आर्थिक विकास: पूर्व
र पश्चिम
‘शिवले यहीं ल्याए थे सृष्टिको पहिलो
बिहान, सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा’
–हामीले बाल्यकालदेखि यही सुन्दै र पढ्दै पनि आएका थियौं। गर्व पनि गर्दै आएका
थियौं। र, अहिले पनि गर्व गर्छौं। हामी हरेक
क्षेत्रमा पहिलो वा अगाडि छौं भन्ने चिन्तनले हाम्रो चेतनालाई कहिले नमेटिने गरी
रङ्गेको छ।
हामीमा बलियो धारणा छ–हामी एसियालीहरू र
मुख्यगरी दक्षिण एसियालीहरू ज्ञान, विज्ञान, साहित्य, अर्थ, राजनीति अर्थात् सबै क्षेत्रमा अगाडि छौं। चिन्तन र चेतनाको
क्षेत्रमा पनि अगाडि छौं। तर हाम्रो यो धारणा केवल भावनामा सीमित रहेछ, व्यवहारमा होइन। भावनात्मक सन्तुष्टिको
नजिक मात्र तर सत्यबाट टाढा रहेछ। कसरी, आउनुहोस्, यसबारे
छोटो चर्चा गरौं।
आजभन्दा सयौं वर्ष पहिले अर्थात् ९० बिसिई
(BCE-Before Common Era) तिर रोममा गणतन्त्रको स्थापना र अभ्याससमेत भइसकेको थियो। राष्ट्रको
शासन व्यवस्थामा जनताको प्रतिनिधित्व गर्ने सरकार स्वतन्त्र किसिमले निर्वाचित
सामान्य व्यक्तिहरूको समूह थियो। देश र समाजको नजर एवं व्यवहारमा प्रत्येक
नागरिकको इज्जत र अधिकार समान थियो। प्रत्येक नागरिक गरीब वा धनी, यो वर्ग र त्यो वर्गको भए तापनि सम्मान
र इज्जतको हकदार हुन्थ्यो। नागरिकहरूले लोकतन्त्रको व्यावहारिक उपयोग राजनीतिक
जीवनमा गरिसकेका थिए। संसद्को प्रयोग गरिसकेका थिए।
तर नेपालमा त्यस समयमा नागरिक अधिकारको धारणा
नागरिकहरूको सोचको गर्भमा अङ्कुरितसमेत भएको थिएन। राज्य व्यवस्थाको बनोट, जनता वा नागरिक, राजा वा राजसंस्थाका सेवक एवं राजा
मुलुकको मालिक, समान थियो। भूमि वा देशको सिमानाको
मालिक राजालाई मान्ने गरिन्थ्यो र जनता र देशको सिमानाको रक्षा गर्ने अभिभारा पनि
राजामा थियो। देशको सम्पूर्ण भूमिको मालिक राजालाई मानिन्थ्यो र व्यवहारमा पनि
राजाको आदेशमा भूमिको प्रयोग जनता र खासगरी जमिनदारहरूद्वारा हुन्थ्यो। उत्पादनको
प्रमुख साधन–भूमिमा गरीब जनताको पहुँच थिएन। सामान्य जनता नागरिक अधिकारबाट वञ्चित
थियो। उल्टो, समाज विभिन्न जातजातिमा विभाजित भएर
उच्च जातिद्वारा तल्लो जातिको शोषण हुने परिपाटी थियो। राजा स्वामी र जनता सेवक हो
भन्ने आम धारणा थियो। र, त्यो
आम धारणाले अहिलेको आधुनिक युगमा पनि कार्य गरिरहेको छ। नेपाल, भारत, पाकिस्तानजस्ता मुलुकमा सरकारका प्रतिनिधि प्रधानमन्त्री, मन्त्री, सचिव एवं सामान्य कर्मचारीसमेत आफूलाई मालिक र सरकारी सेवा लिन
आउनेलाई दासको रूपमा हेर्ने चलन छ। यो धारणाले गर्दा नै यस क्षेत्रमा घूस लिनेदिने
व्यवस्था उन्मूलन हुन सकेको छैन। सरकारी काम काजमा ठूलो ढिलासुस्ती छ।
नेपालमा प्रजातन्त्र बल्ल २००७ सालमा आयो तर
त्यो पनि मात्र सानो अवधिको लागि। स्थिर प्रजातन्त्र २०४७ सालमा मात्र आयो।
युरोपमा प्रजातन्त्र आएको सयौं वर्षपछि नेपालमा प्रजातन्त्र आएको हो। यस हिसाबले
हामी अहिले पनि विकसित देशहरू अमेरिका, युरोपभन्दा राजनीतिक प्रणालीमा सयौं वर्ष पछाडि छौं। आर्थिक
