Wikipedia

Search results

Friday, January 3, 2020

Does Nepal Have Capital Insufficiency?-Article-260


के नेपालमा पूँजीको खाँचो छ?

  अर्थशास्त्रले भन्छ– उत्पादन गर्नका लागि चार साधन चाहिन्छ।
    भूमि, श्रम, पूँजी र सङ्गठन जस्ता चार तत्वलाई उत्पादनका साधन भन्ने गरिन्छ। यी चार साधनको राम्रो उपयोग गरेर नै कुनै पनि मुलुक धनी हुन सक्छ। अमेरिका र पश्चिमी युरोपका राष्ट्रहरूले यी चार साधनको राम्रो उपयोग गरेका हुनाले नै धनी हुन पुगेका हुन्। भारत, चीन, ब्राजिल, रूस र दक्षिण अफ्रिका जस्ता राष्ट्रहरू पनि यी चार साधनको अधिकतम उपयोग गरेर धनी बन्ने प्रयासमा छन्। पछिल्लो समयमा चीन र भारतले भने यी साधनहरूको अधिकतम उपयोग गर्नमा निकै सफलता प्राप्त गरेका छन्।
    नेपालले भने यी चार साधनको समुचित प्रयोग गर्न सकेको छैन। हुनत नेपालसँग यी चार साधन मुलुकलाई चाहिने मात्रामा छन् तर पनि यिनको उपयोग गर्न सकेको छैन। जस्तै नेपालसँग पर्याप्त मात्रामा श्रम छ तर उपयोग गर्न सकेको छैन। बहुसङ्ख्यक नेपालीहरूले राष्ट्रिय श्रम बजारमा आफ्नो श्रम बिक्री गर्न सकेका छैनन् र श्रम बिक्री गर्नका लागि अन्तर्र्राष्ट्रिय श्रम बजारमा बाध्य भएर पुगेका छन्।
    अहिले नेपालीहरूले आफ्नो मूल्यवान श्रम जोखिमपूर्ण स्थितिमा र सस्तोमा खाडीका देशहरूमा बिक्री गर्नुपरेको छ। र, यो अति नै दुःखद स्थिति हो। यो स्थितिका लागि सरकार मात्र होइन, नागरिक पनि दोषी छ। नेपालमा श्रम बजारको विकास गर्न नागरिक तहमा ठोस प्रयास हुन सकेको छैन।
    यसैगरी, नेपालले आफूसँग उपलब्ध रहेको भूमिको पनि समुचित किसिमले उपयोग गर्न सकेको छैन। नेपालमा भूमिको अति पर्याप्तता नभए तापनि अभाव पनि छैन। जनसङ्ख्याको अनुपातमा नेपालमा चाहिने मात्रामा भूमि छ। हिमाली र पहाडी भूमिको उपयोग कुशलतापूर्वक, वैज्ञानिक तरीकाले गर्न सकिएको छैन र परम्परागतरूपमा ती भूमिको उपयोग गरिएको हुनाले नै नेपालमा कृषि भूमिको अभाव देखिएको हो। नेपालका पहाडी र हिमाली क्षेत्रमा रहेका भूमिहरूको समुचित एवं वैज्ञानिक किसिमले, उच्च प्रविधि प्रयोग गरेर, उपयोग गर्ने हो भने राष्ट्रिय भूमिबाट ठूलो फाइदा लिन सकिन्छ । अन्न, फलफूल निर्यातसमेत गर्न सकिन्छ। तर गर्न सकिएको छैन।
