शिक्षा र स्वास्थ्यमा ब्यापार नगरौ
शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको आर्थिक
विकासका लागि दुई महत्वपूर्ण संरचनाहरू हुन। यी दुई संरचनाहरूले मजबुत खम्बाको काम
गरेका हुन्छन। समग्रमा भन्ने हो भने कुनै पनि देशको राजनीतिक, सामाजिक र आर्थिक
विकास यी दुई खम्बाहरूमा नै अडेको हुन्छ।
देशको शैक्षिक स्थिति कमजोर भएमा त्यस देशको जनता
गरिबीको कुचक्रमा फंस्न पुग्छ। यसैगरी अनेक स्वास्थ्य समास्या भएका व्यक्तिहरूबाट
शरारिक काम हुन नसक्ने भएकोले देशको श्रम बजारलाई जन स्वास्थ्यले गहिरो असर पारेको
हुन्छ। विभिन्न किसिमका रोगबाट पीडित व्यक्तिहरूले आफ्नो र परिवारको जीविकाकाको
लगि आय आर्जन गर्न सक्तैनन। यी कारणहरूले गर्दा कुनै पनि राष्ट्रले जन स्वास्थ्य र
शिक्षालाई सर्वाधिक महत्व दिएको हुन्छ। विकसित एवं धनी देशमा शिक्षा र स्वास्थ्यको
क्षेत्रमा गरिबको पहुँचलाई सजिलो पारिएको हुन्छ। विकसित राष्ट्रहरूमा स्कूल
(माध्यमिक) तहसम्मको शिक्षा नि:शुल्क हुन्छ।
धनी र विकासित देशमा शिक्षा र स्वास्थ्य मुख्य
गरी दुई पक्षहरू- सरकार एवं समुदायले सञ्चालन गरेका हुन्छन। शिक्षा र
स्वास्थ्यमाथि सरकार एवं समुदायको नियन्त्रण हुन्छ। शिक्षा र स्वास्थ्यलाई
व्यापारिक वस्तु (सेवा) मानिएको हुँदैन। कसैले ठूलो र अति सुविधा सम्मपन्न अस्पताल
सञ्चालन गरेर करोडौ रुपयाँ नाफ गर्ने उद्देश्य राखेको हुँदैन। जन स्वास्थ्य जस्तो
संवेदनशील क्षेत्रलाई नाफा कमाउने आकर्षक र भरपर्दो श्रोतको रुपमा हेरिकएको
हुँदैन। साना वा ठूला सबै किसिमका अस्पतालहरू समुदाय वा सरकारले सञ्चालन गरको
हुन्छ।
यसैगरी धनी र विकशित देशहरूमा शिक्षालाई पनि
व्यापारिक वस्तु (सेवा) मानिएको हुँदैन। अर्थात व्यापारीहरूले अत्यधिक मुनाफा
गर्ने (आउने) किसिमबाट स्कूल वा केलजको स्थापना गरेका हुँदनन्। स्कूल वा कलेजलाई
व्यापारको क्षेत्र बनाइएको हुँदैन। सरकार वा समुदायको खर्चमा स्कूल वा कलेजहरू
स्थापना एवं सञ्चालन भएका हुन्छन। उपभोक्ताहरूको लागानीमा स्थापना एवं सञ्चालन
भएको हुन्छ।
विकसित देशहरूमा बस्ने गरिबहरूको आम्दानीको ठूलो
भाग शिक्षा र स्वास्थ्य सेवा खरिद गर्नमा जान पाउँदैन। शिक्षा र स्वास्थ्यमा बचत
भएको रकम उनीहरूले अन्यत्र उपयोग गर्न पाउँछन। र यो कारणले गरिबहरूलाई पनि एक
किसिमको स्तरयुक्त जीवन बाँच्न सजिलो हुन्छ।
हामी कहाँ शिक्षा र स्वास्थ्य अति खर्चिलो मात्र
होइन यी दुई सेवाहरू व्यापारिक वस्तु बन्न पुगेका छन। ठूलो रकम लिएर शिक्षा र
स्वास्थ्य सेवा बिक्री गरिन्छ। शिक्षा र स्वास्थ्य सेवा बिक्री गरेर
लगानीकर्ताहरूले करोडौ रुपैयाँ (आय) आर्जन गर्ने लक्ष्य राखेका हुन्छ। अर्थात हामी
कहाँ शिक्षा र स्वास्थ्य सेवालाई अति मुनफा लिएर बिक्री गरिने वस्तुको रुपमा
किनबेच गरिएको पाइन्छ। तर यथार्थमा शिक्षा र स्वास्थ्य सेवा व्पापारिक बस्तु