क्षेत्रमा पनि सयौं वर्ष पछाडि छौं। हाम्रो सोच, चिन्तन, व्यवहार
पनि सयौं वर्ष पछाडि छ ।
राजनीतिक व्यवस्था र नागरिक शासनको तुलना
गर्ने हो भने विकसित राष्ट्रहरूभन्दा हामी दक्षिण एसियालीहरू सयौं वर्ष पछाडि छौं।
आर्थिकरूपमा त झनै पछाडि छौं। र, यो पछौटेपनले नेपाललगायत यस क्षेत्रका मुलुकहरूमा आर्थिक विकास हुन
दिइरहेको छैन।
जुन बेला नेपालमा राजारजौटाहरू सानासाना
क्षेत्रको अधिकारी वा प्रशासक भएर काम गरिरहेका थिए, कमजोर राज्यलाई पराजित गरेर राज्य विस्तार गर्न केही राजाहरू तल्लीन
थिए, पृथ्वीनारायण शाह राज्य विस्तार गर्ने
आकाङ्क्षाका साथ गोरखाबाट काठमाडौं उपत्यकातिर झरेका थिए, जनजीवन पूर्णरूपमा कृषिमा आधारित थियो
र कृषि कार्यको लागि मानव र पशुको मात्र
प्रयोग हुन्थ्यो,
ठीक
त्यही समयमा र प्रमुखरूपमा संयुक्त अधिराज्यमा औद्योगिक क्रान्ति प्रारम्भ भइसकेको
थियो। सन् १७६० देखि १८४० सम्म भएको औद्योगिक क्रान्तिले उत्पादन व्यवस्थामा कोरा
मानवीय श्रमलाई मेसिनले विस्थापित गरिसकेको थियो। उत्पादनका सानासाना एकाइ घर, खेत आदिले ठूलाठूला कारखानाहरूको रूप
लिइसकेका थिए। उत्पादनमा मेसिनको व्यापक प्रयोगले एकातिर उत्पादन लागत घटाएर दैनिक
उपभोग्य सामग्री सस्तो पारिसकेको थियो भने अर्कोतिर कृषिमा आधारित जनजीवनलाई
उद्योगमा रूपान्तरित गरिसकेको थियो। ठूलाठूला पूँजीको निर्माण भइसकेको थियो।
उत्पादकहरू ठूलोठूलो परिमाणमा उत्पादन गर्न सक्षम भइसकेका थिए। ठीक त्यही समयमा
नेपालमा उत्पादन व्यवस्थमा मेसिनको प्रयोग हुन सकेको थिएन। कोरा मानवश्रम प्रयोग
भएर उत्पादन हुन्थ्यो। जनजीवन कृषिमा मात्र आश्रित थियो नै, कृषि, यातायात र साना उद्योग (तेल वा उखु पेल्ने काम) का लागि पनि पशु
(गोरु वा पाडा)को प्रयोग हुन्थ्यो। उत्पादन व्यवस्थामा मेसिनको प्रयोगको सम्भावना
परसम्म पनि थिएन।
आजभन्दा १२१ वर्ष पहिले अर्थात् सन् १८९६ मा
संयुक्त राज्य अमेरिकामा हेनेरी फोर्डले मोटरकारहरूको उत्पादन गरिसकेका थिए। सन्
१९१३ देखि उनले कारहरू बृहत् मात्रमा उत्पादन (Mass production) गरेर सामान्य उपभोक्तासमक्ष पनि कार पुर्याइसकेका
थिए। अमेरिकीहरू आजभन्दा सयौं वर्ष पहिलेदेखि कार गुडाउन सक्षम भइसकेका थिए।
कारहरूको
उत्पादनले अमेरिकाको कृषि र उद्योग, दुवै क्षेत्रको विकासको गतिलाई तीव्रता प्रदान गर्यो। मोटरकारहरूको उत्पादनपछि अमेरिकी अर्थव्यवस्था विकासको पथमा हिंड्ने
होइन, दौडिन थाल्यो। त्यही समयमा नेपालमा
मानिस वा मालसामान ओसारपसार गर्न मानिस, पशु आदिको प्रयोग भइरहेको थियो। मेसिनको प्रयोग हुन नसकेकोले उत्पादन
र वितरण दुवै कार्य खर्चिलो त थियौ नै, सरल पनि थिएन। वस्तु र सेवाहरूको मूल्य पनि चर्को थियो।
अहिले पनि नेपालको सम्पूर्ण उत्पादन
व्यवस्थमा मेसिन प्रयोग हुन सकेको छैन। नेपालका गाउँघर र साना शहरहरूमा अहिले पनि
यातायातका लागि गोरुगाडा, घोडा (टाँगा), भेंडा, चौरी, खच्चर आदिको प्रयोग हुन्छ। नेपालमा
यातायात व्यवस्था अहिलेसम्म पनि सरल हुन सकेको छैन। केही समय पहिलेसम्म (महेन्द्र राजमार्ग निर्माणपूर्व)
