सानो
व्यापार उपेक्षित किन?
यदि
तपाईं उत्तरी अमेरिकाका ठूला शहरहरूमध्ये एउटा टोरन्टो घुम्दै हुनुहुन्छ र त्यहाँ
तपाईंले दुई कुरा गर्न भुल्नुभयो भने तपाईंको क्यानाडास्थित टोरन्टो शहरको भ्रमण
अधूरो मानिने छ। भुल्न नहुने ती दुई कुरा हुन्–सियन टावरमाथि चढनु र टोरन्टोका
डाउन टाउनमा फिंजिएर फुटपाथमा रहेका कार्टहरूमा बेच्न राखिएका ‘हटडग’ खानु।
डाउन टाउनमा, सडक छेउमा बिक्रीका लागि राखिएको हटडग टोरन्टोको आकर्षण र प्रख्यात
पनि मानिन्छ। स्थानीय मात्र होइन, विदेशबाट आएका पर्यटकहरूले पनि डाउन टाउनमा फूटपाथमा बेच्न राखिएका
हटडग एवं अन्य ‘फास्टफूड’ अति रमाएर खान्छन्। स्थानीय सरकारले पनि टोरन्टोका सडकका
पेटीहरूमा बसेर साना व्यापारीहरूलाई व्यापार गर्न अनुमति दिएको छ। डाउन टाउनमा
साना व्यापारीहरूलाई फूटपाथमा व्यापार सञ्चालन गर्न दिन, सरकारले स्वतन्त्रता दिएको छ। सरकारले
कुनै किसिमको नियन्त्रण गरेको छैन। व्यापारीहरूलाई अनावश्यक दुःख दिएको छैन।
टोरन्टोको डाउन टाउनमा यति मात्र होइन, मगन्तेहरूलाई पनि घुमेर ‘माग्न’ छुट
दिइएको हुन्छ। मगन्तेहरू थरीथरीको भेष धरेर, पर्यटकहरूलाई मनोरञ्जन दिंदै माग्न बसेका हुन्छन्। पर्यटकहरू
मगन्तेहरूको भेषभूषाबाट आनन्दित हुँदै उनीहरूलाई केही पैसा दिन्छन्। यादगार र
रमाइलोका लागि उनीहरूसँग पर्यटकहरूले तस्वीर पनि खिंचाउँछन्।
टोरन्टो एउटा प्रतिनिधि उदाहरण मात्र हो।
पश्चिमी देशका ठूला शहरहरूमा साना व्यापारीलाई फूटपाथमा बसेर व्यापार सञ्चालन गर्न
अनुमति दिइएको हुन्छ। व्यवस्थित किसिमले व्यापार सञ्चालन गर्न सरकारले साना व्यापारीहरूलाई
प्रोत्साहित गर्दछ। राष्ट्रले गर्ने आम्दानीमा उनीहरूलाई पनि साझेदार बनाउने
लक्ष्य राखेको हुन्छ।
नेपालमा भने साना व्यापारीबारे
गम्भीरतापूर्वक सोचेको पाइँदैन, सरकार र नागरिक समाज दुवै पक्षबाट। उनीहरूलाई स्वतन्त्रतापूर्वक
व्यापार सञ्चालन गर्न दिएको देखिंदैंन। साना व्यापारीहरूले अनियन्त्रित किसिमले
सडकलाई छेकेर, सडकमा हिंडने यात्रुहरूलाई अवरोध पुर्याउने किसिमबाट व्यापार सञ्चालन गरिरहँदा पनि सरकारले उनीहरूलाई व्यवस्थित
गरेको देखिंदैन। उनीहरूलाई व्यापार गर्नका लागि उपयुक्त वातावरण दिएको पाइँदैन।
बरु सरकारले उल्टो उनीहरूलाई सडकबाट लखेटने गरेको देखिन्छ। नगरपालिका वा सरोकार राख्ने निकायबाट उनीहरूलाई
कुटने, उनीहरूको सामानलाई क्षति पुर्याउने
