के भारत नम्बर एक आर्थिक महाशक्ति होला?
विश्व आर्थिक महाशक्तिहरूको श्रेणीमा अहिले (सन्
२०२० को तथ्यांक अनुसार) एक नम्बरमा संयुक्त राज्य अमेरिका ,दुई
नम्बरमा
चीन र छ नम्बरमा भारत रहेको पाइन्छ। केही वर्ष
भित्रमा यो क्रम बदलिएर एक नम्बरमा चीन दुई नम्बरमा संयुक्त राज्य अमेरिका र तिन
नम्बरमा भारत विश्व आर्थिक महाशक्तिको रुपमा उदाउने अनुमान विज्ञहरूले
गरिरहेका छन। केहीले त भारत केही वर्ष भित्रमा नै विश्वको नम्बर एक आर्थिक
महाशक्ति हुने अनुमान समेत गरिरहेका छन। तर भारतको जनसंख्याको प्रकृति, राष्ट्रिय
आय वितरणको स्थिति, क्षेत्रीय बजारमा भारतको भूमिका, छिमेकी राष्ट्रहरू सँग भारतको
राजनीति एवं आर्थिक सम्बन्ध, भारतीय अर्थतन्त्रमा धर्मको प्रभाव, भारतको आन्तरिक
राजनीति आदि जस्ता तत्वहरूको मूल्यांकन गर्दा भारत विश्वको एक नम्बर आर्थिक
महाशक्ति हुने सम्भावना देखिंदैन। विश्व आर्थिक महाशक्ति हुने दौडमा भारतको स्थान
कहिले छैठौ, कहिले पाँचौ त कहिले चौथोमा
नै सीमित हुने देखिन्छ। भारत किन एक नम्बर आर्थिक महाशक्ति हुन सक्तैन? आउनुहोस यो
प्रश्नको उत्तर खोज्यै।
क्यानाडा र मेक्सिको दुई निकट छिमेकीहरूसँग अमेरिकाले
जसरी सुमधुर सम्बन्ध कायम गरेर राम्रो व्यापारिक फाइदा हासिल गरेको छ त्यस्तो
भारतले गरेको छैन र भारतले गर्न सक्ने पनि देखिंदैन। गर्दैन पनि। भारतको
पाकिस्तानसँग परम्परागत शत्रुतता छ भने नेपाल र बङ्गलादेशसङ्ग पनि राम्रो सम्बन्ध
छैन। कश्मीरको समस्याले गर्दा भारत र पाकिस्तान बिच राम्रो व्यापारिक सम्बन्ध
स्थापना हुने सम्भावना सुदूर क्षितिजसम्म पनि देखिंदैन। उल्टो भारत र पाकिस्तान
बिचको कटुतापूर्ण व्यवहारले गर्दा उच्च सम्भावना बोकेको क्षेत्रीय बाजर (SAARC South Asian
Association for Regional Cooperation) ले प्रभावकारी किसिमले काम गर्न
पाएको छैन। यो वृहत् बाजरले राम्रो गरि काम गर्न पाउने हो भने यस क्षेत्रमा
विद्यमान बेरोजगारी र गरिबी कम हुने थियो। अफगानिस्तानमा तालिबानहरूको पुन:
कब्जाले भारत र पाकिस्तान बिचको कटुतापूर्न सम्बन्धलाई झनै विध्वासत्मकतातिर लग्ने
सम्भावना बढेर गएको छ। भारतले तालिबानहरूको विरोध गर्छ भने पाकिस्तानले
तालिवानहरूलाई सहयोग गर्ने मात्र होइन हात हतियार, प्रशिक्षण आदि पनि तालिबानहरू
दिन्छ भनी विश्वास गर्नेहरू धेरै छन्। अफ्गानिस्तानलाई लिएर हुने भारत र पाकिस्तान
बिचको झगडाले यस क्षेत्रको व्यापारलाई अवश्य पनि प्रभावित गर्नेछ।
राष्ट्रिय आय वितरणको हिसाबले हेर्ने हो भने
भारतमा गरिब र धनी बिचको खाडले विशाल गहिरो छ। यति ठूलो अन्तर विश्वमा अन्त कतै
सजिलै देख्न पाइँदैन। भारतका धेरै परिवारहरू युरोप र
अमेरिकाका अति धनीहरू परिवारहरूझै धनी छन्। उनीहरू अति विलासी जीवन बाँचिरहेका