नेपालमा एक स्थानबाट अर्को स्थानसम्म जान भारतीय भूमि प्रयोग गर्नुपर्ने
अनिवार्यता थियो।
यथार्थमा भन्ने हो भने हामी गर्व धेरै गर्छौं, काम भने कम। हामी–हामीबीच एकता र
समानताका बिन्दुहरू कम देख्छौं तर विभाजनका रेखाहरू खोजीखोजी हिंड्छौं, कोर्छौं। हामीमध्ये कसैलाई यो
क्षेत्रको हुनमा गर्व छ त कसैलाई त्यो क्षेत्रको। कसैलाई यो जाति हुनमा गर्व छ भने
कसैलाई त्यो जातिको हुनमा। युरोपमा जातिप्रथा सयौं वर्ष पहिले समाप्त भइसकेको थियो।
नेपालमा जातिप्रथा अहिले पनि छ। अमेरिका र युरोपको समाज जातिविहीन समाज हो भने नेपाली
समाज अहिले पनि सयौं जातजातिमा विभाजित छ। छुवाछूत प्रथा कायम रहेर माथिल्लो
जातिले तल्लो जातिलाई शोषण गर्ने प्रथा समाप्त हुन सकेको छैन। तर पनि हामी गर्व
गर्छौं, हामी विश्वमा चिन्तन र चेतनाको
क्षेत्रमा अगाडि छौं। नेपालको आर्थिक विकासमा जातिप्रथा ज्यादै बलियो बाधकको रूपमा
तेर्सिएको छ। जातिप्रथा कायम रहेसम्म यसले मुलुकको आर्थिक विकासको गतिलाई सुस्त
पारि नै रहनेछ।
भो, अब हामी हाम्रो नयाँ पीढीलाई गर्व गर्न नसिकाऔं। मेहनत, परिश्रम गर्न र समभाव राख्न सिकाऔं।
फोस्रो गर्वले मुलुकको आर्थिक विकास हुँदैन। आर्थिक विकासका लागि कठोर परिश्रम
आवश्यक हुन्छ। पश्चिमाहरूले आफ्नो ज्ञानको प्रयोग मानवकल्याणका लागि उपयोगी हुने
वस्तुहरूको अविष्कार गर्नमा गरे तर हामीहरूले आफ्नो ज्ञानको प्रयोग फगत गर्व
गर्नमा गर्यौ। हामी चाहिनेभन्दा बढी गर्व गर्छौं।
त्यसैले पनि हाम्रो समाज आडम्बरी हुन पुगेको छ। हैसियत प्रदर्शनमा विश्वास राख्ने
हुन पुगेको छौ। हामी अब्बल दर्जाको, हामी सबै क्षेत्रमा अगाडि, मेरो जात उच्च, मेरो संस्कृति उच्च, मेरो भाषा उच्च, मेरो पहिरन उच्च, मेरो संस्कृति उच्चजस्ता भावले देशको
विकास हुँदैन। हामी धेरै क्षेत्रमा पछाडि छौं। सामान्य फाउन्टेन पेन, टुथ ब्रस, सियो, सलाई, साबुन
आदिको आविष्कार त हामीले गर्न सकेनौं, हवाईजहाज, बिजुली, रेल, मोटर आदिको कुरा त पर सपनाको कुरा हो। आणविक ऊर्जा उत्पादन गर्न त
हामी सपनामा पनि सोच्न सक्दैनौं। नयाँ किसिमको सस्तो ऊर्जाको आविष्कार गर्न भनी
हामी एक क्षणका लागि सोच्न पनि सक्दैनौ।
संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपित
‘एपोलो ११’ सन् १९६९ मा मानवसहित चन्द्रमामा अवतरण गरिरहँदा पनि हामी चन्द्रमालाई
भगवान् मानेर पूजा गरिरहेका थियौं। ज्ञान र विज्ञानको क्षेत्रमा हामी अगाडि छौं
भन्ने स्वघोषित विश्वासमा अडिग थियौं।
आजभन्दा ४८ वर्ष पहिले दुई अमेरिकी नागरिक
निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा पुगिसकेका थिए। यो तथ्यबाट पुष्टि हुन्छ, पश्चिमाहरू ज्ञान र विज्ञानको
क्षेत्रमा कति अगाडि थिए भन्ने यथार्थ।
हामी गर्व गर्नमा धेरै अगाडि छौं तर कर्म
गर्नमा पछाडि। तर अब हामीले यो सोचमा परिवर्तन ल्याउनुपर्छ।
Bishwa Raj Adhikari
प्रतीक
दैनिकमा प्रकाशित Friday, November 3, 2017
No comments:
Post a Comment