो सम्पत्ति माथिको हक पनि सुरक्षित हुनु पर्दछ। यस्तो किसिमको कार्यले कुनै
व्यक्ति वा परिवारको उसको सम्पत्ति माथिको हक हनन हुँदैन? ल मानौ, अहिले
वीरगञ्जका सडकहरू साँघुरा भए रे। ती सडकहरूलाई, थुप्रै घरहरू भत्क्याएर, चौडा
परियो रे। फेरि दस वर्ष पछि, अनेक परिवारहरू बसाइ सरेर वीरगञ्ज आए सहरलाई पुन:
ठूलो पारे, फेरि सडकहरू साँघुरो लाग्न थाले, अब के फेरि वीरगञ्जका सडकहरू चौडा
पार्न पुन: घरहरू भत्काउने? र यसरी भत्क्याउने कार्यलाई कहिले सम्म जारि राख्ने?
के वीरगञ्जलाई ठूलो अति ठूलो सहर हुनबाट रोक्न सकिन्छ? वरपरका विभिन्न गाउँहरूबाट
वीरगञ्ज आउने परिवारहरूलाई के नआउ भन्न सकिन्छ?
अमेरिकाको विश्व
प्रसिद्ध ‘खुद्रा भण्डार’, वालमार्ट जसका शाखाहरू संसारका अनेक मुलुकहरूमा
संञ्चालित छन, को स्थापना एक अमेरिकी उद्यमी साम वालट्न ले एकल स्वामित्वमा सन १९५०
मा अर्कान्सा राज्यको बेनटनभिल सहरमा गरेका थिए। प्रारम्भमा यो भण्डार केवल एक
सानो भवनमा सञ्चालन गरिएको थियो। तर अहिले यो ‘विसाल भण्डार’ मा परिणत भएको छ।
संसारभरिमा यस भण्डारका ६ हजार २०० शाखाहरू छन्। अमेरिकाका विभिन्न राज्यहरूमा
यसका ३ हजार ८०० शाखाहरू छन्। वालमार्टले १६ लाख व्यक्तिहरूलाई प्रत्यक्ष र
करोडौंलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ। यो प्रशंग यहाँ किन उठाएको भने साम
वालट्नले सुरुमा बेन्टनभिलमा सञ्चालन गरेको सानो भण्डार अहिले पनि सुरक्षित छ।
त्येति मात्र हो, यो सानो आकारको मालमार्टमा स्थापना कालमा साम वालट्नले जे
कुराहरू बिक्री गर्थ्ये अहिले पनि ती कुराहरू बिक्री गरिन्छ। अहियो त्यो सानो
भण्डार अर्कान्साको एक महत्पूर्ण पर्यटकीय गन्तव्य भएको छ। त्यो सानो भण्डार सानो
भयो भनेर न त साम वालट्नले भत्क्याए। न त त्यस सहरको प्रशासनले नै यो सानो भण्डार
किन राख्न भन्दैन भत्क्याउन लगायो। बेन्टनभिलले बरू त्यो साम वाल्टनको त्यो
भण्डारलाई ‘सहरको परिचय’ भन्दै संरक्षण गरेको छ।
वीरगञ्ज एक पुरानो
व्यापारिक सहर मात्र होइन, यसले अनेक इतिहासहरू समेत पनि बोकेको छ। यो सहरका अनेक
घरहरू भत्क्याएर यसको मौलिकता नष्ट गर्नु हुँदैन। वीरगञ्जको भन्सार क्षेत्रदेखि
वीरगञ्ज चीनी कारखानासम्मको क्षेत्रको संरक्षण गर्नु पर्दछ। यसको ऐतिहासिक
सुन्दरता कायम राख्नु पर्दछ। वीरगञ्जको पूर्व वा पश्चिममा ‘नया वीरगञ्ज’ निर्माण
गर्न सकिन्छ। एक खास योजनाद्वारा सकड एवं घरहरूको नव निर्माण गरेर नया वीरगञ्जको
सृजना गर्न सकिन्छ, ‘नया दिल्ली’ सृजना गरे झै।
कुनै समय यस्तो
थियो, वीरगञ्जलाई ‘नेपालको द्वार’ भन्ने गरिन्थ्यो। भारतबाट नेपालका विभिन्न भागमा
जानका लागि होस वा नेपालका विभिन्न भागहरूबाट काठमाडौ जानका लागि होस, यात्रुहरू
पहिले वीरगञ्ज आउने गर्थ्ये। वीरगञ्ज एक प्रस्थान बिन्दु थियो। कुनै समयमा
वीरगञ्जा ठूलो परिमाणमा चामल उत्पान हुन्थ्यो र यहाँ उप्पादन भएको चीनी नेपाल
मात्र होइन भारतीय बजारहरूमा पुगथ्यो। यहाँ अनेक कारखानाहरू थिए। स्टील कारखाना,
मोजा कारखाना, चकलेट विस्कुट कारखाना, कपडा कारखाना, औजार कारखान आदि आदि। तर अति
राजनीतिले यी सबै कुराहरूलाई स्वाहा पारिदियो। अब अहिले कसको स्वार्थमा हो कुन्नि,
वीरगञ्जको मौलिकता नष्ट गर्ने कार्य हुन थालेको छ। वीरगञ्जको इतिहासलाई झल्काउने
घरहरू भत्काउने कार्य हुन थालेको छ। वीरगञ्ज, वीरगञ्जका बासिन्दाहरूको हो। नत यो निर्माण
मन्त्रालयको हो न त अन्य कुनै मन्त्रालयको। वीरगञ्जको भविष्य निर्धारण गर्ने
अधिकार यहाँ बासिन्दाहरूमा सुरक्षित हुनु पर्दछ। र अन्त्यमा, पुराना संचारना भत्काउनु उत्कृष्ट निर्माण होइन। यो वीरगञ्जलाई
हृदयदेखि माया गर्ने निस्वार्थी व्यक्तिको विचार हो, जसको स्वार्थ न
त फत्काउनमा न त नभत्काउनुमा छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 13, 2017
No comments:
Post a Comment