आम्दानीको श्रोत पत्ता लगाऔ
प्रादेशिक विभाजनले प्रदेशहरूलाई मात्र होइन, स्थानीय तह- नगरपालिका र
गाउँपालिकहरूलाई पनि अधिकार सम्पन्न तुल्याएको छ। केन्द्रबाट भएको यो अधिकार
प्रत्योजनको प्रयोग अब केवल राजनीति क्षेत्रमा गर्ने हो भने मुलुकको आर्थिक स्थिति
कछुवा चालमा नै रहने छ। नेताहरूले केवल राजनीतिक शक्ति हस्तगत गर्न वा मन्त्री वा
प्रधान मंत्री हुनमा प्रयोग गर्ने हो भने मुलुक झन झन गरिब भएर जाने छ। चुनावको
लागि मात्र प्रयोग गर्ने हो नेपालीहरूको गरिबी यथा स्थानामा नै रहने छ।आर्थिक,
राजनीतिक एवं सामाजिक भ्रष्टाचारको दलदलमा फँस्ने छ।
अव प्रत्येक स्थानीय निकायले आफ्नो क्षेत्रको विकासको लागि आम्दानीको स्रोत
निर्माण गर्नु पर्छ। केवल केन्द्र वा प्रदेश सरकारको मुख ताक्ने परम्परा समाप्त
गर्दै लग्नु पर्छ। कुनै क्षेत्रको विकास गर्ने प्रथम अभिभारा त्यस क्षेत्रको जनताको
हो, त्यस पछि मात्र प्रादेशिक वा केन्द्रीय सरकारको हो। यो यथार्थलाई स्वीकार्ने
पर्छ। न स्वीकार्ने हो भने आर्थिक विकासको सपना झनै पर पर पुग्ने छ।
स्थानीय निकायहरूले आफ्नो क्षेत्रको विकासमा लाग्ने विभिन्न किसिमका खर्चहरू
(सडक, स्कूल, अस्पताल, अग्नी नियन्त्रण, एम्बुलेन्स, सुरक्षा व्यवस्था, प्रहरी,
न्यालय, सामाजिक सेवा) का लागि आफैले नियमित र भरपर्दो आम्दानीको स्रोत निर्माण
गर्नु पर्छ। यस्तो गर्न सकियो भने मात्र आर्थिक विकासको गतिले तिब्रता लिने छ।
आम्दानीका विभिन्न स्रोतहरू छन। व्यवस्थित किसिमले अन्वेषण गर्ने हो भने ती
स्रोतहरूको पहिचान र उपयोग गर्न सकिन्छ। ती विभिन्न स्रोतहरू मध्ये सर्वाधिक
सजिलो, प्रचलित र अनुगमन गर्न सकिने स्रोत हो कर। कर असुलीबाट प्रत्येक स्थानीय
निकायले राम्रो आम्दानी प्राप्त गर्न सक्छ। स्थानीय निकायले प्रत्यक्ष र
अप्रत्यक्ष कर लिन सक्छ।
आम्दानी गर्ने प्रत्येक स्थानीय बासिन्दासँग कर लिने तर कम आम्दानी हुने वा
निर्धनहरूबाट लिएको कर उनीहरूलाई वर्षको अन्तमा फिर्ता गर्ने व्यवस्था हुनु पर्छ।
यस किसिमको कर प्रणालीको व्यवस्था गरेर सबैलाई करको घेरा भित्र राख्नु पर्छ। र
हरेक कर भुक्तान गर्न योग्य व्यक्तिसँग (फिर्ता नगर्ने गरी ) अनिवार्य रूपमा कर
लिनु पर्छ। स्थानीय तहको आर्थिक, सामाजिक विकासको लागि कर नै एक भरपर्दो आम्दानीको
स्रोत हो। कुनै पनि क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने कर नै
हो।
वहुसङ्ख्यक व्यक्तिहरूलाई कर भुक्तान गर्न योग्य कसरी तुल्याउने?
