Wikipedia

Search results

Friday, June 2, 2017

The Causes of the Poverty-Article-159

हामी किन गरिब छौ?

हामी गरिब भएको धन सम्पत्ति नभएर होइन। हामी गरिब भएको ज्ञान नभएर हो। ज्ञानको कमीले गर्दा हामी गरिब भएका हौं। नेपाल मात्र होइन, दक्षिण एसिया क्षेत्र नै स्रोत र साधनका लागि अति सम्पन्न मानिन्छ। दक्षिण एसिया क्षेत्र धनी भएको हुनाले नै अङ्ग्रेजहरू धनको खोजीमा बर्मा हुँदै भारत पसेका थिए। तर कस्तो अचम्म! हामी स्रोत र साधनले भरिपूर्ण भएर पनि निर्धन छौं। हाम्रो तुलनामा अमेरिका र युरोपका मुलुकहरू साधन र स्रोतले भरिपूर्ण नभए तापनि धनी छन्। यस्तो किन भयो ? यस प्रश्नको उत्तर सरल छ। दक्षिण एसियाली क्षेत्रमा ज्ञानको अभाव रह्यो। र अभावको स्थिति अहिले पनि छ।
    उन्नाइसौंदेखि एकाइसौं शताब्दीको आजसम्म, मानव जीवन सरल पार्ने किसिमका जे जति आविष्कारहरू भए ती सबै युरोप वा अमेरिकामा मात्र भए। जीवनरक्षा गर्ने विभिन्न किसिमका औषधीहरू होस्, यात्रा सरल र छोटो पार्ने रेल, मोटर, पानीजहाज तथा वायुयान, विभिन्न व्यक्तिहरूबीच सम्पर्क कायम गराउने टेलिफोन वा आकाशमा सूचना एवं जानकारीहरू भण्डार गरेर विश्वभरि छर्ने इन्टरनेट, यी सबै कुराको आविष्कार युरोप वा अमेरिकामा भएको थियो। कृषि र उद्योगको क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने औद्यौगिक क्रान्ति (अठारदेखि उन्नाइसौं शताब्दीसम्म) युरोप (बेलायत) मा भएको थियो। वर्तमानमा पनि, सूचना प्रविधि (गुगल, युट्युब, फेसबूक, जिपिएस, ट्युटर आदि) को विकासमा संयुक्त राज्य  अमेरिकाको स्थान विश्वभरिमा नै अग्रणी छ। अमेरिकाको यो अग्रणी स्थानलाई विश्वका अन्य राष्ट्रले आउने पचास वर्षमा पनि उछिन्ने सम्भावना टाढा टाढासम्म देखिंदैन।
    जीवन निर्वाहका लागि आवश्यक पर्ने विभिन्न वस्तु एवं सेवाहरूको आविष्कार दक्षिण एसिया क्षेत्रमा किन भएन?  दक्षिण एसियालीहरूसँग विकासका लागि आवश्यक ज्ञान नै थिएन। ज्ञान सृजना गर्ने वातावरण पनि थिएन। अहिले पनि छैन। अहिले आएर दक्षिण एसियाका केही मुलुकहरूले व्यापारको क्षेत्रमा प्रगति गरेको देखिएको छ। तर नेपाल भने अहिले पनि व्यापारको क्षेत्रमा निकै पछाडि छ। र व्यापारको क्षेत्रमा पछाडि रहेकोले गर्दा नै निर्धन छ।
    नेपाललाई गरिब तुल्याउन मुलुकमा प्रचलित संस्कार (ज्ञानको एक स्रोत) पनि जिम्मेवार छ। हामीले समाजलाई विभिन्न जातिमा विभाजित गरेर व्यक्तिहरूलाई ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र को जातीय परिचय दियौं। व्यापार गर्ने जिम्मा केवल वैश्यहरूलाई दियौं। व्यापार सञ्चालन गर्ने र सफलता हासिल गर्ने सीप पनि वैश्यहरूसँग मात्र रहेको विश्वास गर्यौं। हाम्रो यो विश्वास गलत थियो। सर्वप्रथम त जातीय विभाजन नै आर्थिक विकासका लागि सर्वाधिक ठूलो ऐतिहासिक भूल थियो।
