Wikipedia

Search results

Friday, May 5, 2017

Measures To Check Trade Deficit With India-Article-155

भारतसँग व्यापार घाटा: नियन्त्रणका उपायहरू
 भारतसँग व्यापारमा नेपालले बेहोर्नु पर्ने ठूलो घाटा नियन्त्रण गर्न नसकिने स्थितिमा पुग्दै गएकोबारे चर्चा पछिल्लो लेखमा गरियो। तुलनात्मकरूपले नेपालले थोरै मूल्यका र कम परिमाणमा वस्तुहरू भारततर्फ निर्यात गर्ने तर भारतबाट भने बढी मूल्यका (ट्रक, बस, कार, मेसिन, उपकरण, निर्माण सामग्री आदि) र अधिक परिमाणमा (खाद्य) वस्तुहरू आयात गर्नेबारे पनि चर्चा गरियो। साथै नेपालले भारततर्फ सामान्य किसिमका वस्तुहरू निर्यात गरेर यो ठूलो व्यापार घाटा कम पार्न सकिन्छ भनी सोच्नु दिवा स्वप्न हुने भन्नेबारे पनि चर्चा गरियो। यस आलेखमा भने कस्ता वस्तुहरू भारततर्फ निकासी गरेर नेपालले निरन्तर बेहोर्नुपरेको ठूलो व्यापार घाटा कम पार्न सक्छ र नेपालको कमजोर व्यापारिक स्थितिलाई अँठ्याउने रणनीति बनाएर भारतले त्यही कमजोरीलाई आधार बनाएर नेपालको राजनीतिमा गर्ने निरन्तर हस्तक्षेपलाई कम पार्न सक्छ भन्नेबारे चर्चा गरिने छ।
   
भारतसँगको व्यापार घाटा कम पार्न नेपालले निम्न तीन कुरामा ध्यान पुर्याउनुपर्ने देखिन्छ।
१)  भारतलाई परिणामद्वारा प्राप्त बचत (Economy of Scale)
   