वहुसङख्यक व्यक्तिहरूलाई कर भुक्तान गर्न योग्य तुल्याउने कार्य कठिन छ तर
असम्भव भने छैन। पश्चिमका राष्ट्रहरूले यस्तो गरेर नै आर्थिक विकास गरेका हुन र
अहिले पनि आर्थिक विकासको क्षेत्रमा पश्चिमका राष्ट्रहरू पूर्वका राष्ट्रहरू भन्दा
धेरै नै अगाडि छन्। यी राष्ट्रहरूको प्रमुख आयको स्रोत कर नै हो। हुन त यिनीहरूले
बोन्ड एवं ट्रेजरी बिल जारी गरेर पनि कोष सङ्कलन गर्दछन।
अव प्रत्येक स्थानीय निकाय (क्षेत्र) हरूले आफूलाई एक बजारको रूपमा विकास
गर्नु पर्छ। र आफ्नो क्षेत्रमा मुख्य गरी तिन कुराहरूको विकास एवं विस्तारमा जोड
दिनु पर्छ। ती तिन कुराहरू हुन- व्यापार, उदयोग र सेवा।
प्रकृतिले प्रत्येक क्षेत्रलाई केही ने केही (हावापानी, मौसम, जमिन, पहाड,
खानी, जलस्रोत, जंगल, खोला, जलासय आदि आदि) वरदानको रुपमा दिएको हुन्छ। यसै गरी,
हरेक क्षेत्रसँग आफ्नै किसिमको संस्कृति, परम्परा, चाडपर्व हुन्छ। हरेक क्षेत्रका
व्यक्तिहरू खास किसिमका कार्यहरूमा कुशल (जस्तै हिमाली क्षेत्र वा पर्वतारोहणमा
शेर्पाहरू) हुन्छन। यसरी, यी विभिन्न किसिमका स्रोतहरूको उपयोग गरेर हरेक
क्षेत्रले आफ्नो स्थानमा व्यापार, उद्योग एवं सेवाको विकासमा जोड दिनु पर्छ। हरेक
स्थान (गाउँ वा नगरपालिका) ले आम्दानीका लागि अवश्य पनि केही न केही (वस्तु वा
सेवा) उत्पादन गर्नु पर्छ। गाउँहरू कृष कार्य, र शहरहरू व्यापारमा केन्द्रित हुनु
पर्छ भन्ने पुरानो मान्यता अव त्याग्नु पर्छ। अब प्रत्येक स्थानलाई एक व्यापारिक
केन्द्रको रूपमा विकास गर्नु पर्छ। उदाहरणको लागि, मध्य तराइको कुरा गर्ने हो भने,
जनकपुर, जलेश्वर, सिम्रौनगढ, बिन्दबासिनी मन्दिर (पर्सा) यस्ता क्षेत्रहरू हुन
जसले पर्यटनको पर्याप्त सम्भावनाहरू बोकेका छन। यस क्षेत्रका नागरिकहरूले पर्यटनको
विकासबाट प्रशस्त आम्दानी गर्न सक्छन। पञ्चायत कालमा अधिकारहरू केन्द्रित गरिएकोले
यी क्षेत्रहरूले यथेष्ठ विकास गर्न सकेनन। तर प्रजातान्त्रिक कालमा पनि यी
क्षेत्रहरूले आफ्ना स्थानीय स्रोत एवं साधनहरूको उपयोग गर्न सकेका छैन। यस
क्षेत्रमा भएका स्रोत र साधनहरूको उपयोगमा स्थानीयहरूले चाँसो देखाउनु पर्ने हो।
तर स्थानीयहरूले आफ्नो क्षेत्रमा उपलब्ध स्रोत एवं साधनहरूको प्रभावकारी उपयोगमा
ध्यान दिएको पाइँदैन। उदाहरणका लागि जनकपुरलाई नै लिन सकिन्छ। जनकपुरसँग बलियो
इतिहास र जीवन्त धार्मिक स्थलहरू (जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप,
बारबिगाह, लक्ष्मण आखडा, धनुसागर, गंगासागर) भएता पनि यस क्षेत्र बासिन्दाहरूले यी
अमूल्य निधिहरूबाट पर्याप्त लाभ लिन सकेका छैन। जनकपुरका नागरिक र विभिन्न
राजनीतिक दलहरूले एउटा राम्रो सहमति बनाएर सह-कार्य गर्ने हो भने जनकपुर विश्वको
नै एक महत्वपूर्ण तिर्थ स्थल बन्न सक्छ। जनकपुरले पर्यटन क्षेत्रबाट गरेको
आम्दानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। जनकपुर,
केदारनाथ र बद्रिनाथ (भारतका तिर्थ स्थलहरू) भन्दा क्षेत्रफलको आधारमा ठूलो मात्र
छैन, यातायात र मौसको दृष्टिकोणले पनि सुगम छ। तर जनकपुरको आन्तरिक राजनीति र
दलहरू बिचको खिंचातानीले एक तिर्थ स्थलको रूपमा, एक राम्रो आय आर्जन गर्ने स्रोतको
रुपमा जनकपुरको समुचित विकास हुन सकेको छैन। यस किसिमका उदाहरणहरू तराइमा मात्र
होइन, पहाडमा पनि थुप्रै छन।
तराइ र बजारको औसर
तराइमा विभिन्न किसिमका बजारहरू सृजना गर्ने र ती बजारहरूबाट प्रशस्त आम्दानी
गर्न सक्ने थुप्रै थुप्रै सम्भावनाहरू छन। तर दु:खद कुरो तिनको प्रयोग हुन सकेको
छैन। तराइमा रहेका बजारहरू भारतीय सीमा नजिक भएकोले ती बजारहरूले सस्तोमा (भारतीय
स्थानीय बजारभन्दा) वस्तुहरू उत्पादन गरेर ती वस्तुहरू भारतीय-सीमा बजारमा बिक्री
गर्न सक्ने पर्याप्त सम्भावना छ। तर मुख्य कुरा तराइका बजारहरूले भारतीय स्थानीय
बजार भन्दा सस्तोमा उत्पादन गर्न सक्नु पर्छ। सस्तोमा उत्पादन गर्ने तरिकारहरू
खोजि गर्नु पर्छ।
के भारतीय बजार भन्दा नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ?
