Wikipedia

Search results

Friday, March 16, 2018

New Work Approach and Economic Development-Article-186


हाम्रो कार्य शैली र आर्थिक बचत

हाम्रो कार्यशैली, कार्यतालिका, ज्याला भुक्तानी आदि सबै परम्परागत छन्। हामीले यिनलाई अहिले पनि, यो वैज्ञानिक युगमा पनि, आधुनिक पार्न सकेका छैनौं। प्राचीनकालदेखि चलिआएको कार्यपद्धति अहिले पनि प्रचलित छ। हाम्रो अवैज्ञानिक कार्यपद्धतिले गर्दा हामीले खरिद गर्ने वस्तु र सेवाहरूको मूल्य वृद्धि हुन पुगेको छ। कार्यपद्धतिको कारणले गर्दा नै हामीले धेरै वस्तु एवं सेवाको उत्पादन एवं बिक्री लागत कम पार्न सकेका छैनौं। परिणामस्वरूप उपभोक्ताहरू महँगोमा वस्तु एवं सेवा खरिद गर्न बाध्य परेका छन्। गरीब हुन बाध्य पारेको छ।
    हाम्रो कार्यशैलीलाई किन आधुनिक पार्नुपर्यो त?  प्रश्न यस्तो पनि उठ्न सक्छ।
    आधुनिक कार्यपद्धतिले उत्पादन र बिक्री लागत घटाएर वस्तु एवं सेवाहरूको मूल्य कम पार्ने र साथै उपभोक्ताहरूको क्रयशक्ति पनि वृद्धि गर्ने हुनाले हामीले हाल प्रचलित परम्परागत कार्यपद्धतिमा धेरै संशोधनहरू गर्न आवश्यक छ। यस्तो गर्न सकिएमा कार्य गर्ने व्यक्ति र रोजगारदाता दुवैलाई लाभ हुन्छ नै, साथै वस्तु एवं सेवाहरूको मूल्यमा कमी आउने अवस्थासमेत सृजना हुन्छ। कार्यपद्धतिमा सुधार गरेर वा कार्य समयलाई कामदारहरूको परिस्थिति अनुकूल पारेर उनीहरूलाई अधिक कुशलतापूर्वक कार्य गर्न उत्प्रेरित गर्न सकिन्छ। उनीहरूलाई उत्प्रेरित गरेर उनीहरूको र उत्पादन प्रणालीको उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ।
    नेपालमा प्रचलित कार्यपद्धतिमा सुधार गर्न निम्न कार्यहरू गर्न सकिन्छ।

खाँदिएको कार्यतालिका (Compressed Work Schedule) विश्वभरि नै प्रचलित रहेको एक हप्तामा चालीस घण्टा कार्य गर्ने व्यवस्थाअनुरूप प्रायः हरेक देशमा प्रत्येक दिन आठ घण्टा कार्य गरेर पाँच दिनमा चालीस घण्टा कार्य गर्ने चलन छ। चालीस घण्टा कार्य गर्नका लागि सोमवारदेखि शुक्रवारसम्म प्रत्येक दिन आठ घण्टा कार्य गर्ने गरिन्छ। यो ज्यादै नै परम्परागत विधि हो। अब यो विधिमा द्रुततर गतिमा परिवर्तन आउँदै छ।
    विकसित देशहरूमा आजभोलि हप्तामा केवल चार दिन कार्य गर्ने गराउने व्यवस्था लोकप्रिय हुँदै गएको छ। यस्तो गर्दा काममा जाने व्यक्तिले हप्तामा चार दिन मात्र कार्य गर्नुपरेकोले कार्यालय जान एक दिन सवारी साधन प्रयोग नगर्नुपर्ने हुन्छ, जसले गर्दा ट्राफिक जाम कम हुन सक्छ। यतिमात्र होइन, चार दिन मात्र कार्यालय सञ्चालन गर्नुपरेकोले बिजुली, पानी, सरसफाइमा लाग्ने खर्चसमेत कार्यालयले बचत गर्न सक्छ। साथै कार्य गर्ने व्यक्तिले कार्य गर्नका लागि पाँच दिन यात्रा गर्नुपर्नेमा चार दिन मात्र यात्रा गर्नुपर्छ, जसले गर्दा कार्य गर्ने व्यक्तिले थप एक दिन परिवारसँग बिताउन सक्छ। उसको यात्रा खर्चमा पनि कमी हुन्छ। यसरी खाँदिएको कार्यतालिकाले जनसङ्ख्याको चाप भएको देशमा सडक र गल्लीहरूमा देखिने यात्रुहरूको भीडभाडमा पनि कमी ल्याउन सहयोग पुर्याउँछ। यातायातका लागि ठूलो परिमाणमा महँगो इन्धन (पेट्रोलियम पदार्थ) खरिद गर्नुपर्ने हाम्रो स्थितिलाई मध्यनजर गर्दा खाँदिएको कार्यतालिका नेपालका विभिन्न क्षेत्रमा लागू गर्नु उपयुक्त देखिन्छ। अमेरिका, क्यानडालगायत युरोपका विभिन्न मुलुकहरूमा खाँदिएको कार्यतालिका निकै प्रचलित रहेको पाइन्छ।

