Wikipedia

Search results

Friday, March 19, 2021

South Asian Market Over Shadowed by Indo-China Relations-Article- 319

 चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया बृहत् बजार

अहिले विश्वको कूल जनसंख्या ७ अरब ८० करोड रहेको छ।

अहिले भारतको जनसंख्या लगभग १ अरब ३८ करोड रहेको छ भने चीनको जनसंख्या लगभग १ अरब ४४ करोड रहेको छ। चीन र भारतको जनसंख्यालाई मात्र जोड्ने हो भने २ अरब ८२ करोड हुन आउँछ।

विश्वको कूल जनसंख्याको ३६ प्रतिशतको बसोबास केवल चीन र भारतमा मात्र छ। यो हिसाबले चीन र भारतको संयुक्त स्थितिलाई विश्वको सर्वाधिक ठूलो बजार मान्न सकिन्छ। यो बजार आर्थिक रुपमा अति लाभदायक हुन सक्छ। तर हुन सकेको छैन। भारत र चीन बिच रहेको अति कटुताको कारण, प्रर्याप्त सम्भावनाहरू भएता पनि यो क्षेत्र एक समृद्ध बजार बन्न सकेको छैन। आर्थिक सबलताको कुरा गर्ने हो भने चीन विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति हो भने भारत विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति हुने दौडमा छ। 

यसै गरी चीनलाई न जोडेर केवल दक्षिण एशियाको मात्र जनसंख्याको स्थिति हेर्ने हो भने पनि यो क्षेत्रमा करिब २ अरब व्यक्तिहरूको बसोबास रहेको पाइन्छछ। दक्षिण एशिया पनि एक महत्वपूर्ण व्यापारिक बजारको रुपमा देखिन्छ। हुन पनि दक्षिण एशियामा विश्वको चारखण्ड मध्ये एक खण्ड जनसंख्याको बसोबास छ। बसोबासको यो स्थितिले दक्षिण एशिया पनि एक महत्वपूर्ण बजारको रुपमा देखा पर्नु पर्थ्यो। तर अचम्म! भारत र चीनको संयुक्त क्षेत्रीय स्थिति वा दक्षिण एशिया, एक धनी व्यापारिक बजारको रुपमा देखा पर्न सकेको छैन। यस्तै स्थिति रहेको र एक अर्काको छिमेरकी बनेर बसेका युरोपका केही देशहरू जनसंख्याको हिसाबले दक्षिण एशिया भन्दा निकै सानो भएता पनि विश्वको धनी बजार बन्न सफल भएका छन। युरोपका देशहरू मिलेर बनेको ‘युरोपियन युनियन’ विश्वको धनी बजारहरू मध्ये एक हुन पुगेको छ। विश्वका ठूला अर्थ  व्यवस्थाको रुपमा हेर्दा अमेरिका पछि युरोपियन युनियन विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन आउँछ।

भारत र चीनको संयुक्त स्थिति वा दक्षिण एशिया किन आर्थिक हिसाबले ठूलो र सबल बजार बन्न सकेन? यी क्षेत्रहरूमा विश्व जनसंख्याको ठूलो भाग बस्ने भएता पनि यी क्षेत्रहरू किन धनी बजार बन्न सकेनन? यो एक महत्वपूर्ण प्रश्न हुन आएको छ। र यो प्रश्नको उत्तर खोज्नु आवश्यक  छ। र यो क्षेत्रलाई बलियो बजार हुन नदिने जिम्मेवार पक्षहरूको पहिचान गरी उनीहरूको त्यस्तो व्यवहार जनतालाई अवगत गराउन आवश्यक छ। यो क्षेत्र विश्वको धनी बजार हुन सक्ने सम्भावना भएता पनि यो क्षेत्रका राजनीतिले त्यस्तो हुन नदिएको रहस्य यस क्षेत्रको गरिब जनतालाई अवगत गराउन आवश्यक छ।

यो क्षेत्रलाई गरिब बजारमा रुपान्तरण गर्नमा ती पक्षहरू जिम्मेवार रहेकोले यो क्षेत्रमा गरिबी नघट्नुको लागि उनीहरूलाई जिम्मेवार तुल्याउनु आवश्यक छ।।

दक्षिण एशिया क्षेत्रलाई एक धनी बजार हुन नदिनमा भारत र पाकिस्तान बिचको कटुतापूर्ण राजनीतिक सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको छ। पाकिस्तान र भारत, बिभाजनकाल देखि नै एक अर्काको शत्रु रहँदै आएका छन। यी दुई राष्ट्रहरूले सम्बन्ध सुमधुर पारेर यस क्षेत्रलाई एउटा सबल बजार बनाउनुको साटो एक अर्कासँग युद्ध गर्नमा नै समय खर्च गरे, र अहिले पनि अविरल रुपमा खर्च गरि रहेका छन। यी दुबै राष्ट्रहरूमा ठूलो संख्यामा गरिबहरूको बसोबास भएता पनि यी दुबै राष्ट्रहरूले सुरक्षामा ठूलो रकम खर्च गरि रहेका छन।  

