नेपालमा किन पिरोल्छ महँगीले?
अमेरिका र युरोपको
तुलनामा दक्षिण एसियामा उत्पादन प्रक्रियामा अझै पनि मेसिन एवं स्वचालित
यन्त्रहरूको प्रयोग ज्यादै कम हुन्छ। वस्तु वा सेवाको उत्पादन होस्, प्रत्यक्ष श्रमको प्रयोग बढी हुन्छ। नेपालमा त झन् उत्पादन व्यवस्थामा प्रत्यक्ष
श्रमको प्रयोग बढी हुन्छ। उत्पादन व्यवस्थामा अत्यधिक प्रत्यक्ष श्रम प्रयोग हुने
हुनाले नै नेपालमा वस्तु एवं सेवाहरू अत्यधिक महँगो हुन्छ। उपभोक्ताहरूले जहिले
पनि महँगीको मार खेप्नुपर्छ। यसले नेपालमा गरिबहरूको जीवनयापन अन्य विकासशील
देशहरूको तुलनामा झनै कष्टकर हुन पुगेको छ।
उत्पादन व्यवस्थामा मेसिन एवं स्वचालित
यन्त्रहरूको प्रयोग गर्दा कम समयमा धेरै वस्तु वा सेवा उत्पादन गर्न सकिन्छ। कम
समयमा वस्तु एवं सेवाको उत्पादन गर्न सकिने हुँदा उत्पादन लागत कम पर्न जान्छ।
परिणमास्वरूप वस्तु एवं सेवाको मूल्य कम हुन्छ। विकसित मुलुकहरूमा यो अभ्यास बढी
गरिन्छ। विकसित मुलुकहरूलाई यो अभ्यासले पनि धनी हुन ठूलो योगदान पुर्याएको छ।
नेपालमा उत्पादन व्यवस्थामा व्यापक किसिमले
मेसिन र स्वचालित यन्त्रहरूको प्रयोग नगरिएको कारण कुनै पनि वस्तु वा सेवाको मूल्य
यथार्थ वा हुनुपर्ने मूल्य भन्दा चार वा पाँच गुना बढी हुन पुग्छ। उदाहरणका
लागि–अमेरिकामा रु पाँच मूल्य भएको एउटा सर्टको मूल्य नेपालमा (अकुशलताको कारण) रु
पच्चीस हुन सक्छ। यस्तो हुनुको कारण प्रस्ट छ। नेपालमा अहिले पनि सर्ट आदिको
उत्पादन, यहाँ केवल सिलाइको कुरा
गरौ, प्रत्यक्ष मानवीय श्रमबाट
हुन्छ। ठूला उद्योगहरू छाडेर कुरा गर्ने हो भने, उत्पादनको प्रायः हरेक क्षेत्रमा प्रत्यक्ष श्रमको प्रयोग
हुन्छ। अमेरिकामा प्रत्यक्ष श्रमको प्रयोग (कुनै व्यक्तिले सिलाइ मेसिन प्रयोग)
गरेर लुगा उत्पादन गर्ने कार्य ‘बाबा आदमको जमानाको कुरा’ भइसक्यो। इतिहास
भइसक्यो। अमेरिकामा प्रत्यक्ष श्रम प्रयोग गरेर लगभग कुनै पनि कार्य सम्पादन
हुँदैन, यदि हुन्छ भने केवल अति
आवश्यक क्षेत्रमा मात्र। जस्तै कपाल काटने, रेस्टुरेन्टमा खाना टेबुलमा ल्याइदिने जस्ता कार्यमा मात्र।
तर यी कार्यहरूमा पनि मेसिन र उपकरणहरूको प्रयोग हुन्छ। त्यस कारण अमेरिकामा
(व्यक्तिहरूको आम्दानीको तुलनामा) वस्तु एवं सेवाहरूको मूल्य लगभग संसारभरिमा नै
सस्तो छ। न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कुनै एक परिवारले पनि प्राप्त गरेको
मासिक आम्दानीले आधारभूत आवश्यकताका वस्तुहरू खरिद गरेर सजिलैसँग जीवन निर्वाह
गर्न सक्छ। आवश्यक न्यूनतम आवश्यकताहरू पूर्ति गर्न सक्छ। केवल जीवन निर्वाहका
लागि पनि, नेपालमा झैं ऋण
लिनुपर्दैन।
नेपालमा वस्तु एवं सेवाको मूल्य चर्को हुने
अर्को महŒवपूर्ण कारण छ र त्यो
कारण हो उत्पादक, वितरक एवं
बिक्रेताहरूको मूल्यप्रति गलत एवं परम्परागत धारणा। नेपालमा परम्परागतरूपमा अहिले
पनि वस्तु वा सेवाको मूल्य उच्च राखिएमा मुनाफा बढी हुन्छ भन्ने सर्वस्वीकार्य