छन्। तर अर्कोतिर भारतमा अहिले पनि झोपडपट्टीमा बस्नेहरूको संख्या अति उच्च छ।
भारतमा ८ करोड व्यक्तिहरू अहिले पनि झोपट्टीमा बस्छन। विश्वभरिमा झोपडपट्टीमा
बस्नेहरू मध्ये भारतमात्र १७ प्रतिशतको बसोबास छ। गरिब र धनी बीचको यति ठूलो विशाल
खाडल अमेरिका र युरोपमा देख्न पाइँदैन। अमेरिका र युरोपमा पनि घरबारविहीनहरू छन तर
यति ठूलो संख्यामा छैनन्। भारतमा ज्यादै गरिबहरूको संख्या उच्च बिन्दुमा। यो
कारणले गर्दा भारत धनी राष्ट्र हुन सक्छ तर प्रति व्यक्ति आय वितरणको हिसाबले धनी
राष्ट्र हुन सक्तैन।
जसरी चीनको राष्ट्रिय व्यापार केन्द्रिय सरकारको
नियन्त्रण छ भारतमा त्यस्तो छैन। भारत एक प्रजातान्त्रिक राष्ट्र भएकोले यसले
नियन्त्रण गरेर आफ्ना व्यापारीहरूलाई आफूले चाहेको दिशमा हिंड्न बाध्य पार्न
सक्तैन। राष्ट्रिय फाइदा भन्दा आफ्नो फाइदलाई बढी महत्व दिन व्यापारीहरूको विशेष
चरित्र भएकोले भारतलाई व्यापारीहरू उपर नियन्त्रणकारी
कार्य गर्न कठीन हुन्छ तर चीनलाई यो कार्य गर्न कठिन हुँदैन।
कम्युनिष्ट संस्कृतिमा वहुसंख्यक चिनियाहरू
हुर्केको हुनाले उनीहरूमा धर्मान्धता र धार्मिक कट्टरता छैन। यो कारणले गर्दा
चिनियाहरू काम, नाफा र व्यापारलाई अधिक महत्व दिन्छन। चिनियाहरूको पहिलो
प्राथमितामा आम्दानी पर्छ। धर्म पर्दैन। हजारौ चिनियाहरू एकै दिनमा कुनै स्थानमा
पुगेर मन्दिर वा त्यस्तै धार्मिक स्थल उनीहरूल चकनाचूर पारको कहिं कतै सुनिएको छै।
भारत र अफगानिस्तानमा त्यस्तो भएको छ।
भारतमा
धर्मले राजनीतिलाई अधिक प्रभाव पारेको छ नै त्येतिकै प्रभाव व्यापारलाई पनि पारेको
छ। भारतको जनसंख्या नै धर्मको नाममा विभाजित छ। भारतमा, धर्म नेताहरूको लागि चुनाव
जितेर सरकारमा जाने भर्याङ्ग बनेको छ भने अर्कोतिर त्येही अति धार्मिक भावनाले
भारतको राष्ट्रिय व्यापारलाई नराम्रो गरी प्रभावित गरेको छ।
विज्ञान र प्रविधि दुबै क्षेत्रमा चीन भारत भन्दा
निकै अगाडि छ। केही वस्तुको उत्पादनमा चीनले उच्च परिमाणमा उत्पादन गर्दा पाइने
आर्थिक फाइदा (economy
of scale) पाइरहेको छ। खास गरी एलेक्ट्रोनिक सामानहरूको
उत्पादनमा उत्पादन लागत कम गर्न चीनले उच्च कुशलता प्राप्त गरेको छ। यो कारणले
गर्दा चिनिया सामानहरू विश्वको जुन सुकै बजारमा पुग्दा पनि अन्य प्रतिस्पर्धी
बस्तुहरू भन्दा सस्तो हुन पुगेका छन्। नेपाली बजारहरूमा हामीले सामान खरिद गर्दा
भारतीय वस्तुहरू भन्दा चिनिया वस्तुहरू सस्तो रहेको हामीले देखे, भोगेको कुरा हो। यो
कारणले गर्दा पनि चीनको तुलनामा भारतको राष्टिय ब्यापारको आकार तत्काल बढ्ने
सम्भावना देखिंदैन।
भोलिको दिनमा के होला, चीनको मनमा पनि ठूल दाइ
हुने भावना जागृत होला, अहिले भन्न सकिने स्थिति छैन, तर आजको दिन सम्म चीनले