भारतले ठूलो परिमाणमा उत्पादन गरेर प्रतिएकाइ अति सस्तोमा उत्पादन गर्न सक्षम कुनै पनि किसिमको वस्तु नेपालले पनि उत्पादन गरेर भारततर्फ निर्यात गर्नु सम्भव छैन। त्यस किसिमका वस्तुहरू नेपालले उत्पादन गरेर निर्यात गर्दा भारतीय बजारमा ती वस्तुहरू महँगो भएर बिक्री हुन नसक्ने स्थितिमा पुग्छन्। किनभने सस्ता भारतीय वस्तुहरूसँग महँगा नेपाली वस्तुहरूले कुनै पनि स्थितिमा प्रतिस्पर्धा गर्न सक्तैनन्। त्यसकारण यस्ता वस्तुहरू भारततर्फ निर्यात गर्दा नेपाललाई फाइदा पुग्दैन, उल्टो नोक्सानी हुन्छ। भारतले सूचना प्रविधि र इन्जिनियरिंगको क्षेत्रमा गरेको अभूतपूर्व विकासले गर्दा उसले ठूलो परिणाममा उत्पादन गरेर विभिन्न वस्तुहरूको उत्पादनमा परिमाणद्वारा प्राप्त बचतको स्थिति प्राप्त गरेको छ। त्यस्ता धेरै वस्तुहरू छन् जुन भारतले ठूलो परिमाणमा उत्पादन गरेको कारणले प्रतिएकाइ उत्पादन लागत कम भएर ती वस्तुहरूको बिक्री मूल्य सस्तो हुन पुगेको छ। यसले गर्दा ती वस्तुहरू भारतको आन्तरिक बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारहरूमा पनि सस्तो हुन पुगेको छ। संसारभरिका वस्तुहरू आउने अमेरिकी बजारमा पनि भारतीय वस्तुहरू सस्ता छन्। नेपालले भारततर्फ निर्यात गर्न त्यस्ता वस्तुहरू मात्र उत्पादन गर्नुपर्छ जसको उत्पादनमा भारतले परिणामद्वारा प्राप्त बचतको स्थिति प्राप्त नगरेको होस्।
२) तुलनात्मक फाइदा (Comparative Advantage)
प्रतिस्पर्धीहरूको तुलनामा सस्तोमा वस्तु एवं सेवाहरू उत्पादन मात्र होइन, बिक्रीसमेत गरेर प्राप्त गरिने लाभलाई अर्थशास्त्रको भाषामा तुलनात्मक फाइदा भन्ने गरिन्छ। यस्ता धरै वस्तु र सेवाहरू छन् जुन नेपलामा सस्तोमा उत्पादन गरेर, सस्तो लागतमा भारतमा बिक्री गर्न सकिन्छ। भारतमा उत्पादन गर्न नसकिने वा उत्पादन गर्दा महँगो पर्ने वस्तुहरू जस्तै जडीबुटी, जङ्गली बिरुवा, जनावर, खास किसिमका फलफूल, तरकारी, अन्न आदि उत्पादन गरेर भारततर्फ निर्यात गर्न सकिन्छ। यसैगरी नेपालका मनोरम दृश्यहरू, जुन नेपालमा मात्र छन्, को अवलोकन गराएर, पर्वतारोहण गराएर, खास किसिमको जलवायुमा बिदा मनाउने व्यवस्था (Resort) मिलाएर भारतीय पर्यटकहरूले नेपालमा पैसा खर्च गर्ने वातावरण सृजना गर्न सकिन्छ। यसैगरी खास किसिमका धार्मिक स्थल एवं विशेष संस्कृति तथा सांस्कृतिक महत्वका स्थलहरूमा भारतीय पर्यटकहरूलाई भ्रमण गराएर पनि नेपाललाई भारतीय व्यापारबाट आम्दानी हुने अवस्था सृजना गर्न सकिन्छ। नेपालमा शिक्षा र स्वास्थ्य उपचार सस्तो भएमा पनि नेपालका सीमावर्ती क्षेत्रका धेरै भारतीयहरू नेपालमा शिक्षा प्राप्त गर्न एवं उचार गराउन आउन सक्छन्। उनीहरूले नेपालमा भारतीय मुद्रा खर्च गर्छन्। नेपाली मुद्राको विनिमय दर भारतीय मुद्राभन्दा कम हुने भएकोले नेपालले व्यापक मात्रामा शिक्षा र स्वास्थ्य सेवा उत्पादन गरेर भारतीयहरूलाई तुलनात्मकरूपमा सस्तोमा बिक्री गर्न सक्छ। धेरै सीमावर्ती भारतीयहरू नेपालमा इलाजका लागि आउन सक्छन्। नेपालको स्वास्थ्य सुविधा ग्रामीण क्षेत्रका भारतीयहरूको भन्दा इमानदार र भरपर्दो पनि छ। यस्ता धेरै उदाहरणहरू छन् जुन भारतसँगको व्यापारमा नेपालले बेहोर्नुपरेको निरन्तरको घाटा कम पार्न प्रयोग गर्न सकिन्छ।
३) निरपेक्ष फाइदा (Absolute Advantage)
आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा असल वा उत्कृष्ट वस्तु एवं सेवा उत्पादन तथा बिक्री गरेर निरपेक्ष फाइदा प्राप्त गर्न सकिन्छ। निरपेक्ष फाइदा भनेको वस्तु वा सेवाको उत्पादनमा प्रतिस्पर्धीहरूलाई पराजित गर्न सक्ने खास किसिमको क्षमता, विशेषता, ज्ञान, शक्ति राख्नु हो। प्रतिस्पर्धीहरूको भन्दा असल र खास किसिमका वस्तु वा सेवा उत्पादन गरेर बिक्री गरेमा क्रेताहरूले ती वस्तुहरूको उत्कृष्टताले गर्दा मूल्य तुलना गर्दैनन् र अन्य वस्तु पन्छ्याएर, तत्परताका साथ खरिद गर्छन्।
   