गरेको एवं उनीहरूमा त्रास पैदा गरेको देखिन्छ। यस किसिमको दृश्य काठमाडौमा बढी
देख्न पाइन्छ। यो राम्रो परिपाटी होइन। साना व्यापारीहरूलाई सडकबाट लखेटेर सडक
छेकिने समस्या समाधान हुँदैन। सडकमा रहेको उनीहरूको व्यापार व्यवस्थित गरेर मात्र
समस्या समाधान हुन्छ। उनीहरूलाई सडकपेटीमा उचित स्थान दिएर यो समस्या समाधान गर्न
सकिन्छ। उनीहरूका लागि निश्चित स्थान तोकेर, परिचयपत्रको व्यवस्था गरेर यो समस्या समाधान गर्न सकिन्छ।
केही अपवाद छाडेर कुरा गर्ने हो भने फूटपाथमा
बसेर व्यापार सञ्चालन गर्ने लगभग सम्पूर्ण व्यापारीहरू ठूलो मुनाफा हात पारेर, करोडपति हुने लक्ष्य राखेर, व्यापारमा संलग्न भएका हुँदैनन्।
उनीहरू केवल जीवन गुजाराका लागि व्यापारमा संलग्न भएका हुन्छन्। उनीहरूको
आम्दानीले उनीहरूलाई केवल जीवन धान्न मात्र सहयोग पुर्याउँछ। त्यस कारण उनीहरूलाई
संरक्षण दिनु पर्छ र संरक्षण दिने नयाँनयाँ तरिका सोच्नुपर्छ। तर हामी कहाँ विपरीत
अवस्था छ। अनेक भ्रष्टाचार गरेर, गलत सामान बिक्री गरेर, कर छलेर धनी हुने केही ठूला व्यापारीलाई माला लगाइदिएर, सम्मान गरेर ठूलो इज्जत दिने गरिन्छ तर
केवल जीविकाका लागि सडकमा बसेर व्यापार गर्ने साना व्यापारीहरूलाई इज्जत दिने
गरिंदैन। उल्टो लठ्ठीले हिर्काउँदै सडकबाट लखेटिन्छ।
यसको आशय यो होइन कि ठूला व्यापारीहरूलाई
इज्जत दिनुहुँदैन। उनीहरूलाई अवश्य इज्जत दिनुपर्छ। देशमा रोजगार सृजना गर्न, कर तिरेर देशलाई धनी बनाउन ठूला
व्यापारीहरूको भूमिका अहम् हुन्छ। तर यहाँ भन्न के खोजिएको हो भने जति इज्जत ठूला
व्यापारीहरूलाई दिने गरिन्छ त्यति नै इज्जत साना व्यापारीहरूलाई पनि दिनुपर्छ।
उनीहरूले सडकमा आएर व्यापार गरे भन्दैमा उनीहरूको इज्जत नै हुँदैन भन्ने मान्यता
राख्नुहुँदैन। देशमा रोजगार सृजना गर्न साना व्यापारीहरूको भूमिका महत्वपूर्ण हुन्छ। देशलाई आर्थिक रूपमा आत्मनिर्भर तुल्याउन उनीहरूको पनि
भूमिका महत्वपूर्ण हुन्छ।
अर्थतन्त्रमा साना व्यापारीहरूको भूमिका महŒवपूर्ण हुन्छ भन्ने तथ्यलाई
गम्भीरतापूर्वक लिएर नै संयुक्त राज्य अमेरिकामा साना व्यापारीहरूलाई सहयोग गर्ने
उद्देश्यका साथ सङ्घीय सरकारले ‘साना व्यापार प्रशासन’ (Small
Business Administration) स्थापना गरेको छ। साना व्यापार प्रशासनले साना व्यापारीहरूलाई
सहयोग गर्दछ। यसले व्यापारीहरूलाई आफैंले ऋण उपलब्ध गराउँदैन। तर बैंक एवं वित्तीय
