सामाजिक
प्रणाली: आर्थिक विकासको बाधक
सामाजिक
प्रणालीले आर्थिक विकासलाई अत्यधिक प्रभाव पारेको हुन्छ। सामाजिक प्रणाली आर्थिक
विकासको जग नै हो। कुनै पनि राष्ट्रको सामाजिक प्रणाली प्रगतिशील नभएसम्म त्यस
राष्ट्रको आर्थिक विकास सम्भव हुँदैन। पश्चिमी राष्ट्रहरूको समाज गतिशील र
प्रगतिशील भएको हुनाले नै ती राष्ट्रहरू प्रचुर मात्रामा आर्थिक विकास गर्न सफल
भएका हुन्। यस सत्यलाई जबसम्म स्वीकार गरिंदैन, नेपालको आर्थिक विकास सम्भव छैन।
नेपालका सामाजिक प्रणालीमा अनेक किसिमका दोष
छन्। तीमध्ये एउटा हो–कामलाई हेर्ने हाम्रो दृष्टिकोण त्रुटिपूर्ण हुनु, भेदभावपूर्ण हुनु। काम हेर्ने वा
वर्गीकरण गरेर ती कार्यहरूलाई सानो ठूलो भन्ने हाम्रो दृष्टिकोण वा परम्परा अति
त्रुटिपूर्ण छ। यो परम्परा आर्थिक विकासको ठूलो बाधक हुन पुगेको छ। यस परम्पराले
आर्थिक विकास हुन दिइरहेको छैन।
कामको वर्गीकरण हामी कामको महत्वको आधारमा
नगरेर प्रचलित परम्परागत सामाजिक मान्यताको आधारमा गर्दछौं। प्रचलित सामाजिक
मान्यता अनुसार हामीले कामलाई महत्व दिने हुनाले कुर्सीमा बसेर गर्ने बौद्धिक
कामलाई अति नै मर्यादित ठान्दछौ भने प्रत्यक्ष शारीरिक परिश्रम हुने कामलाई तुच्छ
देख्छौं। कृषि कार्य गर्ने (कृषक), सहयोगी (नोकर) भई घर वा होटलमा काम गर्ने, ज्याला मजदूरी गर्ने, केवल जीवन धान्नका लागि व्यापार (सडक
व्यापार) गर्ने,
भारी
बोक्ने, फोहर सफा गर्ने (मेहतर) जस्ता कामको
हाम्रो समाजमा इज्जत छैन र यस किसिमका काम गर्नेहरूलाई समाजले अहिले पनि इज्जत दिन
मान्दैन। यसे कारणले मानिस यस किसिमको काम
गर्न उत्साहित हुँदैनन्, काम
गर्दा गर्वको अनुभूति पनि गर्दैनन्। यस्तो काम गर्नुको साटो बरु बेरोजगार भएर बस्न
रुचाउँछन् र रोजगारको अवसर गुमाउँछन्।
अमेरिका, बेलायत, फ्रान्स, जर्मनी जस्ता विकसित देशहरूमा हरेक
किसिमको काम गर्नेलाई समान किसिमको सामाजिक इज्जत प्रदान गरिन्छ। व्यक्तिले कस्तो
किसिमको काम गर्छ सोही अनुसार उसलाई इज्जत दिनुपर्छ भन्ने सोचले प्रश्रय पाएको
छैन। त्यसकारण कुनै पनि व्यक्तिले जस्तो किसिमको पनि काम गर्दा, गर्वको अनुभूति गर्छ। सन्तुष्टि महसुस
गर्छ।
उच्च शिक्षा हासिल गर्न, जागिरका लागि वा अन्य व्यवस्था (डिभी, पिआर) बाट अमेरिका वा युरोप पुगेका