धारणा छ। यो धारणाले गर्दा नै उत्पादक एवं बिक्रेताहरूले वस्तु वा सेवाको मूल्य
उच्च राखेर छोटो समयमा बढी नाफा प्राप्त गर्न खोज्छन्। छिटै धनी हुन खोज्छन्।
बिक्रेताहरूले वस्तु एवं सेवाको मूल्य चर्को पारेमा क्रेताहरूको क्रयशक्तिमा
नकारात्मक असर परेर उनीहरूले दीर्घ कालमा खरिदमा कटौति गर्छन् भन्नेतिर पटक्कै
ध्यान दिंदैनन्। मूल्य चर्को पारेर छोटो समयमा बढी मुनाफा प्राप्त गर्ने उद्देश्य
राख्नु बजार व्यवस्थापनको नीति अनुरूप नितान्त गलत कुरा हो। अव्यावहारिक पद्धति
हो।
वस्तु वा सेवाको मूल्य जति कम भयो सोही
अनुरूप बिक्रेता एवं उत्पादकले (दीर्घकालमा) बढी मुनाफा प्राप्त गर्छन्। उनीहरूको
व्यापार एवं व्यवसायले निरन्तरता पाउँछ, किनभने वस्तु वा सेवाको मूल्य कम भएमा बजारमा मागमा पनि वृद्धि हुन्छ।
विकसित मुलुकहरूमा र खासगरी अमेरिकामा
उत्पादक एवं बिक्रेताहरूले प्रत्येक पल आफ्नो वस्तु एवं सेवाको मूल्य कसरी कम
पार्ने, मूल्य कम पारेर
प्रतिस्पर्धीका ग्राहकहरूलाई कसरी आफ्नो ग्राहक बनाउनेतर्फ तथा आफ्नो व्यापारलाई
कसरी दिगो बनाउने भनी गम्भीरतापूर्वक सोचिरहेका हुन्छन्। अमेरिकामा व्यापारीहरूले
मूल्य कम पार्ने, ठूलो परिमाणमा
बिक्री गर्ने अनि दीर्घकालमा बढी मुनाफा गर्ने अभ्यासलाई अत्यधिक महत्व दिन्छन्।
सोही अनुरूप काम पनि गर्छन्। र यो कारणले गर्दा अमेरिकामा समान किसिमको वस्तुको
मू्ल्य, एउटै शहरमा, एउटै समयमा र एउटै स्थितिमा, विभिन्न पसलहरूमा फरक–फरक हुन सक्छ। एक
किलोग्राम आलुको मूल्य पाँच पसलमा, पाँच किसिमको हुन
सक्छ। स्थानीय वा केन्द्रीय सरकारले उत्पादक एवं बिक्रेताहरूले गर्ने मूल्य निर्धारणमा
कुनै हस्तक्षेप गर्दैन। आफ्नो वस्तु एवं सेवाको मूल्य निर्धारण गर्न
व्यवसायीहरूलाई पूर्ण छुट हुन्छ। अर्थात् मूल्य निर्धारणमा तीव्र प्रतिस्पर्धा
हुन्छ।
अमेरिकामा सरकारको हस्तक्षेपबिना, बजारले नै वस्तु एवं सेवाको मूल्य नियन्त्रण
गर्छ। यसरी बजारले नै मूल्य नियन्त्रण गर्ने हुनाले आफ्नो वस्तु एवं सेवाको मूल्य
कम पारेर ग्राहक आकर्षित गर्न उत्पादक एवं बिक्रेताहरूले मूल्य कम पार्न हर सम्भव
प्रयास गर्छन्। बिक्रेताहरूले नै मूल्य कम पारेर बढी ग्राहक आकर्षित गर्ने लक्ष्य
राख्ने हुनाले ग्राहकहरूले सस्तोमा वस्तु एवं सेवा खरिद गर्ने अवसर प्राप्त
गर्छन्। स्वयं मूल्य निर्धारण वा प्रतिस्पर्धाले नै कम मूल्य निर्धारण गर्न
व्यवसायीहरूलाई निर्देशित र नियन्त्रित गर्छ, सरकारले गर्नै पर्दैन। यसको फाइदा ग्राहकलाई हुन्छ।
अमेरिकामा कतिपय पसलहरूमा बिक्रेताको काम
मेसिनले नै गरेको देख्न सकिन्छ। ग्राहकले खरिद गरेको वस्तुहरूको मूल्य मेसिन (Self-Checkout ) लाई भुक्तान गर्छन्, मेसिनले पैसा वा क्रेडिट कार्डबाट भुक्तानी प्राप्त गर्छ, भुक्तानी गरि
सकेपछि ग्राहकले नै वस्तु आफैं थैलोमा हालेर घर लग्छ। यसैगरी ग्राहकले पेट्रोल