भारतले प्रत्येक वर्ष आफ्नो संघीय बजेटको लगभग १६ प्रतिशत रकम सुरक्षामा खर्च गर्छ। यसैगरी कूल गार्यहस्थ उत्पादनको २.१ प्रतिशत (सन् २०२०-२१) रकम सुरक्षामा खर्च गर्छ। भारतले प्रत्येक वर्ष सुरक्षामा औसरतमा ९ प्रतिशतले वृद्धि गर्दै लगेको देखिन्छ। अर्थात भारतले आफ्नो परम्परागत शत्रु पाकिस्तानलाई केवल तर्साउन (शैन्य बल देखाएर) ठूलो रकम खर्च गरि रहेको छ। भारतले पाकिस्तान र चीनसँग जोडिएको आफ्नो भूमिमा करोडौ रुपैंया खर्च गरेर ठूलो संख्यामा शेना तैनाथ गरेको छ। पाकिस्तानलाई तर्साउन सुरक्षामा खर्च गर्ने रकम यदि भारतले यस क्षेत्रको बजारको विकासमा गर्ने हो अथवा आफ्नै देशको गरिबी कम गर्नमा गर्ने हो भने यो क्षेत्रमा उल्लेखनीय किसिमले गरिबी घट्ने थियो।

पाकिस्तानको स्थिति पनि भारतको जस्तै छ। पाकिस्तानले पनि सुरक्षामा ठूलो रकम खर्च गरि रहेको छ। र पाकिस्तानले सुरक्षामा गर्ने ठूलो खर्च भारतले आफूमाथि गर्ने कुनै पनि शैन्य कार्यवाहीको जवाफ तुरुन्त दिनका लागि खर्च गरेको सहजै अनुमान लगाउन सकिन्छ। पाकिस्तानले आफ्नो कूल बजेटको लगभग १८ प्रतिशत रकम (सन् २०२०-२१) सुरक्षामा खर्च गर्छ। पाकिस्तानले आफ्नो कूल गार्यहस्थ उत्पादनको लगभग ३ प्रतिशत सुरक्षमा खर्च गर्छ। पाकिस्तानको सशस्त्र शैन्यवल विश्वको छैठो ठूलो शैन्यवल हो भने भारतको सशस्त्र शैन्यवल विश्वको दोस्रो ठूलो (पहिलो चीन) शैन्य वल हो। पाकिस्तान र भारत दुबैले सुरक्षामा ठूलो रकम खर्च गरि रहेका छन। तर यी दुबै राष्ट्रहरूले एक समझदारी कायम गरी यो क्षेत्रमा दीर्घकालीन शान्ति स्थापना गर्ने हो भने यी दुबै राष्ट्रहरूले शैन्य बलमा खर्च गर्ने रकम यस क्षेत्रको अर्थिका विकासमा सदुपयोग हुने थियो।

दक्षिण एशिया र यसको छिमेकी चीन सम्मलित यो भूखण्डको राजनीतिक स्थिति विचित्रको छ। चीनको भारतसँगको सम्बन्ध कटुतापूर्ण छ। यी दुई राष्ट्रहरू बिच साना ठूला गरी अनेकौ पटक युद्धहरू पनि भइसकेका छन्। केही महिना पहिले मात्र भारतको गलबानमा यी दुई राष्ट्रहरू बीच अति क्रुर मुठभेड भएको थियो। यी दुई राष्ट्रहरू बीच सम्बन्ध सुमधुर हुने सम्भावना परसम्म पनि देखिंदैन। यी दुई राष्ट्रहरू बीच युद्ध हुँदा दुबै देशका जनतालाई बेफाइदा भएता पनि नेताहरूलाई राजनीतिक फाइदा (सत्तामा दीर्घकालसम्मको पकड) हुने भएकोले यी दुई देशका नेताहरू जाना जाना, उद्देश्यपूर्वक एक अर्कासँग लडन तयार रहन्छन। दुई देश बिच बेला बेलामा हुने युद्धले आफू (दुबै देशका नेता) हरूलाई राजनीतिक फाइदा हुने भएकोले दुबै देशका नेताहरू यस क्षेत्रमा शान्ति स्थपना नहोस, निरन्तर युद्ध होस भन्ने चाहन्छन। यो कारणले गर्दा पनि भारत र चीन बिच एक किसिमले निरन्तर युद्ध भइरहेको छ।