नेपालीहरू त्यहाँ पुगेर अति सामान्य किसिमका जागिर वा काम गरेको सजिलै देख्न
सकिन्छ। अमेरिका पुगेका पढेलेखेका नेपालीहरूले अति सामान्य किसिमको काम (जागिर)
गरेको तथ्य जगजाहेर छ। नेपालमा नै रहेका भए अमेरिकामा त्यस किसिमका कार्य गर्ने
व्यक्तिहरूले नेपालमा पटक्कै त्यस्तो कार्य गर्ने थिएनन्। अमेरिकामा जस्तो किसिमको
काम गर्दा पनि सामाजिक इज्जतमा कुनै किसिमको कमी वा भेदभाव नहुने भएकोले जस्तो
किसिमको कार्य गर्दा पनि व्यक्तिले गौरवको अनुभूति गर्दछ। जीवनयापनको लागि जस्तो
पनि काम गर्न उत्साहित र उत्प्रेरित रहन्छ। कामलाई सानो वा ठूलो भन्दैन।
नेपालमा अति सामान्य काम गर्दा सामाजिक इज्जत
प्राप्त नहुने, त्यस किसिमका काम गर्नेहरूलाई लज्जाबोध
हुने भएकोले ठूलो सङ्ख्यामा नेपालीहरू खाडी मुलुकहरूमा पुगेका हुन्। नेपालीहरू
विदेशमा जस्तो पनि काम गर्न तयार हुन्छन् तर स्वदेशमा सामान्य काम गर्न चाहँदैनन्।
कामलाई वर्गीकरण गरेर तथाकथित रूपमा ‘ठूलो’ कहलिएको काम मात्र गर्न रुचाउँछन्। यस
किसिमको मनोविज्ञानले गर्दा नै नेपालमा उपलब्ध जनशक्तिको ठूलो हिस्सा खाडीका
देशहरूमा पुगेको हो। प्रतिकूल मौसममा बसेर, उँट,
भेंडा
चराएर, जोखिमपूर्ण काम गरेर कम आयमा कठिन जीवन
यापन गर्न बाध्य हुनुपरेको हो।
नेपाली जीवनको सामाजिक प्रणालीमा देखिएको
अर्को ठूलो समस्या नेपाली समाज कर्मवादी नभई अति नै भाग्यवादी हुनु हो। मानिस
आफ्नो परिश्रममा विश्वास नगरेर भाग्यमा बढी विश्वास गर्छन्। आफ्नो सफलताको श्रेय
कठोर परिश्रमलाई नदिएर भाग्यलाई दिन्छन्। देशको सर्वोच्च पदमा बस्ने
प्रधानमन्त्रीले त हाम्रो समाजमा, पद बहाली गरेर सरकारी निवास (प्रधानमन्त्री निवास, बालुबाटार) मा पुग्दा बोका काटने (बली
दिने) गर्छन्। भाग्यवादको ठूलो सन्देश प्रमले, सर्वोच्च पद धारण गर्ने व्यक्तिले दिएपछि, सामान्य नागरिकमा के सन्देश जान्छ? यो हामी आफैंले विचार गर्नुपर्ने कुरा
हो। प्रमले नै सो पदमा पुग्नुलाई जनताको अभिमत एवं स्वतन्त्र तथा निष्पक्ष चुनावको
परिणाम नठानेर भाग्यको चमत्कार मान्दै सार्वजनिकरूपमा बली दिन्छन् भने सामान्य
नागरिकले कसरी कठोर परिश्रममा विश्वास गर्ने? भाग्यवादलाई कसरी बिर्सने?
