Wikipedia

Search results

Friday, March 9, 2018

Angel Investors and Investment-Article-185


एन्जल इनभेस्टर र लगानी

इतिहासले नै भन्छ हामीलाई व्यापार गर्न आउँदैन। व्यापार गर्न नजानेपछि मुनाफामुखी व्यापार गर्न नसक्नु र नयाँ नयाँ किसिमका व्यापारहरू सृजना गर्ने मनोवृत्ति नहुनु स्वाभाविक कुरा हो। समाज र देशलाई धनी तुल्याउन नसक्नु स्वाभाविक कुरा हो। हामी अहिले पनि अनेक सामाजिक झन्झट र महाजाल (अनुत्पादक रीतिरिवाज-दहेज, तिलक, दाइजो, भोजभतेर, गरगहना संस्कृति आदि) हरूबाट फुत्कनै नसकिनेगरी अल्झेका छौ। हामीले केवल फुस्रो धाक लगाउन र गर्व मात्र गर्न जानेका छौं। उत्पादनमुखी कार्यहरू गरेर, अनेक रोजगार सृजना गरेर, समाजमा आर्थिक समृद्धि ल्याउन जानेको छैनौं। उल्टो जातीय विभाजन गरेर समाजभित्र अनेक किसिमका पर्खालहरू खडा गरेका छौं।
    अहिले पनि छुवाछूतमा विश्वास गर्छौं। तर यो जातीय विभाजन आर्थिक विकासका लागि सर्वाधिक ठूलो बाधा हो भन्ने कुरा बोध गर्दैनौं।
    हाम्रो क्षेत्रमा हाल प्रचलित व्यापारहरू हामीले पश्चिमाहरू र खासगरी युरोपियनहरूबाट र पछिल्लो समयमा अमेरिकाबाट सिकेका हौं। हामीले आफैंले सृजना गरेको व्यापारको सङ्ख्या शून्य बराबर छ। कुन किसिमको व्यापार हामी स्वयंले सृजना गरेका छौ र?
    उहिलेको कुरा हो, तराईमा केवल कृषिको चलन थियो र व्यापारबारे सोंचिएको थिएन। भारतका विभिन्न स्थानबाट आएका व्यापारीहरूले तराईमा व्यापारको राम्रो अवसर देखेर अनेक किसिमका व्यापार सञ्चालन गरेपछि मात्र तराईका नेपालीहरूले व्यापार सिकेका हुन्। भारतबाट आएका व्यापारीहरूले तराईमा चामल उत्पादन हुन सक्ने राम्रो अवसर देखे। उनीहरूले गौर, वीरगंजलगायत अनेक शहरमा राइस मिल सञ्चालन गरे, चामल उत्पादन गरे। उत्पादित चामल भारत निर्यात गरेर राम्रो आय हात पारे। उनीहरूले पछि अन्य क्षेत्रमा पनि लगानी गरे र व्यापारको क्षेत्र विस्तार गरे। खासगरी मारवाडीहरूले तराईको व्यापार विकासमा ठूलो योगदान पुर्याएका हुन्। तराई क्षेत्रका व्यक्तिहरूले मारवाडी समुदायबाट नै, तर धेरै पछि, व्यापार सञ्चालन र विस्तार गर्न सिकेका हुन्। मुनाफा कमाउन सिकेका हुन्।
    यस्तै स्थिति काठमाडौ उपत्यकामा पनि थियो । काठमाडौं उपत्यकाको विकास नै एक धार्मिक नगरको रूपमा भएको हो, व्यापारिक नगरको रूपमा होइन। परम्परागतरूपमा नै यस शहरका बासिन्दाहरूले व्यापारभन्दा कृषि र धार्मिक कार्यहरूमा बढी जोड दिंदै आएका थिए। यो कारणले गर्दा नै होला, काठमाडौंमा सर्वाधिक ठूलो सङ्ख्यामा मूर्ति, मन्दिर, देवालय, पौवा, पाटी आदिहरू निर्माण भए।
