Wikipedia

Search results

Friday, March 5, 2021

Education System Causing Unemployment in Nepal-Article-317

 बेरोजगारीको लागि हाम्रो शिक्षा नीति दोषी छ

हाम्रो समाज, परम्परा र संस्कृतिले श्रमलाई इज्जत दिंदैन। कामलाई पनि सानो र ठूलो भनेर विभेद गर्छ। कुर्सीमाथि बसेर गरिने कामलाई ठूलो मान्दछ र त्यो कामलाई इज्जत दिन्छ। प्रत्यक्षरूपमा शारीरिक श्रम खर्च गरेर गरिने र समाजले तल्लो किसिमको काम भनेर वर्गीकृत गरेको कामलाई सानो काम मान्ने गर्छ र त्यस्तो कार्य गर्नेलाई पट्टकै इज्जत दिंदैन। “पढ्नु गुड्नु साढे बाइस, हलो जोती नाम कमाइस,” यो धारणा हाम्रो समाजमा अहिले पनि व्याप्त छ। सबैको पेट भेर्ने जस्तो महान् कार्य गर्ने, हलो जोत्ने कार्य गर्नेलाई हाम्रो समाजले अहिले पनि इज्जत दिंदैन। हलो जोत्नुलाई तुच्छ कार्य मान्दछ।

कामलाई हेर्ने सामाजिक दृष्टिकोण अनुसार कुनै कामलाई सानो मानिएको छ भने त्यस किसिमको काम गर्नेले समाजबाट इज्जत पाउँदैन तर कुनै कामलाई ठूलो मानिएको छ भने त्यस किसिमले काम गर्नेले इज्जत पाउँछ। यो कारणले गर्दा जहिले पनि व्यक्तिहरू ठूलो र इज्जतदार कहलिएको काम गर्न इच्छुक हुन्छन् तर रोजगारको प्रशस्त सम्भावना भए तापनि तल्लो कहलिएको काम गर्न तयार हुँदैनन्। बरु बेरोजगार बस्न तयार हुन्छन् तर सानो कहलिएको काम गर्न तयार हुँदैनन्। यदि नेपालमा रोजगार पट्कै नहुँदो हो भने भारतबाट ठूलो सङ्ख्यामा आएका व्यक्तिहरूले नेपालमा रोजगार पाउने प्रश्न नै उठ्ने थिएन। यस प्रकार नेपालमा ऐच्छिक बेरोजगारी पनि ठूलो समस्याको रूपमा रहेको छ। अर्थात् आफूले चाहे अनुसारको काम नपाएकोले र सानो कहलिएको कार्य नगरेकोले पनि नेपालमा बेरोजगारीको स्थिति देखिएको हो।

नेपालमा बेरोजगारी वृद्धि गर्नमा प्रचलित शिक्षा पद्धति पनि उत्तिकै दोषी छ। नेपालका विश्वविद्यालय, कलेज र विद्यालयहरू पनि उत्तिकै दोषी छन्। यी शैक्षिक संस्थाहरूले रोजगार वृद्धि गर्नमा कुनै पनि किसिमका भूमिका खेलेका छैनन्। रोजगार वृद्धि गर्नु आफूहरूको दायित्व हो भन्ने कुरा बुझेका छैनन् र आफूलाई केवल कोरा तथा सैद्धान्तिक शिक्षा दिने संस्थाहरूको रूपमा सीमित पारेका छन्। हाम्रा विद्यालयहरू प्राचीनकालका गुरुकुल जस्ता छन्। ज्ञान दिन्छन् तर रोजगार पाउने बाटो देखाउँदैनन्।

सबै शिक्षा केवल ज्ञानका लागि हुन आवश्यक छैन। केही शिक्षा रोजगार पाउन सजिलो पारिदिने किसिमको पनि हुनुपर्छ। त्यति मात्र होइन शिक्षा त्यस्तो हुनुपर्छ, जसले व्यक्तिलाई स्वरोजगार हुनु सहयोग पु–याओस्। व्यक्तिले पाएको शिक्षाले उसलाई स्वयंले रोजगार सृजना गर्न सिकाओस्। रोजगार पाउन सजिलो पारिदेओस्। यो आधुनिक व्यापारिक युगमा रोजगारविना कुनै पनि व्यक्ति बाँच्न सक्तैन। रोजगार जीवनको महत्वपूर्ण तत्व हुन पुगेको छ।

