Wikipedia

Search results

Friday, April 17, 2026

Possibility of Reverse Migration in Nepal-Article-625

 नेपालमा विपरीत प्रवासनको सम्भावना

पालमा विपरीत प्रवासन (Reverse migration)को सम्भावन प्रबल भएको छ। नेपालमा भएको यो पछिल्लो राजनीतिक परिवर्तन (राजनीतिमा युवाहरूको ठूलो सङ्ख्यामा प्रवेश एवं पुराना दलका पाका नेताहरूको ठूलो सङ्ख्यामा विस्थापन) ले देशमा अब ठूलो सङ्ख्यामा त होइन तर उल्लेख्य सङ्ख्यामा विपरीत प्रवासन हुने सम्भावना बढेको छ। बालेन्द्र शाह सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार नेपालमा रहेको कारणले गर्दा अब नेपालमा विपरीत प्रवासन हुनेछ भन्न खोजेको होइन, नेपालमा भएको यो पछिल्लो राजनीतिक परिवर्तन जसले युवाहरूलाई निर्णय तहमा पुगेर कार्य गर्न चुनावद्वारा जुन अवसर दियो, त्यो अवसरले नेपालमा विपरीत प्रवासन हुने सम्भावना बढेर गएको हो। भविष्यमा बालेन्द्र शाह वा रवि लामिछाने जस्ता पात्रहरू आउने वा जाने क्रम चलि नै रहनेछ। रवि वा बालेन्द्र सत्ता सञ्चालनमा आउनु महत्वपूर्ण विषय होइन, महत्वपूर्ण विषय के हो भने नेपाली जनताले परम्परागत वा पुराना राजनीति खेलाडी (नेता) हरूलाई न रुचाएको स्थिति। यो स्थितिले राजनीतमा युवाहरूलाई अवसर दिएको छ र त्यो अवसरले नेपालमा आर्थिक विकास हुने आशा पलाएर गएको छ। 

नेपालमा विपरीत प्रवासनको सम्भावनबारे चर्चा गर्नुपूर्व विपरीत प्रवासन भनेको के हो? त्यसबारे चर्चा गरौं। अन्तर्राष्ट्रिय प्रवासन संस्था (International Organization for Migration) का अनुसार, विपरीत प्रवासन भनेको जुन स्थानबाट आएको हो, सोही स्थानमा जाने (फर्कने) कार्य हो। पुगेको स्थानमा केही अवधि व्यतीत गरेर आफ्नो पुरानो थातथलो (देश) जाने स्थिति हो। 

 २०५२ सालदेखि प्रारम्भ भएको माओवादी द्वन्द्व तथा त्यसपछिको अस्थिर एवं स्वार्थकेन्द्रित राजनीतिक स्थितिले देशभित्र बेरोजगारी ठूलो स्तरमा बढाउने कार्य गर्यो। नेपालीहरूमा निराशा पनि उत्पन्न गरायो। यस्ता कारणहरूले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश परित्याग गरे। प्रवासी जीवन बाध्य भएर रोजे। खाडीका देशहरू मात्र होइन, केही अवपादबाहेक अमेरिका, युरोप पुगेका नेपालीहरूलाई पनि देशभित्रको निराशापूर्ण स्थितिले नेपाल छाड्न बाध्य पार्यो 

 जापान, दक्षिण कोरिया, मलेशिया पुगेका नेपालीहरू पनि चरम निराशाका कारण ती देशहरूमा पुगेका हुन्। नेपालमा रोजगार उपलब्ध नभएर अर्थात् बरोजगार भएर मात्र होइन, चरम निराशाका कारण र स्वदेशभित्र आफ्नो भविष्य सुरक्षित नदेखेर नेपालीहरूले स्वदेश छाडेका हुन्। परदेशिएका हुन्। अर्थात् ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश परित्याग गर्नुको प्रमुख कारण चरम निराशा हो। देशभित्र आफ्नो आर्थिक भविष्य सुरक्षित नदेख्नु हो। 

कुनै पनि देशको नागरिकले आफ्नो प्यारो जन्मभूमि (स्वदेश) किन छोड्छ? त्यसबारे छोटो चर्चा गरौं। नेपालीहरूलाई प्रमुखरूपमा के कारणले नेपाल छाड्न बाध्य पार्यो? त्यसबारे चर्चा गरौं। द्विदेशीय युद्ध, गृहयुद्ध, देशभित्र ठूलो मात्रामा राजनीतिक एवं आर्थिक भ्रष्टाचार, जातीय द्वन्द्व, प्राकृतिक विपत्ति आदिलाई प्रवासनका महत्वपूर्ण कारणहरू भन्ने गरिन्छ। यी कारणहरूले कुनै पनि नागरिकलाई आफ्नो प्यारो भूमि छाडेर अर्को देशमा दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य पार्छ। माथि भनिएका स्थितिहरूले जनतामा निराशा उत्पन्न गराउने कार्य गर्छन्। नेपालमा भएको राजनीतिक बेथिति, नेताहरूको स्वार्थकेन्द्रित व्यवहार, दलीय भागबन्डा, चरम भ्रष्टाचार जस्ता कुराहरूले नेपालीहरूमा चरम निराशा उत्पन्न गराएको हो। युवाहरूमा त झनै निराशा चुलिएर गयो। १२ कक्षा मात्र पास गरेका युवाहरू कपी, कलम बोकेर परदेश लागे।   

