आर्थिक समृद्धिको आधार जनताको असल मनोविज्ञान
परम्परागत मान्यताहरू
परिवर्तन भइरहेका छन्। एउटा समय थियो, जब के विश्वास गरिन्थ्यो भने कुनैपनि देश आर्थिकरूपमा बलियो हुनका लागि त्यहाँ
भरपूर प्राकृतिक स्रोत (उब्जाउ जमीन, अनुकूल मौसम, खानी (सुन,
हीरा, वन, समुद्र, खोला, ठूलो भूभाग आदि) हरू हुन आवश्यक छ। अर्थात् खानी, पहाड, उब्जाउ जमीन,
जलवायु आदिलाई देश समृद्ध पार्ने महत्वपूर्ण सम्पत्ति मान्ने गरिन्थ्यो। तर अब त्यो
मान्यतामा परिवर्तन आएको छ। अबको नयाँ अवधारणाले के भन्छ भने कुनैपनि देश धनी
हुनका लागि आवश्यक पूर्व शर्तको रूपमा जनताको मनोविज्ञान रहेको हुन्छ। देशलाई प्रशस्त
मात्रामा उपलब्ध स्रोत र साधनले होइन जनताको असल मनोविज्ञानले धनी र स्थिर
तुल्याउँछ।
यो नयाँ मान्यताले के भन्छ भने जुन देशको
जनता शिक्षित छ, अनुशासित छ,
उदार र मिलेर बस्ने स्वभावको छ त्यो देशले
तीव्र गतिमा आर्थिक विकास गर्छ। नर्वे, स्वीडेन, फिनल्यान्ड, डेनमार्क, अमेरिका, क्यानाडा,
स्वीटजरल्यान्ड जस्ता राष्ट्रहरूले यसै नयाँ
मान्यता अनुसार विकास गरेका हुन्। १७ सेप्टेम्बर, १७८७ मा लेखिएको संयुक्त राज्य अमेरिकाको संविधानले
अहिलेसम्म निरन्तरता पाएको छ। अरू विभिन्न देशमा एउटा संविधान निलम्बन गरेर अर्को
र त्यसपछि फेरि अर्को लेखिएको (जारी गरिएको) उदाहरण धेरै छ। नेपालमा पनि ‘नेपालको संविधान २०१९’ रद्द गरेर अर्को संविधान जारी भएको छ। नेपालमा जनताको
हितभन्दा नेताहरूको हितमा संविधान पुनर्लेखन हुन्छ। त्यस्तै स्थिति भारतको पनि छ।
यो नयाँ मान्यताको मूल आशय भनेको देशको
आर्थिक विकास जनताको मनोविज्ञानसँग जोडिएको हुन्छ, धन सम्पत्ति वा स्रोत एवं साधनहरूसँग हुँदैन। जनता सक्षम छ
भने स्वयं स्रोत एवं साधनको सृजना गर्छ। जनता झगडालू स्वभावको छ, मिलेर बस्न सक्तैन, राष्ट्रिय समस्याको समाधान शान्तिपूर्वक गर्न सक्तैन,
सामान्य कुरामा पनि विभेद गर्छ, साधारण कुरामा पनि हतियार उठाएर सङ्घर्ष गर्न
रुचाउँछ भने भएका स्रोत र साधन पनि नष्ट भएर जान्छ। जनताको त्यस्तो किसिमको
मनोविज्ञानले देशका अनेका सम्पत्ति नष्ट मात्र गर्दैन, देशमा नकारात्मक एवं विद्रोही भावना सृजना गराउँछ। मुलुकमा
दश वर्षसम्म चलेको माओवादी खुनी सङ्घर्षमा मुलकका अनेक पुल, भवन, ऐतिहासिक