नेपाली व्यापारीहरूले आफ्ना विशेष किसिमको ज्ञान, अनुभव, दक्षता, सीप आदि प्रयोग गरेर, भारतभन्दा नेपालमा उत्कृष्ट वस्तु वा सेवा उत्पादन गरेर, ती वस्तु वा सेवाहरू भारतीय बजारमा सजिलै बिक्री गर्न सक्ने स्थिति ल्याउन सक्छन्। विभिन्न कलाकारिताका सामानहरू, जस्तै– देवताहरूका मूर्ति, पेन्टिंग, काठका सजावटका सामग्रीहरू, धातुका कलात्मक भाँडा, थान्का, सुनचाँदीका कलात्मक गहना एवं भाँडा, विशेष किसिमले हातले बुनेको स्वेटर वा कपडा नेपाली व्यापारीहरूले खास किसिमको सीप उपयोग गर्दै, उत्पादन गरेर भारतीय बजारमा बिक्री गर्न सक्छन्। त्यस्ता धेरै किसिमका वस्तु एवं सेवा छन् जुन संसारभरिमा केवल नेपालीले मात्र उत्पादन गर्न सक्छन, अन्य देशले सक्तैन। यस्ता वस्तु एवं सेवाको पहिचान एवं उत्पादन गर्न व्यापारीहरूलाई प्रोत्साहित गरेर, ती वस्तु एवं सेवा उत्पादन गरेर  भारतीय बजारमा बिक्री गरी व्यापार घाटा कम गर्न सकिन्छ। यस्तो कार्यलाई अभियानको रूपमा सरकार र जनता दुवैले अगाडि बढाउनुपर्छ।
   
अहिलेको यो अत्याधुनिक व्यापारिक युगमा कुनै पनि देशले आफूलाई आवश्यक सबै वस्तु एवं सेवा उत्पादन गर्न सक्तैन। अमेरिकाले कृषि क्षेत्रमा ठूलो सङ्ख्यामा मेक्सिकन आप्रवासी श्रमिक प्रयोग गर्नु परिरहेको छ। यसैगरी केही यस्ता वस्तु छन् जुन उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ, कुनै पनि देशले, चीनबाट ल्याउनुपर्ने बाध्यता छ किनभने चीनबाहेक अरू कुनै पनि राष्ट्रले त्यो वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्न सक्तैन।
   
भारतसँगको व्यापारमा नेपालले बेहोर्नुपरेको ठूलो व्यापार घाटा कम पार्न नेपालले केवल परम्परागत वस्तु एवं सेवाहरूको उत्पादन गरेर, तिनलाई भारतीय बजारमा बिक्री गरेर मात्र चुलिएको व्यापार घाटा कम पार्न सक्तैन। र यस्तो गर्नु मृगतृष्णा मात्र हुनेछ।
   
अहिले विभिन्न देशले आफ्नो कुशलता, विशेषज्ञता, दक्षता कुन कुन क्षेत्रमा छ, वा कुन वस्तु र सेवा उत्पादनमा आफूले विशिष्टीकरण प्राप्त गरेको छ ती वस्तु र सेवा मात्र उत्पादन गर्न ध्यान केन्द्रित गरिरहेका छन्। खास किसिमको सीप, अनुभाव, ज्ञान लगाएर अरूभन्दा पृथक उत्पादन गर्नुपर्ने वस्तु एवं सेवाको उत्पादनमा जोड दिइरहेका छन्। जापानले अटोमोबाइल उत्पादनको क्षेत्रमा विशेषज्ञता हासिल गरेकोले उसले महँगो मूल्यमा कारहरू उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको छ। तर आफ्नो देशलाई आवश्यक पर्ने अन्य सस्ता मूल्यका वस्तु आफैं उत्पादन नगरेर आयात गरिरहेको छ। जापानले विशेष किसिमका कार उत्पादन गरेर विदेशी बजारमा महँगोमा बिक्री गर्न जोड दिइरहेको छ। यसैगरी अमेरिकाले सस्ता सामग्री–जस्तै कपडा, फर्निचर, इलेक्ट्रिक उपकरण, इलेक्ट्रोनिक सामान, फलफूल, तरकारी विभिन्न मुलकुबाट सस्तोमा आयात गरिरहेको छ र आफूले उच्च प्रविधि, इन्जिन, हवाइजहाज, लडाकूजहाज, हतियार विभिन्न मुलुकहरूलाई महँगो मूल्यमा बिक्री गरिरहेको छ। अमेरिकाले निर्यात गर्ने ती सामग्रीहरूको उत्पादनमा विशेषज्ञता हासिल गरेको छ।
   
भारतसँगको व्यापार घाटा कम पार्न नेपालले अनेक किसिमका योजना ल्याउन आवश्यक भइसकेको छ। यस्तो गरेमा मात्र नेपालले चुलिंदो व्यापार घाटा कम पार्न सक्छ। नेपालको राजनीतिमा भारतले गर्ने अति हस्तक्षेप पनि कम पार्न सक्छ।      –समाप्त

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 5, 2017


No comments:

Post a Comment