नेपालमा
बेरोजगारीका अदृश्य कारणहरू
वस्तु
र सेवा उत्पादन कार्य यथेष्ठ मात्रामा नभएको कारण हाम्रो समाजमा ठूलो परिमाणमा
बेरोजगारी देखिएको हो। वस्तु वा सेवाको बिक्री कम परिमाणमा भएको कारण बेरोजगारी
उत्पन्न भएको हो। सीमित कृषियोग्य भूमि र कृषिसम्बन्धी कार्य कम मात्रामा भएको
कारण बेरोजगारी उत्पन्न भएको हो। नेपालको आर्थिक स्थिति कमजोर (बचतको अभाव) भएको कारण बेरोजगारी
उत्पन्न भएको हो । उद्योगहरूको विकास नभएर बेरोजगारी भएको हो। हाम्रो समाजमा
बेरोजगारी सम्बन्धी व्याप्त यस किसिमको विश्वास पूर्ण सत्य होइन। आंशिक सत्य मात्र
हो। हाम्रो समाजमा व्याप्त बेरोजगारीका अनेक कारण छन्। केही कारण सजिलै देख्न
सकिने किसिमका छन्। तर धेरै कारण अदृश्य छन्। अदृश्य त छन् नै, साथै अनौठो पनि छन्। यस आलेखमा हामी
केही अदृश्य कारणहरूको खोजी गर्नेछौ। ती कारणहरूका अनेक आयाममाथि प्रकाश पार्नेछौं।
नेपाली समाजमा बेरोजगारी उत्पन्न गराउने
प्रमुअ अदृश्य कारणहरू यस प्रकार छन्:
धार्मिक कारण: जातीय प्रथा माथि गर्व गरेर हामी
जातीय सङ्गठनहरू स्थापना गर्छौ तर त्यो जातीय प्रथाको कारणले गर्दा समाजमा
बेरोजगारी सृजना भएको तथ्य स्वीकार गर्दैनौं। जुन अवधारणाले जातीय प्रथा सृजना गर्यो, त्यो अवधारणाले नै दक्षिण एसियाली
समाजलाई चार वर्णमा विभाजन गर्यो । ब्राह्मण, क्षत्री, वैश्य, शुद्र गरी समाजलाई चार टुक्रामा
विभाजित गरिदियो। समाजमा अनावश्यक जातीय विभेद ल्यायो। समाजमा एक किसिमको पर्खाल
खडा गरिदियो। मेलमिलाप हुन दिएन।
ब्राह्मणले केवल बौद्धिक कार्य गर्ने।
क्षत्रीले युद्धसम्बन्धी कार्य गर्ने। वैश्यले व्यापार गर्ने। अनि शुद्रले आफूभन्दा
माथिल्लो जातिको सेवा गर्ने।
उत्पादन तथा बिक्री वितरण गरेर रोजगार सृजना
गर्ने कार्य केवल वैश्यहरूको जिम्मामा आयो। व्यापारमा केवल सीमित व्यक्तिको
संलग्नता गरायो। व्यापारमा केवल सीमित व्यक्तिहरूको ‘बौद्धिकता’ वा कुशलताको
प्रयोग हुने स्थिति सृजना भयो।
ब्राह्मण र क्षत्रीहरूलाई व्यापारबाट विमुख
गरियो भने शुद्रको श्रमलाई मात्र सेवामा सीमित पारियो। शुद्रहरूको बौद्धिकताको
प्रयोग व्यापारिक क्षेत्रमा पटक्कै हुन दिइएन। शुद्रहरूलाई व्यापार गर्न दिइएन।
माथिल्लो जातिका व्यक्तिहरूको सेवा गर्नुबाहेक अन्य (व्यापार, बौद्धिक आदि) कार्यहरू गर्न वञ्चित
गरियो। शुद्रहरूलाई केवल दास बनाउने कार्य भयो। यसरी केवल सीमित व्यक्ति (वैश्य)
हरू मात्र व्यापार (रोजगार सृजना गर्ने) कार्यमा संलग्न रहे।
जातीय विभाजनले यसरी व्यापारको क्षेत्रलाई
एकातिर अति नै सङ्कुचित पारिदियो भने अर्कोतिर तथाकथित उच्च जातिका (ब्राह्मण, क्षत्री) व्यक्तिहरूलाई व्यापारमा
लाग्न दिएन। पछि गएर यी उच्च जातिले समाजमा कृषि, व्यापार, वा सेवा
(शारीरिक श्रम) गर्नुलाई आफ्नो बेइज्जती ठान्न थाले। र त्यस किसिमका कार्यहरू
गर्ने अवसरहरू प्राप्त भए तापनि गरेनन्। बरु गरिबी स्वीकार गरे। खासगरी ब्राह्मण र
सन्न्यासीहरूले व्यापार पटक्कै गरेरन्। बेरोजगारी भएर बसे तर त्यस किसिमको कार्य
गरेनन्। क्षत्रीहरू लडभीड (युद्ध, रक्षा, सैनिक