नबन्नु पर्ने हो। शिक्षा र स्वास्थ्यले व्यक्तिको व्यक्तित्व निर्माणमा महत्पूर्ण
भूमिका खेल्न हुनाले यी दुई कुराहरूलाई व्यापारबाट ढाढा राखिनु पर्ने हो। तर
स्थिति उल्टो छ, नेपालमा शिक्षा र स्वास्थ्य अति मुनाफा उत्पादन गर्ने भरपर्दो
स्रोत हुन पुगेका छन्। यो स्थितिले देशको आर्थिक विकासमा प्रतिकूल प्रभाव पार्छ।
हामी कहाँ स्वास्थ्य सेवा त झन अति मुनाफ दिने
व्यापार हुन पुगेको छ। निजी खर्चमा ठूला ठूला अस्पतालहरुको निर्माण एवं सञ्चालन
भएका छन। अस्पतालहरू सञ्चालन गरेर व्यापारिकहरू ठूलो आम्दानी हात पारेका छन। जन
स्वास्थ्य जस्तो संवेदनशील सेवा एक राम्रो आम्दानी दिने व्यापारिक वस्तु (सेव) हुन
पुगेको छ। यो कारणले गर्दा गम्भीर बिमारी भएर गरिबहरूले स्वास्थ्य सुविधा लिंदा
उनीहरू ऋणमा डुब्ने वा कतिपय अवस्थामा स्वास्थ्य सुविधा नपाउने स्थिति सृजना भएको
छ।
हामी कहाँ स्वास्थ्य क्षेत्र कतिसम्म व्यापारमा
डुबेको छ कि विद्यार्थीहरूले अध्ययनका लागि चिकित्सा विषय भविष्यमा राम्रो लाभ
पाउने उद्देश्यले रोजेका हुन्छन। जसरी एउटा व्यपारीले कुनै खास किसिमको व्यापार
गरेर धेरै पैसा कमाउने उद्देश्य राखेको हुन्छ त्यसैगरी युवा युवतीहरूले चिकित्सा
विषय पढेर वा डाक्टर बनेर धेरै पैसा कमाउने उद्देश्य राखेका हुन्छन। भविष्यमा
राम्रो आम्दानी आउने लोभमा युवा युवतीहरूले मेडिकल कलेजहरुमा भर्ना पाउन लाखौ
रुपैयाँ पनि खर्च गरेका हुन्छन पनि। यसरी हामी कहाँ चिकित्सा विषयको अध्ययन पनि
व्यापार हुन पुगेको छ।
हाम्रो सार्वजनिक क्षेत्र ज्यादै कमजोर भएकोले
चिकित्सा र शिक्षा क्षेत्र निजी क्षेत्रको नियन्त्रणमा पुगेको हो। र यी दुबै क्षेत्रमा अत्यधिक मुनाफा पाउने
किसिमबाट निजी क्षेत्रको लगाउनी हुन पुगेको हो। शिक्षा र स्वास्थमा नेपालमा
सार्वजनिक क्षेत्रबाट ज्यादै कम लगानी भएको छ। केवल सरकारलाई जिम्मेवार ठहर गरेर
स्थानीयीहरूको सहभागीतामा (स्थानीय स्तरमा खर्च बेहोरेर) स्कूल, कलेज तथा
अस्पतालहरूको स्थपाना ज्यादै कमै भएको पाइन्छ। स्थानीय स्तरमा स्कूल, कलेज, अस्पतालहरूको
स्थपना भएर, मुनाफा नलिने किसिसमबाट ती संस्थाहरूको सञ्चालन हुने हो भने शिक्षा र
स्वास्थ्यलाई पनि निर्धनहरुको पहुँच भित्र ल्याउन सकिन्छ।
नेपालमा सार्वजनिक क्षेत्र ज्यादै नै कमजोर छ।
अर्थात स्थानीय स्तरमा मिलेर, सार्जनिक लगानीमा अनेक किसिमका आर्थिक विकासका
पूर्वाधारहरू (स्कूल, कलेज, अस्पताल, पूल, सडक, नाला, भवन, शीत भण्डार, बीज
भण्डार) निर्माण गर्न परिपाटी हामी कहाँ शून्य बराबर छ। केवल सरकारलाई मात्र हरेक
कार्यको लागि जिम्मेवार ठहर गर्ने हाम्रो परम्परागत स्वभाव वा मान्यताले गर्दा
अनेक किसिमका श्रोत र साधनहरू भएता पनि हामी आर्थिक विकासको मामिलामा निकै पछाडि