पम्प (Gas
Station) मा गएर आफैले पेट्रोल
वा डिजेल (Gas) स्वचालित मेसिनबाट
गाडीमा हाल्ने कार्य गर्छ र त्यसको भुक्तानी पनि क्रेडिट कार्डद्वारा सो मेसीनमा
गर्छ। बिक्रीका लागि बिक्रेताहरूको प्रयोग नगरेर मेसिन वा व्यवस्थाको प्रयोग
गरिएको उदाहरण अमेरिकामा अनगिन्ति ठाउँमा देख्न सकिन्छ।
यसरी बिक्रीमा मेसिनको प्रयोग गर्नुको प्रमुख
उद्देश्य वस्तु वा सेवाको बिक्री मूल्य कम पार्नु हो। ग्राहकहरूलाई सस्तोमा वस्तु
एवं सेवा उपलब्ध गराउनु हो। कम समयमा बढी बिक्री गरेर ग्राहकलाई चुस्त सेवा प्रदान
गर्नु हो।
नेपालमा मात्र होइन, दक्षिण एसियाभरि नै व्यापारिक ज्ञानको अति नै अभाव रहेको
देखिन्छ। व्यापारिक मात्र होइन, राजनैतिक,
वैज्ञानिक र सामाजिक ज्ञानको क्षेत्रमा पनि यो
भूभाग निकै पछाडि रहेको देखिन्छ। यो संसारमा जे जति व्यापारका नयाँ तरिका वा नयाँ
किसिमका व्यापारहरू उत्पत्ति भए ती सबैको उत्पत्ति (विकास) युरोप वा अमेरिकामा
भएको पाइन्छ। दोस्रो विश्वयुद्धपछि, अमेरिकाले संसारभरि ‘व्यापार विकास’ को नेतृत्व ग्रहण गर्यो। हुन पनि जुन बेला नेपाल
वा भारतमा काठले बनेको ‘बैलगाडी’ मानिस वा वस्तुहरूको ओसारपसारका लागि प्रयोग
हुन्थ्यो। त्यतिबेला अमेरिकामा सो प्रयोजनका लागि मोटर कारको विकास भएर त्यसको सफल
व्यापारिक प्रयोग भइसकेको थियो। आजभन्दा करिब १०४ (एक सय चार वर्ष) पहिले (सन्
१९१३ मा) अमेरिकाको ‘फोर्ड मोटर कम्पनी’ ले व्यावसायिक रूपमा मोटरकारहरूको उत्पादन
गरेर बिक्री शुरु गरिसकेको थियो। अमेरिकीहरूले स्वचालित यातायात प्रयोगमा
ल्याइसकेका थिए। दक्षिण एसिया (नेपाल, भारत) मा असुरक्षित ब्रेक र बत्तीबिनाको प्रत्यक्ष श्रमले सञ्चालित अकुशल
बैलगाडीको प्रयोग हुँदा अमेरिकामा सुरक्षित ब्रेक, बत्ती सहितको स्वचालित मेसिनबाट चल्ने मोटरकारहरूको प्रयोग
भइरहेको थियो। यातायातको क्षेत्रमा मोटरकारको आविष्कार र प्रयोग हुनु यातायातलाई
सरल पारेर वस्तु एवं सेवाको मूल्य कम पार्ने ऐतिहासिक प्रयास थियो। मोटरकारको
आविष्कार र प्रयोगले अमेरिकामा वस्तु एवं सेवाको मूल्य कम पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्यो। यस्तो किसिमको प्रयास दक्षिण एसियाली क्षेत्रमा
पटक्कै भएन। यस क्षेत्रमा अहिले पनि प्रत्यक्ष श्रमबाट सञ्चालन हुने बैलगाडी र
टाँगाको व्यापक प्रयोग भइरहेको छ। यातायात लागत कम पार्ने मोटरकारको व्यापक प्रयोग
हुन सकेको छैन। समग्रमा भन्ने हो भने दक्षिण एसिया अमेरिकाको तुलनामा अहिले पनि एक
सय वर्ष पछाडि छ।
वस्तु एवं सेवाको उत्पादन, वितरण र बिक्री लागत कम पार्ने हर सम्भव उपायको
खोजी गर्ने हो भने नेपालमा पनि वस्तु एवं सेवाको मूल्यमा कमी ल्याउन सकिन्छ। वस्तु
एवं सेवाको मूल्य कम पार्न सोच्ने प्रमुख दायित्व व्यापारीहरूको नै हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 23, 2017
No comments:
Post a Comment