Wikipedia

Search results

Friday, May 12, 2023

Hopelessness in Public Hurting Nepali Economy-Article-412

 घोर निराशा : आर्थिक विकासको बाधक

अरू सबै कुरा रित्तिएर नेपालसँग अहिले केवल श्रम मात्र छ। र त्यही श्रम नेपालले अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर दुई छाकको जोहो गरिरहेको छ। २०६३ सालमा भएको राजनीतिक परिवर्तन र उक्त परिवर्तनले ल्याएको गणतन्त्रले नेपाललाई लगभग रित्तो नै पारिसक्यो। बिक्री गर्नका लागि नेपालसँग अहिले श्रम बाहेक केही छैन। नेपालको राजनीतिक र अर्थ व्यवस्था दुई–चार राजनीतिक दलहरूको हातमा रहेको स्थितिले नेपाललाई आर्थिकरूपमा टाट पल्टिने स्थितिमा पुर्याइसकेको छ। नेपालको अर्थतन्त्र बूढो गोरुजस्तो कहिले उठ्न नसक्ने गरी थच्किन्छ भन्न सकिने स्थिति छ। ठूलो अनिश्चितता छ।

कुनै समय नेपाल भित्रै कृषि औजार, जुट, छाला, कन्फेसक्नशरी, चिनी, धान चामल, तोरी, कपडा, मोजा, स्टिलका भाँडा, हस्तकलाका सामग्री, चिया, कागज, सलाई, साबुन आदि आदि ठूलो परिमाणामा उत्पादन हुन्थ्यो। चामल त नेपालको आन्तरिक उपभोगभन्दा बढी भएर विदेश निर्यात गर्नुपथ्र्यो। त्यस्तो स्थितिमा रहेको नेपाल अहिले केवल श्रम मात्र उत्पादन गर्न सक्ने स्थितिमा पुगेको छ। देशलाई कसले पुर्यायो यो स्थितिमा? यस प्रश्नको उत्तर गणतन्त्रवादीहरूले दिनुपर्छ किनभने पञ्चायत व्यवस्थाले देशको आर्थिक विकास गरेन भनेर उनीहरूले पञ्चायत मात्र होइन, संवैधानिक राजतन्त्रसमेत फालेका थिए। व्यवस्था परिवर्तन गर्न भनेर नै १७ हजार नेपालीको ज्यान जाने स्थिति सृजना गरेका थिए। ती गणतन्त्रवादीहरूले अहिले के गर्दैछन् र कस्ताकस्ता भ्रष्टाचार काण्डमा मुछिएका छन् भन्ने कुरा जगजाहेर छ।

हरेक दिन सयौंको सङ्ख्यामा नेपाली श्रम बिक्री गर्ने अन्तर्राष्ट्रिय बजारतर्फ लागिरहेका छन्। श्रम बजारमा नेपालीहरू प्रवेश गरिरहेको अवस्था हेर्दा नेपाल छाड्ने नेपालीहरूलाई तीन समूहमा विभाजित गर्न सकिन्छ।

पहिलो समूहमा त्यस्ता नेपाली पर्छन् जोसँग सीप र शिक्षा दुवै छ। र उनीहरूले विदेशमा आफ्नो सीप र शिक्षा (डिग्री) बिक्री गरेर स्वदेशभन्दा सहज र स्तरीय जीवन बाँच्न सक्छन्। नेपालले साधन र स्रोत खर्च गरेर तयार पारेको यस्तो जनशक्ति राष्ट्रको भू–राजनीतिक कारणले अर्को देशको लागि काम गर्नुपर्ने स्थिति छ। कस्तो विडम्बना!  आफ्नो लगानीमा तयार पारेको जनशक्ति आफ्नै राष्ट्र निर्माणमा उपयोग हुन सकिरहेको छैन। राष्ट्रलाई कति ठूलो घाटा भइरहेको छ। यस्तो जनशक्ति विदेशमा नै सदाका लागि बस्दा राष्ट्रलाई झन् कत्रो घाटा हुन्छ?