    भूमिमा नेपालभन्दा केही मात्र ठूलो रहेको बङ्गलादेशले १६ करोड १३ लाख ७६ हजार ७०८ (सन् २०१८ मा अनुमानित जनसङ्ख्या) देशवासीलाई आश्रय दिएको छ र उनीहरूको भरणपोषण गरेको छ। बङ्गलादेशको कुल क्षेत्रफल १ लाख ४७ हजार ५७० वर्ग किलोमिटर रहेको छ। नेपालको भने कुल क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको छ। नेपाल बङ्गलादेशभन्दा केवल ३८९ वर्ग किलोमिटर मात्र सानो छ। नेपाल र बङ्गलादेश क्षेत्रफलको आधारमा बराबर नै छन् भन्न सकिन्छ। तर नेपालले बङ्गलादेशको तुलनामा केवल २ करोड ८० लाख ९५ हजार ७१४ (सन् २०१८ मा अनुमानित जनसङ्ख्या) देशवासीलाई आश्रय दिनुपरेको छ, उनीहरूको भरणपोषण गर्नुपरेको छ। अर्थात् लगभग नेपाल जतिकै क्षेत्रफल भएको बङ्गलादेशमा नेपालभन्दा लगभग ६ गुणा बढी नागरिकको बसोबास छ। बङ्गलादेशसँग तुलना गर्दा के नेपालमा भूमिको अभाव छ?  के नेपाल सानो छ?
    नेपालमा कुशलतापूर्वक उपलब्ध भूमिको उपयोग गर्न सकिएको छैन। भूमिलाई मात्र दोष दिने कार्य गरिएको छ। त्यसको उपयोग वैज्ञानिक किसिमले गरिएको छैन।
    हामीले परम्परागतरूपमा सदीयौंदेखि नेपाल सानो छ, नेपालमा भूमिको अभाव छ भन्दै आएका छौं। जनसङ्ख्याको अनुपातमा नेपालमा भूमिको अभाव छ भन्न मिल्दैन। र, भन्नु गलत हो। आफूले आफूलाई अक्षम घोषित गर्नु हो। जनसङ्ख्याको अनुपातमा हामीसँग यथेष्ठ मात्रामा भूमि छ। तर अफसोच! उपलब्ध भूमिको उपयोग गर्न सकेका छैनौं। पहाडी एवं हिमाली भूमिलाई हामीले फाइदाजनक किसिमले उपयोग गर्न सकेका छैनौं।
    अरू केही मुलुकले पहाडका भीरहरूमा पनि कृषि कार्य गरेका छन्। अन्नहरू उत्पादन गरेका छन्। तर हामीले कृषि उत्पादन त के बसोबासका लागि पनि ती भीर (पहाड) को उपयोग गर्न सकेका छैनौं। पहाडी जीवन कष्टकर भयो भन्दै शहरतिर बसाइँ सारेका छौं। तराईतिर समतल भूमि भन्दै त्यहाँ जनघनत्व बढाएका छौं।
    हाम्रो प्रतिव्यक्ति आय ९१९ (डलर) रहेको छ भने बङ्गलादेशको प्रतिव्यक्ति आय १,९०६ (डलर) रहेको छ। नेपाल र बङ्गलादेशको प्रतिव्यक्ति आयको स्थितिले पनि बङ्गलादेशले आफ्नो भूमिको उपयोग कुशलतापूर्वक गरेको छ भन्ने कुरा प्रस्ट हुन आउँछ। र, हामीले उपलब्ध भूमिको उपयोग समुचित किसिमले गर्न सकेका छैनौं भन्ने रहस्य खुल्छ, होइन र?
    यस्तै, अब कुरा गरौं पूँजीको। नेपालमा मेरो विचारमा पूँजीको अभाव छैन। नेपालले आफ्नै पूँजीले ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न सक्छ। त्यस्तो गर्न सक्ने क्षमता राख्छ। तर दुःखद कुरा ज्ञान, साहस र व्यवस्थापनको अभावले गर्दा हामीले हाम्रो पूँजी निर्माण गर्ने क्षमता कति छ भन्ने कुरा बुझ्न सकेका छैनौं। राष्ट्रको आर्थिक विकास द्रुत गतिमा गर्न आवश्यक पर्ने जति पूँजी हामीसँग छ भन्ने कुरा पनि बुझ्न सकेका छैनौं। हामीसँग पर्याप्त मात्रामा पूँजी छ। रेमिट्यान्सले गर्दा पनि हाम्रो पूँजीको भण्डार वृद्धि भएर गएको छ।