पाकिस्तान र भारत बीचको सम्बन्ध त झन पानी बाराबारको छ। दुबै एक अर्कोको शत्रुको रुपमा रहेको देखिन्छन। यस्तो हुनमा दुई देशका सामान्य जनता होइन, दुई देशका नेताहरु जिम्मेवार देखिन्छन। यी दुई देश बिच सम्बन्ध राम्रो भएमा आफ्नो राजनीतिक भविष्य असुरक्षित र यदि सम्बन्ध कटुतापूर्ण भएमा सुरक्षित हुने भएकोले यी दुबै देशका केही नेताहरू भारत र पाकिस्तान बिच निरन्तर कटुता होस, निरन्तर साना ठूला युद्ध होस भन्ने चाहन्छन। यो कारणले गर्दा यो क्षेत्रमा शान्ति स्थपाना हुन सकिरहेको छैन। यो क्षेत्रको गरिबी कम हुन सकिरहेको छैन।

भारतलाई पाकिस्तानको शत्रु देखार पाकिस्तानका केही नेताहरुले राजनीतिक फाइदा लिइरहेका छन भने पाकिस्तानलाई भारतको शत्रु देखाएर भारतका केही नेताहरूले राजनीतिक फाइदा लिइरहेका छन। चुनावमा विजय हासिल गरिरहेका छन। सरकार निर्माण गर्न सफल भएका छन। यो कारणले गर्दा पनि यी दुबै देशका नेताहरूले यो क्षेत्रमा शान्ति स्थापित होस, यो क्षेत्र एक बलियो व्यापारिक बजारको रुपमा स्थापित होस भन्ने चाहिरहेका छैनन। यो क्षेत्रमा उनीहरू जहिले पनि उथल पुथल भएको हेर्न चाहन्छन। र यो कारणले गर्दा पनि निरन्तर र प्रत्येक दिन वाक-युद्धमा लीन रहन्छन। तर दुबै देशका जनता भने एक आपसमा समझदारी कायम गरेर शान्तीपूर्वक बस्न चाहन्छ। 

एक समृद्ध बजार हुन सक्ने सम्भावना बोकेको दक्षिण एशिया उल्टो अनेक राजनीतिक दाउपें खेलिने युद्ध मैदान हुन पुगेको छ। पाकिस्तानको क्रियाकलाप भारतसँग हुने साना ठूला युद्धहरूमा मात्र सीमित छैन। पाकिस्तानले अफगानिस्तानको तालिबानहरूलाई सहयोग गरेर अफगानीस्थानलाई पनि अस्थिर पारि रहेको छ। अफगानीस्तान स्थिर भएमा यस देशमा भारतको प्रभाव बढ्ने भयले पाकिस्तानले जहिले पनि अफगानीस्थानलाई अस्थिर भएको देख्न चाहन्छ। अफगानीस्थानको गृहयुद्द समाप्त हुने सम्भावना पनि टाढा टाढा सम्म देखिंदैन। यो देश अझै दसकौं सम्म अशान्त रहने देखिन्छ। यस्तो स्थितिमा कसरी दक्षिण एशिया एक समृद्ध बजार हुन सक्छ? कसरी यो क्षेत्रको गरिबी कम हुन सक्छ?

चीन र भारत बिचको कटुतापूर्ण सम्बन्धको कालो छायाले नेपालको राजनीतिलाई पनि अति नै प्रतिकूल किसिमले असर पारेको छ। यहाँसम्म की नेपालमा स्थापना हुने सरकारको आयु यी दुई राष्ट्रहरूको क्रियाकलापमा भर पर्ने स्थितिमा पुगेकोछ। चीन र भारत बिचको कटुतापूर्ण सम्बन्धले नेपालमा आर्थिक समृद्धि विस्तार गर्न गार्हो हुने देखिएको छ। यी दुबै राष्ट्रहरू नेपालको आर्थिक विकासमा बाधक बन्न सक्छन्

चीन, पाकिस्तान र भारत, यी तिनै पक्षहरू मिलेर यस क्षेत्रमा शान्ति स्थापना गर्न कटिवद्ध हुने हुन भने यो क्षेत्राम शान्ति स्थापना भएर यो क्षेत्र एक बलियो आर्थिक बजारको रुपमा स्थापित हुन सक्छ। तर युद्धमा फाइदा देख्ने स्वार्थी एवं चतुर नेताहरुले यो क्षेत्रमा शान्ति स्थापना भएको हेर्न चाहेका छैनन्। उनीहरूको क्रियाकलाप अनेक निहुँ खोजेर दक्षिण एशियाका राष्ट्रहरू बिच युद्ध गराउनमा नै केन्द्रित रहेको देखिन्छ। यस्तो स्थितिमा दक्षिण एशिया एक बलियो आर्थिक बजार बन्न कठिन छ। यो क्षेत्रबाट गरिबी अन्त्य हुन असम्भव छ।

चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया परेको हुनाले यो क्षेत्र एक बृहत् बजार हुन सक्ने सम्भावन यो स्थितिमा भने देखिंदैन। 

Bishwa Raj Adhikari

akoutilya@gmail.com

No comments:

Post a Comment