सेवा) मा सीमित रहे भने ब्राह्मणहरूले केवल यजमानी (जजमानी) गर्नमा आफ्नो
बौद्धिकता सीमित पारे। ब्राह्मणहरूले हलो जोत्नु (कृषि कार्य) लाई ब्राह्मण
समाजभित्र अपराध मानियो भने अन्य समाजमा त्यो उपहासको कार्य भयो। यसरी हाम्रो
जातीय प्रथाले हामीलाई रोजगार वृद्धिमा बाधा पुर्यायो। व्यापारको विकास हुन दिएन।
तर आज पनि हामी त्यही जातीय प्रथामा गर्व गर्छौं। जातीय सङ्गठन स्थापना गरेर त्यस
सङ्गठनको अध्यक्ष वा सदस्य भएकोमा प्रसन्न हुन्छौं।
जातीय विभाजनले दक्षिण एसियाली क्षेत्रलाई
गरिब बनाउन अहम् भूमिका खेलेको छ। युरोप, अमेरिकामा जातजाति छैन। तर समाज चलेकै छ। जातजाति प्रथा भएको हुनाले
नै दक्षिण एसिया,
अमेरिका
र युरोपभन्दा गरिब हुन पुगेको हो। र दक्षिण एसियामा व्याप्त गरिबी समाप्त हुन अझै
पचासौं वर्ष लाग्छ किनभने यो क्षेत्रलाई अहिले पनि जातीय प्रथा नामक भूतले छाडेको
छैन।
जातीय प्रथाले नै दक्षिण एसियाली क्षेत्रमा
महिलाहरूलाई कमजोर तुल्याएको हो, परनिर्भर पारेको हो। तिलक, दाइजो, दहेज
आदिलाई बढावा दिएको हो। जातीय प्रथाले गर्दा एउटै जातिमा मात्र विवाह गर्नुपर्ने
सामाजिक वा धार्मिक अनिवार्यता हुन्छ, जसले गर्दा वरहरूको सम्भाव्य सङ्ख्या कम भएर, वरहरूले चर्को तिलक वा दाइजो माग्छन्।
उनीहरूलाई दाइजो माग्ने स्वतः ठूलो अवसर प्राप्त हुन्छ।
दक्षिण एसियाली क्षेत्रमा आर्थिक समृद्धि
हासिल गर्न सर्वप्रथम जातीय प्रथा भत्काउनुपर्छ। हामीलाई गरिब बनाउन जातीय प्रथाको
ठूलो हात छ।
आजभन्दा पचास वर्ष जति पहिलेको कुरा हो। मैले
भोगेको अनुभव हो। गौरमा एउटा होटल थियो। त्यो होटलको नियम अनौठो थियो। ब्राह्मण वा
तथाकथित उच्च जातिले त्यो होटलमा खाँदा उसलाई अग्र स्थानाम राखिएको ‘पिंढिया’ मा
बस्न दिइन्थ्यो भने तथाकथित तल्लो जातिलाई पृष्ठ भागमा, केवल भुइँमा बस्न दिइन्थ्यो। हामी कहाँ
जातीय प्रथाले सयौ वर्षदेखि नेपाली समाजलाई सताउँदै आएको छ। तर अचम्म! नेपाली समाज
पहिलेभन्दा अहिले निकै शिक्षित हुँदा पनि जातीय प्रथाको दलदलबाट बाहिर आउन सकेको
छैन। बरु उल्टो झनै भासिंदै गएको छ। उदाहरणस्वरूप अहिले पनि जातीय सङ्गठनहरू
खुल्नु हो।
मनोवैज्ञानिक कारण: हाम्रो समाजमा काम
आफैंमा सानो र ठूलो छ। कामलाई विभाजित गरिएको छ। टेबुल अगाडि राखेर कुर्सीमा बसेर
गर्ने कार्य मर्यादित मानिन्छ भने खेतमा गएर हलो जोत्नु, कोदालो चलाउनुलाई तुच्छ मानिन्छ।
यसैगरी घर, सडक सफा गर्नु, भाँडा माज्नु, चर्पी, नाला सफा गर्नुलाई तुच्छ कार्य मानिएको छ भने सरकारी नोकरी गर्नुलाई
अति मर्यादित कार्य मानिएको छ। काम नै पनि विभाजित छ, समाज विभिन्न जातजातिमा विभाजित भएझैं।
यो कारणले गर्दा सबैले केवल उच्च मानिएको कार्य गर्न खोज्छन्। परिणाम तुच्छ
मानिएको काम गर्ने अवसर प्राप्त भए तापनि त्यस किसिमका कार्यहरू गर्न व्यक्तिहरूले
पटक्कै रुचाउँदैन। बरु बेरोजगारी भएर बस्न तयार हुन्छन्।
अचम्म त के छ भने नेपालभित्र, आफ्नो शहर वा गाउँमा यो सानो काम भनेर
नगर्ने युवाहरू विदेश गएर त्यही काम हाँसीखुशी गर्छन्। बिना कुनै सङ्कोच गर्छन्। किन होला? अमेरिका वा युरोपतिर मास्टर्स पास गरेका वा पिएचडी गर्दै गरेका