नेपाली समाज अति नै भाग्यवादी भएकोले पनि
मुलुककमा नयाँनयाँ किसिमका व्पापारका अवसरहरूको वा नयाँनयाँ किसिमका व्यवसायहरूको
आविष्कार हुन न सकेको हो। कारखाना व्यवस्था (Factory system), गोदाम व्यवस्था, थोक व्यापार, डिलर व्यवस्था, बिमा व्यवसाय, सिपमेन्ट, क्लियरिंग
एन्ड फर्वाडिङ आदि पुराना व्यापारिक कामको विकास पश्चिमी मुलुकहरूमा भएको हो, पूर्वी मुलुक (दक्षिण एसिया) मा होइन।
यस आधुनिक युगको कुरा गर्ने हो भने व्यापारका अति नै नौला तरिकाहरू–अमेजन (Internet
shopping), इबे (Online buying and selling), स्काइप, भाइबर, फेसबूक, युट्युब जस्ता नया व्यापारको विकास पनि पश्चिमी मुलुक (अमेरिका) मा
भएको हो।
हाम्रो समाज परम्परागत बढी छ, गतिशील कम। अमेरिका र युरोपमा जातीय
प्रथा सयौं वर्ष पहिले समाप्त भए तापनि नेपाली समाजमा जाति प्रथाले अहिले पनि
बलियोगरी, नहल्लिने किसिमले जरा गाडेको छ। समाज
अनेक जातिमा विभक्त मात्र छैन, तथाकथित उच्च जातिको मानिस तल्लो जातिले छोएको पानीसमेत पनि खाँदैन।
यति मात्र होइन,
माथिल्लो
जातिले सञ्चालन गरेको होटलमा तल्लो जातिले खान न पाउने वा खाए पनि ग्राहक स्वयंले
भाँडा माझ्नुपर्ने स्थिति छ। जातिप्रथाजस्तो अमानवीय वा पशुतुल्य व्यवहार समाजमा
विद्यमान हुनुले हाम्रो समाज गतिशील छैन भन्ने कुराको पुष्टि गर्दछ। त्यसैले
आर्थिक विकासका लागि समाज गतिशील हुन वा जातिविहीन हुन अत्यावश्यक छ।
देश केवल आर्थिक स्रोत र साधनहरूले मात्र धनी
हुने भइदिएको भए अहिले अफ्रिकाका विभिन्न मुलुकहरू धनी हुन्थे। हीरा, सुन, पेट्रोलियम पदार्थका खानीदेखि खाद्यान्न, अनेक किसिमका पशु पक्षी एवं वन–जङ्गलले
भरिएका अफ्रिकी देशहरू धनी हुनुपर्ने हो। तर भएको छ ठीक उल्टो। अनेक किसिमका
समस्या र युद्धको मारले थिचिएका एवं अवैज्ञानिक संस्कृतिले गर्दा धेरै अफ्रिकी
मुलुकहरू आज पनि गरिब छन्। अफ्रिका धनी भएकै कारण कुनै समय फ्रान्स, साइप्रस, स्पेन, बेलयातजस्ता
मुलुकहरू त्यहाँ उपनिवेश खडा गर्न पुगेका कुरा विचारणीय छ।
अफ्रिकी मुलुक मलावीमा एउटा अनौठो किसिमको
चलन छ। त्यो अनौठो चलन अनुसार परिवारहरूले आफ्ना छोरीहरूलाई पहिलोपटक महिनावारी
भएपछि (विवाह पूर्व) परपुरुषसँग सम्भोग गर्न लगाउँछन्। त्यसरी सम्भोग गर्ने
व्यक्ति भाडामा उपलब्ध हुन्छ र त्यस्ता पुरुषलाई ‘हाएना’ (Hyena) भन्ने चलन छ। सन् २०१६ मा बिबिसी
समाचार अनुसार मलावीका एकजना पुरुष एरिक एनिभालाई सयभन्दा बढी युवतीसँग (उनीहरूका
अभिभावकहरूको सहमतिमा) सम्भोग गरेको अपराधमा गिरफ्तार गरिएको थियो । तर गिरफ्तार गरिनुको विशेष कारण भने आफूलाई एचआइभी
पोजेटिभ भएको थाहा पाएर पनि एरिक एनिभाले युवतीहरूसँग सम्भोग गर्नु थियो। र सम्भोग
गरेबापत प्रत्येक परिवारसँग पारिश्रमिक पनि लिएका थिए ।
अफ्रिकी कतिपय मुलुकहरूमा अहिले पनि
खास किसिमको पूजा गर्दा ईश्वरलाई प्रसन्न पार्न मानिसको रगत चढाउने चलन छ। हुनत
भारतमा अहिले पनि यदाकदा नरबली दिएको सुनिन्छ।
मुलुक वा मुलुकवासीहरू धनी हुनका लागि धन
होइन, परिश्रमी हात र प्रगतिशील सामाजिक
प्रणाली हुन आवश्यक छ। हामीले यो पनि भुल्नुहुँदैन न कि भ्रष्ट नेता, राजनीति र सरकार पनि सङ्कीर्ण, स्वार्थी र अन्धविश्वासी समाजका उपज
हुन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा
प्रकाशित: Friday, November 10,
2017
No comments:
Post a Comment