अध्ययनका लागि विदेश जाने। अध्ययन समाप्त गरेर विदेशमा नै स्थायी बसोवास गर्ने। यस्तो गर्ने नेपाली दोस्रो समूहमा पर्दछन्। यस्ता नेपालीहरूले अवसर पाएमा छोटै समयमा धेरै कमाएर विलासी जीवन बिताउन सक्छन्। नेपालबाट अमेरिका आएर गुगल, टिकटक, एमेजन, एप्पलजस्ता धनी एवं प्रख्यात कम्पनीहरूमा काम गर्ने नेपालीको सङ्ख्या पनि कम छैन। 

विदेश पुगेर कोरा श्रम बिक्री गर्ने नेपाली तेस्रो समूहमा पर्दछन्। केवल लेखपढ गर्न जान्ने वा सामान्य शिक्षा प्राप्त गरेका नेपालीहरू अहिले ठूलो सङ्ख्यामा खाडी मुलुकहरू, मलेशिया, इजराइललगायत युरोपका अनेक गरीब राष्ट्रमा समेत पुगिरहेका छन्। केवल सामान्य श्रम बिक्री गर्ने समूहमा पर्ने यी व्यक्तिहरूको आम्दानी त्यति राम्रो नभए तापनि नेपालमा आर्जन हुनेभन्दा बढी हुन्छ र एक्लो बसेको हुनाले केही बचत पनि हुन्छ। कोरा श्रम बिक्री गर्न विदेश पुगेका युवा पनि विदेशमा लामो  बसिरहेका छन्।

यस लेखमा भने दुई महत्वपूर्ण विषय उठान गर्न खोजिएको छ। पहिलो विषय हो नेपालका केही नेताहरूले सृजना गरेको राष्ट्रिय अवस्था र त्यो अवस्थाले सृजना गरेको चरम निराशा। अनि त्यो चरम निराशाले नेपालको अर्थतन्त्रमा पारेको कुप्रभाव।

अहिले नेपालमा चरम निराशा व्याप्त छ। युवा पीढी त झनै निराशाको खाडलमा डुबेको छ। नेपालमा केही गर्न सकिंदैन। दुई चार पैसा कमाएर सरल जीवन बिताउन विदेश नै जानुपर्छ भन्ने मनोविज्ञानले नेपाली युवाहरूलाई सताएको छ। अर्थात् यो देश (नेपाल) मा केही गर्न सकिन्छ भन्ने आशा नेपाली युवाले गुमाइसकेको छ। उच्च शिक्षा प्राप्त गरेका हुन् वा सामान्य शिक्षा, सबै किसिमका युवामा नेपालमा अब केही गर्न सकिंदैन भन्ने मनोविज्ञानले बलियो गरी जरो गाडेको छ। यति मात्र होइन, अभिभावकहरू पनि यो मनोविज्ञानको शिकार भएका छन्। मात्र १२ कक्षाको अध्ययन समाप्त गरेका छोराछोरीलाई विदेश (पढ्न) पठाउन आतुर देखिएका छन्। यसरी युवा मात्र होइन, उनका अभिभावकलाई पनि नेपालमा आफ्ना सन्तानको भविष्य सुरक्षित छैन, सुखी छैन भन्ने लागेर विदेश जाने भूत चढेको छ। युवा र तिनका अभिभावकमा पनि चरम निराशा उत्पन्न हुनु र नेपालमा अब केही गर्न सकिंदैन भन्ने लाग्नु ज्यादै डरलाग्दो स्थिति हो। यो स्थितिले देश आर्थिकरूपमा मात्र बर्बाद हुँदैन, भोलिका दिनमा नेपाल, देशको रूपमा रहन सक्छ कि सक्तैन भन्ने डर पनि सृजना गर्दछ। देशमा आफ्नो भविष्यलाई लिएर, त्यहाँका नागरिकमा चरम निराशा व्याप्त हुनु अति डरलाग्दो स्थिति हो। यो स्थितिलाई सामान्यरूपमा लिने भूल कसैले पनि गर्नुहुँदैन।