अब स्थितिमा सुधार आएको छ। यो नयाँ स्थितिले राजनीतिमा युवाहरूको प्रवेश तथा स्वच्छ एवं फुर्तिलो प्रशासनको अनुभूतिले युवाहरूमा आशा जागृत हुने स्थिति उत्पन्न भएको छ। र त्यो आशाले स्वदेशमा रहेका नेपालीहरूमा स्वदेशमा नै रहन तथा विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फिर्न प्रेरित गर्ने स्थिति देखिएको छ ।देशभित्र अमनचयन भएमा, आर्थिक जीवन सरल भएमा विदेश पुगेका नागरिकहरू वा आप्रवासीहरू स्वदेश फर्किन्छन्। केही अपवादबाहेक कसैलाई पनि आफ्नो देश, आफ्नो मातृभूमि छाड्न मन लाग्दैन। परदेशमा दोस्रो दर्जाको नागरिक भएर बस्न मन लाग्दैन। आफू जन्मे–हुर्केको स्थानसँग, त्यहाँको भूगोल, हावापानी, परम्परा, संस्कृतिसँग प्रत्येक नागरिकको माया बसेको हुन्छ। तर अनेक बाध्यतामा परेर स्वदेश छाड्न बाध्य भएका वा परिएका हुन्छन्। युद्धले गर्दा अहिले ठूलो सङ्ख्यामा इरानीहरू अन्य देशमा शरण लिन पुगिरहेका छन्। 

पानामा, कोलम्बिया, कोस्टारिका त्यस्ता देशहरू हुन्, जहाँ नागरिकहरू परदेशबाट उल्लेख्य सङ्ख्यामा स्वदेश फर्किरहेका छन्। यसैगरी, भियतनामका नागरिकहरू पनि अमेरिकाबाट आफ्नो पुरानो थलो भियतनाम फर्किरहेका सुनिएको छ। गृहयुद्धले थिलोथिलो भएर संसारका अनेक देशमा पुगेका सिरियालीहरू पनि ठूलो सङ्ख्यामा घर देश सिरिया पुग्दैछन्। यस्तै स्थिति भेनेज्युएलामा पनि हुने विश्वास गरिएको छ। विदेशमा लाखौको संख्यामा रहेका भेनेज्युएलाका नागरिकहरू स्वदेश फिर्ने आशा गरिएको छ।

कुनै समयमा बर्मामा नेपालीहरूको बसोबास ठूलो सङ्ख्यामा थियो। पछि उल्लेख्य सङ्ख्यामा नेपालीहरू बर्माबाट आफ्नो घर देश फर्के। नेपाल फर्के।   

प्रवासमा रहेका नेपालीहरू स्वदेश फिर्ने अहिले रामो वातावरण सृजना भएको छ। अहिले नेपालमा युद्ध छैन, गृहयुद्ध छैन। देशले स्थिर सरकार पाएको छ। भ्रष्टाचार नियन्त्रण हुने र प्रशासन इमानदार र फुर्तिलो हुने देखिएको छ। यी अवस्थाहरू प्रवासी नेपालीहरू स्वदेश फर्किने ठूला र बलिया आधार बन्न सक्छन्। यी आधारहरूले आर्थिक विकासको गति तीव्र पार्न सहयोग पुर्याउँछन्। चर्चामा आए अनुसार अहिले करीब एकतिहाइ नेपालीहरू आप्रवासी हुन पुगेका छन्। अर्थात् करीब एक करोड नेपाली अहिले संसारका अनेक देशहरूमा बसिरहेका छन्। देशको अर्थतन्त्र विप्रेषणमा आधारित हुन पुगेको छ। हामी परदेशमा श्रम बेचेर बाँच्ने स्थितिमा पुगेका छौं। आफ्नो देशमा उपलब्ध श्रमको उपयोग गर्न सक्ने स्थितिमा छैनौं। देशको अर्थव्यवस्थाको लागि मात्र होइन, देशको अस्तित्वको लागि पनि यो राम्रो कुरा होइन।

परदेशी जीवन सजिलो हुँदैन। कष्टकर हुन्छ। भौतिकरूपमा परदेशी जीवन सरल भएमा पनि मानसिकरूपमा कष्टकर नै हुन्छ। आफ्नो परिवेश, समाज र संस्कृतिसँग छुट्टिएर बस्नु हरपल केही गुमाइरहेको अनुभूति हुन्छ। यो यथार्थ परदेशिएकालाई मात्र बोध हुन्छ। यो बोधले पनि परदेशिएका नेपालीहरूलाई स्वदेश फिर्न प्रेरित गर्नेछ ।आशा गर्नुपर्छ। निराशा मात्र पाल्नुहुँदैन । अब देशको आर्थिक स्थितिमा सुधार आउनेछ। यो आशा नेपालीहरूमा जागृत भएको छ। यो आशाले नेपालमा विपरीत प्रवासन गराउनेछ। आशा गरौं।








विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 17, 2026

https://www.eprateekdaily.com/detail/98342 

No comments:

Post a Comment