नेपाल: राजनीतिक बेथितिका कारण गरीब
साधन
र स्रोतहरूको अभावमा देश गरीब हुन पुग्छ। द्वन्द्व, सङ्घर्ष र युद्धका कारण देश गरीब हुन पुग्छ। राजनीतिक व्यवस्था
निरङ्कुश भएमा देश गरीब हुन सक्छ। राष्ट्रपति वा प्रधानमन्त्री तानाशाह भएमा पनि
देश गरीब हुन पुग्छ। तर राजनीतिक बेथितिका कारण पनि देश गरीब हुन पुग्छ। बर्मा, माली, हैटी, भेनेजुएला, पाकिस्तान, अफगानिस्तान, इरान, कङ्गो आदि राजनीतिक बेथितिका कारण गरीब
भएका राष्ट्रहरू हुन्।
राजनीतिक
बेथितिका कारण गरीब भएका देशहरूको सूची लामो छ। नेपाल राजनीतिक बेथितिका कारण पनि
गरीब भएको हो। नेपाल गरीब हुने अन्य कारणहरू पनि होलान्। तर महत्वपूर्ण कारण भने
राजनीति बेथिति हो। खासगरी २०४७ सालमा भएको राजनीति परिवर्तनले देशमा
प्रजातन्त्रसँगै राजनीतिक बेथिति पनि ल्यायो। अझै भन्ने हो भने राजनीतिक बेथिति
ठूलो मात्रामा ल्यायो। अकल्पनीय किसिमले ल्यायो।
राजनीतिक
बेथिति के हो? नेपालमा राजनीतिक बेथिति कसरी आयो? र राजनीतिक बेथितिले नेपाललाई कसरी गरीब बनायो ? आउनुहोस्, यी प्रश्नहरूको उत्तर खोजौं। देश विधि
अनुसार चल्नुपर्छ। ऐन, नियम र कानून अनुसार चल्नुपर्छ। ऐन, नियम, कानून सबै नागरिकका लागि समान हुनुपर्छ।
नेता वा शक्तिशालीहरूको लागि एकथरी र सामान्य नागरिकको लागि नियम, कानून, ऐन अर्को थरी हुनुहुँदैन।
यसैगरी, देशका साधन र स्रोतहरूको उपयोग जनताको हितमा हुनुपर्छ। देशका साधन र
स्रोतहरूको उपयोग दल वा तिनका नेताहरूको लागि हुनुहुँदैन। स्रोत र साधनहरूको उपयोग
दल र नेताहरूलाई शक्तिशाली तुल्याउनका लागि उपयोग हुनुहुँदैन।
हाम्रो
देशमा र मुख्यगरी २०४७ सालको राजनीतिक परिवर्तनपछि राजनीतिक दल र तिनका नेताहरूले
जनताको बृहत्तर हित हुने होइन आफ्नो र आफ्नो दलको हित हुनेगरी ऐन, कानून र नियमहरू बनाए। राष्ट्रको आर्थिक विकासको लागि निर्णय गर्ने
पदहरूमा आफ्नो दलका व्यक्तिहरूलाई नियुक्त गरेर। सम्बन्धित क्षेत्रका विज्ञहरूलाई
गरेनन्। स्वतन्त्र व्यक्तिहरूलाई गरेनन्।
यसैगरी, राजनीतिक दल र तिनका नेताहरूले देशका स्रोत र साधनहरूको दुरुपयोग गरे।
आफूहरू निरन्तर शक्ति र सत्तामा रहनका लागि राष्ट्रिय स्रोत र साधनहरूको चरम
दुरुपयोग गरे। दल र तिनका नेताहरूले गरेका यस्ता कार्यहरूले गर्दा नै नेपालमा
राजनीतिक बेथिति उत्पन्न भयो र त्यो बेथिति नै आर्थिक विकासको लागि तगारो हुन
पुग्यो। बाधक हुन पुग्यो। यो, ऊ नभनौं, सबै राजनीतिक दलका त्यस किसिमका कार्यले
गर्दा नै नेपालमा राजनीतिक बेथिति उत्पन्न भएको हो। साधन र स्रोतले भरिपूर्ण भएको
देश भए तापनि नेपालको विकास हुन सकेको छैन। दल र तिनका नेताहरूद्वारा सृजित
राजनीतिक बेथितिले देशलाई आर्थिक विकासको गति द्रुत्ततर गतिमा दौडिन दिएन।
दल र
तिनका नेताहरूले देशको लागि होइन, केवल
आफ्नो स्वार्थ मात्र सोचेको कारणले गर्दा नेपालमा ठूलो मात्रामा राजनीतिक बेथिति
उत्पन्न भयो र त्यो बथितिले देशभित्र उद्योगहरूको स्थापना प्रचुर मात्रामा हुन
दिएन । कृषि उत्पादन घटेर गयो । औद्योगिक उत्पादन घटेर गयो । कुनै बेला सिङ्गापुर, श्रीलङ्का, भारत, बङ्गलादेश, मरिसस आदि देशमा चामल निर्यात गर्ने देश नेपाल चामल आयात गर्ने देश
हुन पुग्यो।
दलहरूको
राजनीतिक भागबन्डा (कार्यकारी प्रमुख, महाप्रबन्धक, सञ्चालक समिति–सदस्य आदि नियुक्ति)का कारण सार्वजनिक संस्थानहरू
(वीरगंज चीनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, भृकुटी
कागज कारखाना, हेटौंडा सिमेन्ट उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, गोरखकाली
