नेपालमा
वैदेशिक लगानी भित्र्याउन के गर्नुपर्छ?
एक
सबल, सक्षम र स्थिर राष्ट्र हुनका लागि
सर्वप्रथम त, त्यो देशको कानून र त्यसको प्रयोग
निष्पक्ष हुनुपर्छ। देशको प्रधानमन्त्रीदेखि एउटा सामान्य व्यक्तिले देशको
कानूनलाई समान किसिमले पालना गर्नुपर्छ, ती दुवैमा समान किसिमले लागू हुनुपर्छ। राज्यको कानून विभेदकारी
हुनुहुँदैन। दोस्रो, सरकार
बलियो हुनुपर्छ र सरकारको निर्देशनमा राजनैतिक दलहरू चल्नुपर्छ। राजनैतिक दलको
इशारामा सरकार चल्नुहुँदैन। सरकारभन्दा राजनैतिक दलहरू बलियो हुनुहुँदैन। तेस्रो, सरकारलगायत राजनैतिक दलहरूको कार्य
पारदर्शी हुनुपर्दछ। मुख्यगरी आर्थिक कारोबार विवादास्पद हुनुहुँदैन। चौथो, कर्मचारीतन्त्र जनताको मालिक होइन, सेवक हुनु पर्दछ। जनताको सजिलो कामलाई
पनि अप्ठ्यारो पारेर घूस खाने कर्मचारीतन्त्रले देशलाई खोक्रो पार्दै लान्छ।
पाँचौं, आर्थिक एवं सामाजिक विकासका लागि
आवश्यक पर्ने भौतिक पूर्वाधारहरूको पर्याप्तता हुनुपर्दछ। सडक, ऊर्जा, प्रविधि सेवा आदिको अभाव हुनुहुँदैन। छैठौं, राजनैतिक स्थिरता हुनुपर्छ। बन्द, हडताल कुनै पनि बहानामा गर्न नपाइने
कानून हुनुपर्छ। सत्ता परिवर्तन गर्ने, जनतालाई देशको मालिक बनाउनेजस्ता भडकिलो नारा दिएर आप्mनो स्वार्थ सिद्धिका लागि कुनै पनि
नेताले युद्ध गरेर हजारौ नागरिकको हत्या हुने वातावरण तयार पार्नुहुँदैन। जनताको
हत्या गर्न पाइँदैन। आप्mनो स्वार्थको लागि जनतालाई शहीद बनाउने नेता अपराधी कहलिएर उसले सजाय
पाउनुपर्दछ। सजायबाट उन्मुक्ति पाउनुहुँदैन। कुनै पनि निहुमा बहुसङ्ख्यक नागरिकको
हत्या गर्ने नेताहरूलाई देशले उन्मुक्ति दिएमा देशमा विधि होइन, बलको शासन हुन्छ।
माथि उल्लेख गरिएका समस्याहरूबाट कुनै पनि
देश जति बढी मुक्त हुन्छ त्यो देश त्यसै अनुसार स्थिर मानिन्छ। र देश स्थिर भएमा
मात्र विदेशी लगानीकर्ताहरू त्यस देशमा लगानी गर्न उत्प्रेरित हुन्छन्। देशभित्र
विदेशी लगानी बढेर औद्योगिक वातावरणको विकास हुन्छ।
तर अफसोच! नेपाल स्थिर हुन सकिरहेको छैन। माथि
उल्लेख गरिएका समस्याहरूले नेपाललाई स्थिर हुन दिइरहेको छैन। नेपाल स्थिर हुन
नसकेकोले नै विदेशी लगानीकर्ताहरू यहाँ लगानी गर्न तत्पर हुन सकिरहेका छैनन्।
विदेशी लगानीकर्ताहरूले लगानी गर्ने हो भने
नेपालमा लगानीका लागि उपयुक्त एवं लाभदायक क्षेत्रहरू पर्याप्त छन्। विदेशीहरूले
नेपालमा जल विद्युत्, जल
यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य, रेल सेवा आदिजस्ता क्षेत्रमा लगानी
गरेर राम्रो मुनाफा प्राप्त गर्न सक्ने स्थिति छ। यसैगरी केही खास वस्तु, जुन केवल नेपलामा मात्र उत्पादन हुन
सक्छ वा त्यस किसिमको वस्तु उत्पादनमा नेपालको विशेष दक्षता छ, उत्पादन गरेर पनि विदेशी
लगानीकर्ताहरूले राम्रो आम्दानी प्राप्त गर्न सक्छन्। जस्तै जडिबुटी, कपडा, अलैंची, सूठो, अन्य केही खाद्य वस्तु आदि। तर विदेशी
लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्सुक देखिएका छैनन्। एक जानकारी अनुसार (2017 World Investment) नेपालमा विदेशी लगानी सन् २०१५ र
२०१६ मा क्रमशः अमेरिकी डलर ५२ र १०६ मिलियन भित्रिएको थियो। माथिको तथ्याङ्क