    काठमाडौं उपत्यकामा पनि व्यापारिक सोचको विकास ज्यादै पछि र अति ढिलो भएको पाइन्छ। हुन पनि मल्लकालदेखि राणाकालसम्म र पछिका समयहरूमा पनि काठमाडौंमा केवल सत्ताको लागि सङ्घर्ष भएको देखिन्छ, व्यापार विकासको लागि उपलब्धिमूलक कार्यहरू भएको देखिंदैन। काठमाडौं आदिकालदेखि सत्ता सङ्घर्षको केन्द्र रहँदै आएको हो। त्यसैले यहाँ राजनीतिक शक्ति हस्तगत गर्न कोतपर्व, भण्डारखाल सहित अनेक पर्वहरू भए, तर व्यापार विकासका लागि ठोस कार्यहरू कहिले भएन। इतिहास केलाउने हो भने काठमाडौंमा सर्वप्रथम यक्ष (जययक्ष) मल्लका छोरा रत्न मल्लले व्यापारको विकास गर्न तत्कालीन कश्मीर देशबाट विभिन्न व्यापारीहरूलाई बोलाएका थिए। कश्मीरबाट आएका व्यापारीहरूले काठमाडौं उपत्यकाको व्यापारको विकासमा ठूलो योगदान पुर्याए। यी व्यापारीहरूलाई काठमाडौंमा अहिले पनि ‘कश्मीरी मुसलमान’ भन्ने चलन छ। यिनीहरूले अहिले पनि इन्द्रचोकमा चुरा र पोतेको व्यापार गरेको देख्न सकिन्छ। रत्न मल्ल १४८४ सालमा काठमाडौका राजा भएका थिए।
    इतिहासको विश्लेषण गर्ने हो भने काठमाडौंबाट व्यापार गर्न र व्यापार सिक्न विभिन्न व्यक्तिहरू त्यस बेलाको तिब्बत देश गएको पाइन्छ। तिब्बत, व्यापारको क्षेत्रमा काठमाडौभन्दा निकै अगाडि थियो। यो कारणले गर्दा काठमाडौंबाट व्यक्तिहरू ठूलो सङ्ख्यामा व्यापार गर्न तिब्बत जान्थे। व्यापार सिक्न पनि त्यहाँ जान्थे।
    यी तथ्यहरू के सन्दर्भमा प्रस्तुत गरिएको हो भने व्यापारका विभिन्न अवसर भए तापनि हामीले देशभित्र अनेक व्यापार गरेर राम्रो आयआर्जन गर्न सकेका छैनौं। यहाँ व्यापारको एउटा यस्तै अवसरको चर्चा गरौं।
    कतिपय व्यक्तिसँग निकै सम्पत्ति हुन्छ तर उनीहरूलाई त्यो सम्पत्तिको प्रयोग कसरी गर्ने भन्ने कि आँट हुँदैन या कुशलता हुँदैन। अर्थात धेरै सम्पत्ति भए तापनि त्यस्ता व्यक्तिहरूले व्यापार गरेर धन वृद्धि गर्न जानेका हुँदैनन्। उनीहरूले त्यो पैसा केवल बैंकमा राखेर न्यून दरमा ब्याज मात्र खान्छन्। यसैगरी कतिपय व्यक्तिसँग धेरै बचत हुन्छ तर उनीहरू त्यसलाई लगानी गर्न सक्तैनन् किनभने उनीहरूमा व्यापारिक ज्ञान हुँदैन। यसरी धनको ठूलो राशि केही सीमित व्यक्तिहरूको हातमा अनुत्पादक भएर रहन्छ।
    अर्कोतिर त्यस्ता उद्यमीहरू हुन्छन् जोसँग व्यापारका नयाँनयाँ एवं बढी लाभदायक योजना हुन्छ, तर व्यापार सञ्चालन गर्न पूँजी हुँदैन। पूँजी नभएको कारणले गर्दा उनीहरूको रचनात्मक योजना वा विचारहरू त्यतिकै मरेर जान्छ। यस्ता व्यक्तिलाई कतिपय अवस्थामा बैंकले चर्को ब्याज दरमा ऋण दिने स्वीकृति जनाउँछ वा धितो राख्न भन्छ। अर्कोतर यस्ता गरिब उद्यमीहरूसँग न चर्को ब्याज दिने क्षमता हुन्छ, न धितोको रूपमा बैंकलाई दिन कुनै मूल्यवान सम्पत्ति नै हुन्छ। यसरी आफूसँग अनेक व्यापारिक योजना भए तापनि पूँजीको अभावमा उनीहरूले व्यापार सञ्चालन गर्न पाउँदैनन्।
    युरोप र खासगरी अमेरिकामा हो भने यस किसिमका गरिब वा पूँजीको अभाव हुने व्यक्तिलाई सहयोग गर्न र व्यापार प्रारम्भ गर्न मदत पुर्याउन व्यक्ति विशेष प्रकट हुन्छन्। व्यापार गर्न तयार भएका तर पूँजी नभएका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्ने वा कोष उपलब्ध गराउने लगानीकर्ताहरूलाई ‘एन्जल इन्भेस्टर’ भन्ने चलन छ।