धरोहरलगायत अनेक भौतिक सम्पत्ति नष्ट भएको हामीले देखेको कुरा हो। आर्थिक दृष्टिकोणले त्यो अति नै ठूलो क्षति
थियो।
रवान्डा, नाइजेरिया, सोमालिया,
मलावी, बुर्किनाफासो, सुडान, यमन, कंगो, अफगानिस्तान आदि यस्ता
मुलुक हुन् जो जन मनोविज्ञानबाट पीडित छन्। रवान्डाको जातीय नरसंहार सबैले थाहा
पाएकै कुरा हो। दुई जातिय समूह हुटु र टुट्सीबीच केवल १०० दिनसम्म मात्र (April 7, 1994 – July 1994) चलेको सङ्घर्षमा करिब १०
लाख व्यक्तिको निर्मम हत्या भएको थियो। कतिपय हुटु पतिहरूले आफ्नै टुट्सी पत्नीहरूको हृदयहीन भएर हत्या गरेका थिए। नाइजेरियामा केही वर्ष पहिले
मात्र, महिलाहरूलाई किन शिक्षा
दिएको भनी एउटा स्कूलबाट ३०० स्कूले छात्राहरूको अपहरण गरिएको थियो। अपहरण गर्ने
सङ्गठन ‘बोको हराम’ एउटा कट्टर धार्मिक सशस्त्र समूह हो र त्यो
समूहले त्यस क्षेत्रमा धार्मिक राज्य स्थापना गर्न चाहन्छ। सन् २०१४ मा अपहरणमा
परेका ती छात्राहरूमध्ये केही मुक्त भएपनि धैरै छात्रा अहिलेपनि बोको हरामको
कब्जामा छन्। यतिका समय बितिसक्दा पनि छुट्न सकेका छैनन्। बोको हरामले तिनीहरूलाई
यौन दासी बनाएर सन्तान उत्पादन गराउने साधनको रूपमा प्रयोग गरिरहेको खबरहरू
प्रकाशित भएका छन्।
सोमालियाले आफ्नो सम्पूर्ण
भूभागमा नियन्त्रण कायम गर्न सकेको छैन। अलसबाब भन्ने कट्टर जातीय सङ्गठनले
सोमालियामा अनेक किसिमको रक्तापातपूर्ण आन्दोलन चलाइरहेको छ। सोमालिया वर्षौंदेखि
स्थिर राष्ट्र हुन सकेको छैन। यमनको स्थितिपनि त्यस्तै छ। सन् २०११ देखि त्यहाँ
आरम्भ भएको गृहयुद्धले २० हजार नागरिकको ज्यान लिइसकेको छ। यसैगरी त्यस युद्धको
चपेटा (भोखमरी, कुपोषण, बिमारी आदि) मा परी ५० हजारभन्दा बढी व्यक्तिको
ज्यान गएको छ। यमनमा दुई पक्ष (अन्तर्ष्ट्रिय समुदायको समर्थन प्राप्त सरकार–जसको नेतृत्व अब्द्राबुह मन्सुर हादी) र हतियारधारी समूह हुथी बीच चलेको युद्ध
रोकिने सम्भावना देखिएको छैन। यमनीहरूको विभाजित मनोविज्ञानको फाइदा साउदी अरेबिया
र इरानले उठाइरहेका छन्। भन्ने हो भने इरान र साउदी अरेबियाको हित (मध्यपूर्वमा महाशक्ति हुने उच्चाकाङ्क्षा) का
लागि यमनीहरू आपसमा काटमार गरिरहेका छन्। जनताको मनोविज्ञानले देशलाई कङ्गाल
बनाउँछ भन्ने उदाहरण योभन्दा ठूलो अरू के हुन सक्छ? अनि यस्ता देश र
त्यहाँको जनता धनी हुन्छ?