शिक्षाले स्वरोजगार हुन सिकाउने मात्र होइन शिक्षाले नयाँ–नयाँ किसिमका व्यापारहरू सृजना गर्न पनि सिकाउनुपर्छ। विज्ञान र प्रविधिको निरन्तर विकाससँगै नयाँ–नयाँ किसिमका व्यापारका अवसरहरूको पनि विकास भइरहेका हुन्छन्। त्यस किसिमका नयाँ–नयाँ व्यापारका अवसरहरूको पहिचान गर्न र व्यापार सञ्चालन गर्न प्राप्त शिक्षाले व्यक्तिलाई सहयोग पु–याउनुपर्दछ। उदाहरणको लागि अहिले बजारमा इलेक्ट्रोनिक सामानको ठूलो प्रभाव एवं आपूर्ति छ। कम्प्युटर, मोबाइल, आइपैड बजारमा ठूलो सङ्ख्यामा देख्न सकिन्छ। यस्ता इलेक्ट्रोनिक डिभाइसको बजारमा ठूलो सङ्ख्यामा उपस्थिति भएको कारणले ती डिभाइसहरू बिग्रेमा बनाउने नयाँ व्यापारिक अवसरको सृजना पनि भएको छ।

यसरी प्रत्येक दिन विज्ञान एवं प्रविधिमा विकास भएसँगै नयाँ–नयाँ किसिमका व्यापार गर्न सकिने अवसरको पनि विकास भइरहेको हुन्छ। तर हाम्रो शिक्षा पद्धतिले त्यस किसिमका व्यापारका अवसरहरूको पहिचान गर्न आफ्ना विद्यार्थीहरूलाई सघाउन सक्तैन र पुरातन किसिमले, परम्परागतरूपमा गरिरहेको काम गर्न प्रेरित गर्छ। नयाँ–नयाँ व्यापारको खोजी गर्न सीप र ज्ञान दिन सक्तैन।

हाम्रो शिक्षा पद्धतिले सरकारी जागीर गर्न प्रेरित गर्छ। सरकारी जागीरमा ज्यादै इज्जत रहेको अनुभव गराउँछ। यो कारणले गर्दा पनि कुनै सरकारी पदको लागि आवेदन माग गर्दा रिक्त स्थान पचास छ भने पचास हजार निवेदन उक्त रिक्त पदका लागि पर्न आउँछ। हाम्रो शिक्षा पद्धतिले रोजगार सृजना गर्न सहयोग पु–याउने भइदिएको भए, यस्तो स्थिति हुने थिएन। अमेरिका तथा युरोपका देशहरूमा विद्यालय एवं विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई स्वरोजगार हुन सिकाउने मात्र होइन नयाँ–नयाँ व्यापार सृजना गर्ने ज्ञान पनि दिन्छन्। अमेरिका र युरोपका कलेजहरूमा राजनीति हुँदैन। न त विद्यार्थीहरूले कुनै दलको झन्डा नै बोकेका हुन्छन्।

हाम्रो शिक्षा नीति तथा सामाजिक एवं राजनीतिक वातावरणले गर्दा नेपालका सरकारी कलेजहरू राजनीति गर्ने थलो बनेका छन्। नेता उत्पादन गर्ने कारखाना बनेका छन्। कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेका छन्। कस्तो विडम्बना! कलेजहरू रोजगार सृजना गर्ने स्रोतको रूपमा हुनुपर्नेमा उल्टो नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हुन पुगेका छन्। नेपालका सरकारी कलेजहरूमा अति नै राजनीति हुन्छ। कलेजहरूमा विद्यार्थी मात्र होइन, शिक्षकहरूले पनि सक्रिय राजनीति गर्छन् र कुनै खास दलको झन्डा बोक्छन्।

