निराश
मनोविज्ञान र आर्थिक विकास
विगतमा नेपालमा जे जति राजनैतिक द्वन्द्व एवं सङ्घर्षहरू भए, तिनको मूल उद्देश्य थियो, नेपालमा आमूल परिवर्तन ल्याउनु। आम
नेपालीको आर्थिक जीवन सरल तुल्याउनु। बेरोजगारी, महँगीजस्ता समस्या कम पारेर गरीबी
निर्मूल पार्नु।
२०४६ सालको सङ्घर्षको मूल उद्देश्य मुलुकमा राजनैतिक र आर्थिक
स्वतन्त्रता ल्याउनु थियो। माओवादी सङ्घर्षको मूल उद्देश्य पनि यै थियो। ती
सङ्घर्षबाट राजनैतिक र आर्थिक परिवर्तन त आयो तर परिवर्तनको एकमुस्ठ फाइदा भने
केही सीमित व्यक्ति वा राजनीतिकर्मी (नेता) हरूको हातमा पर्न गयो। जनताको हातमा खासगरी, अति निर्धन व्यक्ति, जो कष्टकर आर्थिक जीवन निर्वाह
गरिरहेका छन्, निराशा मात्र पर्यो। केही सीमित राजनीतिकर्मीहरूको आर्थिक स्थितिमा ठूलो परिवर्तन आयो।
छोटो अवधिमा नै उनीहरू सडकपतिबाट करोडपतिमा पदोन्नति भए। झोपडीमा बस्ने जनता
झोपडीबाट बाहिर आउन सकेन।
नेपालमा जनताको नाममा भएका ठूला–ठूला
रक्तपातपूर्ण तथाकथित क्रान्तिहरूले देशको आर्थिक स्थितिमा सुधार ल्याउन नसकेको
(देशमा रोजगार उपलब्ध नभएर युवाहरू विदेशिनु, महँगी नियन्त्रण नहुनु, भारतसँग रहेको आर्थिक निर्भरतामा कमी नआउनु, नेपाली मुद्राको क्रयशक्ति कम हुँदै
जानु, प्रतिभा पलायन हुनु, उच्च शिक्षाका लागि युवाहरू विदेशिनु
आदि) कारणले अहिले नेपालीहरूको मनमा रहेको निराशा उच्च बिन्दुमा पुगेको छ। खासगरी
युवाहरूमा निराशाको मात्रा डरलाग्दो किसिमले उच्च स्तरमा छ। युवाहरू स्वदेशभित्र
आफ्नो भविष्य अन्धकारपूर्ण देखिहेका छन्। यो कारणले गर्दा रोजगारको लागि ठूलो
सङ्ख्यामा विदेशतिर पलायन भइरहेका छन्। रोजगारका लागि नेपाली युवाहरू विदेश पस्ने
क्रममा यस्ता मुलुकहरूमा पनि पसिरहेका छन् वा पुर्याइएका छन्, जो आफै द्वन्तग्रस्त छन्। सिरिया, लिबिया, इराक, अफगानिस्तान पुगेका नेपाली युवाहरूले
त्यहाँ के रोजगार पाउलान्? के कति पैसा कमाउलान्? के कति पैसा घर लिएर आउलान्? उनीहरूले ती मुलुकबाट केवल ज्यान जोगाएर फर्के भने पनि धन्य
मान्नुपर्ने हुन्छ। पैसा कमाउनु त ‘आकाशको फल आँखा तरी मर’ मात्र हुनेछ।
नेपालमा अहिले घोर निराशाको स्थिति जुन
किसिमले अनुभूत गरिएको छ, स्थिति त्यस्तो पनि छैन। नेपालमा अहिले धेरै शान्ति छ। समृद्धिको
सम्भावना छ। विकास गर्न खोज्नेले नेपालमा धेरै आर्थिक विकास गर्न सक्छ। तर निराश
नेपाली मनले त्यो अवसर देख्न सकिरहेको छैन।
नेपाल अहिले सिरियाजस्तो बाहिर निस्कनै कठिन
हुनेगरी द्वन्द्वमा फसेको छैन। अफ्रिकी राष्ट्र यमनमा जस्तो कुन बेला मरिने हो
भन्ने भय आम नेपालीमा छैन। जीवन रक्षा (महँगी र गृहयुद्धले गर्दा) गर्न
भेनेजुएलामा जस्तो विदेशिनेहरूको लामो लाइन नेपालमा छैन। निकारागुआमा जस्तो आफ्नै
देशको सरकार र नागरिकहरू शत्रु हुने स्थिति नेपालमा छैन। अफगानिस्तान र इराकमा
जस्तो कुन बेला कहाँ बम पडकेर ज्यान जाने हो भन्ने डरलाग्दो स्थिति नेपालमा छैन।
नेपालमा अहिले शान्ति छ। यहाँ एक तहको अमनचयन छ। स्थिर सरकार छ। र सरकार बलियो पनि
छ। केही अपवाद छाडेर हेर्ने हो भने जनताको ज्यान, धनको रक्षा गर्न सरकार सक्षम छ।
सन् २०११ मा सिरियामा प्रारम्भ भएको
गृहयुद्धले अहिले (सन् २०१८) सम्ममा ५ लाख ११ हजार सिरियालीहरूको ज्यान लिसकेको छ।
शक्तिशाली राष्ट्रहरूले आफ्नो ‘मसल’ देखाउने यो सिरियाली गृहयुद्धले बालबालिकालाई
समेत छाडेको छैन। यो गृहयुद्धले करीब २० हजार बालबालिका र १३ हजार महिलाको ज्यान