मलाला युसुफजईले पाकिस्तानमा महिलाहरूलाई
शिक्षा दिनुपर्छ भन्ने अभियानको केवल समर्थन मात्र गरेको कार्यलाई पनि अपराध मानेर
त्यहाँका तालिबानीहरूले उनको हत्या गर्ने उद्देश्यका साथ उनीमाथि (९ अक्टोबर २०१२
मा) गोली बर्साएका थिए। तालिबानीहरूले पाकिस्तानमात्र होइन, अफगानिस्तानमा पनि महिला शिक्षाको विरोध गरिरहेका छन्। साथै
‘भेक्सिन’ दिन आउनेहरू माथि पनि गोली बर्साउने काम
गरिरहेका छन्। शिशुको जीवन रक्षा गर्ने भेक्सिनको पनि तालिबानीहरूले विरोध
गरिरहेका छन्। यस्तो जन–मनोविज्ञान भएको
स्थितिमा आर्थिक विकास कसरी सम्भव हुन सक्छ?
नेपालजस्तै पहाडैपहाडले भरिएको मुलुक
स्वीटजरल्यान्ड पनि हो। स्वीटजरल्यान्डले पहाडलाई अमूल्य निधि मानेर त्यसको भरपूर
उपयोग गरेको छ। पहाडले गर्दा नै स्वीटजरल्यान्ड प्रकृतिले सिंगारिएको युरोपको एक
अति सुन्दर देश हुन पुगेको छ। स्वीटजरल्यान्डलाई ‘युरोपको खेल मैदान’ भन्ने गरिन्छ। तर त्यही पहाड नेपालको लागि घाँडो भएको छ। पहाडलाई घाँडो मानेर
नै ठूलो सङ्ख्यामा नेपालीहरू पहाडबाट तराईतिर बसाइँ सरे। नेपालले पहाडको राम्रो
उपयोग गर्ने हो भने यो मुलुक एशियाको नै सुन्दर मुलुक हुन सक्छ, स्वीटजरल्यान्डझैं। नेपालमा पहाडले तराईका र
तराईले पहाडका स्रोत र साधन (जलस्रोत–बिजुली र यातायात, भूमि, जलवायु, वन, खानी, ढुङ्गा) हरूको समुचित उपयोग गर्ने हो भने नेपाल
दक्षिण एशियाको नै धनी राष्ट्र (प्रतिव्यक्ति आयको आधारमा) हुन सक्छ। तर विडम्बना! नेपालमा पहाड र तराईबीच
राम्रो सामञ्जस्य कायम हुन सकेको छैन। तराईले आफूलाई पहाडबाट
अपहेलित र ठगिएको अनुभूत गर्दछ भने पहाडले तराईमा राष्ट्रियताको कमी रहेको महसूस
गर्छ। तराईको राष्ट्रिय भावमाथि शङ्का गर्दै तराईलाई भारतपरस्त मान्छ। यसैगरी तराई
ठगिएको मानेर केही तराईका नेताहरूले तराईलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने आवाज
पनि चर्काएका छन्। यी सबै गलत कुरा हुन्। यस्तो विग्रह भावनाले पनि आर्थिक विकास
हुन सक्छ? नेपालको आर्थिक विकास
जहिले पनि पछाडि पर्नमा यो विग्रह भावनाले पनि महत्वपूर्ण भूमिका
खेलेको छ।
तराई र पहाडको सम्बन्ध नङ र मासुजस्तो छ।
प्राकृतिक स्रोत र साधनहरू समुचित उपयोगको दृष्टिकोणले यी दुई क्षेत्र एक अर्कामा
भर पर्नुपर्ने र सहकार्य गर्नुपर्ने अनिवार्य स्थिति छ। जलस्रोतका लागि तराईले
पहाडको भर पर्नुपर्छ भने कृषिको लागि पहाडले तराइको भर गर्नुपर्छ। यस किसिमको भाव
राखेर अगाडि बढेमा पो आर्थिक विकास हुन्छ। तर पहाड र तराईले एक अर्कालाई पत्याउने
आधार च्यातिएको लुगाझै भएको छ। यसलाई समयमा सिउन आवश्यक छ। र हाम्रो झगडालू जन–मनोविज्ञानले यो च्यातिएका लुगा सिउन सकिरहेको
