अेमरिकी अर्थ व्यवस्थाका विशेषता
१४. कठोर परिश्रम
१४. कठोर परिश्रम
अमेरिकीहरू औसत व्यक्तिभन्दा बढी र कडा
परिश्रम गर्छन्। फरक यति मात्र के छ भने अमेरिकामा श्रम गर्दा कोरा श्रमको प्रयोग
विरलै हुन्छ। लगभग प्रत्येक कार्य गर्दा मेशिन, औजार वा उपकारणको प्रयोग गरिन्छ। तर पनि ती मेसीन वा औजारको
प्रयोग गर्न मानवीय श्रमको प्रत्यक्ष प्रयोग हुन्छ। मेशिन र उपकरणहरूको प्रयोग
मानवीय श्रमले गर्ने हुँदा व्यक्तिले कार्य गर्नु
अनिवार्य हुन आउँछ।
अमेरिकामा ‘राजाको काम कहिले जाला घाम’ भन्ने भावना कार्यस्थलमा देख्न पाइँदैन। प्रत्येक व्यक्तिमा
सुम्पिएको कार्य गर्नुपर्छ भन्ने भावना बलियोगरी कायम रहेको पाइन्छ। सुम्पिएको काम
विनाकुनै निरीक्षण वा उत्प्रेरण सम्पन्न गर्नु अमेरिकी कार्य जीवनको महत्वपूर्ण विशेषता नै हो। सुम्पिएको कार्य, जसको निम्ति भुक्तानी प्राप्त हुन्छ, इमानदारीपूर्वक गर्नुपर्छ भन्ने बलियो संस्कार
अमेरिकीहरूमा विकसित भएको छ। यो भावना सरकारी एवं निजी दुवै क्षेत्रको काममा देख्न
सकिन्छ।
अमेरिकामा एक खास किसिमको सुविधा देख्न
पाइन्छ र त्यो हो ‘ड्राइभ थ्रु’। अर्थात् गाडीमा चढेर नै सामान खरिद गर्न
पाइने सुविधा। यो सुविधाको बढी प्रयोग रेस्टुरामा भएको पाइन्छ। मानिस गाडीमा चढेको
अवस्थामा खाद्य सामग्री ‘अर्डर’ गर्छन्। गाडीमा चढेको अवस्थमा नै भुक्तानी
गर्छन्। र गाडीमा चढेको अवस्थामा नै खाद्य सामग्री प्राप्त गर्छन्। गाडीमा रहेको
अवस्थामा नै खाद्य सामग्री खाएर काममा जान्छन्। वा भनौ गाडीमा बसेर नै खान्छन् ।
अर्थात् काममा यति व्यस्त हुन्छन् कि गाडीमा बसेर खानुपर्ने स्थिति उत्पन्न हुन्छ।
अर्थात् कामले मानिसलाई यतिसम्म व्यस्त पारेको हुन्छ।
अमेरिकामा एक अर्को प्रचलन पनि निकै रोचक छ।
त्यो प्रचलन हो– खाने कुरा लगभग
जहाँ पनि खान पाइन्छ। निर्धारित स्थान, घर वा रेस्टुरामा नै खानुपर्छ भन्ने छैन। पुस्तकालयमा अध्ययन गरिरहेका
विद्यार्थीहरूले पुस्तकालयमा, बसको लागि
पर्खिरहेका यात्रुहरूले बस स्टेन्डमा, हवाइयात्राका लागि विमानस्थलमा पर्खिरहेका हवाइ यात्रीहरूले विमानस्थलमा,
कुनै सभा सम्मेलनमा भाग लिन उपस्थित भएकाहरूले
सम्मेलनस्थलमा, बाटो हिंडिरहेका
यात्रुले बाटोमा नै खाएको देख्न सकिन्छ। वा त्यस किसिमबाट खाने चलन छ। अर्थात् काम
गर्नु र खानु, यी दुई कार्य
जीवनका महत्वपूर्ण कार्य हुन् भन्ने विश्वासले अमेरिकी समाजमा बलियोगरी
जरा गाडेको पाइन्छ। काम गर्न र खान लाज मान्नुहुँदैन भन्ने एक किसिमको प्रचलन छ।
काम गर्दा केवल त्यो तोकिएको काम मात्र गर्ने
प्रचलन पनि अमेरिकी कार्य जीवनको एक महत्वपूर्ण विशेषता हो। काम गर्दा अन्य कुरामा अलमल गर्ने वा कामलाई कम महत्व दिने गरिएको पाइँदैन। तोकिएको कार्य गरिरहेको समयमा त्यही प्रमुख कार्य हो