दूर कार्य व्यवस्था (Telecommuting)) ज्यादै प्रचलित कार्य पद्धतिहरूमध्येको एक यस कार्य पद्धति अन्तर्गत कार्य गर्ने व्यक्तिलाई कामदारले दूर वा घरबाट नै कार्य गर्ने छुट दिएको हुन्छ। अर्थात् दूर कार्य व्यवस्था अनुसार कुनै एक कामदारले घरबाट नै काम गर्न सक्छ, ऊ कार्यालय जानु नै पर्ने अनिवार्यता हुँदैन। सवारीका लागि उसले खर्च गर्नुपर्दैन। यात्रामा लाग्ने समय पनि बचत गर्न सक्छ। कतिपय त्यस्ता कार्यहरू हुन्छन्, जुन घरबाट नै गर्न सकिन्छ। खासगरी इन्टरनेटबाट गरिने कार्यहरू जस्तै सूचनाहरूको मूल्याङ्कन एवं विश्लेषण, लागत विश्लेषण, लेखा व्यवस्थापन, अनुसन्धान, तथ्याङ्क विश्लेषण, ग्राहक सेवा आदि जस्ता कार्यहरू गर्नका लागि कार्यालय जानुपर्ने अनिवार्यता हुँदैन। नेपालमा पनि यस किसिमका कार्यहरू कर्मचारीहरूलाई घरबाट नै गर्ने छुट दिने हो भने यस किसिमको व्यवस्था लागू गरेर आर्थिक बचत गर्न सकिन्छ। सडकमा मानिस र सवारी साधनहरूको ओहरदोहर कम पारेर ट्राफिक व्यवस्थालाई झनै प्रभावकारी तुल्याउन सकिन्छ। सार्वजनिक र निजी यातायातमा लाग्ने इन्धन खर्च बचत गर्न सकिन्छ। विकसित देशहरूले दूर कार्य व्यवस्था प्रयोगमा ल्याएको निकै लामो अवधि भइसक्यो।