छैन।
स्वीटजरल्यान्डले न पहिलो विश्वयुद्धमा भाग
लियो, न दोस्रो विश्वयुद्धमा नै।
स्वीटजरल्यान्ड कुनैपनि सैनिक वा सुरक्षा सङ्गठनको सदस्य छैन। यो नाटोको पनि सदस्य
छैन। यो देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन। शान्ति, समन्वय र सहकार्यलाई यो देशको जनताले अति महत्व दिएको हुनाले देश र जनता दुवै समृद्ध छन्। जनताको असल मनोभावले यो देशलाई
समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
जनताको मनोभावको कुरा गर्दा भारत र
पाकिस्तानको चर्चा गर्नु पनि उपयुक्त हुन्छ। यी दुवै राष्ट्रले विगतमा धेरै युद्ध
गरिसके। पहिलो कश्मीर युद्ध १९४७, इन्डो–पाक युद्ध १९६५, इन्डो–पाक युद्ध १९७१,
इन्डो–पाक युद्ध १९९९ लगायत सानातिना कैयौ युद्ध यी दुई राष्ट्रबीच भइसकेको छ। यी
राष्ट्रहरूको मनोविज्ञान हेर्दा लाग्छ, यी राष्ट्रका जनतालाई युद्ध मन पर्ने रहेछ। यी दुवै राष्ट्रले सैन्य क्षमता
वृद्धिमा जति पैसा खर्च गर्छन् त्यति गाउँगाउँमा स्कूलहरू खोल्न गर्ने हो भने यी
दुवै देशको शिक्षाको स्तर माथि उठ्ने थियो। र मलालाजस्ता ले महिला शिक्षाको वकालत
गर्दा गोली खानु पर्थेन। तर विडम्बना! यी दुई देशको सिमानामा
सानो सैनिक कार्यवाही हुँदापनि दुवै देशका जनता युद्ध गर्ने मनस्थिति बनाएर सडकमा
एक अर्कोमाथि हमला गर्न नारा लगाउन थाल्छन्। हालै भएको पाकिस्तान–भारत तनावले यस्तै स्थिति देखाएको थियो। यो
स्थितिमा भारत, पाकिस्तानभन्दा
बढी युद्धप्रेमी देखिएको थियो। तर पाकिस्तानी प्रम इमरान खानको सुझबुझले गर्दा यो
क्षेत्रमा ठूलो युद्ध हुन पाएन। जनधनको क्षति हुन पाएन।
अब निष्कर्षतिर लागौं। आर्थिक विकासको नयाँ
मान्यताले भन्छ देशको आर्थिक विकास हुनका लागि जनताको मनोविज्ञान पनि असल हुनु
आवश्यक छ। जनताको मनोविज्ञानमा समस्या देखिएकोले नै साधन र स्रोतका बावजुद पनि
अफ्रिकाका धेरै देशहरूले आर्थिक विकास गर्न सकेका छैनन्। त्यही अवस्था दक्षिण
एशियामा पनि छ। अनि नेपाल, र छिमेकी भारत,
पाकिस्तान, र अफगानिस्तानमा पनि।
Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, March 15, 2019
लेख उच्चस्तरको छ । जहाँ सहिंष्णुता छ उन्नतिपनि त्यही हुनेरहेछ । कुनै पनि वस्तु यस्तो छैन जसमा सकारात्मक गुण नभएको होस । तर हामीमा त कसैको कुरा सुनेर बुझेर गर्नै पर्ने भए आलोचना पनि गर्ने तर शिष्टताको सीमा भित्र रहने हो भने धेरै कुरा आफै समाधान हुनेरहेछन् । सकारात्मक दृष्ट्रिकोणको विकास गर्न सक्ने हो भने कुनै क्षेत्रमा पनि समस्या हुँदैन भन्ने लाग्छ मलाई पनि ।
ReplyDeleteधन्यवाद सर।
Delete