अहिले कलेजहरू नेताहरूको कार्यकर्ता उत्पादन गर्ने थलो हुन पुगेका छन्।

नेपालका कलेजहरूमा “रोजगार मेला” (job fair), वृत्ति मेला (carrier fair), अनुसन्धान वा आविष्कार मेला भएको विरलै हेर्न वा सुन्न पाइन्छ। तर विकसित देशहरूमा कलेजहरूले आफ्नो स्थलमा रोजगारदाताहरूलाई आमन्त्रित गरेर आफ्नो विद्यार्थी र रोजगारदाताबीच सम्पर्क गराउँछन्। यसरी कलेजहरूले विद्यार्थीहरूलाई रोजगार खोज्न र रोजगारी हुन सहयोग पु–याउँछन्। व्यापारिक एवं वैज्ञानिक महत्वका नयाँ–नयाँ आविष्कार गर्न कलेजहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्छन्। यो कार्य गर्नका लागि आविष्कार वा अनुसन्धान मेलाको आयोजना गर्छन्। विद्यार्थीहरूलाई रचनात्मक हुन उत्प्रेरित गर्छन्।

यतिमात्र होइन, कलेजहरूले राष्ट्रिय रोजगारको स्थितिमाथि निरन्तर दृष्टि राखेका हुन्छन् र कुन विषय पढ्दा सजिलै र राम्रो आम्दानी हुने जागीर पाउन सकिन्छ, त्यसबारेमा आफ्ना विद्यार्थीहरूलाई सल्लाह दिन्छन्। अर्थात् कलेजहरूले रोजगार बजारको नियमित किसिमले अनुगमन गर्छन्। कलेजहरूले आफूकहाँबाट दीक्षित भएर जानेहरूले छिटो रोजगार पाऊन् भन्ने उद्देश्य राखेका हुन्छन्। त्यसै अनुसार जागीर पाउन सजिलो होस् भन्ने किसिमको पाठ्यक्रम तयार पारेका हुन्छन्। सम्रगमा भन्ने हो भने विकसित देशको शिक्षा नीतिले रोजगारलाई माथिल्लो प्राथमिकतामा राखेको हुन्छ। अत्यधिक महत्व दिएको हुन्छ।

मुलुकमा बेरोजगारी वृद्धि गर्नमा हाम्रो सामाजिक वातावरणको भूमिका पनि कम छैन। नेपालमा हुँदा कुनै एक व्यक्तिले पिएचडी गरिरहेको छ भने उसले कुनै होटलमा ‘वेटर’को काम गर्नु उक्त व्यक्तिको लागि ठूलो बेइज्जतीको विषय हुन पुग्छ। त्यस कारण उसले आम्दानी गुमाएर भएपनि वेटरको काम गर्दैन। तर उही व्यक्ति यदि अमेरिका आएको छ भने उसले त्यो वेटरको काम खुशीका साथ गर्छ। आफ्नो इज्जत गएको महसूस पनि गर्दैन। किनभने अमेरिकामा कसले के काम गरिरहेको छ भनेर कसैले चासो राख्दैन। अमेरिकी समाजले कामलाई विभेदी नजरले हेर्दैन पनि। हरेक कामको लागि समान इज्जत छ, अमेरिकी समाजमा।

हामीलाई हाम्रो शिक्षा नीति, सोच, व्यवहार आदिले नै गरीब तुल्याएको हो। हामीले हाम्रो पुरातन सोचमा परिवर्तन नल्याएसम्म गरीबीको कुचक्रबाट हामीले मुक्ति पाउन सम्भव छैन।

नेपालमा राजनीति बढी हुनु, विद्यार्थीहरू चाहिनेभन्दा बढी राजनीतिमा सक्रिय हुनु, कलेजहरू राजनीतिक दलका कार्यकर्ताहरूको सम्पर्क कार्यालय हुनु, शिक्षकहरू पनि राजनीतिमा लाग्नु जस्ता समस्याहरू हाम्रो शिक्षा नीति एवं सामाजिक वातावरणको कारणले गर्दा उत्पन्न भएका हुन्। र यी कुराहरू आर्थिक विकासका बाधक हुन्।

हामीले हाम्रो शिक्षा नीतिमा व्यापक सुधार ल्याउन आवश्यक छ। विश्वविद्यालय तथा कलेजहरूका विद्यार्थीहरू कुनै राजनीतिक दलको निकट हुने संस्कृतिको अन्त्य गर्न आवश्यक छ। कलेजहरूलाई रोजगार वृद्धि गर्ने स्रोतको रूपमा विकास गर्न आवश्यक छ। कामप्रतिको हाम्रो सामाजिक सोचमा परिवर्तन ल्याउन आवश्यक छ।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, March 5, 2021

http://www.prateekdaily.com/2021/03/blog-post_31.html

No comments:

Post a Comment