हेर्दा नेपालमा विदेशी लगानी उल्लेखनीय किसिमले बढेको देखिंदैन। र यो स्थिति
पछिसम्म पनि कायम रहने छ।
नेपालले निकटका छिमेकीहरू भारत र चीनलाई
नेपालमा लगानी गर्न आग्रह गर्दा पनि ती राष्ट्रहरूले चासो देखाइरहेका छैनन्। भारत
र चीन दुवैले नेपालमा लगानी गर्ने भने तापनि लगानी गर्ने तत्परता देखाएका छैनन्।
नेपालमा विदेशीहरूले लगानी नगर्ने वा ठूला–ठूला
विदेशी कम्पनीहरू नेपालमा आफ्नो उत्पादन एवं वितरण शाखा सञ्चालन गर्न तयार नहुनुका
कारण अनेक छन्। तीमध्ये केही प्रमुख कारण यस प्रकार छन्–
(क) अस्थिर राजनैतिक अवस्था र सरकार
२०४६–४७ सालको राजनैतिक परिवर्तनदेखि नै नेपालको राजनीति स्थिर हुन
सकेको छैन। गृह युद्ध, सङ्घर्ष, द्वन्द, बन्द, हडतालजस्ता
ससस्याबाट ग्रस्त भएर नेपालको राजनीति स्थिर हुन सकेको छैन। एउटा राजनैतिक दलभित्र
हुने अनेक गुटबन्दी र विभिन्न दलहरू बीच
हुने सत्ता सङ्घर्ष जस्ता समस्याहरूले पनि नेपालको राजनीतिलाई सदैव अस्थिर रहने
स्थितिमा पर्याएको छ। सरकार प्रमुख वा प्रम हुन
राजनैतिक दलहरू बीच ठूलो बेइमानीपूर्ण प्रतिस्पर्धा हुन्छ। निरन्तर दाउपेच चलिरहन्छ।
२०४६–४७ सालको राजनैतिक परिवर्तनपछि र आजको मितिसम्म कृष्णप्रसाद भट्टराई देखि
केपी ओली गरी देशमा २७ जना प्रधानमन्त्री वा सरकार प्रमुख नियुक्त भएका छन्।
अर्थात् बितेको लगभग २८, २९
वर्षमा २७ जना प्रम नियुक्त भएको देखिन्छ। यो तथ्यलाई केलाउँदा, कुनै पनि प्रमले सरदरमा एक वर्षभन्दा
बढी कार्य गर्न पाएको देखिदैन।
अहिलेको नै पनि स्थिति हेर्ने हो भने भरखरै
(१९ फेब्रुअरी २०१८ मा) प्रम नियुक्त भएका केपी ओलीलाई प्रम पदबाट हटाउन दाउपेच
प्रारम्भ भइसकेको छ। प्रम परिवर्तन चुनाव वा देशको अवस्थाले माग गरे अनुसार नभएर राजनैतिक
दल र व्यक्तिगत स्वार्थले सत्ता परिवर्तन हुने गरेको छ। यस किसिमको अस्थिर
राजनैतिक वातावरण जहिले पनि विद्यमान रहने स्थितिमा कुनै वैदैशिक कम्पनीले घाटा
खान नेपाल आउने धैर्य र साहस देखाउला? नेपालमा विदेशी लगानी भित्रिएला?
(ख) महँगो र अनियमित ऊर्जा
कुनै पनि व्यापार वा उद्योग सञ्चालनका लागि
ऊर्जा पूर्व शर्तको रूपमा रहेको हुन्छ। ऊर्जाको आपूर्ति सरल र नियमति भएमात्र
आर्थिक विकासको वातावरण निर्माण हुन्छ। युरोप र अमेरिकाका कम्पनीहरूले सरल र सस्तो
ऊर्जा प्राप्त गर्न सकेको हुनाले नै ती कम्पनीहरूले त्यति बढी आर्थिक प्रगति गर्न
सकेका हुन्। नेपालमा भने एकातिर ऊर्जाको आपूर्ति नियमित र सरल छैन भने अर्काेतिर
ऊर्जाको उत्पादन (जल विद्युत्) र वितरण (पेट्रोलियम पदार्थ) अति महँगो छ। जनताको क्रयशक्तिको आधारमा नेपालको
ऊर्जा निकै महँगो मानिन्छ।
विदेशी कम्पनीहरू आफ्नो व्यापार सञ्चालन गर्न
सर्वप्रथम व्यापार गरिने मुलुकमा ऊर्जा उपलब्धताको स्थिति कस्तो छ भनी हेर्छन्।
नेपालमा ऊर्जा महँगो र अनियमित भएकोले विदेशी कम्पनीहरूले नेपालमा लगानी गर्ने आँट
गर्न सकिरहेका छैनन्। ऊर्जाको लागि नेपाल स्वयं परनिर्भर छ। पेट्रोलियम पदार्थको लागि
भारतको मुख ताक्नुपर्छ। यस्तो स्थितिमा विदेशी कम्पनीहरूले नेपालमा लगागनी गर्लान्
त ? ऊर्जा अनियमितताको जोखिम लेलान् त?