यस लेखमा उठान गर्न खोजिएको दोस्रो विषय हो–जनशक्ति क्षय। युवाहरू ठूलो सङ्ख्यामा विदेश गएमा हामीले जनशक्तिको ठूलो क्षय बेहोर्नुपर्नेछ। अहिले जुन किसिम र सङ्ख्यामा नेपाली युवाहरू शिक्षा, रोजगार र राम्रो आम्दानीका लागि विदेश गइरहेको छन् र त्यो स्थिति भविष्यमा पनि जारि रहेमा, केही वर्षभित्रै नेपालमा जनशक्तिको ठूलो अभाव हुनेछ। देशभित्र सामान्य काम गर्न पनि जनशक्तिको ठूलो अभाव हुनेछ। गाउँ–घरतिर त कृषि जनशक्तिको ठूलो अभाव अहिले नै महसूस भइसकेको छ। शहरतिर उद्योग र व्यापारको तीव्रगतिमा विकास भएको भए, शहरमा पनि जनशक्तिको ठूलो अभाव अनुभव हुन्थ्यो। नेपालका शहरहरूमा अहिले उत्पादनको स्थिति दयनीय छ। भएका उद्योग बन्द छन्। सरकारी स्तरमा सञ्चालित उद्योगहरू (जनकपुर चुरोट कारखाना, वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना आदि) समेत बन्द छन्। गोरखापत्र संस्थान, नेताहरूलाई आफ्नो विचार र स्वार्थ सम्प्रेषण गर्न सजिलो माध्यम बन्ने भएकोले नै यो संस्थान अहिलेसम्म जीवित छ। 

देशमा रोजगार उपलब्ध नहुनु, बाध्य भएर रोजगारका लागि विदेश जानुपर्ने स्थिति हुनु, देश आर्थिकरूपले निरन्तर कमजोर हुँदै जानु अति गम्भीर विषय त हो नै, तर यसभन्दा अति गम्भीर विषय देशमा चरम निराशा व्याप्त हुनु हो।

नेपालमा अहिले चरम निराशा व्याप्त छ। खासगरी युवाहरूमा चरम निराशा व्याप्त छ। स्वदेश (नेपाल) मा बसेर नै केही गर्न सक्ने, अर्को शब्दमा, आर्थिक रूपमा सक्षम र शिक्षा एवं सीपले युक्त युवाहरूले पनि नेपाल छाडिरहेका छन्। किन? नेपालभन्दा स्थिरता र सुख विदेशमा देखिरहेका छन्। किन? आफ्नो भविष्य विदेशमा सुरक्षित हुने विश्वास लिएर विदेशतिर पलायन भइरहेका छन्। किन?

गरीब एवं साधन तथा स्रोतको अभाव भएर, स्वदेशमा केही गर्न नसकिने स्थिति देखेर विदेश पलायन हुनु एक किसिमले सही हो। तर आर्थिकरूपमा सक्षम र शिक्षा र सीपले युक्त युवाहरूसमेत विदेशतिर पलायन हुने स्थिति ठीक होइन। यो डरलाग्दो स्थिति हो। यो स्थितिले नेपाली युवामा चरम निराशा व्याप्त छ भन्ने अनुमान, बलियोगरी, सत्य हो भन्ने पुष्टि हुन्छ।

नेपालमा धेरै कुरा छ। नेपाल साधन र स्रोतले धनी राष्ट्र हो। नेपाललाई बर्बाद पारेको वर्तमानको राजनीतिले हो। केही नेताको स्वार्थी प्रवृत्तिले हो। र यी स्वार्थी नेताहरूलाई चुनावमा पुनःपुनः विजयी गराउने मतदाताहरूको अज्ञानताले हो। केही मतदाताको स्वार्थले हो।

नेपालमा राजनीतिक परिवर्तन हुनासाथ, स्वार्थी नेताहरूको गतिविधिमा अङ्कुश लाग्नासाथ, इमानदार नेताहरूको उदय हुनासाथ, वर्तमान नेपालको संविधानमा संशोधन हुनासाथ, वर्तमान चुनाव पद्धतिमा परिवर्तन हुनासाथ, नेपालमा आर्थिक विकासको युगको सूत्रपात हुनेछ। आर्थिक विकासको युग फर्किनेछ।

नेपालको वर्तमान राजनीतिले हामीलाई अहिले सुनको कटौरा लिएर भिक्षा माग्ने स्थितिमा पुर्याएको छ। हामीसँग सुनको कटौरा (स्रोत एवं साधन) त छ, तर हामी भीख मागिरहेका छौं। हाम्रो त्यस सुनको कटौराको हामीले उपयोग गर्न सकेका छैनौं।

नेतृत्व परिवर्तन हुनासाथ, राजनीतिमा इमानदार नेताहरूको प्रवेश हुनासाथ, हामी त्यो सुनको कटौरा प्रयोग गर्ने स्थितिमा पुग्नेछौं। अवश्य पुग्नेछौं।

हामी यो घोर निराशाको स्थितिबाट बाहिर आउनेछौं, आउनुपर्छ, आशावादी हुनुपर्छ ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 12, 2023

https://eprateekdaily.com/2023/05/11/50933/ 

No comments:

Post a Comment