यसैगरी देशवासीहरूको बचतले पनि हाम्रो पूँजीको भण्डारमा वृद्धि ल्याएको छ। तर हामीले यो स्थिति बुझ्न सकेका छैनौं। ठूलाठूला पूँजीका लागि विदेशी दाताहरूको मुख ताकिरहेका छौं। उनीहरूसँग याचना गरिरहेका छौं। कस्तुरी मृगले आफूसँग रहेको कस्तुरी थाहा नपाएर कस्तुरीको सुगन्धका लागि दौडिएजस्तो।
    ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न जस्तै राजमार्गहरूको निर्माण गर्न, विमानस्थल निर्माण गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न, ठूला उद्योगहरू स्थापना गर्न, व्यापारिक केन्द्र निर्माण गर्न नेपालले अब विदेशी दाता वा अन्य मुलुकसँग ऋण लिनुपर्दैन। आफूसँग रहेको बचत (देशवासीहरूले बैंकमा जम्मा गरेका रकम), रेमिट्यान्स आदिलाई अब हामीले पूँजीको रूपमा उपयोग गर्न सक्छौं। र, यी स्रोतहरू पनि अपुग भएमा हामीले ऋणपत्र जारी गरेर पूँजी सङ्कलन गर्न सक्छौं।
    अर्थात् केन्द्रीय सरकारले नेपालमा विभिन्न ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न जनतामाझ ऋणपत्र जारी गर्न सक्छ। ऋणपत्र जारी गरेर जनतालाई बिक्री गर्न सक्छ। र, यसरी ऋणपत्र जारी गरेर आवश्यक पर्ने पूँजी निर्माण एवं उपयोग गर्न सक्छ। तर सरकारले यो कार्य गर्न सकेको छैन। पूँजी निर्माण गर्न सकिने यो विधि अवलम्बन गर्न सकेको छैन। यो विधि स्थानीय सरकारहरूले पनि अवलम्बन गर्न सक्छन्। र, आवश्यक पूँजी जुटाउन सक्छन्।
    नेपालको स्थिति अब पहिलेजस्तो छैन। एक खास वर्गसँग अब यथेष्ठ बचत छ, त्यो वर्ग धनी पनि छ। यसैगरी, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरूले श्रम बेचेर राम्रो आर्जन गरेका छन्, बचत पनि गरेका छन्। अर्थात् अब नेपालीहरूले नेपाल सरकारले जारी गर्ने ऋणपत्र खरीद गर्न सक्छन् र खरीद गर्नेछन् पनि।
    सरकारले नै बिक्री गरेको ऋणपत्रमा सरकार नै जमानी बसेको हुनाले सर्वसाधारणले निर्धक्क भएर ऋणपत्र खरीद गर्नेछन्। बरु सरकारले ऋणपत्र खरीदबाट जनताले प्राप्त गर्ने ब्याजमा कर लिनुहुँदैन। कर छुट दिनु पर्छ। यस्तो गरेमा नागरिक ऋणपत्र खरीद गर्न उत्साहित हुन्छ।
    नेपालमा पूँजीको खाँचो छैन। खाँचो छ भने उचित व्यवस्थापनको। उचित नियम कानूनको, इमानदार प्रशासन एवं सरकारको। नेपालमा पूँजीको अभाव छ भन्ने मनोविज्ञान अब हामीले त्यागे हुन्छ।
    नेपालमा उत्पादनका लागि आवश्यक पर्ने अर्को प्रमुख तत्व सङ्गठनको स्थिति कस्तो छ, त्यसबारे अर्को लेखमा चर्चा गरौंला।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 3, 2020

No comments:

Post a Comment