भारतीय बजार भन्दा नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ र त्यस किसिमबाट उत्पादन
गर्न सकिने पर्याप्त आधारहरू छन्। खास किसिमका वस्तुहरू, जसको उत्पानमा हाम्रो
दक्षता छ, सस्तोमा उत्पादन गर्न सकिन्छ। भारतीय मुद्रा हाम्रो मुद्रा भन्दा बलियो
भएकोले ती वस्तुहरू सजिलै भारतीय बजारहरूमा बिक्री गर्न सकिन्छ पनि। मात्र हामीले
त्यस किसिमक वस्तुहरूको पहिचान गर्नु पर्छ।
नेपालमा सेवाहरू सस्तोमा उत्पादन गरेर पनि भारतीय पर्यटकहरूलाई बिक्री गर्न
सकिन्छ र राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ। जस्तै रिसोर्ट, पिकनिक स्थल, होटल,
लज, अस्पताल, थिम पार्क, संग्राहलय, कलेज आदि जस्ता सेवा प्रदान गर्ने स्रोतहरूको
स्थापना गरेर भारतीय ग्राहकहरूलाई ती सेवाहरू बिक्री गर्न सकिन्छ।
लाभप्रद छिमेकी बजार
भारतीय सीमावर्ती बजारहरू हाम्रो लागि निकै लाफप्रद हुन सक्छन। तर दु:खद कुरा भारतीय
बजारहरूले नेपालका बजारहरू उपयोग गरि रहेका छन तर सीमवर्ती नेपाली बजारहरूले
भारतीय बजारहरूको उपयोग गर्न सकेका छैनन। उदाहरणका लागि अहिले पनि वीरगञ्जबाट ठूलो
संख्यामा क्रेताहरू रक्सौलतर्फ विभिन्न सामानहरू खरिद गर्न जान्छन। तर रक्सौलबाट
ज्यादै थोरै संख्यामा भारतीय क्रेताहरू विभिन्न समानहरू खरिद गर्न वीरगञ्ज आउँछन। यसै
गरी जुन संख्यामा नेपालका सीमावर्ती क्षेत्रहरूका नेपालीहरू ‘बाबाधाम’ जान्छन
त्यसको तुलनतामा कमै व्यक्तिहरू नेपालको सीमावर्ती तिर्थ स्थल (खास गरी वीरगञ्ज)
तर्फ आउँछन। यस्तो किन भएको होला? हामीले किन वीरगञ्जको “अलखिया मठ” लाई बाबाधामको
हाराहारीमा ल्याउन सकेनौ? अलखिया मठको प्रचार प्रसार किन गर्न सकेनौ? किनभने
हामीलाई “मारकेटिंग” गर्न आउँदैन। मारकेटिंको क्षेत्रमा हामी अहिले निकै पछाडि छौ।
बामे सर्ने बालकको स्थितिमा छौ। हामीसँग भएको स्रोत र साधनहरूलाई उच्च लाफ प्राप्त
हुने किसिमबाट उपयोग गर्ने हामीसँग ज्ञान र सिप दुबै छैन। हिम्मत पनि छैन। जुन
अनुपातमा हामी राजनीति गर्छौ त्येही अनुपातमा हामीले स्थानीय स्रोत र साधनहरूको
उपयोग गर्ने हो भने, मारकेटिंग गर्ने हो भने, हाम्रो उपलब्ध स्रोत र साधनले
हामीलाई छोटो समयमा नै धनी राष्ट्रको सूचीमा पारि दिन्छ। स्विट्जरलैण्ड जस्तो
पहाडी देश युरोपको धनी राष्ट्रहरू मध्ये एक हुन सक्छ भने नेपाल किन हुन सक्तैन? यो
प्रश्न सबै नेपालीहरूले स्वयं आफै सँग गर्न आवश्यक छ।
निष्कर्ष
माथिका कुराहरू केवल आदर्श जस्तो लाग्न सक्छन। गुरूले शिष्यलाई केवल कोरा
ज्ञान दिए जस्तो लाग्न सक्छन। तर त्यस्तो होइन। विश्वका धनी राष्ट्रहरूले माथि
भनिएझै गरेर धन आर्जन गरेका हुन। स्थानीय बजारहरूलको उपयोग गरेर धनी भएका हुन।
प्रत्येक क्षेत्रका स्थानीयहरूले आफ्नो क्षेत्रको स्वयंले विकास गरेर देशलाई
धनी तुल्याएका हुन।
र देश धनी हुन कुनै पनि देशले करको माध्यमबाट राम्रो आम्दानी पाप्त गर्न
आवश्यक छ। यसका लागि स्थानीय बजारहरू आर्थिक रूपमा सक्षम हुन आवश्यक छ।
विश्वराज अधिकारी
Wednesday,
March 06, 2019
No comments:
Post a Comment