    कुनै पनि व्यक्ति वैश्य (व्यापारी वुद्धिको) जातिले हुने होइन, प्रवृत्ति वा सीपले हुने हो। तर हामीले यो तथ्य स्वीकार गरेनौं। ब्राह्मण, क्षत्रिय र शुद्रहरूलाई व्यापारमा प्रवेश गर्न दिएनौं। अर्कोतिर व्यापार गर्ने मुख्य अभिभारा पाएका वैश्य, जो जातिगतरूपमा वैश्य भएका थिए, उनीहरू सबैमा, व्यापारमा सफल हुने ज्ञान भएन। यसरी जातीय विभाजनले गर्दा दक्षिण एसियाली क्षेत्र र खासगरी भारतीय उपमहाद्वीपमा व्यापारको विकास ज्यादै पछाडि पर्न गयो। युरोप र अमेरिकामा जातीय विभाजन न पहिले थियो, न अहिले छ। पश्चिमी समाज जातिहीन समाज हो।
    अहिले पनि हाम्रो संस्कृतिका धेरै अवरोधहरूले हामीलाई आर्थिक विकास गर्न दिइरहेको छैन। हामी जहिले पनि विग्रहको मनस्थितिमा रहनु हाम्रो संस्कृतिका विभिन्न अवरोधमध्ये एक हो। विकासका लागि हामीबीच एकता हुन नसक्नु, केवल व्यक्तिगत स्वार्थलाई महत्वपूर्ण देख्नु, एक अर्काप्रति अत्यधिक शङ्का गर्नु, आफूलाई ठूलो देख्नु, अभिमानी हुनुजस्ता दुर्गुणहरू हाम्रो विग्रह मनस्थितिले निमार्ण गरेका मनोविज्ञान हो। ‘महाभारत–मनोविज्ञान’ ले हामीलाई अहिले पनि पछ्याइरहेको छ। यो मनोविज्ञानबाट हामी बाहिर आउन सकिरहेका छैनौं। भरतपुरमा ‘मतपत्र च्यात्नु’ यै मनोविज्ञानको उपज हो।
    म मात्र सही, अरू सब गलत, मेरो विचार सही, अरू सबैको विचार गलत, म जान्ने, मैले भनेको सबैले मान्नुपर्छ, मेरो स्वार्थ पूर्ति हुनुपर्छ अरू बाँचून् वा मरून्जस्ता महाभारतकालीन मनोविज्ञानले हामीबीच एकता हुन दिइरहेको छैन। हामी अहिले पनि ‘पाण्डव’ र ‘कौरव’ गरी दुई शिविरमा विभाजित छौं। हाम्रो अन्तर्मनमा जहिले पनि शकुनीको छल, धृतराष्ट्रको लोभ, दुर्योधनको कुबुद्धि, द्रौपदिको घमण्ड, भीमको गर्व, कर्णको विवेकशून्यता नाचिरहेको हुन्छ। अनेक किसिमका नाजायज कार्यहरू गरेर सत्तामा रहिरहनुलाई नेताहरूले ठूलो सफलता मानिरहेका छन् भने त्यस किसिमका नेताहरूलाई विजयी र सफल तुल्याउनमा जनताले आफ्नो फाइदा वा भलो देखिरहेको छ।
    छल गर्नु, झूटो बोल्नु, भित्र एउटा र बाहिर अर्को गरी दैनिक जीवनमा दोहरो मापदण्ड प्रदर्शित गर्नु, निष्ठा र कर्तव्यबाट पर रहनु जस्ता कुराहरू हाम्रो जीवन पद्धतिका मार्ग दर्शन बन्न पुगेका छन् र यो महाभारतकालीन मनोविज्ञान समाजमा कायम हुँदै आइरहेको छ। हस्तिनापुरलाई बर्बाद पार्न स्वयं हस्तिनापुरवासीहरू लागेझै हामी नेपालीहरू नै नेपाललाई गरिब पार्न लागिपरेका छौं। विकासका लागि शान्त र समन्वयात्मक ढङ्गले बस्नुको सट्टा बिग्रहका अनेक कारण खोजिरहेका छौं।
    पुरानो प्रसङ्गमा फर्कौ। हामी आर्थिक स्रोत भएर पनि गरिब छौं। उदाहरणः जनकपुरजस्तो धार्मिक र ऐतिहासिक शहर अमेरिका वा युरोपमा भएको भए जनकपुर त्यहाँको जनताको लागि आम्दानीको ठूलो स्रोत हुने थियो। जनकपुरले लाखौंलाई रोजगारी दिने थियो। स्थानीयहरूको आर्थिक अवस्था सपार्न ठूलो योगदान पुर्याउने थियो। तर अफसोच! जनकपुरसँग बर्सेनि त्यहाँ कतिजना पर्यटक आउँछन भन्ने रेकर्ड पनि छैन। आउने ती पर्यटकहरूले जनकपुरमा कति खर्च गर्छन्, त्यसको पनि रेकर्ड छैन। कतिजनाले आउने चाहना राखेका छन, त्यसको पनि रेकर्ड छैन। पर्यटकहरूले जनकपुरमा के कस्ता सुविधा खोज्ने गर्छन, त्यसको पनि रेकर्ड छैन। आवश्यक कुनै पनि रेकर्ड छैन।