    तपाईंले गुगल सर्च गर्नुभयो भने एन्जल इन्भेस्टबारे सजिलै थाहा पाउन सक्नुहुन्छ। यी एन्जल इन्भेस्टरहरूले मुख्यतः व्यापार प्रारम्भको समयमा आवश्यक पूँजी उपलब्ध गराएर व्यापार गर्न इच्छुक व्यक्तिहरूलाई सहयोग गर्छन्। एन्जल इन्भेस्टरहरूले ‘आकर्षक व्यापार योजना’ लिएर आउने उद्यमीहरूको व्यापारमा लगानी गर्छन् र साथै उच्च लाभको अपेक्षा पनि गर्छन्। तर यस किसिमका लगानीकर्ताहरूले भने व्यापार गर्न चाहनेहरूको ‘पूँजी खाँचो’ पूरा गरिदिन्छन्। साथै उक्त व्यापार असफल भएमा लगानी डुब्ने जोखिम पनि लिन्छन्। एन्जल लगानीकर्ताहरू निजी क्षेत्रका र व्यक्तिविशेष हुन्छन्। आफ्नै परिवारको सदस्य पनि एन्जल लगानीकर्ता हुन सक्छ। अमेरिकामा एन्जल लगानीकर्ताहरूले विभिन्न क्षेत्रमा विभिन्न व्यक्तिहरूको व्यापार योजनामा लगानी गरेको पाइन्छ। रन कन्वे (Ronald Crawford Conway) पनि एन्जल इन्भेस्टरमध्येका एक हुन्। ६६ वर्षीय अमेरिकी नागरिक कन्वेले गुगल, आस्क जिभ्स, पेपालजस्ता प्रचलित व्यापारिक संस्थाहरूमा, तिनीहरूको प्रारम्भिक अवस्थमा लगानी गरेका थिए । रनको कुशलताको कारण उनलाई ‘सुपर एन्जल्स’ (super angel) पनि भन्ने गरिन्छ।
    एन्जल इनभेस्टरको उपस्थितिले गर्दा व्यापार गर्न चाहने उद्यमीहरूलाई पनि फाइदा हुन्छ किनभने उनीहरू तन, मनले व्यापार गर्न तम्सिएका हुन्छन्। केवल पर्याप्त पूँजीको अभावले गर्दा व्यापार सञ्चालनको स्थितिमा पुग्न सकेका हुँदैनन्। एन्जल इन्भेस्टरहरूले उनीहरूलाई व्यापार सञ्चालन गर्न ठूलो मदत पुर्याउँछन्। मनोवैज्ञानिक र आर्थिक दुवै रूपमा।
    व्यापारको विकास गर्न नेपालमा पनि यस किसिमका ‘एन्जल इन्भेस्टर’ हरू व्यापारिक मैदानमा आइदिए हुन्थ्यो। नेपालमा कतिपय व्यक्तिसँग पैतृक सम्पत्तिको रूपमा धेरै धन छ तर व्यापार गर्ने कुशलता छैन भने त्यस्ताले आफ्नो धन उद्यमीहरूलाई दिए हुन्छ। अर्थात् उनीहरूको योजना अनुसारको व्यापारमा लगानी गरे हुन्छ। तर नेपालमा नियम कानूनको फितलो कार्यान्वयनले गर्दा ठूलो अविश्वासको वातावरण छ र ‘व्यापारिक विश्वास’ को त सङ्कट नै छ जस्तो छ। लगानी गर्न इच्छुकहरू आफ्नो लगानी डुब्ने हो कि भन्नेमा हरदम चिन्तित रहन्छन्। तर प्रभावकारी नियमहरू निर्माण गरेर, तिनको पालना कठोरतापूर्वक गरेर, नेपालमा ‘व्यापारिक विश्वास’ को बलियो वातावरण तयार पार्न सकिन्छ।
    अब प्रदेश सरकारहरूले नियम कानून बनाउन स्वतन्त्रता पाएको परिप्रेक्ष्यमा यसतर्फ ध्यान दिन आवश्यक छ। व्यावहारिक एवं प्रभावकारी नियम बनाएर प्रादेशिक सरकारहरूले एन्जल इन्भेस्टरहरूलाई लगानीका लागि प्रोत्साहित गर्न आवश्यक छ। यस्तो हुन सके पूँजी अभावमा व्यापार गर्न नपाएका तर व्यापार गर्न इच्छा राख्नेहरूले अवसर प्राप्त गर्ने थिए। बैंकबाट वा अन्य स्रोतबाट चर्को ब्याज दरमा ऋण लिनुपर्थेन। देशमा व्यापारको विस्तार हुन्थ्यो। धेरै व्यक्तिले रोजगार पाउँथे। समाज समृद्ध हुन्थ्यो। आर्थिक विकासका लागि केन्द्र एवं प्रदेशका सरकारहरूले रोजगार वृद्धि हुने हर सम्भव इमान्दार प्रयास गर्ने बेला आइसकेको छ। अब भने प्रारम्भ गरौं।

Bishwa R. Adhikari
Published on Prateekdaily on Friday, March 9, 2018

No comments:

Post a Comment