छौ। हाम्रो उन्नति र प्रगतिको लागि अनेक क्रियाकलापहरू अरु (सरकार) ले होइन हामीले
नै गर्ने हो भन्ने भावना प्रत्येक व्यक्तिमा जागृत नभएसम्म हामी गरिबीको दलदलबाट
बाहिर आउन कठिन छ। रोजगारीका लागि हामीले विदेश धाउनु पर्ने स्थितिको यही अवस्थमा
रहिनै रहने छ।
नेपालका चर्चित सामाजिक अभियन्ता डाक्टर गोविन्द
केसीले राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा स्वास्थ्य सेवाको महत्व उच्च हुन्छ र
स्वास्थ्य सेवा गरिबहरुको दैलो दैलोमा पुर्याउन स्वास्थ्य क्षेत्रमा निजी होइन
सार्वजनिक क्षेत्रको लगानी हुनु पर्छ भन्ने कुरा राम्रो गरी बुझेका छन्। त्यसकारण डाक्टर
केसीले निजी क्षेत्र होइन, सार्वजनिक तथा सरकारी क्षेत्रवाट मेडिकल कलेजहरुको
स्थपना हुनु पर्छ र त्यस्ता मेडिकल कलेजहरुमा गरिबका सन्तानहरूले पनि डाक्टरी
शिक्षा पढ्न पाउनु पर्छ भन्ने कुरामा जोड दिइ रहेका छन। नेपालको चिकित्सा विषयको
अध्ययन भन्ने हो भने एक किसिमले धनीहरूको हातमा पुगेको छ। स्वास्थ्य सेवा यो
कारणले गर्दा महँगो हुन पुगेको छ। गरिबहरूको पहुँच भन्दा पर पर पुगेको छ।
संसारभरिका गरिबहरूलाई स्वास्थ्य सेवा प्रदान
गर्न तयार रहने केसीको ‘स्वास्थ्य दर्शन’ वा ‘स्वास्थ्य सम्बन्धी वकालत’ यो कारणले
गर्दा पनि लोकप्रिय हुन पुगेको हो। उनीप्रति जन समर्थन अतिनै बढेर गएको छ। नेपालको
सन्दर्भमा भन्ने हो भने उनले एक प्रम भन्दा उच्च सम्मान तथा माया पाएका छन।
२१ सेप्टेम्बर (२०२१) विश्व शान्ति दिवस हो। यो
शान्ति दिवसको दिन डा केसीको अगुआइमा संयुक्त राज्य अमेरिका स्थिति न्युयोर्क
शहरमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय अगाडी ‘विश्व शान्ति, सद्भाव र
समानताका’ का लागि शान्तिपूर्ण प्रदर्शन
हुने कार्यक्रम रहेको खबर हालै सार्वजनिक भएको छ। केही दिन पछि डा केसी अमेरिका
आउने कार्यक्रम रहेको छ। समाचार स्रोतहरू भन्छन, “डा गोविन्द केसीले विश्व शान्ति
दिवसको अवसरमा सुंक्त राष्ट संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण
प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्।”
यो लेखको उद्देश्य निजी क्षेत्रलाई स्वास्थ्य र शिक्षा व्यवसायबाट पर राख्नु पर्छ भन्नु होइन। औषधी उत्पादन, वितरण, मेडिकल औजार उत्पादन, मेडिकल सप्लाई उत्पादन जस्ता कार्यहरूमा निजी क्षेत्रको सहभागिता हुनु पर्दछ। यसैगरी शिक्षा सामाग्रीहरू उत्पादन एवं वितरणमा पनि निजी क्षेत्रको संलग्नता हुनु पर्दछ। कुनै पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने हुनाले स्वास्थ्य र शिक्षा क्षेत्रमा निजि क्षेत्रको भूमिका पनि महत्वपूर्ण रहने यथार्थ विर्सन मिल्दैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, September 10, 2021
https://eprateekdaily.com/2021/09/09/21629/
No comments:
Post a Comment