आफ्ना छिमेकीहरूलाई दबार वा आफ्नो सुरक्षा छाताभित्र राख्न खोजेको छैन। चीनले
आफ्ना छिमेकीहरूसङ्ग ठूलो दाइको व्यवहार गरेको पनि छैन। आफ्नो राजनीतिक स्वार्थ
कुनै राष्ट्रले पूरा नगरिदिंदा त्यस राष्ट्र उपर चीनल व्यापारिक नाकाबन्दी लगाएको
सुनिएको छैन। तर भारतले छिमेकी राष्ट्रहरूसँग ठूलो दाइको सम्बन्ध राख्न खोजेको र
नेपाल माथि व्यापार नाकाबन्दी लगाएएको हामी सबैले देखेको कुरा हो। तर भारतको यो
व्यवाहारले भारतलाई नै बेफाइदा पुग्ने देखिन्छ। र यो कारणले गर्दा भारतले नेपाल,
श्रीलंका, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान जस्ता मुलुकहरुमा निर्यात गर्दा
असहजता महसुस गर्नु परको छ।।
भारतीय समाजको ठूलो हिस्साले धन प्राप्तिलाई
आकस्मिकता वा ईश्वरको कृपा मान्दछ। त्यहाँ कुनै पनि व्यक्ति अत्यधिक धन आर्जन गर्न
सफल भएमा उसले आफ्नो कुशलता भन्दा इश्वरको कृपालाई धन आर्जन कारक तत्व मान्दछ।
भारतीय समाज भाग्यवादी समाज हो। धनको लागि भारतीय समाजले धनकी देवीको पूजा गर्छ।
लगभग हरेक व्यक्तिले धन पाउन धनीकी देवीको पूजा गर्छ। चिनिय समाज कर्मवादी समाज
हो। कुनै पनि व्यक्ति धनी हुनुमा उसको कार्यकुसलता जिम्मेवार रहेको विचारमा चिनिया
समाजले बलियो गरि विश्वास गर्छ। हेर्दा यो कुरा सामान्य देखिएता पनि यो कुराले
कुनै राष्ट्रलाई धनी वा कुनै राष्ट्रलई गरिब तुल्याउनमा महत्वपूर्ण भूमिका खेलेको हामीले
देखेका नै छौ।
यस बाहेक भारतीय समाजमा काम सँग इज्जतलाई जोड्ने
गरिन्छ। यो काम ठूलो यो काम सानो भन्ने भावले समाजलाई ग्रसित गरेको छ। सानो
मानिएको काम नगरेर पनि बेरोजगार हुनेहरूको संख्या भारतमा उच्च छ।
यस्ता अनेक दृश्य तथा अदृश्य कारणहरू छन् जसले
भारतलाई एक नम्बर आर्थिक महाशक्ति हुन दिने छैनन्। तर एक नम्बर आर्थिक महाशक्ति
हुन सक्ने सम्भावना भने भारतमा प्रचूर मात्रामा छ। भारतको जनसंख्या ठूलो छ, दक्ष
कामदारहरूको कमी छैन, पूँजीको पर्यप्तता छ, प्रविधिमा अगाडि छ र यस्ता कुराहरुले
आर्थिक महाशक्ति हुन सहयोग पुर्याउँछ। तर माथि उल्लेख गरिएका कारणहरूले भारतलाई एक
नम्बर आर्थिक महाशक्ति हुन दिने छांटकांट देखिंदैन।
हुनत भारत नम्बर एक आर्थिक महाशक्ति हुनु नेपालको
लगि राम्रो हो। चीन एक नम्बर आर्थिक महाशक्ति हुने स्थितिमा भन्दा भारत एक नम्बर
आर्थिक महाशक्ति हुने स्थितिमा नेपाललाई राम्रो आर्थिक फाइदा हुन्छ। भारत एक नम्बर
आर्थिक महाशक्ति भएको स्थितिबाट आर्थिक फाइदा उठाउनका लागि नेपालले भने भारतबाट
असल छिमेकीको व्यवहार र सोंच दुबै राम्रो पाउन आवश्यक छ।
विश्वराज अधिकारी
Friday, August 27, 2021
https://eprateekdaily.com/2021/08/26/20635/
No comments:
Post a Comment