संस्थाहरूमार्फत् ऋण उपलब्ध गराउँछ। व्यापार सञ्चालन गरिरहेका एवं गर्ने तरखरमा
रहेका साना व्यापारीहरूलाई यो संस्थाले सूचना, जानकारी एवं अन्य परामर्श सेवाहरू उपलब्ध गराउँछ। अमेरिकाको प्रत्येक
राज्यमा कम्तिमा एउटा साना व्यापार प्रशासनको कार्यालय पाइन्छ। यसै अन्तर्गतको
करिब ९०० जति ‘साना व्यापार विकास केन्द्र’ (Small Business Development
Centers)
हरू सञ्चालित छन् र प्रायः कलेज एवं विश्व विद्यालयस्थित छन्।
निश्चित आकार र आम्दानी हुने तथा थोरै
सङ्ख्यामा कामदार कार्यरत रहेको र स्वतन्त्ररूपमा सञ्चालित व्यापारिक संस्थालाई
अमेरिकामा साना व्यापार मानिन्छ। यस किसिमको व्यापर प्रायः एकल स्वामित्वमा चलेको
पाइन्छ। फूटपाथमा सञ्चालित साना व्यापारलाई मात्र साना व्यापार मानिदैंन।
गएको बीस वर्षमा सानो व्यापारले अमेरिकामा
लगभग ६४ प्रतिशत नयाँ रोजगार सिर्जना गरेको छ। निजी क्षेत्रले उपलब्ध गराउने रोजगारमध्ये
साना व्यापारले लगभग ४३ प्रतिशत रोजगार उपलब्ध गराएको पाइन्छ। र यसैगरी निजी
क्षेत्रले गर्ने उत्पादनमा साना व्यापारको हिस्सा ४६ प्रतिशत रहेको पाइन्छ। साना
व्यापार सञ्चालकहरू मध्ये तीनचौथाईले कुनै सहयोगी (कर्मचारी वा कामदार) को सहयोग
नलिएरै व्यापार सञ्चालन गरेको पाइन्छ।
नेपालजस्तो विकासशील देशहरूमा त सानो
व्यापारको झनै बढी महत्व हुन्छ। साना व्यापारको माध्यमले नै गरिबहरूसम्म राष्ट्रिय
आय पुर्याउन सकिन्छ। देशमा नागरिकहरूबीच आय वितरण (National Income
Distribution)
सन्तुलित तुल्याउन सकिन्छ। साना व्यापारको माध्यमबाट लाखौंलाई रोजगार दिन सकिन्छ।
रोजगारका लागि विदेशिने नेपालीहरूको सङ्ख्या तल झार्न सकिन्छ। देशको युवा शक्तिलाई
देश निर्माणमा सदुपयोग गर्न सकिन्छ।
अबको यो नयाँ परिवेशमा स्थानीय सरकारहरूले
साना व्यापारलाई सहयोग गर्ने किसिमका अनेक रचनात्मक कार्यक्रमहरू ल्याउन आवश्यक छ।
साना व्यापारीहरूलाई नयाँनयाँ किसिमका व्यापार सृजना (Innovation
of new business) उत्प्रेरित गर्न आवश्यक छ । खासगरी फूटपाथमा बसेर सामान बिक्री
गर्ने व्यापारीहरूलाई सहयोग गर्न अनेक सहयोगात्मक योजना र कार्यक्रम ल्याउन जरुरी
छ। पहिले त प्रत्येक नगरपालिकामा ‘साना व्यापार सहयोग संस्था’ सरकारी तवरबाट
सञ्चालन गर्न आवश्यक छ।
Bishwa Raj Adhikari
Published in Prateeddaily on Friday, February 09, 2018
No comments:
Post a Comment