भन्ने मान्यताका साथ प्रत्येकले कार्य गरेको पाइन्छ। गरिरहेको काममा नै केन्द्रित
हुने अमेरिकी कार्य जीवनको एक प्रमुख विशेषता नै हो। उदाहरणका लागि कुनै एक
बिक्रेताले कुनै एक ग्राहकलाई सेवा पुर्याइरहेको छ भने अर्को ग्राहकले उक्त बिक्रेतालाई स्वतन्त्र किसिमले कार्य गर्न
दिन्छ। कुनै किसिमको प्रश्न गरेर बिक्रेताको काममा कुनै बाधा उत्पन्न गर्दैन।
कसैलाई पनि स्वतन्त्र किसिमले जिम्मेवारी निर्वाह गर्न दिनुपर्छ भन्ने मान्यताले
काम गरेको पाइन्छ।
कामप्रति कुनै किसिमको भेदभावपूर्ण दृष्टिकोण
नराख्नु, यो सानो काम र यो ठूलो काम
नभन्नु, सानो भनिएको कार्य
गर्नेलाई कम र ठूलो भनिएको काम गर्नेलाई बढी सम्मान दिने प्रचलन पनि अमेरिकी कार्य
जीवनमा देख्न पाइँदैन। सबै किसिमको कामप्रति समानको किसिमको इज्जत भाव राखिने
हुनाले मानिस जस्तो किसिमको काम गर्न पनि सदा तत्पर रहन्छन्। यो काम ठूलो र यो काम
सानो भनेर कामको वर्गीकरण गरिंदैन।
अमेरिकामा सुन, चाँदी वा बहुमूल्य धातुहरूको भण्डार भएको, जताततै कृषियोग्य भूमि भएको, अन्य प्राकृतिक स्रोतहरू अपार भएको हुनाले नै
अमेरिका अति समृद्ध राष्ट्र हुन पुगेको र विश्वमा नै एक नम्बर धनी राष्ट्र हुन पुगेको
हो भन्ने भ्रम धेरै व्यक्तिमा हुन सक्छ। यो भ्रम कसैमा छ भने त्यो त्यागिदिए हुन्छ।
अमेरिकालाई प्राकृतिक स्रोतहरूले होइन, अमेरिकीहरूको कठोर परिश्रमले धनी तुल्याएका हुन्। कठोर परिश्रम प्रयोग गरेर
अमेरिकीहरूले चीसोभन्दा चीसो ठाउँलाई पनि कृषिको लागि उपयुक्त तुल्याएका छन्। कडा
परिश्रम गरेर विषम परिस्थितिलाई सम तुल्याएका छन्। कठोर परिश्रम गरेर अमेरिकीहरूले
प्रकृतिमा नियन्त्रण कायम गरेका छन्। कडा परिश्रमद्वारा नै अमेरिकीहरूले कृषिको
क्षेत्रमा ठूलो उपलब्धि प्राप्त गरेका छन्। कठोर परिश्रमको कारणले गर्दा नै अमेरिका
केही कृषि वस्तु उत्पादन गर्नमा विश्वमा नै अग्रणी स्थानमा छ। र जनतालाई सस्तोमा
खाद्यान्न उपलब्ध गराउन सक्षम भएको छ। विश्वभरिमा कहींभन्दा पनि अमेरिकामा खाद्य
सामग्री सस्तो पाइन्छ। यसले गर्दा अमेरिकीहरूको आम्दानीको ठूलो भाग केवल जीवन
निर्वाहमा नै खर्च गर्नुपर्दैन।
अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ ‘एक डलर’ ले पनि एक छाक पुग्ने खाद्य पदार्थ खरिद गर्न सकिन्छ।
अमेरिका मुद्राको विनियम क्षमता ज्यादै बलियो छ भन्ने कुराको यो बलियो प्रमाण हो।
अमरिकाले यो स्थिति कृषि क्षेत्रमा गरेको ठूलो चमत्कारले प्राप्त गरेको हो। दक्षिण
एशियाली राष्ट्रहरूमा त्यहाँको मुद्राको सबैभन्दा सानो एकाइले एक छाक पुग्न सक्ने
खाद्य सामग्री खरिद गर्न सकिएला?