लचिलो कार्य समय व्यवस्था (Flextime ): यस कार्य प्रणाली अनुसार दिनमा आठ घण्टा कार्य गर्ने व्यवस्था त हुन्छ तर परम्परागतरूपमा नौ बजेदेखि पाँच बजेसम्म कार्य गर्नुपर्ने अनिवार्यतालाई हटाएर कार्य गर्ने व्यक्तिलाई नै प्रत्येक दिन उसको अनुकूल समयमा कार्य आरम्भ र समाप्त गर्ने समय रोज्न  छुट दिइएको हुन्छ। र, सोही छुट अनुसार कार्य गर्ने व्यक्तिले कुनै दिन एक बजे, कुनै दिन दुई बजे कार्य आरम्भ गरेर आफ्नो अनुकूल समयमा कार्य समाप्त गर्न सक्छ। लचिलो कार्य समय व्यवस्थाको सार भनेको कार्य आरम्भ र समाप्त गर्ने समयलाई कामदारको सुविधा अनुसारको तुल्याइ दिनु वा लचिलो बनाउनु हो। घरमा ससाना नानीहरूलाई पनि समय दिनुपर्ने, स्कूल, कलेज वा अध्ययनमा समय बिताउनुपर्ने तथा विभिन्न स्थानमा कार्य गर्नुपर्ने व्यक्तिहरूका लागि लचिलो कार्य व्यवस्था निकै उपयोगी मानिएको छ। विकसित देशहरूमा यस किसिमको कार्य समय निकै प्रचलित रहेको पाइन्छ।
    लचिलो कार्य समय व्यवस्थाले कामदारहरूको कार्य जीवन (Work life) लाई स्वस्थकर तुल्याएर कामदारहरूलाई कार्यबाट सन्तुष्ट राख्ने कार्य गर्दछ। कार्यको स्तर र परिणाम, कामदारको मनोविज्ञानमाथि अत्यधिक मात्रामा भर पर्ने हुनाले कामदारहरूलाई उनीहरूले गर्ने कार्यप्रति सन्तुष्ट राख्न अनिवार्य हुन्छ। सन्तुष्ट कामदारहरूबाट प्रभावकारी किसिमले काम लिन्छ सकिन्छ। यस्तो गर्नाले कामदारलाई उसले गर्ने कार्यले नै उसलाई उत्प्रेरित गर्दछ। अर्थात् लचिलो कार्य व्यवस्थाले कामदारलाई सन्तुष्टि दिनुका साथै उत्प्रेरित पनि गर्दछ।

समय अनुसार भुक्तानी व्यवस्था (Hourly pay): यस किसिमको कार्य व्यवस्थामा कामदारलाई तलब नदिएर ज्याला दिने गरिन्छ। एक व्यक्तिले कति घण्टा काम गर्यो, त्यस अनुसार भुक्तानी गरिन्छ। अर्थात् यस व्यवस्थाअनुरूप एक घण्टा कार्य गरेबापत यति रकम ज्याला दिने भनी निर्धारण गरिएको हुन्छ। विकसित देशहरूमा एक घण्टा कार्य गरेबापत कुनै पनि कामदारलाई न्यूनतम ज्याला कति दिने भनी सरकारले नै निर्धारण गरिदिएको हुन्छ। निर्धारित दरभन्दा कुनै कामदारलाई कम ज्यालादरमा भुक्तानी गर्न पाइँदै । त्यस्तो गरेमा त्यस कार्यलाई अपराध मानिन्छ। उदाहरणका लागि अमेरिकामा सरकारले  एक घण्टा कार्य गरेबापत न्यूनतम कति ज्याला दिने भनी निर्धारण गरिदिएको छ। यस किसिमको कार्यपद्धतिले गर्दा कुनै व्यक्तिले कति घण्टा कार्य गर्न चाहेको हो, सोही अनुसार उसले काम गर्न सक्छ भने अर्कोतिर कामदारले कति घण्टा काममा लगाउन खोजेको हो, सोही अनुसार काममा लगाउन सक्छ। यस्तो व्यवस्थाले गर्दा कामदारले सानो वा छोटो अवधिको लागि एक दिनको पूर्ण ज्याला भुक्तान गर्नुपर्दैन। यसरी कम (जति समयको लागि चाहिएको हो, त्यति समयको लागि  मात्र) भुक्तानी गरेर व्यवसायीले उत्पादन वा बिक्री लागत कम पार्न सक्छ।

    नेपाल, जहाँ सर्वाधिक मुद्रास्फितिले सताएको छ, महँगी बढेर शिखरमा पुगेको छ, उपभोक्ताहरूको क्रयशक्तिमा निकै ह्रास आएको छ, मुद्राको विनिमय क्षमता अति नै कमजोर भएको छ, मा कार्यपद्धतिमा सुधार ल्याउन अति आवश्यक छ।


Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, March 16, 2018

No comments:

Post a Comment