    हुन पनि जनकपुरजस्तो जीवित (जानकी मन्दिर, विभिन्न सागर, आदि) इतिहास बोकेको शहरको उचित किसिमले व्यवस्थापन गर्ने हो भने जनकपुरले स्थानीयहरूलाई मात्र होइन, मध्य तराईलाई नै समृद्ध तुल्याउन सक्छ। धार्मिक पर्यटनलाई जनकपुरवासीहरूले उचित किसिमले व्यवस्थित गर्ने हो भने जनकपुर आम्दानीको दिगो एवं राम्रो स्रोत साबित हुन सक्छ। जनकपुरका ऐतिहासिक स्थलहरूको अवलोकन गर्न संसारभरिबाट धार्मिक पर्यटकहरू ‘मक्का’ मा इस्लामहरू हजका लागि पुगेझैं पुग्नेछन्। एक अरबभन्दा बढी हिन्दूहरूको आबादी रहेको भारतबाट पनि बर्सेनि लाखौंको सङ्ख्यामा धार्मिक पर्यटकहरू जनकपुर आउने छन्।
    तर ठूलो धार्मिक पर्यटन स्थलको रूपमा जनकपुरको विकास कसले गर्ने? जनकपुरको विकास गर्ने प्रमुख दायित्व जनकपुरका बासिन्दाहरूको हो। यो यथार्थ कसले बुझ्ने? जनकपुरको विकासको लागि जनकपुरका नागरिकहरूबीच सहमति र सहकार्य हुन आवश्यक छ। तर जनकपुर आफू स्वयं नै पाण्डव र कौरवहरूजस्तो विभाजित छ। राजनैतिक दलहरूले जनतालाई माओवादी, नेका, एमाले, रापजा, समा, कपा, तपा आदि आदि गरी अनेक चिरामा विभाजित गरिदिएका छन्। हो, यस किसिमको विभाजित मनस्थिति हाम्रो मुलुकको विकासको बाधक हुन पुगेको छ। र यसरी विभाजित मनस्थितिमा रहनुको मुख्य कारण हामीमा ज्ञान (सकारात्मक सोच) को कमी नै हो।
    युरोपेलीहरूले साधन र स्रोतको कुशलतापूर्वक कसरी उपयोग गर्छन् त्यसको एक प्रतिनिधि उदाहरण हेरौ। इटली स्थित ‘भेटिकन सिटी’ क्रिश्चियन धर्मावलम्बीहरूको लागि विश्वभरिमा नै ठूलो तीर्थस्थल मानिन्छ। रोमन क्याथलिकहरूको लागि त यो अति नै ठूलो तीर्थस्थल हो।
    इटलीको सीमा क्षेत्रभित्र रहे तापनि एक ट्रिटी अन्तर्गत भेटिकन सिटीलाई एक छुट्टै देशको मान्यता प्रदान गरिएको छ र भेटिकन सिटीका प्रमुख ‘पोप’ लाई बनाइएको छ। आठ सय व्यत्तिको (सन् २०११) बसोबास रहेको भेटिकन सिटीको क्षेत्रफल केवल एक स्क्वाएर माइल मात्र छ, तर यहाँ बर्सेनि करिब ४५ लाख तीर्थालुहरू धार्मिकलगायत अन्य पर्यटनका लागि आउँछन्। राज्य सञ्चालनको प्रमुख स्रोत नै यस सिटीका लागि पर्यटन क्षेत्र रहेको छ। यहाँको प्रख्यात म्युजियम ‘भेटिकन म्युजियम’ अवलोकन गर्न पर्यटकहरूले १५ देखि १९ युरोसम्म भुक्तान गर्छन्। सन् २०११ मा यो म्युजियम हेर्न ५ लाखभन्दा बढी पर्यटक आएका थिए। बेसिलिका अफ सेन्ट पिटर, सेन्ट पिटर्स स्क्वायर, भेटिकन म्युजियम, सिस्टिन चैपल, राफिएल रूम्स आदि भेटिकन सिटीका आकर्षक पर्टकीय स्थलहरू हुन्।
    हुलाक टिकट बिक्री, म्युजियम प्रवेश शुल्क, मुद्रा बिक्री, पदक बिक्री, प्रकाशन एव वस्तुहरूको बिक्री भेटिकन सिटीका आम्दानीका स्रोत हुन्।
    यसरी भेटिकन सिटीले आफ्नो संरक्षण र सञ्चालनको लागि आवश्यक पर्ने स्रोत आफैंले सृजना गरेको छ।

भेटिकन सिटीले जस्तै जनकपुरले पनि आफ्नो संरक्षण र विकासको लागि आफैंले स्रोतहरूको सृजना गर्न सक्छ। तर त्यो गर्नका लागि समन्वयी भाव हुनु आवश्यक छ। र त्यो भावको यहाँ सर्वथा अभाव छ।

Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, June 02, 2017

No comments:

Post a Comment