विश्वको एक नम्बर धनी राष्ट्रको नागरिक
भएरपनि अमेरिकीहरू अन्य विकसित मुलुकका नागरिकभन्दा बढी समय काम गरेको अनुसन्धानले
देखाएको छ। जर्मनहरू विश्वमा नै कम समय काम गर्छन्। वर्षमा औसत जर्मनले १ हजार ३
सय ६३ घण्टा काम गर्छ। डेनमार्कका नागरिकहरू वर्षमा १ हजार ४ सय १० घण्टा काम
गर्छन्। यसैगरी नर्वे, निदरल्यान्ड्स,
फ्रान्स, लक्जेम्बर्ग, बेल्जिियम, स्वीटजरल्यान्ड र
अस्ट्रियाका नागरिक वर्षभरिमा क्रमशः १४२१, १४३०, १४७२, १५१२, १५५१, १५९० र १६०१ घण्टा काम
गर्छन्। तर अमेरिकीहरू वर्षभरिमा औसत १७८३ घण्टा काम गर्छन्। बढी समय र कठोर
परिश्रमसहित काम गर्ने हुनाले नै अमेरिकामा विभिन्न नयाँ वस्तु एवं सेवाको
आविष्कार सम्भव भएको हो। परिश्रमी संस्कारले नै नयाँनयाँ किसिमका वस्तु एवं सेवाको
अविष्कार गर्न अमेरिकीहरूलाई अभिप्रेरित गरेको हो।
एक अर्को अमेरिकी संस्कृति पनि उल्लेखनीय छ।
जीवनमा परिआउने सम्पूर्ण काम आफैंले गर्न सम्भव नभए पनि जीवनमा परिआउने धैरैजसो
काम आफैंले गर्नुपर्छ भन्ने भाव आम अमेरिकीहरूमा रहेको देख्न सकिन्छ। अर्थात
परनिर्भर होइन, स्वावलम्बी भएर
बाँच्न अमेरिकीहरूलाई सामाजिक संस्कारले नै सिकाउँछ। यी कारणले गर्दा नै युवक वा
युवती एक निश्चित उमेरमा पुगेपछि (१६–२२ माथि उमेरको भए पछि) बाबुआमाको परिवारबाट बाहिर जान्छन् र स्वतन्त्र भएर
बस्न आरम्भ गर्छन्। आफ्नो जीवनयापनका लागि आफैंले आम्दानी गर्छन्। बाबु
आमाको आम्दानीमा भर पर्दैनन्। यसरी कलिलो उमेरदेखि नै काममा संलग्न भइसकेका
हुन्छन्। बाँच्नका लागि काम कति महत्वपूर्ण हुन्छ
भन्ने यथार्थ बोध गरिसकेका हुन्छन्। कलिलो उमेरदेखि नै कामप्रति समर्पित हुने
गरेकाले अमेरिकीहरूले कामको महत्व बढी हुन्छ भन्ने
कटु सत्य बुझिसकेका हुन्छन्।
यसरी के देखिन्छ भने नागरिकहरूमा कठोर
परिश्रम गर्नुपर्छ भन्ने भावले नै अमेरिकालाई विश्वमा एक नम्बर धनी राष्ट्र
तुल्याएको हो। काम आफ्नो लागि गरिएको होस वा अरूको लागि, उक्त काम इमानदारीपूर्वक र पूरा समय गर्नुपर्छ
भन्ने भावनाले अमेरिकीहरूलाई समृद्ध तुल्याएको हो। कोरा कल्पनाले होइन। हरेक
कामप्रतिे समान दृष्टिकोण र सबै कामलाई उत्तिकै मर्यादा दिने अमेरिकी संस्कृतिले
पनि अमेरिकालाई धनी र शक्तिशाली राष्ट्र तुल्याएको हो।
अर्थशास्त्रका ठूला–ठूला सिद्धान्तहरूले मात्र होइन, दुई सक्रिय हातहरूका योगदानले अमरिकालाई धनी तुल्याएको हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 1, 2019
No comments:
Post a Comment