(ग) कर्मचारीतन्त्र र भ्रष्टाचार
भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्य
समस्याजस्तो देखिए तापनि यथार्थमा यो सामान्य समस्या होइन। भ्रष्टाचारले सम्पूर्ण
मुलुकलाई राजनैतिक एवं आर्थिक रूपमा बर्बाद पार्न सक्छ। मुख्यगरी आर्थिक
भ्रष्टचारले गरिबी वृद्धि गर्छ र देशमा केवल धनीहरू मात्र सजिलो गरी बाँच्न सक्ने
अवस्था सृजना गर्छ। जस्तो कि पाकिस्तान र भारतमा देखिएको छ।
भ्रष्टाचार व्यापार विकासको अवरोधक हो।
भ्रष्टाचारले व्यापारको विकास र सञ्चालन दुवैलाई प्रतिकूल प्रभाव पार्छ। उद्योग र
व्यापारका कार्यहरू सहज सञ्चालन हुन दिंदैन। भ्रष्टाचारीहरूले कर्मचारीतन्त्रको
दुरुपयोग गर्छन्। कर्मचारीहरू प्रशासनिक अधिकार घूस खान वा भ्रष्टाचार गर्न प्रयोग
गर्छन्। जसले गर्दा व्पापारमा इमानदारी हराउन थाल्छ। व्यापारीहरू उपभोक्तालाई ठग्न
थाल्छन्।
अर्कोतिर भ्रष्ट व्यापारीलाई नियन्त्रण गर्ने कर्मचारीतन्त्र स्वयं नै
भ्रष्टाचारमा लिप्त रहेकोले मनोमानीतन्त्र झनै बढेर जान्छ। व्यापारिक वा अन्य
किसिमका कार्य गर्न घूस ख्वाउनैपर्ने हुन्छ।
जुन देशमा जति बढी आर्थिक भ्रष्टाचार हुन्छ, त्यो देशमा सोही मात्रामा विदेशी लगानी
कम हुन पुग्छ। भ्रष्ट कर्मचारीतन्त्रले अनावयस्यक दुःख दिने हुनाले विदेशी
लगानीकर्ता लगानी गर्न प्रोत्साहित हुँदैनन् बरु आफ्नो पूँजी भ्रष्टाचार कम हुने
देशमा लगानी गर्छन्।
रेन्कर डट कमका अनुसार भ्रष्टाचारमा लिप्त
सरकार वा देशमा व्याप्त भ्रष्टाचारलाई आधार मान्दा विश्वका ५० अति भ्रष्टाचार
व्याप्त राष्ट्रहरूमध्ये नेपालको स्थान ३९ औं रहेको छ। पहिलो, दोस्रो र तेस्रोमा क्रमशः सोमालिया, उत्तर कोरिया र अफगानीस्तान रहेका छन्।
भ्रष्टाचार भन्नाले केवल घूस लिनुदिनु मात्र
होइन। कर्मचारी वा राष्ट्र सेवकले नागरिकहरूको काम समयमा नगरिदिनु पनि भ्रष्टाचार
हो। नेपालमा यस किसिमले भ्रष्टाचार व्याप्त रहेको परिप्रेक्ष्यमा के विदेशीहरू
नेपालमा लगानी गर्न तत्पर होलान्?
नेपालमा व्याप्त भ्रष्टाचारले यो देशको
आर्थिक विकास हुन दिइरहेको छैन। नेपालमा विदेशी लगानी भित्र्याउने नियममात्र बनाएर
हुँदैन। सरकारले विभिन्न देशहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेरमात्र पनि
हुँदैन। यसैगरी अर्थतन्त्रलाई उदार बनाएरमात्र पनि हुँदैन।
नेपालमा विदेशी लगानी भित्र्याउन मुख्य तीन काम गर्नुपर्छ। राष्ट्रिय राजनीतिमा स्थिरता
ल्याउनुपर्छ। दोस्रो, ऊर्जालाई
नियमित र सस्तो पार्नुपर्छ। र तेस्रो भ्राष्टाचार नियन्त्रण गरेर
कर्मचारीतन्त्रलाई इमानदार तुल्याउनुपर्छ। यी कार्यहरू गरेर मात्र विदेशी लगानी
नेपालमा भित्र्याउन सकिन्छ। अन्यथा विदेशी लगानी भित्र्याएर नेपालको विकास गर्ने सपना, सपनामैं सीमित रहने छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, July 20, 2018
No comments:
Post a Comment