रबर उद्योग आदि) को कुशल व्यवस्थापन हुन सकेन। अक्षम व्यवस्थापन र संस्थानहरूभित्र
अति राजनीति भएको कारणले ती संस्थानहरू घाटामा गए। पछि बन्द नै हुने स्थितिमा पुगे।
सार्वजनिक संस्थानहरूले ठूलो सङ्ख्यामा रोजगार दिएका थिए।
राजनीतिक बेथितिले गर्दा नै नेपालले ठूलो
मात्रामा विप्रेषण भिœयाए पनि त्यसको उपयोग देशको आर्थिक
विकासमा हुन सकेन। विदेशमा श्रम बिक्री गरी ल्याएको पैसा भारत र चीनलगायत अन्य
राष्ट्रहरूबाट ठूलो परिमाणमा उपभोक्ता वस्तुहरू खरीद गर्न खर्च भयो। उल्टो देश
आयातमुखी हुन पुग्यो।
निष्कर्षमा
भन्ने हो भने २०४७ पछि राजनीति दल तथा तिनका नेताहरूले राष्ट्रलाई धनी पार्नुभन्दा
आफूलाई धनी पारे। राष्ट्रलाई शक्तिशाली तुल्याउनुको सट्टा आफू र आफ्नो दललाई
शक्तिशाली तुल्याउने कार्य गरे। राष्ट्रको स्रोत र साधनहरूको प्रयोग नेताहरूले
केवल आफू शक्तिशाली हुनका लागि गरे। पटक–पटक मन्त्री र प्रधानमन्त्री हुनका लागि
गरे। सामान्य जनता होइन, केवल आफ्ना कार्यकर्ताहरूलाई सम्पन्न
पारे।
अहिले
स्थिति फेरिएको छ। २०८२ सालको राजनीति परिवर्तनले नयाँ वातावरण सृजना गरेको छ।
जनताले नै राजनीतिक दल र तिनका नेताहरूलाई सत्तामुखी होइन, राष्ट्रमुखी हुन बाध्य पारेको छ। मतदाताहरूले राष्ट्रिय स्वतन्त्र
पार्टी (रास्वपा)लाई ठूलो मतसहित राष्ट्रको आर्थिक विकासको गति तीव्र पार्न विजयी
तुल्याएको हो। सत्ता र शक्तिको स्वाद लिन पठाएको होइन। यो यथार्थ रास्वपाका नेता
रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका
नेता एवं कार्यकर्ताहरूले राम्ररी बुझ्न र त्यसउपर चिन्तनमनन गर्न आवश्यक छ।
रास्वपाका नेता एवं कार्यकर्ताहरूले अर्को के
अति महत्वपूर्ण तथ्य बुझ्न आवश्यक छ भने रास्वपाले यति ठूलो चुनावी सफलता प्राप्त
गर्नुको प्रमुख कारण रास्वपा र यसका नेताहरूको लोकप्रियता मात्र होइन। नेपाली
काङ्ग्रेस, नेकपा एमाले,
माओवादीका
नेताहरूप्रति मतदाताहरूको वितृष्णाका कारणले गर्दा पनि रास्वपाले यस्तो ऐतिहासिक
सफलता प्राप्त गरेको हो। मुख्यगरी खड्गप्रसाद शर्मा ओली र शेरबहादुर देउवाको
सत्ता– महत्वकाङ्क्षाप्रतिको जनताको अति वितृष्णाले गर्दा अभूतपूर्व सफलता प्राप्त
भएको हो। ओलीले बोल्ने अपमानित वाक्यहरूले जनतामा वितृष्णा मात्र होइन, मतदाताहरूमा एमाले र नेकासमेत प्रति रोष नै उत्पन्न गराएको थियो।
शेरबहादुर देउवा पटक–पटक प्रम भएको देख्दादेख्दा जनता थाकिसकेको थियो।
रास्वपाले
देशमा व्याप्त राजनीतिक बेथिति नियन्त्रण गर्नुपर्छ। आफ्नो दल (रास्वपा) र आफ्ना
नेताहरूलाई शक्तिशाली तुल्याउन साधन र स्रोतहरूको दुरुपयोग गर्नुहुँदैन। हाम्रा
होइन राम्रा व्यक्तिहरूलाई निर्णय गर्ने स्थानहरूमा नियुक्त गर्नुपर्छ। सदा शक्ति
र सत्तामा रहन सकिने भ्रमबाट मुक्त हुनुपर्छ। र सदा शक्ति र सत्तामा रहने प्रयास
पनि गर्नुहुँदैन।
राजनीतिक
बेथिति सुधार गर्ने, क्रमिकरूपमा यसलाई समाप्त पार्ने जुन
ऐतिहासिक जिम्मेवारी जनताले रास्वपालाई दिएको छ, पूरा गर्नुपर्छ। राजनीतिक बेथिति आर्थिक विकासको शत्रु हो भन्ने
तथ्यलाई रास्वपाले राम्रो गरी बुझ्न आवश्यक छ।
राजनीतिक
बेथिति नियन्त्रण गर्ने हो र तीनै तहको प्रशासनलाई निष्पक्ष एवं फुर्तिलो पार्ने
हो भने, अहिलेको लागि मात्र यी दुई कार्य गर्ने
हो भने, आर्थिक विकासको गति तीव्र पार्न सकिन्छ।
चरम निराशामा डुबेका देशवासीहरूलाई आशाको दिशातर्फ उन्मुख गराउन सकिन्छ। आशा
आर्थिक विकासको आधारशीला पनि हो।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित:
https://www.eprateekdaily.com/detail/98423

No comments:
Post a Comment