नेपाली युवाहरू घर सफा गर्ने, चर्पी सफा गर्ने, चौकीदारी गर्ने काम हाँसीखुशी गरेको मैले स्वयं देखेको छु।
काम नै सानो वा ठूलो भनेर विभाजित भएको
हुनाले पनि अहिले लाखौको सङ्ख्यामा नेपाली युवाहरू अरबतिर पसेका हुन्। तातो हावा
खान बाध्य भएका हुन्। अनेक किसिमका दुर्घटनामा परेर ज्यान गुमाउन बाध्य भएका हुन्।
शैक्षिक कारण: नेपालमा हाल प्रयोगमा रहेको शैक्षिक
नीतिले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान दिन्छ। स्वयंले रोजगार सृजना
गरेर स्वावलम्बी हुन विद्यार्थीहरूलाई
सिकाउँदैन। यसरी अनेक किसिमका व्यापारको सृजना गर्न सकिन्छ, विभिन्न किसिमका सीपहरूको विकास गरेर
रोजगार पाउन सकिन्छ भनेर नेपालका कलेजहरूमा ज्यादै कम सिकाइन्छ। कलेजबाट केवल
सैद्धान्तिक ज्ञान लिएर बाहिर आएकाहरूले केवल रोजगार (जागिर) को खोजी गर्छन्। आफैं
रोजगार सृजना गर्न सक्तैनन्।
हरेक कलेजमा, मुख्यगरी सामुदायिक र सरकारी कलेजमा एउटा ‘साना व्यापार विकास शाखा’
स्थापना हुनुपर्ने देखिन्छ। यस किसिमका शाखाहरूले कलेजभित्रका विद्यार्थीहरू मात्र
होइन, त्यस शहरभित्र सञ्चालित साना
व्यापारीहरूलाई उनीहरूको व्यापारको विकासमा सहयोग पुर्याउन सक्छ। व्यापार सञ्चालनको क्रममा आइपर्ने समस्याहरूको समाधान
कसरी गर्ने भनी सल्लाह दिन सक्छ। यसैगरी नयाँ व्यापार विकासको लागि बजार सूचना, बजार व्यवस्थापन एवं अन्य आवश्यक
जानकारी दिन सक्छ।
नीतिगत कारणः नेपाल मात्र होइन, भारत र चीनमा पनि वौद्धिक सम्पत्ति
संरक्षणसम्बन्धी कानून फितलो त छ नै, त्यो कानूनको पालना पनि कडाइका साथ गरिएको पाइँदैन। कुनै व्यक्तिले
कुनै नयाँ व्यापार, वस्तु
वा सेवाको विकास (खोज, अनुसन्धान, आविष्कार आदि) गरेको छ भने र त्यस
विकासबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको छ भने तत्काल त्यस विकासको
अरूहरूले गैरकानूनी नक्कल गर्छन्। जसले वर्षौं लगाएर, लाखौं खर्च गरेर, त्यस किसिमको विकास गरेको छ, उसले त्यस किसिमको विकासबाट प्रतिफल
पाउनुको साटो आफ्नो ठूलो लगानी (समय, पैसा, साधन)
गुमाउनुपर्ने हुन्छ। अरूले सजिलै चोरिदिने हुनाले उसको बौद्धिक सम्पत्तिको संरक्षण
हुन पाउँदैन। यो कारणले गर्दा पनि, खासगरी नेपाल र भारतमा, व्यक्तिहरू करोडौं खर्च गरेर, नयाँनयाँ व्यापारको विकास गरेर राम्रो प्रतिफल पाउने जोखिम लिन
चाहँदैनन्। र यो कारणले गर्दा नै यस क्षेत्रमा नयाँ व्यापारको विकास नभएर नयाँनयाँ
रोजगारको अवसर सृजना हुन पाउँदैन।
अमेरिकामा बौद्धिक सम्पत्तिसम्बन्धी कडा
कानून र त्यस कानूनको पालना पनि निष्पक्षताका साथ गरिने भएकोले नै यहाँ नयाँनयाँ
व्यापारका अवसरहरूको सृजना भएको हो। नयाँनयाँ रोजगारका अवसरहरूको उत्पत्ति भएको हो।
यो कारणले गर्दा नै यहाँ उबर, फेसबूक, गुगल, एअर बी एन्ड बी, माइक्रोसफ्ट, एमेजनजस्ता नितान्त नयाँ व्यापारको
विकास भएर रोजगारको क्षेत्र फराकिलो भएको हो।
Bishwa
Raj Adhikari
Published
in Prateekdaily on Friday, July 13, 2018
No comments:
Post a Comment