लिसकेको छ। ६० लाख सिरियालीहरू देशभित्र नै विस्थापित छन् भने ५० लाख संसारका अन्य
मुलुकहरूमा पुगेर शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। यथार्थमा भन्ने हो भने
सिरिया अहिले एक किसिमले चिहान भएको छ। देशको आधाभन्दा बढी जनसङ्ख्यालाई
गृहयुद्धले डरलाग्दोगरी प्रभावित गरेको छ।
यसैगरी यमनलाई पनि गृहयुद्धले अति नै अशान्त
पारेको छ। सन् २०१५ मा आरम्भ भएको यहाँको गृहयुद्धले अहिलेसम्म प्रत्यक्ष १४ हजार
नागरिकको ज्यान लिसकेको छ भने अप्रत्यक्षरूपमा (भोखमरी, युद्धजनित रोगहरू) ५० हजार नागरिकको
ज्यान गएको छ। विद्रोही पक्ष (हुथी) जसले पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहका
समर्थकहरूको सहयोग प्राप्त गरेको छ र सरकारी पक्ष अब्द्रााबुह मन्सुर हादी
(वर्तमान राष्ट्रपति को सरकार) बीच चलेको गृहयुद्धले करीब तीन वर्षको अवधिमा यमनको
सामाजिक जीवन मात्र होइन, आर्थिक जीवन पनि डरलाग्दो किसिमले कष्टकर हुन पुगेको छ। हुथीहरूलाई
इरानको सहयोग प्राप्त छ भने सरकारी पक्षलाई साउदी अरेबियाको। यसरी यमन अहिले इरान
र साउदी अरेबियाको ‘प्रोक्सी वार’ गर्ने स्थान भएको छ। इरान र साउदी अरेबियाले मसल
देखाउने ठाउँ भएको छ।
भेनेजुएला पनि अशान्त छ। वर्तमान राष्ट्रपति
निकोलस मदुरोले सन् २०१३ मा पदभार ग्रहण गरेदेखि अशान्त हुन आरम्भ भएको भेनेजुएला
अहिले पनि शान्त हुन सकेको छैन। त्यहाँ महँगी बढेर आकाश छुने स्थितिमा पुगेको छ।
असुरक्षा र जीवन धान्न कठिन भएर लाखौको सङ्ख्यामा भेनेजुएलाका नागरिक विदेशतिर शरण
लिन बाध्य भएका छन्।
विकासको पथमा लम्किन सकिने गरी शान्ति न इराक, न अफगानिस्तानमा छ। विगतमा विभिन्न
किसिमका द्वन्द्वमा इराकमा लाखौ नागरिकको ज्यान गइसकेको छ भने त्यसरी ज्यान जाने
क्रम अहिले पनि जारी छ।
विभिन्न मुलुकहरूमा चलेको द्वन्द्व र विश्व
परिस्थिति हेर्दा नेपाल तुलनात्मक रूपमा निकै शान्त छ। नेपालमा कायम रहेको यो
शान्तिलाई आर्थिक विकासको लागि भरपूर उपयोग गर्न सकिन्छ। यो एउटा सुनौलो मौका हो।
तर आम नेपालीहरूमा भरिएको घोर निराशा (जुन युद्धपछिको परिणामले गर्दा उत्पन्न भयो)
ले गर्दा नेपालीहरू द्रुततर गतिमा आर्थिक विकासको पथमा लम्कन सकिरहेका छैनन्।
उल्टो सानासाना मतभेद, सत्तामोह, कलह आदिमा अल्झिरहेका छन्। घोर
निराशाको कारण नै युवाहरू ठूलो सङ्ख्यामा रोजगारको लागि विदेश पलयान भइरहेका छन्।
नेपाली प्रतिभाहरूबाट विदेशीहरूले फाइदा लिइरहेका छन, तर देशले लिन सकेको छैन। विदेशमा
नेपालीहरूले रगत र पसिना बगाएर काम गरिरहेका छन्। विभिन्न देशको आर्थिक विकासमा महत्वपूर्ण
योगदान पुर्याइरहेका छन्। तर चरम निराशाको कारणले
नेपालीहरू आफ्नो मुलुकमा बस्न सकिरहेका छैनन्।
अव नेपालीले घोर निराशाको मनोविज्ञान
परित्याग गर्नुपर्छ। देशमा कायम शान्ति र स्थिरतालाई आर्थिक विकासको लागि उपयोग
गर्नुपर्छ। प्राकृतिक सम्पदाले भरिएको नेपालमा विकासका असीमित सम्भावनाहरू छन्। ती
सम्भावनाहरूलाई चिनेर हामीले उपयोग गर्नुपर्छ।
केही नभएर निराश हुनुभन्दा सबै थोक उपलब्ध
हुँदाहुँदैपनि निराश मनस्थितिमा बस्नु डरलाग्दो हुन्छ। निराश मनस्थितिले मानिसलाई
विकास गर्न दिंदैन। साथै जीवन पनि कष्टकर तुल्याइदिन्छ। त्यसकारण आशावादी
दृष्टिकोण राखौ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, September 7, 2018
No comments:
Post a Comment